“अदृष्य छ बाबुको दृष्टि…!”(सामाजिक कथा) – अर्जुन दुङ्मेन्

Published Date: October 30, 2014

 

–  अर्जुन दुङ्मेन् / बगदाद, इराकarjun1

धर्म सर बिहान सबेरै उठेर घर नजिकै रहेको धारोमा नुहाएर फर्कदै थिए । तलतिर शिम्माको घरमा रुवाबासी चलिरहेको सुने । यसो हेर्दा खेरी धेरै मानिसहरुका भिड जमिरहेको पनि देख्छन । हतार हतार आफ्नो कमिज र हाफ कट्टु लगाएर शिम्माकी घरमा पुग्छन । शिम्माकी आमा समिक्षा र हजुरआमा भक्कानो छाडेर रुँदैछन। शिम्मा भने हलुका अमिलो अमिलो अनुहार बनाउदै किन रुनु भएको आमा? नरुनुस् न है ,,, …! यसै भिडको बिचमा हेर्दा कती राम्रो शिल्ड प्याक बाकस राखिएको छ। उक्त बाकसलाई अन्य छिमेकी तथा गाउँलेहरुले वरीपरी हेराहेर गर्दै घेरीरहेका छन। यो दु:खद घडी रहेछ। कोही केही बोल्न सकिरहेका छैनन। हत्तपत्त धर्म सर सोध्न पुग्छन शिम्माकी आमालाई- “भाउजु के भयो र? तपाईंहरु यसरी किन रोइरहनु भएको छ? यो के को भिड हो?” समिक्षा बताउन खोज्छिन- “धर्म बाबु… … बाबु,,, दाई…” अँह …! यो भन्दा अरु बोल्न सक्तिनन। यसै बिचमा बिचरा त्यो सानी लगभग तीन वर्ष पूरा भई चार वर्ष जस्तो लागेकी शिम्माले पुन:आमालाई भन्छिन- “आमा! बुवा आउनु भो भन्नु भा’होइन? किन रुनु भएको? अनी खोइ त बुवा?” अनी पो धर्म सर झस्याङ्ग हुन्छन। बालापनको देखिको साथी, स्कुले जीवनको सँगैको साथी, कलेजमा नेतृत्व गर्दा योजनाकार साथी, अनी कहिले नेतृत्वमा प्रहरीको कुटाई त कहिले नेलजेल परेको भने कहिले सँगसंगै गाली र ताली सहेर हिंडेको साथी पो रहेछन त! बाकस भित्र उनै भक्त। भक्त दाई ,,, … !

अब के गर्ने सबै शोकाकुल र मौन भएर मात्र नहुने! गाउँमा यताउती गर्ने भनेको त्यही गाउँको माद्यमिक बिद्यालयका हेडमास्टर धर्म सर हुन। त्यसैले पनि उनैको सहयोग, साहस र सहानुभुतिमा भक्त दाईको काजक्रिया गर्ने तयारी तिर लाग्छन। के गर्ने? जस्तो आई पर्छ, समस्याको समाधान गर्नै पर्छ। खेप्नै पर्ने हुन्छ। समिक्षाले आफु भर्खर २४ औं बसन्त मात्र पार गरेकी छिन्। साथमा एक छोरी छिन् त गर्भमा के छ, थाहा छैन। यद्यपी समिक्षाले आफ्नै श्रीमानको दाग बत्ती दिईन र क्रियापुत्री बसिन ।

समय बित्दैछ । समाज पुरै भेदभाब र अन्धविश्वासको खाडलमा भौसिएको छ। गाउँघरका प्राय:धेरै जसो चेलीबेटीहरु मनपरी छाडापनमा पल्केका छन। समुदायको छोरा र छोरी प्रति देख्ने दृष्‍टिकोण उस्तै छ। बिहानीपख कुवा पँधेरी तिर पनि उ बिधुवा आईमाई आउँदैछे। अब दिनभरको साईतै बिग्रने भो ,,,! आफ्नै हितैशी साथीहरुले भन्छन। घरको सासु सुस्तै छिन्। कुनै पनि वालकको जन्म दिनु आमा वा बाबुको रोजाईमा कहिले हुन सक्तैन। यो त सृष्टिकर्ताले जे दिन्छन त्यो खुशी भएर स्विकार गर्नुपर्छ।

