गरिबी-बेरोजगारी निवारणका आधुनिक प्रभावकारी उपायहरु

Published Date: November 8, 2014

– टाकादत्त शिवा

हामी र हाम्रो देश नेपाल विश्वकै अति कम बिकसित र गरीब राष्ट्रमध्ये एक हो भन्ने कुरा सम्झिदा हाम्रो मन अमिलोसँग कुढिन्छ। गरीबी – मानव जीवनको एउटा भयन्कर ठुलो अभिसाप हो र धेरैजसो विभिन्न सामाजिक, अपराधिक घटनादेखि लिएर ठुल्ठुला राजनीतिक परिवर्तनको कारण वा मुद्दा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा गरीबी नै हुने गरेको पाईन्छ। गरीबीका कारण हुने विभिन्न पिडादायी तथ्यहरुको सुची बनाउने हो भने लामै फेहरिस्त तयार हुन्छ। त्यसैले त आज हरेक व्यक्तिको ध्याउन्न गरीबीबाट छुटकारा पाउनु, राम्रो सुख सयलको जीवन बिताउनु अनि आफ्ना सन्तानलाई कसरी सुखद भविश्य दिन सकिन्छ भन्ने मै सिमित छ भने राष्ट्रिय स्तरमा हरेक राष्ट्रले आफ्ना नागरिकको स्वास्थ्य, शिक्षा र आर्थिक स्तर उकास्नकै लागि भनी विभिन्न बिकासे कार्यक्रम अघि सार्छन। यसबाहेक, देशका कुना काप्चासम्म पुगेका विभिन्न गैर सरकारी संस्थाहरु र त्यतिकै संख्यामा खुलेका वित्तिय संस्थाहरुको उदेश्य पनि विभिन्न पेशा, ब्यवसायलाई प्रबर्धन गर्नु र अन्तत: गरीबी हटाउनु नै रहेको हुन्छ ।

यति हुँदा हुँदैपनि हाम्रो देशमा गरीबी-बेरोजगारी घटनुको साटो देश नै आर्थिक रुपले टाट पल्टने अवस्थासम्म पुगेको देखिदैछ। हाम्रो जस्तो देशमा गरीबी-बेरोजगारी नघटनुका कारणहरु खोतल्दै जाने हो भने हाम्रा आँखा सामुन्ने विभिन्न समयका राजनीतिक घटनाहरु झल्झली आइदिन्छ अनि त्यो बिषय सरकार र राजनीतिको सरोकारको मुद्दा हुन जान्छ। हुन पनि देशमा शान्ति सुरक्षा कायम गर्नु, बिकासका परियोजनाहरु सन्चालन गर्नु, कार्वान्वयन गराउनु एबम गरीबी-बेरोजगारीका लागि आवश्यक कदमहरु चाल्नु आदि जिम्मा त सरकारको नै हो नि। राजनीति वा सरकारको भूमिका विना देशमा ब्याप्त चरम गरीबी-बेरोजगारी हटन कठिन त छ तर अरु कुनै बिकसित देशको सरकारसँग तुलना गरेर त्यहाको जस्तै जिम्मेबार सरकार हाम्रो भै दिए हुन्थियो भन्नु हाम्रा लागि “आकाशको फल आँखा तरी मर” जत्तिकै हो भन्ने स्पस्ट भएपछि हामी सर्वसाधारणले सरकार र राजनीतिको मुख ताक्ने परीपाटी तोडनुको विकल्प रहेन! भविश्यमा कुनैदिन अवश्य राजनीतिले पनि कोल्टे फेर्ला र नेपालीका राम्रा दिन पनि आउँलान – सके त्यो दिन देख्न हाम्रो जुनीले पाउला कि नपाउला। त्यसो भए देशमा ब्याप्त गरिबी-बेरोजगारी निवारणका लागि हामीले तिनै सकल दिन पर्खिनु पर्ने हो त? अरु सबै बाटाहरु बन्द भै सकेका हुन? राजनीति वा राम्रो सरकारले मात्रै हाम्रा सारा दु:ख-कस्ट बडारेर लैजाने हो र? गरिबी-बेरोजगारी निवारण वा देश विकाशका लागि हामी सामु के कस्ता अवसरहरु छन्? कतै सामुन्ने रहेका प्रसस्त सम्भावनाहरुलाई नजर अन्दाज गरेर हामी दु:खी र निराशावादी भैरहेका त छैनौ ?

