साधारण सभा रणभूमिमा परिणत भएपछि ..!!!- गिरधारी

Published Date: November 8, 2014

– गिरधारी “विरही” रिजाल

(१) प्रारम्भ :-

सन् २०१० मार्च १२ को दिन । यूएईको बरदुबई स्थित एभरेष्ट इन्टरनेशनल होटेलको एक हल । अपरान्ह करीब ३ बजेसम्म सो हल खाली देखिन्थ्यो । करीब ३:३० बजे नेपाली समाजका केही पदाधिकारीहरु तथा अन्य व्यक्तिहरुको प्रवेश हुन्छ । केही क्षणमै नेपाली दूतावासबाट महामहिम राजदूतको आगमन हुन्छ । यत्तिकैमा नेपाली समाज यूएईका केन्द्रिय सचिवले नेपाली समाज यूएई केन्द्रिय परिषद्को साधारण सभाको कार्यक्रमको लिष्ट लिएर उद्घोषण शुरु गर्छन् । समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका महामहिम राजदूत तथा साधारण सभाध्यक्ष द्वारा पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन हुन्छ । त्यसपछि सँस्थाका उपाध्यक्षले निकै शिष्ट तथा मीठा शब्दमा दुई मिनेटमै स्वागत भाषण सिध्याउँछन् । कार्यक्रम निकै सटिक देखिन्थ्यो । पत्रकारहरु फोटो लिन र समाचार नोट गर्नमा तल्लीन देखिन्थे ।

केहीक्षण पछि नेपाली समाज यूएईको वेबसाइट प्रमुख अतिथि महामहिम राजदूतकै हातबाट उद्घाटन हुन्छ । उद्घाटन पश्चात् वेभसाइट डिजाइनरले यसको विशेषता र यसमा समावेश गरिएका खुराकहरुको बेलिबिस्तार गराउँछन् । कार्यक्रम स्थलमा तालीको गड्गडाहट गुञ्जायमान हुन्छ । सबैले वाह-वाह व्यक्त गर्छन् । त्यसपछि नेपाली समाज यूएईको विधान संशोधन समितिका संयोजक समेत रहेका नेपाली समाज यूएईका महासचिवले नेपाली समाज यूएईको संशोधित विधान २०६६ साधारण सभाबाट पारित गराउँन पढेर सुनाउँछन् । सबैजना कलम र कापी लिएर नोट गर्न मौन भै सुन्छन् । विधान पाठ सिद्घिन्छ । विधान पारित गर्नका लागि उपस्थित जनसमुदायलाई ताली बजाएर समर्थन गर्न उद्घोषकबाट अनुरोध गरिन्छ र ताली पड्काएर पारित हुन्छ विधान । अनि समाजका कोषाध्यक्षले राजिनामा दिई सबै हिसाबकिताब आफुलाई बुझाएर गएकाले वार्षिक आय-व्यय पढेर महासचिवले नै समारोहमा प्रस्तुत गर्छन् । समाजको आय भन्दा व्यय धेरै देखिएको र समाज नोक्सानमा दौडिरहेको थाहा लागेपछि उपस्थित जनमानस मौन रुपमा मुखामुख गर्छन् । यूएईका एक लाख पचास हजार नेपालीहरुलाई समस्या पर्दा अब कसरी उद्घार हुन्छ भनेर सोचमग्न थिए होलान् शायद । त्यसपछि महासचिवले समाजको आगामी कार्ययोजना र बजेटको प्रस्तुतिकरण पनि आकर्षक रुपमै प्रस्तुत गरे जुन सोचे अनुसार भएमा आगामी नयाँ कार्यसमितिलाई नाफासहित हस्तान्तरण गर्न सकिने पनि बताए । विधान पाठ र आय व्यय विवरण प्रस्तुतिकरण सकिएपछि प्रमुख अतिथि महामहिम राजदूतले साधारण सभा सुखद् रुपमा सम्पन्न होस् भन्ने शुभकामनाको अभिव्यक्ति दिंदै आफु कार्यव्यस्तताले गर्दा पूरै सभामा बस्न असमर्थ रहेकोले विदा मागेर आफ्नो गन्तव्यतिर लाग्छन् ।

