कथा भित्रको म.. – निर्मला खड्का, हाल इजरायल

Published Date: October 30, 2014

– निर्मला खड्का, हाल इजरायल

Nirmala। कुन चाहि भट्टिमा यत्ति बेलासम्म पिएर घर फर्केछन् सधै झैँ अनि उहि निरिह स्वास्नी माथि आफ्नो पुरुषार्थ देखाउदै छन् । घडीतिर आँखा जान्छ मेरो…. बिहानीको तीन बज्न लागेको रहेछ…….” हैन हो तेरो बाबुको कमाई खाएको त छैन हो किन कराउँछस् मेरो कमाई हो बुझिस मेरो कमाई, तैले पिर मान्नु पर्ने त कुरै छैन…..आवाज फेरि सुनिन्छ.. मलाई दिक्क लगेर आउँछ । यो नियतिको खेल देख्दा पनि… खै कसरी सहेकी छ है त्यो बिचरी पुस्पाले रातदिनको यो कचकच । म भए त जवाफ दिन्थे राम्ररी नै… तर मनमनै फेरि सोच्छु क जवाफ दिने त्यस्तालाई जसले केहि बुझ्ने प्रयास नै गर्दैन । उसैको जस्तो बोली बोलुँ भने क नै फरक भयो र उ अनि ममा । मेरो मन भित्रभित्रै यस्तै तर्क वितर्क चलिरहन्छ । फेरि यो समाज अनि रितिरिवाजका कुराहरु पनि हाम्रै लागि मात्र बनाइएको रहेछ, दुई शब्द कसैको अगाडि बोल्न भन्न नहुने, अनि  केहि भन्यो भने भोलि गाउँघर भरि हल्ला चल्छ,  फलानी त यस्ती रहेछ भनेर र त्यो हल्ला चलाउने पनि कोहि अरु हैन उही पुष्पा र हामी जस्तै महिलाहरु नै त हौ ।

बाहिर हेर्दा सबै राम्रै देखिन्छ । सुखी परिवार छ उनीहरुको पनि । दुईजनै जागिरे छन् । स्कूलमा पढाउँछन । सानो चिटिक्क परेको घर छ । तीन जना स–साना कलकलाउँदा, रहर लाग्दा छोरीहरु छन । ती पुष्पा बिहान उठाछिन, घरधन्दा सक्छिन, ती छोरीहरुलाई तयार पर्छिन स्कूल पठाउँछिंन । त्यत्ति गर्दासम्म ती रमेश सर ओछयान मै हुन्छन । यो सबै सकेर जागिर खान पनि पुग्छिन उनि । बाहिर हेर्दा त ती रमेश सर पनि कहाँ कम देखिन्छन र ..? भलादमी देखिन्छन, कुरा गर्न पनि कसैले सिकाउनु पर्दैन निक्कै सिपालु छन् “आकाशमा उड्दै गरेको चारो पनि झार्छन्   कुराले त……” मिठो अनि सबैसंग हासेर बोल्ने बानी मान्छेलाई दङ्ग पर्छन् कुरामा । अनि कहिले संगै कहिले एक्ला एक्लै कामबाट फर्केको पनि देख्छु म । राम्रो देखिन्छन् हेर्दा सबै तर भाग्यको रेखा कसले मेटाउन सक्ने यहाँ….”दीपक सरसंग त निक्कै मस्केर कुरा गर्दै थिस त आज स्कूलमा के हो तेरो चाला..? के छ र विचार …? उफ्, अर्को तिखो  मुटु चिर्ने वचन  रात्रिको स्तब्धतालाई चिर्दै तातो अन्गारो झैँ मेरो कानमा घोलिन्छ । पोइल पो जाने सुर कस्दै छस कि के हो..? घरमा मैले के नै पुर्याएको छैन र हो तलाई…..?” अहिले सुत्नुहोस भोलि बिहान उठेर कुरा गरौला” पुष्पाको मधुरो आवाज सुनिन्छ । तर त्यो मलिन आवाज सुन्ने को नै छ र त्यहाँ रमेश सर त आफ्नै सुरमा बर्बरौदै  छन् नानाथरी…… ।” अब त नानीहरु  पनि जागेछन् सानी चाही रुदैछे निन्द्रा पनि खल्बलियो बिचरीको ……. ।