अवश्य सम्भावनाहरु पनि छन। सम्भावनाको पहिलो आधार अहिलेको युगलाई कायाकल्प गरिदिने मानव जीवनको पछिल्लो आविश्कार अर्थात सुचना प्रविधीलाई लिन सकिन्छ। जसरी गरीबी-बेरोजगारी मानव जीवनको अभिसाप हो त्यस्को ठीक उल्टो, आजको सुचना प्रविधिको बिकास मानव जीवनका लागि वरदान नै सावित भएको छ। भलै सरकारले झै ठुल्ठुला परियोजनाको आयोजना गर्न नसकिएला तर यदि हामी मेहनेती र इमान्दार छौ भने आजको सुचना प्रविधीको उपयोग गरेर मौजुदा साधन स्रोतबाटै पनि देशमा निक्कै ठुलो आर्थिक परिवर्तन ल्याउन सक्छौ। किनभने, जसरी आकाशको कुनै सिमा हुँदैन त्यसरी नै अहिलेको युगमा सुचना प्रविधीको बिकासको कुनै सिमा छैन र त्यसले अवसरका अनगिन्ती द्वारहरु खोलीदिएको छ। बस, हामीले अब ति अवसरहरुलाई पहिल्याउन जान्नु मात्रै पर्ने भएको छ।

सुचना प्रविधीको बिकासले सिर्जना गरिदिएका रोजगारीका अवसरहरुको कुरा गर्दा सबै क्षेत्रहरुलाई समेटन असम्भव छ। विचार गरौ, आजको सूचना प्रविधीको स्वरुप कस्तो छ। संसारको एउटा कुना देखि कहिले नदेखिएको नपुगीएको अर्को कुनाको जानकारी निमेशभरमा पाउन सकिन्छ। दुरदेसमा रहेका मानिसहरुसँग प्रत्यक्ष भेटे झै कुरा गर्न पाईन्छ। ईन्टरनेटबाटै गाउँघरमा उद्पादित समानहरु समेत संसारभर बेच्न पाईन्छ अनि ईन्टरनेटबाटै रकम भुक्तान पनि गर्न सकिन्छ। ईन्टरनेटको माध्यमबाट तपाईंको बजार अब सर्बब्यापी भएको छ। मानौ तपाईं एक लेखक हो भने, तपाईंको कृति अब अत्यतै कम लगानीमा डिजीटल फरम्याटमा प्रकाशित गरि संसारभर बेच्न सक्नु हुन्छ। यदि तपाईं कुनै भाषामा ज्ञाता हुनुहुन्छ भने आफ्नो वेबसाईट बनाइ विज्ञापन गर्नुस्, हुन सक्छ संसारको कुनै कुनाबाट तपाइलाई त्यो भाषाको अनुबादक भएर काम गर्ने अफर आउँला। अब त ईन्टरनेटको पहुच, परम्परागत कम्प्युटरबाट विस्तारित हुँदै मोबाइल सेटहरुमासमेत पुगिसकेको छ। अर्थात तपाईंको उत्पादनलाई अब मानिसहरुले हात हातबाटै नियाल्न पाउने भए। अर्कोतिर, त्यो मोबाइल वा कम्प्युटरमा प्रयोग हुने सफ्टवेयर विकाश गर्नतिर पनि आफ्नो क्यारियर बनाउन सक्नु हुन्छ। उदाहरणार्थ, विभिन्न विशेसता भएको वेबसाईट बनाउनदेखि लिएर अहिले सर्वाधिक लोकप्रिय रहेको एप्पल कम्पनीको मोबाईल सेट “आइफोन”, प्लयेर “आइपड” र ट्याब्लेट कम्प्युटर “आइप्याड”का लागि तपाइ पनि कुनै सफ्टवेयर एप्लीकेसन बनाउन सक्नु हुन्छ। अद्ध्ययनका लागि चाहिने श्रोतको कुनै कमी छैन, बस चाहिएको कुरा गूगलमा खोज्नुस्। यहाँ, हामी कहाँ आइ टी प्रोफेसनल (सुचना प्रविधी ब्यबसायी) हुनका लागि कम्प्युटर साईन्स नै पढनु पर्छ वा साईन्स लियेर प्लुस टु वा बि यससी नै गरेको हुनु पर्छ भन्ने विल्कुल गलत धारणा बसेको छ। यो बिषय घरमै बसेर ईन्टरनेटको मद्दतले अध्ययन गर्न सकिने हुनाले सामान्य अङ्रेजी बुझ्न सक्ने जो सुकैले पनि (खासगरि, स्कुल/कलेज पढने युवा-युवतीहरुले दिनको एक-आधा घन्टा आइ टी सम्बन्धी कुनै एक क्षेत्र रोजेर अध्ययन गरेर विताउने हो भने उनीहरुले म्यानेजमेन्ट वा अरु कुनै विशय लिएर नै पढदै गरेको भए पनि त्यसलाई असर नपारी) यो क्षेत्रलाई आफ्नो क्यारीयर वा पार्टटाईम जबको रुपमा विकाश गर्न सक्छन। यसको प्रमाण, अहिले नै पनि नेपालमा कतिपय आइ टी प्रोफेसनलहरु नन साइन्स ब्याकग्राउन्डका छन् र राम्रो आम्दानी गरिरहेका पनि छन्। यो संख्या हाम्रो छिमेकी देश भारतमा हेर्ने हो भने असंख्य छ त्यसैगरि त्यहा कैयोले सूचना प्रविधी क्षेत्रमा रोजगारी पाएका छन् भने राष्ट्रले बर्सेनी अरबौ डलर रेवेन्यु भित्रयाईरहेको छ।