कार्यक्रमको अर्को चरणमा नेपाली समाज केन्द्रिय समितिमा रिक्त हुन आएका पदहरु प्रिपूर्ति गर्ने क्रम थियो । सँस्थामा रिक्त हुन आएका तीन्टा पदमध्ये उपाध्यक्ष, कोषाध्यक्ष, र प्रवक्ताको रहेको जानकारीमा आएको थियो । कोषाध्यक्ष र प्रवक्ताको पदमा एक�एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा भयो भने एउटा उपाध्यक्षको पदमा भने तीनजनाको उम्मेदवारी परेकाले सहमतिमै लगेर एउटालाई मात्र समर्थन गर्ने अनि अरुले उम्मेदवारी फिर्ता लिने र निर्वाचन नगराउँने भन्ने हल्लाले हल गुञ्जायमान हुन्छ । त्यसपछि उपस्थितमध्ये केही अगुवा तथा समाजसेवीहरुको सक्रियतामा उम्मेदवारहरुलाई सहमतिमा ल्याउँने प्रयास जारी रह्यो तर प्रयास विफलताको मुखतिर धकेलियो । उम्मेदवारहरु आफुमात्र त्यस पदको लागि योग्य भएको र आफुले मात्र सो पदको भूमिका निभाउँन सक्ने दावी गर्दागर्दै बीचमा एक उम्मेदवारले अर्को उम्मेदवारलाई समर्थन गर्दै र आफ्नो उम्मेदवारी फिर्ता लिंदै सो मञ्चबाट जनसमुदायतिर आउँछन् तर दुईजना उम्मेदवारहरु भने एकले अर्कोलाई सहमति दिन नसक्ने अडान लिएर चर्काचर्की परेपछि चुनाव निश्चित प्राय भयो । पदपूर्ति समितिले मतपेटिका ल्याएर निर्वाचन गराउँन तम्तयार भयो । निर्वाचन आचारसंहिता अनुसार परिषद्का पार्षद्हरुले मात्रै मतदानमा भाग लिन पाउँने व्यवस्था रहेकाले उनीहरुले पार्षद्हरुको नाम मतदानका निम्ति बोलाउँछन् र केहीले मतदान पनि गरिसक्छन् । उपस्थितमध्ये केही पार्षद्हरुले यहाँ सबै पार्षद्हरुको बहुमतको आधारमा उपस्थिति नभएकाले उपस्थित अन्य सबै व्यक्तिहरुले पनि मतदान गर्न पाउँनुपर्छ अन्यथा आफुले पनि मतदानमा भाग नलिने र यो मतदानको निर्णयलाई समर्थन नगर्ने अडान लिन थाले । यसो त यो भन्दा अघि नै उपाध्यक्षका प्रत्यासी तीन उम्मेद्वारमध्ये एक उम्मेद्वारले सहमतिमा गएर एकजनालाई समर्थन गर्ने भए आफूले उम्मेद्वारी फिर्ता लिने र सहमति हुन नसके यहाँ पार्षद्को न्यून उपस्थिति रहेको अवस्थामा निर्वाचन भएमा आफूलाई मान्य नहुने बताइसकेका थिए । यत्तिकैमा हल हल्लैहल्लाले गुञ्जिन थाल्यो । यसपछि केही झुण्ड व्यक्तिहरु स्टेजमा आई होहल्ला सहित स्टेज घेराबन्दी गर्न थाले । एकले अर्कालाई धम्कीसम्म दिने खालका आवाजहरु गुञ्जिएपछि पदपूर्ति समितिका संयोजकले सो रिक्त पद नेपाली समाज यूएई केन्द्रिय कार्यसमितिले निर्णय गरेर आफै पूर्ति गर्नेछ भनेर घोषणा गर्न बाध्य भए भने कार्यक्रम सञ्चालकले आजको साधारण सभा यत्तिकैमा स्थगित गरिएको घोषणा गरे । त्यतिबेलासम्म एउटा कुनामा बसेर यी सबै दृश्यहरु नजरमा कैद गर्दै यूएईको सबैभन्दा पुरानो र जेठो सँस्थाको साधारण सभा रणभूमिमा परिणत भै अधोगतितिर जाँदै गरेको यो पँक्तिकारले टुलुटुलु हेरिरहेको थियो ।

(२) नेपाली समाजको साधारण सभा किन फेल भयो त ?