कस्तो भाग्य दिएछौ हे दैब “मनमा फेरि तरंग चल्न थाल्छ । बिचारी ती पुष्पा घरमा बाहिर समाज साथीसंगी, माइती, ससुराली सबै तिर व्यवहार मिलाउने कोशिष गर्छे । सबैसंग सम्बन्ध मधुर बनाएर राख्न चाहन्छे । तर लोग्ने छन कि एकातिर बाट भताभुङ्ग परिदिन्छन् । जागिरे छे घर परिवार अनि छोरीहरु सबैको आवस्यकताहरु पुरा गर्ने प्रयास पनि गर्छे तर क गर्नु भाग्यको बिडम्बना उसैलाई सोध्ने कोहि छैन यहाँ । एकदिन कुरैकुरामा भन्दै थिईन् “खै क गर्नु र उहाको तलब भनेको त देख्न पनि पाउने हैन मैले कसरि सम्हाल्ने हो खै सबै ? भाग्य नै यस्तै रहेछ के गर्नु ? को–को संग आफ्नो दुख भन्नु को–को संग व्यथा साट्नु ? तीन तीन वटी छोरीहरु छन् कसरी चलाउने  होला यो जीवन ? भोलि उनीहरुको पनि यहि हालत होला यहि कथा दोहरिने त होलानी…? म पनि के भनुँ र सान्त्वनाको केहि शब्दहरु पनि भेटिनन् त्यतिबेला उसलाई दिनलाई । प्रकृतिको उनुपम उपहारको रुपमा नया युगलाई जन्माउन सक्ने क्षमताको साथै सौन्दर्य र सहनशीलता को शक्ति पाएकी नारीको यो गति छ । हरे…., सुस्केरा काड्छु, अनि फेरि टोलाउछु । के नै गर्न सकिने भो र यहाँ…….?” अलच्छिनी जहिले देखि बिहे गरें तसंग सुख भनेको पाएको हैन, तेरो मुख हेरेर हिड्यो कि केहि न केहि नराम्रो त भएकै हुन्छ”..फेरी झसङ्ग हुन्छु त्यो आवाजले “छि कत्ति बोल्न सक्दा रहेछ है यो मान्छे “पापी” मर्ने बेलामा पनि दिने कोहि हुनेछैन त्यस्तै हो भने त … । मनमनै सराप्छु  तर के गर्नु मेरो श्राप लाग्ला र खै…? किन यत्ति धेरै सहने शक्ति दिएउ है भगवान हामीलाई केहि त विद्रोहको भावना पनि  दिएको भए हुने हामीमा….? पढेलेखेकाको त बुद्धि नै आर्कै हुन्छन् भन्थे तर खै…यस्तै हो भने त के नै सार भो र पढेलेखेको अनि किन नै पर्यो र पढ्न र लेखन पनि ?

