कला तथा साहित्य

नेटवर्क अनएभलेवल

By admin

November 08, 2014

– नयन्द्र चेम्जोङ, नेपाल

“…….तर, हिजो तपाई प्लेन चढिसकेको खवर सुनाउदा शुशीला साँच्चै नमिठो मानेर रोइन् । नमिठो त मलाई पनि कती लाग्यो नि तर तपाँइलाई मैले भनेको कहिल्यै लागेन त ! यस्ता चोटहरु सहन सक्ने बानी परिसकेको छ मलाइ”

इजरायल बसाइको अन्तिम घडीमा प्रिय शान्तीको ह्रदयमा परेको चोटबाट प्रश्फुटित माथिका वियोगान्तिक पीडादायक अभिब्यक्तिलाई एक प्रकारको हौसला र प्रेरणादायी सहानुभुती दिदै थिएँ म–

“जीन्दगी एउटा प्रयोग रहेछ शान्ती ! जसले आफ्नो गुण र भावना अनुसार बाँ

च्न सक्नु पर्छ । पैसामात्रलाई हामीले धन दौलत गन्नुहुन्न किन भने यो अन्धो हुन्छ । त्यही अन्धकारमा हामी पनि बर्षौ रुमलियौं । पैसा र हामीबिचको स्वभाव सधैँ फरक रह्यो । हामी पानी भएर बाँच्न चाह्यौ, पैसा सधै आगो भए । हामी जुन भएर बाँच्न खोज्थ्यौं तर पैसा सधै घाम बने । सन्तान र उसको भविष्यसंग पैसाको तुलना कहिल्यै हुन सक्दैन । सन्तानको लागि असल शिक्षा र चेतना आमाबाबुको लागि अमूल्य धन हो । अहिले हाम्रो मायाको चिनोहरु बेवारिसे भएको छ । बिदेशमा गएर कमाएको करोडौं धनले छोराछोरीलाई सुख सयलमा राखेर आफ्नो बच्चाहरुलाई घरानियाँको सन्तानको उपमा दिएर राख्ने भन्दा पनि सन्तानलाई मानवीय कर्तब्यका पाठहरु पढाउदै एउटा ब्यवहारिक असल मान्छे बनाउन सक्ने बाबुआमा एक सन्ततीको लागि महान हुनेछ । त्यही कर्तब्यबोध मलाइ भएको छ र अविभारा मैले बोकेको छु तर, म धेरै भाग्यमानी रहेछु किन भने……।

नेपाल आगमनको पहिलो दिन बेलुकी याहु म्यासेन्जरमा हामी दम्पती बिच भएको भलाकुसारी इन्टरनेटको खराबीले गर्दा अपुरो नै रह्यो । इजरायल बर्हिगमनमा मेरा हरेक बास्तबिकताहरु, मनस्थितिहरु र माहौलहरु कस्ता रहे त ? म हरेक शब्द शब्दमा शान्तीलाइ सेयर गर्न चाहान्थें । कर्तब्य र जिम्मेवारीको कुरा बेग्लै हो तर इजरायलमा मलाइ शान्तीकै हाराहारीमा आदर र माया गर्ने शुभेच्छुक भाइ बहिनीहरु पनि त्यतिकै रहेछन् । जसलाई मैले मेरै परिवार ठानेर यी अभिब्यक्तिहरु बाड्न चाहेको छु ।