गतसाल नेपाली समाजको २१ जनाको पूर्ण केन्द्रिय कार्यसमिति र केन्द्रिय परिषद्का अध्यक्ष सहितको घोषणा भएपनि केन्द्रिय समितिको हाल रिक्त रहेका ३ वटा पदहरु र केवल अध्यक्ष मात्रै रहेको केन्द्रिय परिषद् अनि सो परिषद् सञ्चालन गर्ने अन्य कोही पनि नभएकाले नै यी दुई मुख्य कारकतत्व मान्न सकिन्छ । परिषद्मा १५४ जना पार्षद् सहित घोषणा गरिएको केन्द्रिय परिषद्का अध्यक्षको समेत अनुपस्थिति रहेको नेपाली समाजको साधारण सभा केवल घोषणामै सीमित रह्यो । सर्वप्रथम नेपाली समाजको केन्द्रिय कार्यसमितिको निर्देशन मुताविक केन्द्रिय परिषद्को भेला गराएर परिषद्लाई पूर्णता दिइनुपर्दथ्यो तर तर एकजना अध्यक्ष मात्र रहेको केन्द्रिय परिषद् केवल नाममा मात्रै सीमित राखियो । अनि साधारण सभा घोषणापूर्व केन्द्रिय परिषद्को बैठक बोलाई साधारण सभामा लैजाने एजेण्डाहरुको तयारी गरिइनुपर्दथ्यो । समाजको विधान साधारण सभामा दन्त्यकथा जस्तै पढेर सुनाउँनुको साटो केन्द्रिय परिषद्को बैठकबाट पारित गराएर साधारण सभामा लगेर ताली पड्काउँन लगाउँनुपर्दथ्यो । आयोजक समितिका पदाधिकारीहरुको कामको जिम्मेवारीमाथि नेतृत्व तहले निगरानी राख्न सक्नुपर्दथ्यो । नेपाली समाजका पार्षद्हरुको डाटा संकलन साधारण सभापूर्व नै गरिइनुपर्दथ्यो । समाजमा रहेका रिक्त उपाध्यक्ष र कोषाध्यक्षका पदहरु पदाधिकारीहरुले राजीनामा दिनासाथ सोही बखत सार्वजनिक गरिइनुपर्दथ्यो अनि रिक्त पदमा असल उम्मेदवारको खोजी गर्न अन्य यस अन्तर्गतका सँस्थाहरुमार्फत् अग्रिम सूचना जारी गरिइनुपर्दथ्यो । रिक्त रहेको प्रवक्ताको पद केन्द्रिय कार्यसमिति आफैले परिपूर्ति गर्न सक्नुपर्दथ्यो किनकि यो पद विधानतः समितिलाई नैसर्गिक अधिकार थियो होला शायद । सर्वमान्य सँस्थाको साधारण सभा जस्तो संवेदनशील स्थलमा गैर पार्षद्हरुको उपस्थिति अत्यन्त आपत्तिजनक हो । सभास्थलमा यो रोक लगाइएको हुनुपर्दथ्यो । साधारण सभामा पार्षद्हरुले प्रत्यक्ष बोल्ने, प्रश्न राख्ने उत्तर दिने खुलस्त व्यवस्थाको कमी टड्कारो रुपमा देखिन्थ्यो । सरसर्ती हेर्दा साधारण सभा शुरुआत् र स्थगनको अधिकांश नियमहरुको पालना भएको देखिन्थेन । यसको अर्थ यो हुन जान्छ कि समाजको साधारण सभाको स्पष्ट कार्यनीति र दिशानिर्देश भएको नै थिएन । यस साधारण सभाको अर्को सबैभन्दा कमजोर पक्ष के हो भने सँस्थाका सम्पूर्ण पार्षद्हरुलाई सही समयमा सही जानकारी नहुनु, सबै पार्षद्हरुलाई साधारण सभाको खबर पुर्याउँन नसक्नु र विधानमा उल्लेख भएअनुसार साधारण सभा सञ्चालन गर्न ५१ प्रतिशत पार्षद्हरुको गणपूरक संख्या हुनुपर्नेमा टाउको गनेर २५ जना पनि पार्षद् नभएको अवस्थामा संख्याको ख्यालै नगरी सभा सञ्चालनतिर उन्मुख हुनु आयोजकको अत्यन्तैे अकर्मण्यता हो भन्नुपर्ने नै हुन्छ । सो दिन उपस्थिति नपुगेपछि अर्कोपटक मात्र उपस्थित बहुमतको आधारमा जानुपर्दथ्यो । अर्को कुरा समाजको केन्द्रिय समितिमा रिक्त रहेको पदको पदपूर्ति गर्ने सम्बन्धमा उम्मेदवारी दिनुपर्ने भनिएको भएपनि कतिपय पार्षद्हरुले सो कुरा सभास्थलमा गएर मात्रै जानकारी पाएका थिए । पदपूर्ति गर्ने भनेर समिति समेत बनाइएको र कहिले निर्वाचन समिति त कहिले पदपूर्ति समिति भनेर आफैमा विवादित बनाइएको थियो किनकि पदपूर्ति समितिले सामञ्जस्यतामा ल्याई पदपूर्ति गरिइनुपर्नेमा निर्वाचनको निम्ति नै बाकस लिएर अगाडि बसेपछि त्यो कुनचाहिँ समिति हो कुन्नि ? सर्वसाधारणले पनि बुभ्mन सक्ने कुरा हो । सामञ्जस्यताको लागि पदपूर्ति समितिले अन्य उपस्थित महानुभावहरुलाई स्टेजमा बोलाएर उम्मेदवारहरुलाई सहमतिमा ल्याउँन नसकेपछि उनीहरु हाँसको माझमा बकुल्लो मात्र बन्नुपर्यो । आयोजकले उपस्थित सँस्थाहरुलाई पार्षद्को नामावली तत्काल परिवर्तन गरेर दिन सकिने व्यवस्था हलभित्रै गरिदिनु र उम्मेदवारी दिन अझै सभास्थलमा समयको बढौती दिने खालको कमजोरी नै यो जञ्जालको उपज हो । तसर्थ भविष्यमा नेपाली समाजले जबसम्म यी कमजोरीहरुलाई सच्याउँदैन सक्दैन तबसम्म यस्तैखाले समस्याहरु अनिवार्य खेप्नुपर्ने हुन्छ ।

