“मेरी लक्ष्मी भाउजु”- संगिता घिमिरे, ललितपुर

Published Date: October 30, 2014

– संगिता घिमिरे, ललितपुर

sangitaगरिबी र दु:खले थिकिएकी धनेको श्रीमती लक्ष्मी जति नै दु:ख र कष्ठ खप्नु परे पनि कहिले अधेरो र निन्याउरो अनुहार लगाउदिनथिन । धनेसँग विवाह भएपछि सधैं दु:ख अनि सुखमा साथ दिदै आएकी छिन् । धने दिनभरी अरुको काम गर्न जान्छ भने लक्ष्मी नजिकैको स्कुलमा पियनको काम गर्छिन । एक छोरो अनी एक छोरी र उनीहरु दुइजना जम्मा गरी चार जनाको सुखी परिवार छ । आफुले स्कुलबाट कमाँको कमाईले छोराछोरीलाई पढाउन पुग्दैन । त्यही भएर साँझ बिहान अरुको काम गर्न पनि जान्छिन लक्ष्मी । धनेले कमाएको पैसाले जिनतिन गर्जो टरेको छ । तर यो दु:ख र सुखको उतारचढाबले पनि धने लक्ष्मीको माया र बिश्वासमा कुनै कमी आएको छैन । सधैं भर्खरै नब दुलाह दुहली जस्तै मायालु देखिन्छन । वरिपरीका छरछिमेकीले पनि उदाहरण दिनु पर्‍यो भने धने लक्ष्मीको नै दिने गर्छन की जोडी होस् त धने-लक्ष्मीको जस्तो । मलाई पनि गर्ब लाग्थ्यो त्यो जोडी देखेर । कल्पनामा रमाउने गर्थे कहिलेकाहीं दु:ख सुख जे भए पनि मेरो पनि यस्तै सुन्दर संसार होस्, यस्तै माया गर्ने श्रीमान अनी साथमा यस्तै २ वटा भन्ट्यान भुन्टुङ हुन । दु:ख त के हो र आफ्नोको साथ छ भने त ढुङ्गामा पनि संसार बनाउन सकिन्छ । सुखले मान्छेलाई घमन्डी बनाउछ, होस् मलाई घमन्डी बन्नु छैन । मलाई त सबैको साथमा हाँसेर जिउने रहर छ । म यस्तै कल्पनामा डुब्ने गर्थें । धने दाईको खुशीमा नै म त मस्त हुन्थें । धने दाईले धेरै पढ्नु भएको थिएन तर धेरै व्याबहारिक हुनुहुन्थ्यो । मओबादीको चहल पहल पछि हाम्रो गाउँबाट धेरै युवाहरु बिदेश पलायन भए । बिदेश गएका छिमेकी भाईहरुले धेरथोर कमाएर पठाउन थाले पछि धने दाईलाई पनि बिदेश पस्ने रहरले कुत्कुताउन थाल्यो । श्रीमतीलाई गलाभरीको तिल्हरी लगाइदिने अनि बाबु नानीलाई राम्रो बोर्डिङ स्कुलमा पढाउने सपना देख्न लागे । आखिर सबैले देख्ने साधारण सपना नै थियो त्यो । कुन श्रीमानलाई रहर नलाग्ला र आफ्नो श्रीमतिले राम्रो लगाएर हाँसी  सुखले अरु साथी भाईसँग रमाएको देख्न ? कुन बाउलाई रहर नलाग्ला र आफ्नो छोरा छोरीले राम्रो बोर्डिङ स्कुल पढेको देख्न ? यस्तै धने दाईलाई पनि रहर लाग्नु स्वभाविकै थियो ।