यो अब जन्मने सन्तान भनेको समिक्षाको अन्तिम सन्तान भएर जन्मनु पर्ने हो। त्यसैले गाउँघर, समाजको मान्यता बंश चलाऊँन भनी छोरो हुनै पर्ने हुन्छ। यस् कुरोमा अब समिक्षा झनझन चिन्तित बन्दै गएकी छिन्। एउटा जन्मदाता माताको त छोरो न छोरी ममता बराबरी हुन्छ। तर…. तर…. अफसोच ,,, “”” यत्तिकैमा तीन महिना पछी शिम्माले पुन:अर्की बहिनी पाउँछिन…! अब परको त कुरै नगरौ, घरमा सासुको गाली कती सहनु.. ..! हरेक साँझ बिहान बुढी आमै कच्कच गर्छिन। मेरो छोरोको सन्तान नै मासी दिईस! तँईले मेरो छोरोलाई पनि टोकिस। तँ अलछिनी होस्। अब जस्ले जस्तो-जस्तो गाली गरेपनी सरापे पनि, समिक्षाले पनि त आफ्नो आधा उमेर नबित्तै सिवजी जस्तो पतिदेव गुमाएकी छिन्। जो सँग आफ्नो जिन्दगी बिताउनु छ उनैलाई गुमाएकी छिन् अर्थात एउटा घरको एक पट्टिको खाँवाहरु धसिएर गई सके। केवल एउटा पाखोले घर अडिएको छ। देख्न सम्झनमा सम्म स्वयंम समिक्षालाई पनि त राम्रो लागेको छैन। उता कमाएर ल्याउछु अनी घर परिवार, गाउँसमाजको लागि केही गर्छु भन्ने आफ्नो श्रीमानको परदेशको ठाउँमा के कारणले मृत्‍यु भयो, थाहा छैन। श्रीमानले नै पठाउँदै गरेको थोरै तिनै पैसाले दु:ख सुख घर चलाऊदै थिईन। आफ्नो जग्गा जमिनको उब्जानीले केही महिना मात्र हातमुख जोड्न पुग्छ। त्यसैकारण पनि अब समिक्षालाई त्यही धर्म सरको सहयोगले सोही बिद्यालयमा प्राथमिक तह सम्मको लागि सानासाना बालबालिका पढाउने शिक्षीकाकी रुपमा नियुक्ती गरीदिन्छन ।

प्रत्येक घरघरका एक-एक महिला र युवतीहरु महिला अधिकारका नारा लिएर सडक र बस्तिहरुमा बेलाबखत नारा जुलुसमा उत्रीरहेका हुन्छन। समिक्षा भने आफ्नो बिबिध समस्याले गर्दा सहभागी हुन सक्तिनन। सकुँ पनि कसरी? एकदिन सानी छोरी सरुलाई लिएर सानातिना किनमेलको लागि बजार तर्फ लाग्दै थिईन। उ पोइ टोकुई, बिधुवा समिक्षा आउँदैछे …! हामीले शुरु गरेको आजको हाम्रो कार्यक्रम नै असफल हुने भो! छि ”’! भन्दै गलल… ललल… “”” हाँसे गाउँका गन्ने मान्ने भनौँदा ठालु राजनीतिज्ञ हुँ भन्नेहरुको एक यूवाबृद्धाहरुको समुह। सरु प्राथमिक तहमा अध्ययन गर्दै गरेकी सानी भएतापनी आफ्नो आमा प्रतिको यो घृणित आवाज झट्ट कलिलो दिमागमा उनिन।

समिक्षाको बिहानै उठेर नुहाउने, पूजापाठ गर्ने, चियानास्ता बनाएर बुढी सासुआमा र छोरीहरुलाई दिने अनी घर धन्दा सबै सकेर खानापिना बनाएर सबैलाई खुवाईओरी छोरीहरुलाई आफुसंगै लिई बिद्यालय जाने गर्थिन। यहीं समिक्षा खाना बनाउँनेक्रममा शिम्मा र सरु आफ्नो कोठामा पढ्दै थिए। सरुले आमाको सिरानी मुनी एउटा कागजको टुक्रा देखिन र निकालिन। उक्त कागज आफ्नो अदृष्‍य बुवाको करिव ८-९ बर्ष पहिले परदेशमा रहँदा लेखेको पत्र रहेछ। शिम्माले लिईन र दिदी बहिनी मिलेर पढ्न शुरु गर्छन् ।

पुज्यनिय मुमाहजुर !