माथिको उदाहरण त भयो, केही पढे लेखेका र ईन्टरनेटको सिधै पहुच भएका ब्यतिहरुका लागी सूचना प्रविधीमा लागेर आफ्नो ब्यवसाय बिस्तार गर्ने वा क्यारियर बनाउने कुरा। अब लागौ सुचना प्रविधीको त्यस्तो प्रयोग तिर, जसले ग्रामिण भेगका जुनसुकै ब्यबशाय अपनाएका जनतालाई समेत समेटन सकोस। अझ ठुलो परिधिमा, मौका र अवसर पाएर देश-परदेशमा पुगेका नेपालीहरु देखि लिएर गरिबी निवारण अभियान प्रति सदासयता राख्ने कुनै पनि देशका महिला, पुरुष वा समुह जो हाम्रो देशबाट वा विश्वबाटै गरिबी-बेरोजगारी हटाउन धेरथोर योगदान दिन चाहन्छन एबम त्यो योगदान कतै चुवाहट नभएर सिधै साधन, श्रोत र अवसर नपाएका जनता समक्ष पुगी त्यसको सदुपयोग भएको हेर्न पनि चाहान्छन। यसरी, एकातिर साधन स्रोत र अवसर नपाएर गरिबीमा छटपटिएका जनता र अर्कोतिर अवसर पाएका विश्वको विभिन्न कुनामा रहेका मानिसहरुलाई सेतु झैँ जोडी गरिबी-बेरोजगारी हटाउन सामुहिक अभियान चलाउन पनि अहिलेको सूचना प्रविधीको बिकासले सम्भव छ ।