(३) हालसम्म भैनसकेका र नेपाली समाजले अनिवार्य गर्नुपर्ने बाँकी कार्यहरु :-

पहिले देखिनै नेपाली समाज यूएईले यूएईमा रहेका सातवटै इमिरेट्सहरुमा यस अन्तर्गतका क्षेत्रीय समितिहरु गठन गरेर काम सुचारु गरेको थियो । यसका १० वटा क्षेत्रीय समितिहरुमध्ये विगत ३-४ वर्ष यता मात्र २ वटा क्षेत्रले आफ्नो सक्रिय सहभागिता जनाएको र कार्यहरु गर्दै आएको देखिन्छ । बाँकी क्षेत्रहरुमा देखिएको निष्क्रियतालाई हेर्दा समाज सक्रिय छ भन्न गह्रो हुन थालेको छ । गतवर्ष जनवरीमा दुईवर्षे कार्यकालका लागि केन्द्रिय समिति गठन भएयता क्षेत्रीय समितिहरु पुनर्गठन गर्न नसक्नु नेतृत्व तहको कमजोरी हो भन्नैपर्ने हुन्छ । जबसम्म यसका क्षेत्रीय खम्बाहरु दरिलो हुदैनन् तबसम्म यसले अग्रगति लिन सक्दैन । २७ वटा सँघसँस्थाका प्रतिनिधिहरु मिलेर नेपाली समाजको नेतृत्व तह गठन भएकोले ती पदाधिकारीहरुले केवल आफ्नो सँस्थाको मात्र डम्पूm बजाउँन खोज्ने र यसलाई असहयोग गरेकै हो कि भन्ने आशंका पैदा हुन थालेको छ । यदि यसको संगठन विभाग बलियो बनाउँने हो भने एक कुशल संगठन विभाग प्रमुख चुनेर सांगठनिक प्रक्रिया अगाडि बढाउँन जरुरी छ ।