हजुरको पाउपरी सेवा ढोग गर्दछु ।

मेरी हृदयकी रानी, दिलकी खानी, प्राण भन्दा प्यारी समिक्षा;

ति तिम्रा पिपलुपाते ओठ र अनारदाना सरीको गाला भरी मिठो चुम्बन अनी सुमधुर एवम् अविरल सम्झना ।

हाम्रो मायाको टुक्रा, मुटुको एक अंश शिम्मामा धेरै-धेरै माया अनी शुभ आशिर्वाद साथै गर्भभित्र रहेको हाम्रो अदृष्‍य सन्तान प्रति पनि सोही कामना।

समिक्षा! यो बिरानो ठाउँमा जे जस्तो सुकै परिस्थिती र समस्याहरु खेपेरै भएपनी म आराम छु र तिमी लागायत सम्पूर्ण घर परिवारमा पनि आराम स-कुशलताको पूर्ण आशा र भरोशामा छु।

मेरो निम्ति केही रती पनि चिन्ता गर्नु पर्दैन। बरु तिमीले आफ्नो बारेमा चिन्ता गर्नु। तर तिमीलाई राम्रोसंग थाहा भएको कुरो हो, हाम्रो देश गाउँसमाज बिसंगती अनी छोरा र छोरीको भेदभावले झेलिएको छ। यस बारेमा भने केही सोंच्नु पर्दैन। यदी अव गर्भमा रहेको हाम्रो सन्तान पनि छोरी नै भएर जन्मेछिन भने उनैले महिला हक अधिकार प्रतिको क्रान्ति गर्नेछिन। त्यो साह्रा अन्धविश्वासको खाडल उनैले समतल बनाउनेछिन। अनी शिम्माले भने जस्ले छोरो चाहन्छन उनिहरुका अगाडि त्यही छोरोको कर्तब्य मर्दापर्दा दागबत्ती दिने, काजक्रिया गर्ने, मलामी जाने, बिहे ब्रतबन्धमा बुढापाकाका रुपमा नेतृत्व गर्ने, साह्रा भूमिका निर्वाह गर्नेछिन ।

समिक्षा, अब म २ साल पछी छुट्टी मिलाएर घर आउनेछु। अनी हाम्रो अब जन्मने सन्तान छोरो भएछ भने नाम ‘शुभाष’ राखौं नत्र यदी मैले सोचें र लेखें बमोजिम नै हुन गएछ भने, सानो छोरीको नाम सरु राख्नु हैं …! नेपाल फर्केपछी सरुलाई म महिला क्रान्तिमा तल्लिन बनाउनेछु ताकी हाम्रो गाउँघर समाज र राष्ट्र नै भेदभाव मुक्त भई गंगाको कलकल पानी झै संङ्लो हुनेछ। उता शिम्मालाई बरिष्ठ नशा बिशेषज्ञ डाक्टर बनाएर कती गर्छु, देशमा सुनौलो परिवर्तन ल्याउछु भन्दा भन्दै जीवनमा मृत्‍यु स्विकार्न वाध्य हुने जस्ता मानशिक रोगीहरुको सेवामा उत्साहित बनाउनेछु। त्यो उत्तर दक्षिण सगरमाथा राजमार्ग पनि त हाम्रो बुवाको पहलमा बनेको थियो। अनी अब दुधकोशी जलबिद्युत परीयोजना ल्याई त्यो क्षेत्र भरी उज्यालो दिने वहाँको महत्वकांक्षा थियो। तर मानशिक बिरामीका कारण बित्नु भयो। वहाँको निम्ति म छोरो नै भएर पनि के गर्न सके र? तैपनी घर आएपछी वहाँ एक जना बाबुको लागि मात्रै नभएर देशको लागि मैले पनि केही गर्नु’छ। मैले गर्न नसके मेरो मार्गनिर्दैश र चाहना तिनै शिम्मा र सरुले पूरा गर्नेछन।

अहा ! म त सोच्तै सोच्तै कहाँ पुगेछु । लेखाई पनि लामो भयो। यि भनेका भविष्यका योजनाहरु हुन। भविष्य मै गर्दै जाउँला। भोग्दै जाउँला। अहिलेलाई भने मेरो लेखाई बन्द गर्न चाहन्छु।