यस्तो अवधारणा वास्तवमा २००६ सालका नोवेल शान्ति पुरस्कार विजेता बङलादेशी अर्थशास्त्री मोहमद युनुसद्वारा सन्चालित संस्था “ग्रामीण बैंक” र विस्व प्रशिद्ध कम्पनी माईक्रोसफ्टका मालिक अमेरिकी खर्बपती बिल गेट्सद्वारा सन्चालित गैर सरकारी संस्था “बिल् एन्ड मेलिन्डा फाउनडेसन” ले गर्दै आएको कामको एउटा स्वरुप हो अर्थात “माईक्रो फाइनान्स” वा “माईक्रो क्रेडिट”। जसको मुख्य उदेश्य जरुरतमन्द उधमीलाई ऋण उपलब्ध गराइ उनीहरुले चाहेको वैधानिक ब्यवसाय सन्चालन गर्नमा मद्दत् गर्नु हो। हुन त हाम्रो देशमा पनि अनेकन फाइनान्सियल संस्थाहरु खोलिएका छन। ती संस्थाहरुले पनि विभिन्न क्षेत्रमा ऋण प्रवाह गरि उल्लेख्य योगदान दिन्दै आएका छन् । तर ती संस्थाहरु मुलत नाफा आर्जन गर्ने उदेश्यले सन्चालित भएको हुनाले ऋणीले ऋण वाफत चर्को ब्याज बुझाउनु पर्ने तथा विना धितो ऋण नपाइने आदि विभिन्न कारणले गर्दा सर्वसाधारणको पहुच भन्दा बाहिर हुन जान्छ भने अर्कोतिर यसरी लिएको ऋणले कतिपयले घरजग्गा जस्तो निरुद्पादक क्षेत्रमा लगानी गरिदिनाले पुँजी स्थिर भै राष्ट्रिय अर्थतन्त्र नै डामाडोल हुने अवस्थासम्म आइपुग्दा त, ति संस्थाले राष्ट्रलाई नाफा भन्दा घाटा नै पो बढी गरेको हो कि जस्तो पनि लाग्न थालेको छ।

यस्तैमा, नाफा रहित उदेश्यले “माईक्रो फाइनान्स” सम्बन्धी कार्य सूचना प्रविधीको माध्यमबाट पनि गर्न संसारका विभिन्न ठाउमा विभिन्न संघ-संस्थाहरु क्रियाशिल छन् र तिनले विभिन्न मुलुकमा गरिबी-बेरोजगारी निवाहरण गर्न उल्लेख्य भूमिका पनि खेल्दै आएका छन्। यस्ता संस्थाहरु मध्ये केही यो वेबसाईटको ठेगानामा हेर्न सक्नु हुनेछ: http://en.wikipedia.org/wiki/Category:Microfinance_organizations यिनै मध्ये एक हो – किवा (KIVA) ईन्टरनेटको ठेगाना: www.kiva.org.

किवाको स्थापना अक्टोबर २००५ मा म्याट फ्लेनरी र जेसिका ज्याकले (पछी पतीपत्नी) बाट अमेरिकी कानून अनुसार विना लाभको संगठन (Non profit Organisation) को रुपमा गरिएको हो। उनीहरुले यो संस्था सन २००३ मा, बाङ्लादेशको ग्रामिण बैंकका संस्थापक मोहम्मद युनुसद्वारा स्ट्यान्ड फोर्ड बिजनेस स्कूलमा दिएको “माईक्रो फाइनान्स” सम्बन्धी प्रवचनबाट प्रेरित भै स्थापना गरेका थिए। किवाको उदेश्य सन्सारको जुनसुकै कुनामा रहेका उधमीहरुलाई उनीहरुले चाहेको ब्यबशाय गर्न स्थानिय फिल्ड पार्टनरको माध्यमबाट बिना धितो पैचो (lend) प्रबाह गराउनु हो। त्यसैगरि, किवाले प्रबाह गर्ने पुँजीको स्रोत किवाको वेबसाईट मार्फत संसारका विभिन्न ठाउका मानिस वा संस्थाले प्रदान गरेको पैचो (lend) र अनुदान (donation) हो। यसरी दिइएको पैचो, उधमीले किवाको फिल्ड पार्टनर मार्फत पैचो दिने ब्यक्ति वा संस्थालाई पैचो लिदाका बखतको प्रदिबद्द्ता अनुसार पुन: फिर्ता बुझाउनु पर्ने हुन्छ।