यूएईमै पुरानो समाचारमूलक पत्रिकाको रुपमा चिनिने नेपाली समाजको मुखपत्र हिमअरब दुई वर्षयता यूएईमा देखा परेको छैन । यो पत्रिका प्रकाशनमा आयो भने पनि समाजका गतिविधिहरु सर्वसाधारण नेपालीहरुलाई जानकारी भै यसमा सहभागिता जनाउँन अवश्य सजिलो पर्छ । तसर्थ यसको प्रकाशनको निम्ति अनिवार्य पहल गर्नुपर्ने देखिन्छ ।

नेपाली समाजको विधानमा केन्द्रिय समिति बाहेक १२ वटा भन्दा बढी विभागहरुको व्यवस्था गरिए पनि ती विभागहरुको गठन प्रक्रिया र कामको बाँडफाँड गरिइनु अत्यावश्यक छ ।

नेपाली समाज यूएईले गर्ने कार्यक्रम र समारोहहरुलाई नियाल्ने हो भने सर्वसाधारण नेपालीहरुको उपस्थिति नगण्य रुपमा भेटिन्छ । कार्यक्रममा विभिन्न सँघसँस्थाका प्रमुख र गण्यमान्य अतिथिहरु बाहेक नयाँ अनुहार प्राय भेटिदैन । जहिले जुन कार्यक्रममा पनि एउटै अनुहारको बाहुल्यता हुन्छ । प्रत्येक सँस्थाका प्रमुखहरु जो माथिसम्म पहुँच भएका, चिनजान भएका अनि आयस्तर पनि राम्रै भएका हुन्छन् र तिनीहरुलाई नै कार्यक्रममा अतिथिको रुपमा निःशुल्क प्रवेश दिइन्छ । टिकट काटेर प्रवेश गर्नेहरुमा केवल न्यून आयस्तर भएका सर्वसाधारणहरु जसको बस भाडा समेत जोड्दा पाँच दिनको तलबले एक दिनको कार्यक्रम हेर्न भ्याउँदैन भने उनीहरुको उपस्थिति संख्या बढ्ने कुरै हुदैन । यसो गर्दा सँस्था प्रमुख र अतिथिको संख्याले कार्यक्रमको उपस्थितिमा आधा जति निशुल्क रकमले नेटो काटिसक्छ र बाँकी उपस्थिितिले कार्यक्रमको व्ययभार कसरी थामिन्छ, सोच्नैपर्ने हुन्छ । यो रोग नेपाली समाजमा मात्र नभै यूएईमा रहेका सम्पूर्ण सँघसँस्थाहरुमा व्याप्त छ र पैसा तिरेर कार्यक्रम हेर्न जाने प्रवृत्ति निकै कम भएको छ ताकि यो कसैले पनि सोचेका हुदैनन् कि यो हामी सबै नेपालीको कार्यक्रम हो र यसलाई सहयोग गरेर अगाडि बढाउँने प्रेरणा दिनुपर्छ भनेर । केवल फलानो सँस्थाको कार्यक्रम हो हामी किन जाने निमन्त्रणा आएको छैन भनेर त्यही सँस्थामा मात्र कार्यक्रम सीमित पार्न खोजिइन्छ ।