-उही तिम्रो परदेशी- भक्त।

यता गाउँबस्तिहरुमा अशिक्षीतका कारण असुरक्षित यौन संम्पर्क, गर्भपतन, चेलीबेटी बेचबिखन, छोरीचेलीहरु माथि दमन, महिलाहरु प्रति लोग्नेहरुबाट यातना जस्ता कार्यहरु आईपरी रहेको छ। उता शहर बजारतिर बिशेषगरी यूवा-युवतीहरुको उछ्रिङ्खल र छाडापनले महिलाहरु प्रति नै दुर्गन्धित पारीरहेको छ। त्यसले पुरुषलाई रति पनि छोएको छैन। ३२.७८ प्रतिशत त वर्तमान सरकारमा पनि महिला सभासदहरु रहेछन। कसैलाई आफ्नै काका-बुवाको करकाप र दवाबका कारण त कसैलाई ऐंश-बैंशको साथीको सहयोगमा शीर्षस्थ पदिय दायित्व पाएका छन भने केही मात्रमा महिला प्रतिको वा समाज र राष्ट्र प्रतिको आफ्नै स्वाभिमान, असल विचार र सकारात्मक एवंम परिवर्तनशिल धारणाका साथ योग्य र दक्ष भएर पनि सो स्थानमा छन। तर ति केही गर्छु भनेर चाहने महिलाहरुलाई अरु आफ्नै महिला साथीहरुले नै खुट्टा तानेर खसाई दिन्छन। केही गर्ने मौका नै पाउँदैनन। अरु ति हचुवाको भरमा, दवावको भरमा सभासद भएका महिलाहरुलाई के थाहा आफुले जितेर गएको गाउँघरको चिच्याहट? त्यहाँका महिलाहरु कसरी शोषित छन? सिमाना पारीबाट आएर पनि नेपाली चेलीहरुको अस्मिता कसरी आफ्नै दाजुभाइहरुका अगाडि लुटी दिन्छन? त्यहाँका महिला माथिको बिभेद र दमन कस्तो छ? के थाहा बिचरा ,,, …! एकदिन ढिकी कुटेका छैनन। जाँतोको हातो सामाएका छैनन। एकभारी घाँसदाउरा काटेका छैनन। चारपाईला पैदल हिंडेका छैनन। चुनावका बेलामा गाउँबस्तितिर छिरेर तिनै शोषित पीडित महिलाहरुलाई प्रयोग गरेर महिला अधिकारका नारा दिंदै आफु नेत्री भएर गाडीमा हिड्छन। यि कुरोहरु सम्झदै समिक्षालाई पनि आफुले परिस्थिती र वाध्यताका बाबजुध उल्लेख्य कार्य केही गर्न नसकेपनी आफ्नो छोरीहरु शिम्मा र सरुलाई केही गरेको देख्न चाहन्छिन।

कुनै एकदिन टिफीनको समयमा धर्म सरसँग कुरो गर्दै भन्छिन- अब त मेरी छोरीहरु पनि यस.यल.सी. सम्म राम्रो अंक ल्याएर परीक्षामा सफल भए। तपाईंकै अधम्य सहयोग, शाहस र दिनु भएको हौसलाले गर्दा यहाँ सम्म दु:ख जिउँलो गर्दै पढाएँ। अब के गर्ने? कहाँ, कसरी पढाउँने? कुन बिषय लिएर पढ्न लगाउने होला? सर …!

साँच्चिनै धर्म सर भाउजु तथा आफ्नी स्टाफ पनि रहेकी समिक्षाको कुरो सुनेर सोच्न शुरु गर्छन। एकैछिन भुँईतिर हेर्दै घोरीइरहेका हुन्छन।–

प्रिय मित्र धर्म ।

धेरै धेरै सम्झना साथमा माया ।

बिशेष: म यो सात समुद्रपारी परदेशमा भएपनी स-कुशल रहेको कुरो अवगत गराउँदै साथी धर्म प्रति पनि सोही चाहन्छु।