यसरी, कुनै पनि उद्पादनशिल ब्यबशाय (चाहे त्यो ग्रोसरी पसल होस् वा टेलरिङ्ग) विना धितो उधमीले चाहेको ब्यवसाय सन्चालन गर्नलाग्ने पुँजीको ब्यबस्था सूचना प्रविधीको माध्यमबाट किवाले जुटाइदिन सम्भव भएको छ। जसले गर्दा, आफ्नै गाउ-ठाउमा बसि केही गर्छु भन्ने हिम्मत र जाँगर भएका उधमीले चाहेको ब्यबशाय सन्चालन गरि आफ्नो तथा परिवारको आर्थिक स्थिती सुधार्न सक्ने भए भने किवाले नियुक्त गर्ने फिल्ड पार्ट्नरले उधमीलाई प्रबाह गरिएको पुँजिमा सेवा वाफत केही प्रतिशत ब्याज लिन पाउछन (जुन किवाद्वारा निर्दिस्ट हुन्छ र तोकिएको भन्दा बढी सुल्क लिन मिल्दैन), जस वाफत फिल्ड पार्ट्नरले मुख्यतया उध्यमीका बारेमा र उध्यमीले गर्न चाहेको ब्यबशायको बारेमा किवाको वेबसाईटमा जानकारी प्रेशित गर्नु, उधमीले प्राप्त गरेको पैचो रकम उसलाई उपलब्ध गराउनु र उधमीले समय समयमा बुझाएको रकमको लगत किवाको वेबसाईटमा प्रेसित गर्नुपर्ने हुन्छ। यहा, किवाको फिल्ड पार्ट्नरले उधमीलाई प्रदान गरिने पुंजी लगानी नै नगरी मात्र सेवा प्रदान गरे वाफत ब्याज उठाउन पाउने हुँदा उनीहरुको एकातिर विना जोखिम जिविकोपार्जान वा ब्यवसाय सन्चालन भै रहेको हुन्छ भने अर्कोतिर समाजमा अमुल्य योगदान पनि दिइरहेका हुन्छन्। फिल्ड पार्टनरले उधमीहरुलाई बाँडेको लगानी समयमा उठाएर पुन: किवालाई बुझाउन सक्यो त्यहि अनुसार उनीहरुले स्टार (प्रससा) पाउछन र पुन: अझ धेरै रकम उधमीलाई बाँडन अर्थात “माईक्रो फाइनान्स” गर्नका लागि योग्य हुन्छन।

किवाको यो प्रक्रियामा पुँजी प्रवाह गर्ने श्रोत अर्थात पैचो दिने ब्यक्ति वा समुह (lender) संसारको कुनैपनि ठाउमा रहेका हुन सक्छन। यहाँ देश-विदेसमा रहेका अवसर प्राप्त नेपालीहरुले पनि आफ्नै देशमा रहेका अवसरबाट बन्चित दाजुभाई दिदीबहिनीहरुका लागि उनीहरुले गर्न चाहेको ब्यबशायमा लगानी गरिदिएर मातृभूमी प्रतिको ऋण चुकाउने अवसर पाउछन। देशबाट गरिबी-बेरोजगारी घटाउने अभियानमा विदेशमै रहेर पनि आफ्नो भूमिका निभाउन खोज्ने जो कोहीका लागि यो एउटा सुबर्ण अवसर हुन सक्छ। यधपि, लगानी गरिने रकम मात्र $२५ हो र त्यो रकम फिर्ता हुनेपनि हुँदा यो लगानीलाई “पैचो” भन्ने गरिएको हो। यहाँ पैचो दिइएको रकम फिर्ता पाउने ग्यारन्टी किवाले गर्दैन तर अहिलेसम्मको लेखा जोखामा ९८.५ % लगानी फिर्ता भएको कुरा किवाको वेबसाईटमा उल्लेख छ। रै पनि किवाले आह्वान गरेको रकम $२५ देश विदेशमा हुने जो कोहीका लागि त्यति ठुलो रकम होईन तर सामुहिक रुपमा हो भने थोपा – थोपाबाट सागर बने सरह हुन्छ। तपाईंको त्यहि $२५ को योगदानले वा पैचोले कसैको जिन्दगी बन्छ, कसैको परिवार आर्थिक रुपले सवल बन्छ र यसरी हरेक घर-परिवार सवल बन्दै जाँदा अन्तत: देश निर्माणमा तपाईंको योगदान अपुरणिय रहन्छ। आफ्ना लागि हामि सबैले केही न केही गरेकै छौं अरुका लागि पनि केही गरिदिने यस्तो अवसरले तपाईंले जीवनभर आत्मसन्तुस्टी एबम ती उधमी र तीनको परिवारको आसिस पाउनु हुनेछ।