मनभरि यस्तै कुरा खेलाउदै धेरै दिन बिताए धने दाईले तर भाउजुलाई बताउने आँट भने गर्न सकेका थिएनन् । लक्ष्मीले के भन्ली ,जान देली की नदेली आदि आदि कुराले पिरोलेको थियो । म यहाँबाट हिंडे पछि कसले साथ दिन्छ होला मेरी लक्ष्मीलाई ? विवाह भएपछि आज सम्म एक रात पनि छुटिएका छैनौ हामी । अब कसरी छुटिएर बस्न सकिएला त खै ? धने दाई बिदेश जानु भन्दा पहिला नै बिछोडको पिडामा डुबिसकेका थिए । अब जे हुन्छ हुन्छ भनेर लक्ष्मीलाई यो कुरा बताउने आँट गरे । साँझ  छोराछोरीले खाना खाइवरी सुत्न गइसकेका थिए । लक्ष्मी भाउजु मात्रै धने दाईलाई पर्खिदै बसेकी थिन अङेनाको डिलमा साथैमा बसेर खाना खाउला भनेर । धने दाई घर भित्र पस्ने बितिकै लक्ष्मी भाउजुले भनिन होइन कहाँ हराएका हुन यी बुढा दिनभरि आज ? अनुहार पनि मधुरो देख्छु । होइन हो बुढा तिमीलाई के समस्या आइपर्यो हँ ? सधैं हाँसी खुशी घर भित्र पस्ने बुढाको अधेरो अनुहार देखे पछि लक्ष्मी भाउजुले कसरी नसोधी बस्न सक्थिन र ? धने दाईले आङ कनाउदै भने मेरी लच्छु ! हेरन पल्लाघरे काकाको छोराले पनि बिदेशबाट पैसा पठाउन लागिसकेछ । आज काकाले भन्नु भएको खै काठमाडौंको कुन्नी कुन ठाउँमा जग्गा लिनु पर्‍यो भन्दै हुनुहुन्थ्यो । अब हामी नै यहाँ सबै भन्दा गरीब हुने भयौं । भोली सबैले हामीलाई हेप्छन होला है भन्दै आफ्नो कुरा राख्ने बाटो बनाउदै थिए धने दाई । त्यो त हो नी बुढा अब सबै धनी भए पछि रहन सहन सबै परिबर्तन हुन्छ अनी हामीलाई यसो ऐंचो पैचो लिन जान पनि गाह्रो हुन्छ नी । तै पनि अरु के उपाय छ र हाम्रो । यसरी नै चलाउदै जाउला नी । आज पनि चलेकै छ भोलि पनि चल्छ धन्ना नमान बुढा भन्दै सान्त्वना दिइन भाउजुले । तर धने दाईले यही मौकामा प्याच्च भनिहाले म पनि जान्छु है बिदेश ? लक्ष्मी भाउजुले एकपल्ट बुझिनन् के अरे ! केरे केरे बुढा फेरी भनत के भनेको मैले सुनिन भनिन् । धने दाई डराइ डराइ तिनै वाक्य दोहोराउदै गए म पनि बिदेश जान्छु अब । हातमा भएको पानीको अंखोरा भैमा खसेको पत्तै पाउनु भएन भाउजुले । होइन के भन्दैछौ हँ बुढा तिमी ? बिदेश जान्छु रे होइन कसले उकास्यो आज तिमीलाई ? हिजो सम्म जति दु:ख भोग्नु परे पनि भोग्छु तर तिमीलाई छाडेर कही जान्न भन्ने मान्छे आज बिदेश जाने कुरा कसरी भन्न सक्छौ तिमी ? यति भन्दै नजिकैको चकटिमा थचक्क बसिन लक्ष्मी भाउजु । भारी मन बनाउदै सम्झाउन लागिन धने दाईलाई  हेर बुढा दु:ख सुख त संसारको रित नै हो । आज दु:ख त भोलि सुख । तर हाम्रो साथ छ भने यो दु:खलाई सुख बदल्न सक्छौ । तिमी छौ र पो म पनि जति दु:ख पनि सहन सकेकी छु । तिमी नै छैनौ भने म कस्को आड र भरोसामा बस्ने ? भकानिएको मन थाम्न सकिनन लक्ष्मी भाउजुले । थुचुक्क बसेको धने दाइको काखमा घोप्टो परेर रुन लागिन । धने दाईको पनि आँखा नरसाएका होइनन् तर छोरो मान्छे रुनु हुदैन रे भन्छन । त्यहि सम्झिंदै आँखामा निस्केको आँशुलाई आखामा नै लुकाएर लक्ष्मीलाई सम्झाउन लागे । धेरै कुरा गरेर भाउजुलाई सम्झाइ छाडे धने दाइले ।