हो धर्म हो! हिजो हामी दुई बाल्यवस्था देखी यो अवस्था सम्म बिभिन्न मानसिक एकता तथा सामाजिक रुपान्तरणको अभियान बोकेर हिंडेका थियौ र छौ। तर हाम्रो गरिवीपनले गर्दा हाल म यो बैदेशिक जीवन यापन गरिरहेछु। तिमी पनि एउटा निश्चित कार्यक्षेत्र भित्र रहेर शिक्षकको दायित्वमा ब्यस्त छौ। तैपनी शिक्षकको भूमिका निर्वाह गर्नु सानो नसम्झ। कसैलाई परेको बेला तिमीले दिने सुझाव-सल्लाह, सही निर्दैशन र जुन शिक्षा तिमीले बाँटीरहेका छौ, त्यो शिक्षाको ज्योतिले भोलि हाम्रो गाउँघर समाज र राष्ट्रमा झलमल्ल बल्न मद्धत पुर्‍याउन सक्नेमा कुनै दुईमत छैन। तिम्रो देनले गर्दा भोलि मेरो नानीहरुले पनि उनिहरुको उज्वल भविष्य निर्माणका साथ बिकृति र बिसंङ्गतिलाई चिर्दै समाज परिवर्तनशिल धारमा लाग्ने छन। यसमा म विश्वस्त छु। बरु त्यो हाम्रो जिर्ण अवस्थामा रहेको बिद्यालय मर्मत संम्भार लगायत उक्त बिद्यालयलाई उच्च माद्यमिक बिद्यालय सम्म सञ्चालन गर्नका निम्ति रकम धरौटी राख्नका लागि दु:ख सुख कमाएको पैसा १२ लाख ६० हजार बिद्यालायको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंङ्कको खातामा जम्मा गरेको छु। उक्त जम्मा गरीएको रकमको बारेमा तिमी आँफैले सोचेर उचित स्थानमा सदुपयोग गर्ने छौ भन्ने मैले आशा लिएको छु। सो बिद्यालयलाई उच्च माद्यमिक तहसम्म बनाउने तिम्रो-मेरो पुरानै प्रबल इच्छा हो भने त्यही बिद्यालयबाट हाम्रो गाउँघर वरपरका नानीहरुले त्यही रहेर गुणस्तरीय शिक्षा हाँसिल पनि त गर्नेछन। अनी तिमीले तिम्रो एक्लो सन्तान बिकासको बारेमा त भबिष्यको योजनाहरु पक्कै पनि बनाएर त्यहीनुरुप राम्रो बातावरण पनि दिईरहेको छौ होला। म पनि नेपाल आएपछी तिम्रो र मेरो पुरानो सामाजिक रुपान्तरणको अभियानमा लागि पर्नेमा उन्मुख छु। त्यो बेलासम्ममा त मेरो दुई सन्तान भईसकेका हुन्छन। उनिहरुलाई शिक्षीत बातावरण दिने मेरो ठूलो चाहना छ। त्यसमा पनि यस.यल.सी. उतिर्ण गरी सकेपछी भने उनिहरुकै चाहना बमोजिम पनि गर्ने बिचार गरेको छु।

हैन सर के सोच्न शुरु गर्नु भो ? – साथी भक्तले १६ बर्ष पहिले पठाएको पत्र घोरीएर सम्झदै गरेका धर्म सर झस्यङ्ग हुन्छन- समिक्षाको प्रश्नले! हैन हैन … त्यस्तो केही हैन ,,, शिम्मा र सरुलाई अब बरु तिमीहरु के पढ्छौ? भविष्यमा तिमीहरुले केही गर्नुपर्छ। के बन्न चाहन्छौ भनेर सोध्नु उचित हुन्छ। किनकी अब उनिहरु साना छैनन। उनिहरु आँफै निर्णय गर्छन्। सोही अनुसार गरियो भने उनिहरु पनि सफल हुन्छन र हाम्रो पनि त्यो भन्दा अरु खुशीको कुरो के हुन सक्छ ?

शिम्मा र सरुले आफ्नो बुवाले परदेशबाट पठाउँनु भएको पत्र आफुहरु सानासाना हुँदा आमाको सिरानी मुनीबाट खुसुक्क झिकेर पढेको त कहाँ बिर्सेंका छन र …! शिम्माले नशा बिशेषज्ञ डाक्टर बन्ने र सरुले राजनिती शास्त्र लिएर पढ्ने, महिला हक अधिकार प्रतिको भेदभावमा डटेर काम गर्दै असल समाज सेवी बन्ने कुरो राख्छन।

आफ्नो स्नातक तहको अध्ययनलाई भर्खरै मात्र पूरा गरेर काठमाण्डुमा सरकारी सेवामा दुईचार दिन अघी प्रबेश गरेका धर्म सरको छोरा बिकास दाजुको सहयोगमा बहिनीहरु शिम्मा र सरुलाई बिषयगत अध्ययन गराउने कार्य शुरु भयो। यसरी पढाई चल्दै गयो। कलेजमा नेपाल अधिराज्य भरीका थुप्रै बिभिन्न उदेश्य बोकेका साथीहरु छन। सबैले राम्रा-राम्रा पहिरन पहिरेका छन। शिम्मा र सरु भने दु:ख सुख गरेर गाउँबाट एउटी बालापनमा नै बिधवाको चोट सहनु परेको आमाले आफ्नो महिनावारी मज्दुरी गरेर पाएको तलब पेलिरहेको भरमा र उता होसमा हैसें मिलाई दिने गाउँले दाजु बिकासको सहारामा सस्तो-मस्तो र पुराना कपडाहरु धोइपखाली गरी लगाएर कलेज जान्छन, आउँछन।