यसरी किवा मार्फत कुनै उधमीलाई पैचो दिन अति सजिलो पनि छ। किवाको वेबसाईट www.kiva.org मा जानुहोस्, खाता खोल्नुहोस् अनी त्यहा सुचिक्रित भएका उधमी वा उधमीको समुहलाई छानेर क्रेडिट कार्ड वा पेपाल एकाउन्टबाट $२५ वा ईच्छा अनुसार चाहेजति रकम ट्रान्स्फर गरिदिनुस्। तपाईं आफ्ना साथीहरुलाई किवामा आमन्त्रित पनि गर्न सक्नु हुन्छ। यसैगरि, त्यहाँ आफ्नो छुटै समुह उदाहरणार्थ: काभ्रेली समुह, झापाली समुह आदि पनि बनाउन सक्नु हुन्छ।

किवाको लोकप्रियता संसारभर दिन प्रतिदिन बढदै गईरहेको छ। किवामा प्रतिहप्ता करीब ४,००० नयाँ पैचो दिने ब्यक्ति वा समुह (lender) हरुले खाता खोल्छन र २०,००० जनाले पैचो दिन्छन भने करीब १५ करोड रुपैयाको पैचोको लेनदेन हुन्छ। त्यसै गरि प्रतिहप्ता करीब ४,००० ले पैचो पाउछन भने प्रति १० सेकेन्डमा १ जना उधमीले पैचो पाउछ।