हिन्दु विधी अनुसार जीवनको अन्तिम घडीमा बैतरिणीलाई स्वर्गको ढोका माने झै मेरो पनि इजरायल बसाइको अन्तिम घडीमा अनेसास इजरायल बैतरिणी नै साबित भयो । अनेसास इजरायलको कार्यक्रम नै मेरो सार्बजनिक सहभागिताको आखिरी कार्यक्रम बन्न पुग्यो । डायस्पोरिक साहित्यको उर्बर भुमी हो इजरायल । त्यही भूमिमा उम्रिएका चिल्ला पात गरेका दुइ बिरुवाहरु हुन कवयत्री दिप्स शाह र गजलकार उमा सुबेदी । मैले अत्यन्तै आदर गर्ने श्रष्टाहरु पनि हुन यी दुइ चेलीहरु । साहित्यिक प्रतिभाका अतिरिक्त उनीहरुलाई मैले आदर गर्ने अर्को पनि एउटा पाटो छ उनीहरुको खरोपन । खरोपन आत्मविश्वासको ज्वाला हो । जसको म सधै आराधना गर्छु । यिनै दुइ श्रष्टाहरुलाई अभिनन्दन गर्दै थियौ हामी । मलाइ एकप्रकारको असजिलो अनुभव भइरहेको थियो । म अनुत्तरित थिएँ । अभिनन्दन लिंदा सम्मानितबाट लिने हो या प्रियजनबाट ? अभिनन्दनको अर्थ मान, सम्मान हो भने मान सम्मान सधै बरिष्ठलाई गर्ने हो यस अर्थमा मैले सन्तोष मानेको छु । तर अभिनन्दन पुरस्कार हो भने चाहीं सायद म चुके कि ? मैले सम्मानित गरेको श्रष्टालाई सम्मान गर्न पाउनु म आफैको लागि अभिनन्दन हो भन्ने पनि ठानेको छु ।

कार्यक्रम समापन संगै मध्यरातपछि हामी लाग्यौ आ–आफ्नै बासस्थान तिर । साथमा थिइन् बहिनी सुशीला र भगवती । वहिनी द्वयलाई वासस्थानसम्म पु-याएर फर्कनु कर्तब्य थियो मेरो । केही साथीहरु फेरी जम्नु पर्छ भन्दै थिए । सुशीलालाई वासस्थानमा पु-याएर बिदाइ गर्नासाथ साथीहरुबाट भएको सम्पर्कको प्रयास मेरो मोवाइलको चार्ज सकिएकोले असफल भयो । बडो ज्ञानी बनेर कोठामा फर्किएँ । रातको झण्डै साढे वाह्र बजिसकेको थियो । फोनको ब्याट्री चार्ज गर्नासाथ तारका तार फोनका घण्टीहरु बज्न थाले । साथी र आफन्तको लागि मर्न जाउ भन्दा त अस्वीकार गर्न नसक्ने मेरो कमजोरीपन अनन्य मित्र सोमेन्द्र घिमिरेको बिदाइ माथीको जमघट अस्वीकार गर्ने कुरै भएन । सधै झै हामी फेरी जम्न थाल्यौं ।

इजरायल बसाइको अन्तिम अवस्थामा आएर अत्यन्तै आत्मिय बन्न पुगे भाइ कुमार पौड्याल । भाइसंगको मीठो समिप्यका दिनका यादहरुमा मलाइ एउटा बालकपनमा भोग्नु परेको पींडाको सम्झना गराउछ । मैले बिर्सन लागिसकेको रहेछु समयको क्रमसँगै । हामीकहाँ भएका गाईहरुमध्ये एउटा सानो बाच्छी कसैलाइ दिनु परेको थियो । पराइले बाच्छीको घाँटीमा दाम्लो लगाएर तान्न थाले । माउको मायाले बाच्छी ब्वाँ ब्वाँ गर्दै कराउदै सुत्न थाले । हामी सानै थियौ । बुवाको आदेश, हामीले पनि पूच्छरमा समातेर ठेलेर पठायौँ । बाच्छीले माउसंग बिछोडिनु पर्दा देखाएको आत्मियताले हामीले पनि बाच्छीसंगै तरक्क आशुँ झा-यौ । झझल्को त्यस्तै, आत्मियता उस्तै । जमघट पछि सदा सदा उस्तै दुरुस्तै पाराले कुमार भाइलाई गाडिमा चढाउनै नसकिने । कसैले ठेल्नुपर्ने कसैले तान्नुपर्ने । कुरो डरको होइन, कुरा अभरको पनि होइन सवाल माया ममताको हो । तेल अभिव आएर हामीसंगको जमघटपछि कुमार भाइ हाम्रो मायासंग अलग्गिएर जानै सक्दैन थियो । त्यो दिन पनि त्यस्तै भयो । मित्र सोमेन्द्र घिमिरे, हरि मानन्धर, भाइ कुमार पौड्याल र सुमन कार्की बियरको चुस्कीले हामी बिचको आत्मियतालाई अझ प्रगाढ बनाउदै थियो । समयको मलाइ सम्झना छैन । चौबाटोमा बसेर होहल्ला गर्ने हामी सुरबिरहरु माथि अध्यागमन प्रहरीको घेराबन्दी भयो ।