यसरी पढ्दै जाने क्रममा शिम्माको पढाई प्रतिको तिक्ष्णता, लगनशिलता, परिश्रम र मेहेनतलाई मूल्याङ्कन गरी शिम्मालाई आफु अध्ययनरत कलेजबाट नै न्यूरोलोजिष्ट यम.डी. डाक्टर गर्नको लागि छात्रबृत्ति पाएछिन। उता सरु पनि पढाईमा कम्ती भने थिईनन। त्यसैले त्यही आफु अध्ययनरत कलेजका भूतपूर्व प्राध्यापकका घरमा बस्तै आएकाले उनैसँग सरुले पनि कुरो राखेछिन। पुन:सरुको क्षमतालाई हेरी दाह्रा बिनाको बाघ झै सरकारको मुख चिहाईरहनु भन्दा उनी स्वयंले महिला तथा बालबालिका बिकास आयोगका, मन्त्रालयका एक सचिवमा नियुक्त हुन पहल गरी दिएछन। सोही बमोजिम नियुक्ती पनि भएछिन। अब सरुले आफ्नो बिषय राजनिती शास्त्रमा स्नातक गर्दै सरकारी सेवामा नोकरी पनि गर्दैछिन दिदी शिम्माले पनि छात्रबृत्ति पाएर यम.डी. गर्दैछिन। दिदीबहिनी एकआपसमा हदै सम्म मिलनसार र अरुले देख्दा साथीसाथी जस्तो देखिन्छन ।

अब घरबाट दु:ख गरेर आमा समिक्षाले पनि खर्च पेलीरहनु पर्ने आवश्यकता रहेन। शिम्मा र सरुले यि साह्रा प्रगतिका ढोकाहरु खुलाएको देखेर समिक्षा र धर्म सर त हर्षित अनी आनन्दित हुने नै परे। आफ्नी बुढी हजुरआमा पनि खुशी अनुहारमा छाईन। अब मेरा नातीहरु भएपनी तिनै हुन, नातिनीहरु भएपनी तिनै हुन। वास्तवमा छोरी पनि छोरो भन्दा कम नहुने रहेछन। साँच्चिनै हिजो सम्म मैले अन्जान मै बुहारी समिक्षालाई पनि गलत दृष्‍टिकोणले हेर्दै थिएछु। म पनि कुनै दिन यस्तै कसैको बुहारी थिए र मैले पनि शिम्मा र सरुका हजुरबुवालाई आफु अधवैंशे उमेर मै अचानक गुमाउनु परेको थियो! वास्तबमा मेरो केही दोष त्यहाँ थिएन …! -समिक्षाका सासुआमा पनि आँफै झस्कीईन अनी खुशीले गदगद हुँदै सकारात्मक सोंच राख्न शुरु गरिन।

समय बितिरहेको थियो ,,,! यतिञ्जेल सम्ममा सरुले संस्थागतरुपमा बिभिन्न दुर्गम क्षेत्र, गाउँ ईलाका र बस्तिहरुमा लगभग १३० वटा र क्षेत्रगत शहरी ईलाका तिर ५५ वटा गरी जम्मा १८५ वटा जती बालबालिका तथा महिला परामर्श केन्द्र स्थापना गरीसकेकी छिन। जहाँ छोरा र छोरी बिचको भेदभावको बिशाल खाडल सम्बन्धी, गर्भवती महिलाहरुको हेरबिचार सम्बन्धी, सुरक्षित यौन संम्पर्क तथा सरकारी निकायबाट निशुल्क कण्डम बितरण सम्बन्धी, यौन दुरव्यबहार, यौन क्रियाकलापमा मनपरी छाडापना एबंम उछ्रिङ्खलतामा कमी ल्याई महिलाहरु प्रति जोखिम घटाईनु पर्ने तथा अनाथ बालबालिका र बृद्धाहरुको हेरचाह सम्बन्धी सुझाव सहयोग र परामर्श दिंईदै आएको छ।

समयको गतिसंगै दौडीरहँदा … ,,,,”””