अर्को कुरा यूएईमा अवस्थित विभिन्न जनवर्गीय संगठनहरु र अन्य सँस्थाहरुले कार्यक्रम गर्दा कार्यक्रमको हल खचाखच हुने गर्दछ र फाइदामै गएको देखिन्छ तर २७ वटा सँस्थाको प्रतिनिधिमूलक सँस्था नेपाली समाज यूएईको कार्यक्रममा त्यही दरमा दर्शकको उपस्थिति किन हुदैन ? यसलाई आश्चर्य नमान्दा पनि हुन्छ किनभने उनीहरुको आफ्नो सँस्था भएकोले त्यससँग सम्बन्धित सबै खटेर काम गर्छन् तर नेपाली समाज साझा संगठन भएकोले मेरो मात्र हैन किन म मात्र कस्सिने भन्ने सवाल कतिपयको मनमा आएको पनि हुनसक्छ भने नेपाली समाजको नेतृत्व तहमा पनि यो भर पर्नसक्छ किनकि नेतृत्व तहले पदाधिकारी सहित सम्बन्धित सबै सँस्थाहरुलाई कामको जिम्मेवारी दिने र लगातार पछ्याइरहने अनि ती सँस्थाहरुको कार्यक्रममा पनि आपूmले सक्दो सहयोग गर्ने वातावरण सिर्जना गर्न सकेमा मात्र आपसी द्विपक्षीय सम्बन्धले यो अवश्य मौलाएर जान सक्छ ।

(४) नेपाली समाज यूएईले विगत र वर्तमानमा गर्दै आएका कार्यहरु :-

नेपाली समाजले यूएईमा के-के गर्यो र गरिरहेको छ त ? यो सबैको चासोको विषय पनि हुन सक्छ । नेपाली समाजले विधानतः सबै कार्य गर्न नसकेपनि यसले गरेका उल्लेखनीय कार्यहरु भने कदापि भुल्नु हुदैन । नेपाली समाजले दूतावासको स्थापनापूर्व कन्सुलर सेवाको साथमा अन्य केकति सहयोग नेपालीहरुलाई गर्यो ती सबै कुराहरु यसको इतिहासले नै बताइसकेको छ । दूतावास स्थापना पश्चात् पनि यससँग सहकार्य गर्दै यहाँ स्थापना भएका अन्य जातीय, धार्मिक, भौगोलिक, साहित्यिक र राजनैतिक अवधारणा भएका सँघसँस्थाहरुसँग पनि समन्वय गर्दै नेपाली कला, सँस्कृतिको जगेर्ना गर्ने, नेपाली चाडपर्वहरु मनाउँने र पर्यटन प्रबद्र्घनको विकास गर्न सबैसँग परामर्श लिई अगाडि बढ्दै गरेको देखिन्छ भने यहाँ रहेका नेपालीहरुलाई परेका पीरमर्का र समस्याहरु दूतावासको सहयोगमा समाधान गर्दै लाखौं नेपालीहरुको उद्घारकर्ताको रुपमा स्थापित गर्न जागरुक देखिन्छ । नेपाली समाज अनुशासित रुपमा चलोस् र यसलाई कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने थलो बनाउँन नपाओस् भनेर विधान पनि समय सापेक्ष संशोधन गर्दै अगाडि बढेको भेटिन्छ । हालै आएर यसको पूर्ण जानकारी यहाँ रहेका सबै नेपालीहरुलाई होस् र यसका गतिविधिहरुबाट सबै नेपालीहरु परिचित हुन सकून् भन्ने अभिप्रायले यसको वेभसाइट तयार गरेर सञ्चालनमा समेत ल्याइएको छ । यसकारण सरसर्ती हेर्दा यसको उद्देश्य अनुरुप चल्ने प्रयास हदैसम्म गरेको पनि यी क्रियाकलापहरुले छर्लङ्गिन्छ ।