नेपालमा किवालाई भित्रयाउने काम करीब २८ हप्ता अगाडि ललितपुर स्थित “पाटन ब्यापार तथा महिला ब्यबशायी” नामक संस्थालाई किवाको फिल्ड पार्टनर नियुक्त गरेर भएको हो। हालसम्म यो संस्थाको माध्यमबाट करीब ६५० जनालाई करीब सवा १ करोड रुपैया पैचो प्रवाह भएको छ। एउटा उल्लेख्य कुरा के छ भने, नेपालका लागि भनि पैचो दिन यति धेरै सुभचिन्तकहरु तयार छन् कि कुनै नेपाली उधमीले पैचो लिन चाहेमा ५ मिनट भित्र नै रकमको जोहो भै सक्छ। तर दुर्भाग्यबस, नेपालबाट उधमीको क्रियाकलाप धेरै कम आउने गर्छ। कारण, नेपालमा किवाको फिल्ड पार्टनरहरुको अभाव। वास्तवमा, नेपालमा किवाको भूमिका बढाउन अहिलेको सबै भन्दा ठुलो चुनौती फिल्ड पार्टनरहरु बढाउनु नै रहेको छ। नेपालमा रहेको एक मात्र फिल्ड पार्टनरले क्षमताले भ्याएसम्म काम गरिरहेको भएपनि यो संस्था सिर्फ ललितपुरमा मात्र सिमित छ। पुर्व मेचीदेखि महाकालीसम्म किवाको विस्तार हुन सके वा कम से कम ईन्टरनेटको पहुन्च भएका जिल्ला सदरमुकामसम्म खुल्न सके यसबाट लाखौं जनताहरु लावान्वित हुन सक्ने थिए। किवाको फिल्ड पार्टनर हुनका लागि चाहिने योग्यता र सम्पुर्ण प्रक्रिया किवाको वेबसाईटमा नै उल्लेख गरिएको छ जस अनुसार गाउ-गाउमा खुलेका विभिन्न सहकारी संस्थाहरु फिल्ड पार्टनर हुनका लागि बढी उपयुक्त देखिन्छन। नेपालमा भएका यस्ता संस्थाहरुले चासो देखाए वा किवाको फिल्डपार्टनर हुन कै लागि नयाँ संस्थाहरु खुले असाध्यै राम्रो हुने थियो ।
यहाँ, हामी मध्ये कतिपयलाई लाग्न सक्छ रेमिटान्स, अनुदान वा कसैको सहयोगबाट पनि देश बन्ने हो र? वा अमेरिकाबाट सन्चालित (मुख्य अफिस) भएको हुनाले किवाको पछाडि कुनै “वाद” पो छ कि?
वास्तवमा किवाको माध्यमबाट प्रवाह हुने रकमलाई रेमिटान्स भन्न मिल्दैन किनकी त्यो रकम देश-विदेशमा रहने जसको पनि हुनसक्छ अनी यो रकम “पैचो (lend)” मात्रै हुनाले “ऋण” शब्द पनि उपयुक्त नहोला। पैचो लिनुदिनु त सामजिक ब्यबहार कै एक अभिन्न अङ नै हो नि। अहिले हामी नयाँ नेपालको नारा दिन्दै देशलाई पुनर्‍सम्रचना गर्नुपर्छ भन्छौ, आर्थिक क्रान्ति गर्नुपर्छ भन्छौ, देश विकास गर्नुपर्छ भन्छौ – यी सब परिवर्तन रातारात हुन पक्कै सम्भव छैन बरु हामी हरेकले किवा जस्तै संगठनहरुले जुटाइदिएको अवसरलाई सदुपयोग गर्यौ भनेपनि लाखौं जनताको जिवनस्तर उकास्न सकिन्छ। एक चिनिया नेताको प्रसिध्ह भनाइ – “विरालो कालो होस् की गोरो मुसा चै मार्नु पर्छ” भने झैँ गरिबी नै हामी नेपालीको परम शत्रु हो र यसलाई सखाप पार्न राजनिति इतरका सहयोगी हातहरुको पनि साथ लिन सकिन्छ। त्यसैगरी, किवा कुनैपनि राजनितिक विचारधारा, धार्मिक आस्था वा सरकारसँग आबद्द छैन। न यसको नाफा कमाउने उदेश्य नै छ बरु विसुद्द समाजसेवा गर्ने तथा विश्वमा गरिबी र त्यसको प्रभाव कम गर्ने उदेश्यले हामी जस्तै २ सर्वसाधारण ब्यक्तिबाट खोलिएको हुनाले यो संसारका विभिन्न (धनी,गरीब सबै) मुलुकमा क्रियासिल् छ भने अपेरेसनल खर्च कटौतिका लागि अमेरिकाको सानफ्रान्सिसको स्थित एकमात्र अफिस बाहेक अन्त कतै यसको संपर्क कार्यालय पनि छैन। न कुनै अधिकारिक प्रतिनिधि नै स्थानिय स्तरमा छन् बरु चाहिये जति सबै सूचना किवा कै वेबसाईट (http://www.kiva.org) मा नै राखिएको छ। यदि कसैले आफ्नो मुलुकमा रहेको गरिबी-बेरोजगारी घटाउन यो संस्थाको मद्त लिन चाहन्छन भने तपाइ हामी जस्तै आफ्नो देशलाई माया गर्ने शुभचिन्तकहरुले निस्वार्थ भै यस् संस्थाका बारेमा प्रचार प्रसार गर्ने, आफ्नो देशमा रहेका मिडिया हाउसहरुलाई प्रचार प्रसारका लागि आग्रह गर्ने तथा आफ्ना मित्रहरुलाई जानकारी गराउने र kiva.org मा आबद्द हुनलाई निम्ता पठाउने इत्यादी उपायहरु अपनाउन सकिन्छ। यिनै आशयका साथ ईन्टरनेटको लोकप्रिय सामाजिक सन्जाल – फेसबूक (http://www.facebook.com) मा किवानेपालको समुह खोलिएको छ, यो वेब ठेगानामा जानुहोस्: http://www.facebook.com/group.php?gid=114390832830 तपाईं त्यहा किवा सम्बन्धी आफ्ना – सुझाव जिज्ञासा राख्न सक्नु हुनेछ र तपाईं हामी मध्ये कोही किवा सम्बन्धी अलिक जानकार स्वयसेवकले तपाईंसँग अन्तर्क्रिया गर्नेछन। यस बाहेक, kiva.org वेबसाईटको किवा नेपाल समुहमा सामेल हुन चाहनु हुन्छ भने यो वेब ठेगानामा जानुहोस्: http://www.kiva.org/team/kiva_nepal

यसरी, सुचना प्रविधीको विकाशले सम्भव तुल्याइदिएका अकल्पनिय अवसरहरु र उपायहरुलाई पछयाउदै, “गरिबी-बेरोजगारी” को पिडामा अभिसप्त भै पिल्सिएका कैयंौ मानिसहरुको मुहारमा खुशी ल्याउन यसको निवारण अभियानमा आउनुहोस् हामी सबैले धेरथोर प्रयास गरौं, हातेमालो गरौं ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...