३४५ जना क्षेत्रीयस्तरका लोकसेवा आयोगमा भाग लिएका वरिष्ठ न्यूरोलोजिष्ट डाक्टरहरु मध्ये २ जना चुनिनु पर्ने थियो। जसमध्ये एकजना शिम्मा नै परेछिन भने अर्को जनयुद्धकालमा बाबुआमा दुवैजना गुमाएर मावलघर बस्तै दु:ख-सुख पढ्दै आएका रुकुम जिल्लाबासी भविष्य’ले नाम निकालेछन। शिम्मा सगरमाथा अञ्चल जाँदै थिईन भने भविष्य पश्चिमाअञ्चल। शिम्मा र भबिष्य’को भब्य डाक्टर नियुक्तिको स्वागत कार्यक्रम रहेको थियो। खुसियालीमा आफ्ना थुप्रै साथीहरु, बहिनी सरु अनी सरुका साथीहरु, भूमी तथा जलश्रोत मन्त्रालयका महासचिव भईसकेका गाउँले दाजु बिकास पनि सहभागी थिए। … … एकजना वरिष्ठ डाक्टरले स्वागत मन्तव्य राख्ने क्रमको बिच अंशतिर भने- स्वच्छ, निस्वार्थ, पवित्र मनले हृदय भित्रैबाट चाहेर लगनशिल, मेहेनती र परीश्रमी भएर गर्न चाह्यो भने नहुने भन्ने संसारमा केही छैन। गर्न जे पनि सकिन्छ। तर यो दुनियाँ पापी छ। कसैले अरुको सफलता देख्दा मुर्छा पर्छन। “करिव ३० वर्ष पहिले सगरमाथा नै घर भई इजरायलमा कार्यरत भक्त जि ले आफ्नो इमान्दारीता, सिप अनी दक्षता देखाएर वोल्ड डेभ्लोप्मेण्ट बैंङ्कबाट ४० अर्ब बरावरको निशुल्क दुधकोशी जलबिद्युत परियोजना हात पारेका थिए। तर सोही सफलताको आहारिस र डाहले गर्दा सोही रात वहाँको विभत्स हत्या गरिएको थियो।” त्यसपछी उनलाई इजरायली र प्यालेष्टानी बिचको द्वन्दमा परी मरेका हुन भन्दै बाकसमा कसेर उनको घरमा वहाँको डेथ बडी पुर्‍याईएको खबर मेरो दिमागमा ताजै छ। त्यसैले डाक्टर शिम्मा र डाक्टर भविष्य’ले होसियारी अप्नाई खुशीयालीका साथ आफ्नो-आफ्नो कार्यकुसलता, योगदान र एउटा असल डाक्टर बनेर समाजसेवामा समर्पित भई अझ बढी समग्र जनमानसको लोकप्रियता प्राप्त गर्नमा सफलताको शुभकामना…!

अहो …!! यतिञ्जेल कहाँ र कसरी आफ्नो बुवाको मृत्‍यु भयो केही थाहा थिएन। बिचरा… ! सरु त झन गर्भे टुहुरी थिईन। यस्तो घटनाको कुरोले ,,,,,

हर्ष भनुँ कि दुखी ,,,! के गर्ने दु:ख मानेर नहुने,,, दिदीबहिनी आफ्नो अती मिलनसार दुईचार जना साथीहरुका साथ शिम्माको कार्यक्षेत्र सगरमाथा अर्थात घर तर्फ लागे। वहाँ पनि दिदी बहिनीको बृहत स्वागत सम्मान कार्यक्रमको तयारी भईरहेको रहेछ। सरुको योगदानमा खोलिएको परामर्श केन्द्रहरुबाट एकदमै सकारात्मक कुरोहरु आईरहेका रहेछन। गाउँघर बस्तिहरुमा परिवर्तन आएर सबैको अनुहारमा हाँसो र खुशीले छाएको देखिन्छ। शिम्माले पनि आफ्नो सेवा प्रदान गर्न शुरु गरिन। शिम्माको यस कार्यबाट सम्पूर्ण मानसिक रोगीहरुले जीवन पाईरहेको महशुस गर्दैछन। शिम्मा उनिहरुको धन्यवादको पात्र बनिरहेकी छिन्।

सरुले आफुले गरेको योगदानमा सफलताको मौका छोपी पुन:अदृष्‍यगतरुपमा परलोक हुनु भएका बुवाको सपना साकार पार्दै सम्पूर्ण गाउँलेहरुलाई दुधकोशी जलबिद्युत आयोजना सफल पारेर उज्यालो दिनको लागि जहाँ-तहाँका गाउँबस्तिहरुमा पुगी ४० हजार जना बराबरको गाउँलेहरुको सहिछाप रहेको एक डेलिगेशन तयार गर्छिन। सो डेलिगेशन मन्त्रालयका महासचिव अर्थात आफ्ना पिता सरहका धर्म सरका छोरा दाजु बिकाससँग सरकारमा पास गराउँछन। पञ्च बर्षे योजनामा दुधकोशी जलबिद्युत आयोजना सकियो। गाउँघर बस्तिहरु झलमल्ल …!