यसरी सबै व्यबहार मिलाएर काठमाडौंमा रहेको एउटा नाम चलेको म्यान पावर कम्पनीबाट बिदेश हानिए धने दाई । खाउँ खाउँ लाउँ लाउँ भन्ने बेलाको उमेरमा यसरी बुढाले चटक्कै छाडेर हिंडेको देखेर लक्ष्मी भाउजु भित्र भित्र जलिरहिन । २ जना छोराछोरीको जिम्मा अब लक्ष्मी भाउजुको नै थाप्लोमा थुप्रिएको थियो । हिजो सम्म बुढाको काखमा रमाएकी लक्ष्मी भाउजु आज बिल्कुलै र एक्लो भएको महशुस गर्न लागिन । तर जे सुकै भए पनि अब सहनु शिबाय केही थिएन । धने दाईले बिदेश पुग्ने बितिक्कै फोन गरे लक्ष्मी भाउजु र छोराछोरीलाई । काम राम्रो भएको बताए दाईले । तर उनीहरु बिनाको दिन रात कटाउन धेरै गाह्रो भएको कुरा पनि बातएछन फोनमा ।

यसरी बिदेश गएको झन्डै १ बर्ष सम्म त प्राय: जसो फोन गर्ने अनि बेला बेलामा पैसा पठाउने गर्नु भयो धने दाईले । तर समय बिस्तारै परिवर्तन हुन थाल्यो । हरेक हप्ताको १ पल्ट फोन आउने समय पनि छोंटिन लाग्यो । महिनाको दोस्रो हप्तामा बाबु नानुको लागि आउने पैसा पनि बिस्तार आउन छाड्यो । अब त्यो गाउँको धने दाईमा पनि बिदेशी हावा लागिसकेको थियो । आफ्नी प्राणप्यारीले लगाएको ढुंग्री ,तिल्हरी ,मंगलसुत्र बन्दकी राखेर हिंडेको धनेले आफुले देखेको सपना सबै भुली सकेको थियो । कमाएर जमाएर दिने कुरा त कहाँ थियो कहाँ भएको सबै गुमाउनु परेको थियो लक्ष्मी भाउजुले । अनपढ थिन तर मनको धेरै सफा र पवित्र थिइन मेरी लक्ष्मी भाउजु । समय यसरी नै बित्दै गयो ।  धने दाई बिदेश लाग्नु भएको पनि ५ बसन्त पुरा भएर छैटौ बसन्तमा प्रबेष गरिसकेको थियो । यही बेला धने दाई १ महिनाको छुट्टी मनाउन नेपाल फर्किए । पहिला गाउँमा बस्ने धने कहाँ को अहिले बिदेशबाट फर्केर आएको धने दाई कहाँ को ? मोटाएछन ,गोरा भएछन । देख्दै खाइलाग्दा भएछन । यसरी लक्ष्मी भाउजुको धने गाउँ आएको देखेर गाउँभरि सबै खुशी भएका थिए । लक्ष्मी भाउजुको पनि खुशीको सिमा थिएन । तर यो खुशी धेरै दिन टिक्क्न सकेन । धने दाई अचानक बिरामी परे । बिरामी परेका धने दाईले काठमाडौं आएर आफ्नो रगत जँचाए । रगतको रिपोर्ट आएपछि थाहा पाए की उहाँलाई एच.आइ.भी. एड्स लागेको रहेछ । यो रिपोर्ट हेरेपछि बल्ल धने दाईलाई आफुले बिदेशमा गरेको मस्तीको याद आयो । जथाभाबी जे जे मनमा लाग्छ त्यहि गर्दै हिंडेको याद आयो धने दाईलाई । अब लक्ष्मीलाई के भएको रहेछ भनेर भन्दा के उत्तर दिने होला भन्ने चिन्ताले पिरोल्न लाग्यो धनेलाई । रिपोर्ट लिएर घर फर्कियो धने । धन कमाउन बिदेश गएको धने आज रोगको पोको बोकेर फर्किएको महसुस भयो आफैलाई । यसरी बिस्तारै थला पर्दै गए धने । नेपाल फर्किएको केही महिना नबित्दै धने दाईको म्रुत्यु भयो । अब धने दाई कहिले पनि नफर्किने गरी गए सधैंको लागि लक्ष्मी भाउजु अनी ती दुई कोपिलालाई छाडेर । बिदेश गएर धन कामएर सुन्दर संसार बनाउने सपना देखेका धने दाईले आफ्नो भएको संसारलाई नै गुमाउनु पर्‍यो । धने दाईको म्रुत्युले लक्ष्मी भाउजु माथि ठुलो बज्र प्रहार भयो । सहन सक्ने क्षमता थिएन अब भाउजुमा पनि । यही बियोगले भाउजु दिन प्रति दिन गल्दै जानु भयो । धने दाईले कमाएर ल्याउनु भएको एच.आइ.भी. एड्स भाउजुमा पनि सारिसकेको रहेछ । यो कुरा गाउँभरि फैलियो । पहिला लक्ष्मी भाउजुलाई लक्ष्मी माताको सम्मान गर्ने तिनै गाउँलेले गाउँ निकाल गरिदिए एच.आइ.भी. लागेको कुरा थाहा पाएर । बस्ने खाने कुनै कुराको ठेगाना भएन । न कहिं गएर बस्ने ठाउँ नै थियो । ती दुई छोराछोरीलाई लिएर काठमाडौं पसिन । रोग र शोकले थलिएको शरिरले न कसैको साहारा पायो न त कसैको माया । त्यसमा पनि साथमा रहेका ती दुई कोपिलाको चिन्ताले झन थला परिन लक्ष्मी भाउजु । यसरी यताउता भौतारिदा भौतारिदै लक्ष्मी भाउजुको पनि म्रुत्यु भयो ।