(५) उपसंहार :-

गतसाल पनि यसै होटलको हलमा नेपाली समाज यूएईको केन्द्रिय कार्यसमितिको चयन गर्दा यस्तैखाले समस्याहरु नउब्जिएका होइनन् तर मुश्किलैले भएपनि कार्यसमिति चयन भयो र यसको माया गर्ने नेपालीहरुको आशाको त्यान्द्रो भने चुँडिन पाएको थिएन । त्यतिबेला उत्पन्न विषम परिस्थितिलाई औल्याएर हुन नसकेका कुराहरु र सुझावहरु समेटी यो पँक्तिकारले एउटा लेख मिडियाहरुमा सम्प्रेषण गरेको थियो र आज ठीक एक वर्षपछि पुनः सोही विषयमा कलम चलाउँन बाध्य भएको छ उही पँक्तिकार जसलाई कसैले अन्यथा नठानीदिनुहोला किनकी यो पँक्तिकार पनि यसको शुभचिन्तक भएकाले यो कलम चलाउँन बाध्य भएको हो र यी सबै विचारहरु मेरा नितान्त व्यक्तिगत हुन् अनि कसैसँग राग, द्वेष देखाउँने र होच्याउँने अभिप्राय भने पटक्कै हैन ।

यो पँक्तिकारले नेपाली समाजको साधारण सभा रणभूमिमा परिणत भएको उजागर त गर्यो तर यसको साथसाथै यहाँ रहेका डेढ लाख नेपालीहरुको सपना पनि रणभूमिको सँग्राम सँगै स्वाहा भएकै हो त ? सोच्नुपर्ने बेला पक्कै पनि आएको छ ।

सन् १९९० को खाडी युद्घको दौरान तत्कालीन नेपालीहरुको उद्घारको निम्ति १५ जनवरी १९९१ तदनुसार वि.सं. २०४७ साल माघ ०१ मा समाजसेवीहरुले विधिवत् रुपमा नेपाली समाज यूएई गठन गरी कति नेपालीको उद्घार भएहोला अनुमान गर्न सकिन्छ । त्यसपछि लगातार रुपमा नेपालीहरुको हितमा समर्पित नेपाली समाज आ�आफ्नो स्वार्थका कारणले बीचमा गएर टुक्रिएर दुईवटा भएपनि अनेकतामा एकताको माला गाँसी ०१ जनवरी २००७ मा टुक्रिएको एउटै नामको दुइटा समाज एकीकरण गरेर इतिहास पनि कायम गर्यो । सन् २००४ भन्दा अगाडि नेपाली दूतावास नहुँदाको अवस्थामा हजारौं नेपालीहरुको सहारा बनेको नेपाली समाज हालसम्म यूएईमा ५० वटा भन्दा बढी सँघसँस्थाहरु खुलेको बेला २७ वटा सँस्थाहरुलाई समेटेर साझा संगठन बन्दा सबै नेपालीहरुलाई गर्व लाग्नुपर्ने हो तर झगडा गर्ने साझा थलो बनाउँन खोज्दा समाजप्रेमी र समाजसेवीहरुको मनमा पक्कै पनि कालो बादलको च्यादर बिच्छ्याउँने प्रयास गरिएको छ र समाज भाँड्न खोज्ने आधुनिक भाइरससँग लड्ने सर्वशक्तिमान् एन्टीभाइरसको जरुरत अवश्यंभावी छ । अन्यथा डेढ लाख नेपालीको सपनाको पक्कै अवसान हुने निश्चित प्रायः छ । हुन त यस्तैखाले समस्याहरु र क्रियाकलापहरु भएको यसको इतिहासमा यो प्रथमपटक होइन र त्यतिबेलाका समाजका धरोहरहरुले पनि यसको कडा सामना गरेर समाजको रक्षा गर्दै आएका हुन् तर अबको अवस्था भने अलिक भिन्दै छ र सबै समाजप्रेमीहरुको पुनर्जागरणको आवश्यकता टड्कारो रुपमा खड्किएको छ । अन्यथा साधारण सभा नै रणभूमि बन्न सक्ने यूएईमा अन्य जेपनि हुनसक्छ भन्दा अतिशयोक्ति नहोला ।

होशियार ! सम्पूर्ण यूएईबासी समाजप्रेमी नेपालीहरु ।

खबरदार ! समाज भाँड्न खोज्ने भाइरसहरु ।

नोट: लेखक नेपाली समाज, यूएईको आजीवन सदस्य (पार्षद्) समेत हुन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...