यता आफ्नी हजुरआमा पनि ९२ बर्षको उमेरमा नतिनीहरु शिम्मा र सरुलाई स्याबासी र आशिर्बाद दिंदै स्वर्गबास हुनुभयो। शिम्माले नबालक अवस्थामा बुवाको पत्र पढेको सम्झदै छोरोको दयित्व पूरा गर्न लागिन। हजुरआमाको दागबत्ती स्वयंले दिईन र क्रियापुत्री बसिन।

ततपश्चात, एकदिन पुर्वाञ्चल भ्रमणमा प्रधानमन्त्रीको सवारी भएछ। उनले यो सब कार्य देखें। गाउँघर झपक्क बलेको देखिन्छ। सम्पूर्ण जनताहरु हरेक कुरोमा निपूर्ण र प्रगतिशिल देखिन्छन। लाग्छकी कसैमा पनि चेतनाको अभाव छैन। सबैको अनुहारमा हाँसो र खुशीले छाएको छ। प्रधानमन्त्रीले आफ्नो देशको बिकासको खुशीको यो कुरो मन्त्री परिषदको बैठकमा पुर्‍याए। अनी हल्लीखल्ली चल्यो। यो शिम्मा र सरुको योगदान हो। पत्ता लाग्यो। आम जनतामा स्वास्थ्य, शिक्षा, सिप र चेतना नै ठूलो कुरो हो। यसैमा शिम्मा र सरुको यो योगदान रहेको ठम्याउँदै त्यसै भखतमा शिम्मा र सरुको योगदानको कदर गरी सरकारले उनिहरुलाई गाउँमै गएर “राष्ट्रिय महिला बिभुती” घोषणा गरे।

त्यो आफ्नो सुन्दरीत्वमा घमण्ड गर्दै उछ्रिङ्खल र दुर्व्यसनीमा पोख्त आफ्ना साथीहरु अनी उदेश्यले नभएर मुखले मात्र बनावटी महिला अधिकारका नारा दिएर हिंड्ने, महिलाको अधिकारमा ओकालत गर्दैछु भनी चुर्तीफुर्ती गर्ने महिला नेत्रीहरु ओझेल तिर परे। सोही घोषणा कार्यक्रमका समयमा शिम्मा र सरुले एकै स्वरमा भन्छन- “रगतको नाता भन्दा भावनाको नाता ठूलो हुन्छ। त्यसैले यसमा पनि हाम्रा पिता सरहका धर्म अंकल र बिकास दाजुको सहयोगात्मक भावना र वहाँहरुको ठूलो हौसलाले गर्दा आज हामीले यो सताप्दीऔं देखी भेदभावमा जरो गाडीएर आएको समाजलाई परिवर्तन गर्दै गाउँ बस्ती भएर देश बिकासमा टेवा पुर्‍याउँन सकेकाले हामीले हाम्रो देशको यो उपाधी लिन सकेका हौं।”

समिक्षा पनि हर्षका आँशु खसाउँदै शिम्मा र सरुकी बिचमा उभिएर भन्छिन- हो … ,,, यसमा धर्म बाबु र बिकास नानीको ठूलो हात रहेको छ। वहाँहरुमा यो दुरदर्शिता अनी गंगासागरको पानी जस्तो स्वच्छ सहयोगी भावना नभएको हुन्थियो भने आज मेरी छोरीहरु शिम्मा र सरुले यो बिजय कसरी हात पार्न सक्थे होला? हामी सम्पूर्ण गाउँलेहरुले त्यो गरिवी र बिभेदको दलदलबाट पनि कहिल्यै मुक्त पाउँदैन थियौ। तपाईंहरु सबै जनमानसको तर्फबाट धन्य हुनुहुन्छ।

भाउजु ,,, …! साथ, सहयोग र हौसला भनेको त दया र धर्मले मात्र हैन, हामी मानव जातिको मानवीय दायित्व पनि त हो। त्यती मात्र हैन भक्त दाई आज वहाँ स्वर्गलोकमा हुनुहुन्छ, वहाँ र मैले जे सपना देखेका थियौं, त्यो आज शिम्मा र सरुले पूरा गरेका छन। यसमा छोराले गर्न सक्ने जुन काम छोरीले पनि कुशलताका साथ गर्न सक्छन भन्ने कुरो समाजमा प्रष्ट पारी दिएका छन।- धर्म सरले भन्दै शुभ सम्पन्न कार्यक्रमबाट सबै जजा हर्षोल्लासका साथ आ-आफ्नो घर तर्फ लाग्छन ।

– अर्जुन दुङ्मेन् / बगदाद, इराक ।

मिती: २०६६ कार्तिक १९ गते, बिहीवार।

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...