ती भर्खरै फक्रिन लागेका दुई कोपिलाको कसले हेरबिचार गर्ने त अब ? मृत आमाको शरीरमा लुटपुटिदै रोइरहेका ती स-साना बच्चाको भबिष्य कस्तो होला त अब ? धने दाईले राम्रो बोर्डिङमा  पढाउने सपनालाई कहिले पनि नभुलेका भए ,जे जे मनमा लाग्छ त्यहि गर्दै नहिडेको भए आज मेरी लक्ष्मी भाउजु पनि यो संसारमा हाँसी खुशी नै हुन्थिन होला । आफ्नो परिवारबाट टाढा हुँदैमा आफुले आफुलाई स्वतन्त्र र किलाबाट फुकेको पशुले झै जथाभाबी गर्दै हिंडेपछि सपना सपना मा नै सिमित हुन्छ । यहाँ सम्म की आफुसँग भएको सबै कुरा गुमाउनु पर्छ र बाँचेकाको जिन्दगी पनि नरक समान हुन्छ । हाम्रै सानो लापर्बाही र र गलत बिचारले नै सुन्दर संसारमा आगो लगाउन पुग्छौ । स्वदेशमा होस् या त बिदेशमा होस् केही काम गर्नु भन्दा पहिला अर्थात कुनै कदम चाल्नु भन्दा पहिला हामीले खाली दिमागले सोच्ने गर्नुपर्छ । आफु भन्दा पछाडि  को को छन् अनी आफुले गरेको गल्तीको सजाय क-कसले भोग्नु पर्ने हुन्छ भन्ने कुरा राम्रोसँग बुझ्नु नै पर्दछ । हामीले मायाले जन्माएका हाम्रा सन्ततीहरु सडक पेटिका खाते बालबच्चा नबनुन् । हाम्रो रगतलाई अरुले खाते भनेर नपुकारुन । र आफ्नो रगतलाई अरुको उपहासको पात्र बन्न नदिउ !!!



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...