सबै साथीहरु छाडिए तर मलाइ छाडिएन । छुट्ने बेलामा यतिमात्र भन्न भ्याए सोमेन ! भाउजुलाइ खवर गरिदिनु है । गाडिमा चढेको केही बेरमा प्रहरीहरु मलाइ भन्दै थिए– इलिगल मान्छेहरु कहाँ छन् ? देखाउने हो भने हामी तिमीलाई सहयोग गर्छौ । अध्यागमन प्रहरीहरु मेरो मजबुरीको सौदा गर्न लागि रहेका थिए । इलिगल नेपाली दाजुभाइलाई गिरफ्तार गराएर म उम्किनु पर्ने । सायद तिनीहरु म प्रति भ्रममा थिए । मैले कुनै जवाफ फर्काइन । यस्ता सस्तो प्रश्नको जवाफ मबाट कहिल्यै आउदैन पनि । प्रहरी भ्यान सिधै पुरानो बसपार्कबाट सोनातिक्वा तर्फ लागे । सोनातिक्वाको टोल टोलहरुमा छापा मार्न थालिए । सोनातिक्वाको घेराउपछि एउटा भारतीय अवैध कामदार पक्राउ प-यो । त्यसलाई पनि मलाइ जस्तै प्रलोभन देखाए । तर, त्यसले त भटाभट इलिगल कामदारहरुको बासास्थान पो देखाइ दिन थाल्यो । पाँचजना अवैध भारतीय कामदार पक्राउ पनि परे । सुरुमा पक्राउ परेको त्यो अपराधी लापत्ता भए । चित्त खाएँ म त !  त्यस्तो घटिया मानिसिकता लिएर बाँच्नु भन्दा त आत्महत्या गर्न जाति हो मेरो लागि । आफु पक्राउ परेको भन्दा पनि त्यो भारतीयले देखाएको चरित्रप्रति अत्यन्त दुखिःत थिएँ म त । त्यस्तै बिहानको साढे पाँच बजेतिर हामीलाई अध्यागमन कार्यालय खुलोन पु-याइयो । खोलोनको बसाइ भन्दा पनि प्रतिक्षा निकै कष्टकर थियो । अनिदोले शरीरको सारा जाँगर मरी सकेको थियो । अध्यागमनले पक्रिएको र नेपाल पठाउन सक्ने सम्भावित कुराको चिन्ता भन्दा पनि मलाइ किन पक्रिएको हो भन्ने कुराको जानकारी लिन उत्सुक थिएँ म । किनकी मेरो जानकारमा मेरो इजरायलको बसाइ अवैध थिएन । पाँच घण्टाको प्रतिक्षापछि अध्यागमन अधिकृतले मेरो बयान लिन सुरु गरे । सन् २०११ को जनवरी महिनाको पाँच तारिकका दिनमै जनसंख्या मन्त्रालयले मेरो शरणार्थी आवेदनलाई अस्वीकार गरिसकेकोले जनवरीको १५ मै मैले स्थानीय अदालतबाट बिनारोकतोक आवतजावत गर्न पाउने ब्यहोराको स्टे अर्डर लिइ सकेको थिएँ । अध्यागमन अधिकृतले मलाइ मार्च १५ मै स्थानीय अदालतले मेरो आबेदन अस्वीकार गरिसकेको कुरा जानकारी गराए । बास्तवमा मैले जुन वकिलमाथि विश्वास र भरोसा गरेको थिएँ समयमै अदालतको निर्णय जानकारी वा पुनरावेदन गर्ने अवसर नदिलाएर त्यसले मलाइ बेइमानी गरेकै रहेछ । केन्द्रिय बसस्ट्याण्डको पाँचौ तलामा रहेका डानियल (फोन नं.०५२३७६०२१४) मेरो नजरमा संकास्पद वा विचाराधिन कानून ब्यवसाय हुन् ।

