प्रिय बाल सखी !! – संगिता घिमिरे, इजरायल

- संगिता घिमिरे, इजरायल

Published Date: October 30, 2014

– संगिता घिमिरे, इजरायल

प्रिय बाल सखी !!

तिमीबाट सात समुन्द्र टाढा रहेकी तिम्रो साथीको तर्फबाट धेरै धेरै सम्झना !

sangitaम यहाँ आराम रहेको खबर सुनाउदै तिमी लगायत गाऊ घर छर छिमेकी सबैतिर आराम कुशल नै होला भन्ने कुरामा पूर्ण विश्वाशमा छु । धेरै भयो तिम्रो खबर नआएको पनि । म यहाँ आउने बेलामा आँखा भरी आँशु भर्दै भनेकी थियौ म बेला बेलामा पत्र पठाउदै गरौला है भनेर तर खै कामको व्यस्तताले हो कि के भएर हो तिम्रो केही खबर नपाउदा मलाई यहाँ धेरै नै दु:ख लागेको छ । तिमीलाई थाहा छ नि हाम्रो खबरको आदान प्रदान गर्ने माध्यम भनेको नै यही चिट्ठी पत्र हो । यो पनि बेला बेलामा पाउन सकिन भने त म धेरै नै एक्लो भएको महसुश गर्ने छु ।

काली ! तिमीले मलाई भनेको थियौ नि मलाई इजरायल आउन मन छ । तिमी गएर मलाई भिसा पठाउ है अनी म पनि आउछु भनेकी थियौ । तर मैले तिमीलाई भिसा पठाउन सकिन किन कि यहाँबाट भिसा पठाउन त्यती सजिलो छैन । एजेन्सीहरु मार्फत नै काम गर्नु पर्ने हुन्छ । इजरायलको एजेन्सीमा काम गर्ने इजरायलीहरुसँग भिसा किनेर बल्ल नेपालको एजेन्सीलाई पठाउनु पर्छ । कमिसनको होड बाजीले आकाश छोएको छ । कसैले कसैको विश्वाश गर्ने ठाउँ छैन । नेपालबाट झिकाएका कामदारहरुले पनि काम नपाएर अलपत्र परेका छन । म तिमीलाई आज यो पत्र मार्फत यही भन्न चाहान्छु सखी यहाँ आउँदा लगाइने लगानीलाई एउटा राम्रो आयमुलक काममा लगानी गर । कुखुरा पालन, बाख्रापालन ,तरकारीखेती या कफि पसल नै खोले पनि हुन्छ । यहाँ आउँदा लगाइने आधा भन्दा कम लगानिले नेपालमा आफ्नो परिवारसँग बसेर नै धेरै गर्न सकिन्छ । हामी सोच्छौ कि बिदेशमा त पैसा फल्ने रुख हुन्छ । त्यही रुखमा चढ्यो अनी मनमा लागे जती पैसा जम्मा गर्‍यो अनी नेपाल फर्कियो । तर यो त सपना भन्दा पनि परको कुरा हो साथी । हामीले सोचे भन्दा धेरै फरक छ यो बिदेशी भुमी । हामीले कल्पना गरेका भन्दा धेरै भिन्दै छन यहाँका मानिसहरु । यहाँका मानिसहरुले कामलाई धेरै नै माया गर्छन् । कहिले पनि कामलाई ठुलो र सानो भनेर तुलना गर्दैनन । त्यही भएर जुन सुकै पदमा काम गर्ने कर्मचारीहरुलाई आफ्नो कामप्रति गर्ब हुन्छ । हुन पनि किन गर्ब नहोस नेपालमा जस्तो ठुलो दर्जामा काम गर्ने मानिसले आफु भन्दा तल्लो दर्जाको कर्मचारीलाई हेपेर बोल्दैनन । नेपालमा त कामलाई भन्दा पदलाई ठुलो मानिन्छ तर बिदेशमा त्यसको उल्टो हुँदोरहेछ । घर परिवारका हरेक सदस्य पढेलेखेका हुँदा रहेछन । यहाँका मानिसहरु प्राय: आफ्नै खुट्टामा उभिएका हुँदारहेछन । नेपालमा जस्तो एक जनाले कमाउने अनी घर मा बाँकी रहेका सबै सदस्यले खाने चलन यहाँ त कही पनि देख्न नै पाइन्न । नेपालमा पनि यस्तो घर परिवारका सबै सदस्यले कमाउने दिन कहिले आउँला है ?