आफुलाई जन्म दिने जन्मदाता अनि आफु जन्मेको हुर्केको ठाउँ छोडी आफ्ना प्यारा साथी संगी सबै संग नाता तोडी, पराइ संग नया नाता जोडी नया नौलो सुरुवात गर्ने सपना  बोकी आयो तर उही बाबु आमा को नाम मा सधै गाली र गलौज अनि बातै पछिको तेरो बाउ अनि आमा अनि अरु के के हो के के………? कस्तो नियम अनि कस्तो रितिरिवाज हो यो हामी बोले पाप लाग्छ रे तर उनीहरुले जे जे भने पनि हुन्छ रे ? कसले बनाएको हो यो नियम पनि खै……? “छोरीछोरी ब्याइस.. वंश धान्ने पनि कोहि हुन्न कि…..के हो ?” अब यसपाली पनि छोरी पाइस भने त तेरै बाउको घरमा गएर बसेस् । यहाँ बस्न पर्दैन मलाई त छोरा नै चहिन्छ..”  आर्को छाती चिर्ने बाण…” हैन कत्ति बोल्ने सक्ने रहेछ है,  थुतुनो पनि नथाक्ने” सोच्छु मनमनै फेरि ..”छोरी पाउनु मा पुष्पाको मात्रै गल्ति  छ कि के हो….? कहिँ फेरि भारी ज्युकी पो रहिछन् कि के हो…? एकदिन यस्तै दुख सुख साट्दा भनेकि थिईन..”तीन तीनवटी छोरी छन्, उनीहरुकै खर्च धान्न गाह्रो परिरहेको छ ।  हेर्नुस् न फेरि छोरो त पाउनै पर्छ भन्दै घरमा कचकच  भईरहन्छ । तर फेरि पनि छोरी नै जन्मी भने….. निन्याउरो अनुहारमा त्रसित देखिन्थिन्  बिचरी उनि । तर भन्न त सजिलो नै थियो मैले पनि भनिदिए.. “पर्दैन सक्दिन  भन् भनेर तर त्यत्ति सजिलो कहाँ छ र पुष्पाको लोग्नेलाई सम्झाउन र बुझ्ने नै पो कहाँ हुन र उनि….। उनि त सबैका माड्साप छाती फुलाएर हिद्छन सबै बह्नमाण्ड जान्ने बुझ्ने उनि नै जस्तो कसैको कुरो सुन्ने कहाँ हो र ….? फेरि पछाडी जत्ति नै कुरा काटे पनि अगाडी त “रमेश सर्” भनेर चिप्लो घस्दै जी हजुरी गर्ने हाम्रो समाज को बानी, बोलाउन चलाउनै सकिन्न । फेरि अलिकत्ति पढेका के छन् माड्साप भैहाले ….. । उहाँले घरमा गर्ने अत्याचार त उहाको महनता नै हो….. । फेरि मिठा र चिप्ला कुरा गर्न पनि सिपालु छन् र त्यस्तै कुरामा विश्वास पनि गर्छन् र महान पुरुष भएको अनुभव पनि गर्छन् आफैले…. । खै के हो यो र कुन जुनीको कर्मको फल हो कुन्नि ? समाजभरि नै यस्ता  कुरीति र कुसंस्कारका उदाहरण प्रसस्तै देख्न र सुन्न सकिन्छ । आजपनि के नै परिवर्तन  भयौ भन्ने खै कहिले होला…….? र हाम्रो सुनौलो बिहान जत्ति नै पढे लेखेका भने पनि के गर्ने, बुद्धि उस्तै छ हाम्रा हजुरबा भन्दा पहिलेका मान्छेहरुको जस्तो …..। बरु मेरा हजुरबाले मेरो बिहेको कुरा आउदा “एकपल्ट नानीसंग सोध्नु पर्छ उ मान्दिन भने यो बिहे हुन्न” भनेर मेरो बिहेको कुरा फर्काएको कुरा अझै पनि ताजै छ मेरो मनमा । सबैको मति उस्तै कहाँ हुन्छ र है ……….? मेरो मन भरि कुराहरु खेलिनै रहेको छ … । “हैन पल्लो घरमा त सुनसान भएछ, सुतेछन् कि क्या हो रमेश सर…? पक्कै सुतेकै हुन् त सुन्ने प्रयास गर्छु तर आवाज सुन्दिन “सुतेछन् अब त ” । अचानक घडीतिर आँखा जान्छ “झसङ्ग हुन्छ मन फेरि हे भगवान पाँच बजिसकेछ….छ बजे उठिन भने त मेशिनले झैँ कम गरे पनि कम सकिन्न । फेरि आजै अफिशमा काम धेरै छ ….चारै तिर सुनसान छ झिसमिस उज्यालो हुन लागेको जस्तो पनि देखिन्छ बाहिरतिर……। अब एकछिन भएपनि तिमि पनि सुत्नु पर्छ है” मेरो अंतरात्मा बाट आवाज आउछ अनि कोल्टे फर्कन्छु ……बिहानको पाँच बज्दा पनि छेउको रित्तो ओच्छ्यानले आज पनि मलाई जिस्काउँदै छ………. ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...