अध्यागमन अधिकृतले मलाइ जेल पठाउने र न्यायालयबाटै नेपाल फर्काउन सक्ने जानकारी गराएपछि जेल जानमात्र होइन स्वदेश नै फर्कन परे पनि मानसिक रुपमा म तयारी भएँ । हामी जेल यात्राको प्रतिक्षामा थियौँ । केही भारतीय, केही टुर्कियन र म सहितलाई जेलबासको लागि तयारी गर्दै थिए अध्यागमन प्रहरीहरु । मलाइ समयको सम्झना छैन । किनभने मेरो हातमा घडी थिएन । मोवाइल, प्रहरीले नियन्त्रणमा लिने बितिकै बन्द भइसकेको थियो । घण्टौको प्रतिक्षापछि हामीलाइ जेल चलान गर्नको लागि हामी ओभर स्टे अपराधीहरुलाई क्रमैसंग दुइ–दुइ जनाको हुल बाँधेर एक–एक हातमा हतकडी पहिराउदै थिए । अन्तिममा ममात्र बाँकी भएँ । सम्झेँ, अव मैले हतकडी पहिरिनु पर्दैनहोला । हतकडीसंग मलाइ कताकता डर पनि लागि रहेको थियो र थोरै रहर पनि । डर, यस अर्थमा मैले मेरो पुर्खा समेतले कहिल्यै ब्यहोर्नु नपरेको यो दुर्गती मैले ब्यहोर्नु परिरहेको थियो भने रहर यस अर्थमा जीन्दगी एक अनुभव हो जीवनमा यस्तो अवसर फेरी जुर्छ वा जुर्दैन । एकजना प्रहरी सिधै मेरो अघि आएर हतकडी देखाउदै हात अघि बढाउन आदेश दियो । म त एउटा हातमामात्र हैन दुइ–दुइ हातमै हतकडि पहिरिनु प-यो ।  दायाँ र बायाँ दुवै हातमा लगाइसकेपछि झोला बोकेर हिड्न आदेश दियो । तर, दुइटै हातमा हतकडी भएकोले मलाइ झोला बोकेर हिड्नलाई अत्यन्त कठिन भइरहेको थियो । यतिखेर मैले अर्कै दुनियाँमा रहेको अनुभव गरेको छु । दुबै हातमा पहिरिएको हतकडी नियालेर सम्झदै थिएँ– यस दुनियाँमा मैले अब भोग्न बाकीँ के छ ? सारा टोलै घुमाउनु पर्ने जस्तो गरेर कतै नभएको फाइफुइले हतकडी पहिरिए आखिरी भुइतलामा झर्नासाथ अगाडि मिनिबस रोकिएको रहेछ । त्यो जाबो दुइमिनेटमा त म दुइसय मिटर पनि दौडन सक्दिन थिए । दुइमिनेटमै त हामी तिनीहरुको सुरक्षा ब्यवस्थामा के नै खलल पु-याउन सक्थ्यौ र ? बसमा छिर्नेबेलामा सवैलाइ हतकडी खोलिदिए ।

हामीलाइ अध्यागमन खुलोनबाट राम्ले कारागार चलान गरिंदै  थियो । हामी सवै थुनुवाहरु एक अर्कालाइ नियाल्थ्यौ । बोल्न मनाही थियो । फोन साथमा थिएन । म पक्राउ परेको कुरा शान्तीले थाहा पाएर कति चिन्तित होला ? साथीभाइहरु कति चिन्तित होलान् ? ममा थोरै चिन्ता यसैको मात्र थियो । धेरै समय लागेन राम्ले कारागार पुग्नको लागि । पर्खालमाथि फलामे काडेतारले घेरिएको भवनभित्र हामीलाइ छिराइयो । हामी सवै थुनुवाहरुलाई स्वास्थ परिक्षण गरियो । प्रेसर नापियो, उचाइ नापियो, तौल नापियो । सारा सामानहरु निरिक्षण हुन थाले । सामानहरु निरिक्षण गरेको देख्दा कतै बिदेशबाट आउदा भन्सार कार्यालयमा सामान जाँच भएको भान हुदै थियो मलाइ । निकै लामो समयपछि मेरो बासस्थान तोकियो, गिभन जेल–२, कोठा नम्वर ६ ।