सखी ! हाम्रो समाजमा त आईमाई मान्छे बोलेको देख्यो भने पोथी बास्यो भन्छन । अलिकती मनमा लागेको कुरा पोख्यो भने जान्ने सुन्ने भएकी भनेर उल्टो कुरा काटिन्छ । खै कहिले चेतना आउँला हाम्रो गाऊ घरमा कि महिला पुरुष एक रथका दुई पांग्रा हुन । दुबै पांग्रा बलियो भएको खण्डमा मात्रै त्यो रथले भनेको जती दुरी सजिलै पार गर्न सक्छ र गन्तब्य स्थानमा सफलताका साथ पुग्न सक्छ । एउटा परिवारमा आमा शिक्षित भाईन भने त्यो परिवार नै शिक्षित हुन्छ बाउ शिक्षित हुनुहुन्छ भने उहाँ एक्लै मा त्यो शिक्षा सिमित हुन्छ । बिदेशमा काम केटा र केटीलाई भनेर छुट्टाइएको हुँदैन । केटाले गर्ने काम केटीले पनि गरेका हुन्छन केटीले गर्ने काम केटाले पनि गरेका हुन्छन । काम गर्ने आँट र क्षमता छ भने जुन सुकै काम पनि गर्न पाइन्छ । अझ इजरायलमा त सरकारी अफिसहरुमा प्राय : महिलाहरु नै धेरै हुँदारहेछन । महिलाहरुले जुन सुकै काम पनि छिटो र छरितो गर्छन् भन्ने विश्वाश बिदेशीहरुमा पाइन्छ । खै सखी हाम्रो देशमा कहिले महिलाले त्यो स्थान पाउलान त ? आँट र क्षमता भएका महिलाहरुले पनि काम गर्ने त्यो वातावरण पाउन सकिरहेका छैन । हुन सक्ला यो हाम्रै कम्जोरी पनि । हामी कती महिला साथीहरुले काम गर्ने अबसर पाएर पनि बाहिर निस्केर काम गर्ने इच्छा नै गर्दैनौ । भनेको जस्तो खान पाउनु ,लगाउन पाउनु अनि भनेको ठाउँमा घुम्न पाउनु मात्रै हाम्रो अधिकार होइन । हामीले घर परिवार भन्दा बाहिर आएर देशको लागि पनि केही सोच्ने गर्नु पर्छ । आधा भन्दा बढी महिलाको जनसंख्या भएको हाम्रो जस्तो अल्पविकसित देशमा पुरुषको मात्रै भर पर्ने प्रविधिले सिंगै देश गरीबिको भुमरिमा मडारिरहेकोछ । हामी जस्तो अलिकती भएपनि पढेलेखेका महिलाहरुले नै केही गरेर देखाउनु पर्छ जसले गर्दा अरुलाई पनि काम गर्ने हौसला मिल्ने छ ।

सखी ! काम कहिले पनि सानो र ठुलो भन्ने हुन्न । काम काम नै हो । हामीले जहिले पनि कामलाई नै पहिलो प्राथमिकता दिनु पर्छ । हामी नेपालीहरु अलिकती अल्छि पनि त छौ है । एक दिन काम गर्‍यो भने एक हप्ता सम्म काम गर्नु नपरे हुन्थियो जस्तो लाग्छ हामीलाई । तर बिदेशीहरु त हप्तामा छ दिन काम गरेर एक दिन आरामा गर्छन् तर हामी त्यसको विपरित छौ । अनी कसरी हामी धनी र सम्पन्न हुनु खै ? केटा मान्छेहरुले घर भित्रको काम नै गर्नु हुन्न अनि आईमाईहरुले घर भित्रको मात्रै काम गर्नु पर्छ भन्ने संकुचित सोचाइले गर्दा नै हामी पछि परेका छौ ।

सखी ! तिमीलाई थाहा छैन आफ्नो घर परिवारबाट टाढा बसेर काम गर्दा कती धेरै गाह्रो हुन्छ भन्ने कुरा । कहिले काही त छोरा छोरीको यादले छातीनै चर्केला झै हुन्छ । नानु बाबुलाई काखमा राखेर खेलाउने रहर नपुग्दै चटक्क छाडेर हिंड्नु पर्‍यो । एउटी आमाको जीवनमा आफ्नो बच्चाबाट छुटिनुको पिडा भन्दा अरु ठुलो पिडा केही पनि हुन सक्दैन । तर आज आफ्नो पिडालाई पछ्यौरिको आंचलमा लुकाइ यो मरुभुमिको देशमा रमाउनु परेको छ । आफ्नो पिडा आँफैमा लुकाएर बनावटी हाँसो खिस्स हाँस्दै आफु खुशी रहेको आभास गराउनु पर्छ । हरेक पल्ट फोन गर्दा बाबु नानुले सोध्ने गर्छन् ममी घर कहिले आउनु हुन्छ भनेर ? म उनिहरुको यो प्रश्नको उत्तर दिन कति असमर्थ भएको छु म तिमीलाई कसरी बताउ ? तिमी नै भन त सखी म कहिले आउछु भनेर सम्झाउ उनिहरुलाई ? के मलाई छिट्टै आफ्नो देश अनि आफ्नो घर परिवार भएको ठाउँमा आउन मन छैन होला त ? मनमा भएर पनि कति कुराहरु गर्न सकिन्न रहेछ । नआउनु बिदेश आइसकेपछि त्यतिकै रित्तै हात कसरी फर्कु सखी म ? आखिर बाबु नानुको सुनौलो भविष्यकोलागि नै त हो यो मेरो दु:ख ? तर अहिले उनिहरु सानै छन मैले यी कुरा भनेर पनि सम्झाउन सक्दिन उनिहरुलाई । कहिले के भनेर सम्झाउछु त कहिले के भनेर ढाट्छु । कहिले काहीं त बाबुले घुर्की लगाएर फोनमा कुरा नै गर्न मान्दैन । शायद अब अली अली ममिले ढांटेको कुरा बुझ्न सक्ने भएछ जस्तो छ बाबु ।

हेर सखी ! यहाँ आउने धेरै महिला साथीहरुको कथा र ब्यथा मेरो जस्तै छ । कती साथीहरु त घर परिवारको चिन्ता र सम्झनाले बिरामी समेत परेका छन । घरमा फोन गर्दा डांको छाडेर रोएको देख्दा म आफै भक्कानिएको थाहा पाउदिन । न म उहाँलाई सम्झाउन जान सक्छु न म सान्त्वना नै दिन सक्छु । किन कि म पनि उहाँ नै हिंड्नु भएको खुकुरीको धारबाट नै यात्रा गर्दैछु । म आफै एकान्तमा कति रोएको छु सखी म तिमीलाई कसरी बताउर खै ? जिन्दगीमा थोरै पाउनलाई धेरै गुमाउनु पर्ने रहेछ । थाहा छैन अझै कती पाउन कती गुमाउनु पर्ने हो । भोलिको सुनौलो बिहानिको पर्खाइमा कती काल रात्रीलाई पार गर्नु पर्ने हो । तर पनि सखी यात्रालाई निरन्तरता दिनु नै पर्ने रहेछ ।

सखी ! आज यो पत्रबाट मैले तिमीलाई यही कुरा भन्न खोज्दै छु कि बिदेश नै सबै कुरा होइन । बिदेश नै आएर मात्रै आफ्नो परिवारलाई सुख दिन सक्छु भन्ने पनि होइन । हामीले नेपालमा नै बसेर पनि धेरै कुरा गर्न सक्ने रहेछौ । हामीले केबल कामलाई प्राथमिकता दिन नजानेर हो दु:ख पाएको । हामीले गर्दै आएका कामलाई अलिकती व्यवस्थित र सिपमुलक बनाउने हो भने पैसा कमाउन बिदेश नै जानु पर्छ भन्ने रहेनछ । आफ्नै घर परिवारसँग बसेर काम गर्न सकिन्छ । सखी म त बिदेश नआउनु आइसकें अब तिमीले बिदेश पस्ने गलत निर्णय नलिनु है । अर्काको देशमा दासी भएर बस्नु सट्टा आफ्नो देशमा दु:ख सुख गरेर सिस्नु ढिडो खानु नै आत्मसम्मान हो । म पनि मेरो यहाँ बस्ने समय सकिने बित्तिक्कै फर्किने छु । आफ्नै परिवारसँग हाँस खेल गरी जे जती गर्न सकिन्छ त्यो नै आफ्नो वास्तविक कमाइ सम्झिने छु । यती भन्दै तिमीबाट बिदा माग्न चाहन्छु । गाऊ घरमा सबैलाई मेरो सम्झना र नमस्ते सुनाइदिनु है ।

उही तिम्रो बाल्यकालको साथी

संगिता घिमिरे

हाल इजरायल

 

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...