म भित्र कोठामा छिर्नासाथ जेल नाइकेले ओड्ने, तन्ना, एउटा पलास्टीकको खण्ड–खण्ड परेको खाना खाने थाल, पलास्टिककै सानो कप र कचौरा दिए । मेरो लागि एउटा सानो दराज रहेछ । थाल, कप, कचौरा र बेला बेलामा दिएको खानेकुराहरु त्यसैमा राख्नु पर्नेरहेछ । मोवाइलमा क्यामेरा भएकोले भित्र लान दिइएन । एउटा निग्रो मोबाइल चाहिन्छ ? भन्दै सोध्न थाले । दिनको दश सेकेल तिर्ने सर्तमा एउटा मोवाइल सेट लिएँ  र, सवैभन्दा पहिला शान्तीलाइ फोन गरें । जीवनको यस्तै धेरै–धेरै संगीन मोडहरुमा, विपत्तीहरुमा मेरो लागि अगाडि सरिदिने नै शान्तीमात्र हो । मैले धेरै–धेरै जीवन साथीहरुको जोडी देखेको छु । अरुको दाम्पत्य जीवनमा एकअर्काप्रति गरेको माया, जिम्मेवारी र कर्तब्य बोधको अनुमान पनि गरेको छु । तर, हाम्रो दाम्पत्य जीवनमा शान्तीले म प्रति दर्शाउने माया भन्दा पनि म प्रतिको चिन्ता र हेरचाहको मापन कुनै अर्थमा पनि म दिन सक्दिन । यो संसारमा कमै पुरुषहरुलाई मात्र यस्तो सौभाग्य मिलेको होला । सँझेको छु, यो जुनिमा मलाइ भगवानले दिएको प्रसाद यति हो । कामना गर्छु, सारा संसारका पुरुषहरुलाई शान्ती जस्तै लोग्नेको ख्याल र चिन्ता गर्ने जीवन संगिनी मिलोस् । विहान तीन बजे नै म पक्राउ परेको खवर पाएपछि शान्तीले लगातार वकिललाई फोन गर्न थालिछन् । दुनियाँ दिवाना टार्दै लोग्नेलाई बाहिर ल्याउनको लागि वकिललाई पैसा बुझाएछन् । उसले गरेको चिन्ता र तनाबको वर्णन गर्ने कुनै शब्द मसंग छैन ।

बास्तवमा जेललाई हामी जुन त्रासित मानसिकता लिएर कल्पना गर्छौ त्यस्तो होइन रहेछ । झन हामी जस्तो इर्श्या, डाही र अरुको खुट्टा तान्ने सामाजिक प्रवृतिमा रमाउने समुदायको मानिसहरुलाई त नैतिकता र मानवीय चेतनाको लागि एक असल पाठशाला पनि रहेछ । हामी कोठामा आठ देशका आठ जना थियौ । तर हाम्रो समस्या, उदेश्य र मन एक थियो । हामी एक अर्काको समस्या बुझ्थ्यौ । तेलअभिवको कोलाहलबाट म धेरै दुर भइसकेको थिएँ । म इजरायलमा छु र कुनै कारागारमा छु भन्ने कुराको बास्तविकता नै भुल्न खोज्थें तर जब मलाइ मेरा हितैषी भाइहरु कुमार पौड्याल, सुमन कार्की, कृष्ण थापा, रमेश खड्का, हरि मानन्धर, कर्मा योञ्जन लगायतका भाइहरु तथा बहिनीहरु सुशीला थापा, दिप्स शाह, निर्मला खड्का, विना मैनाली, रञ्जु कार्की, समा राउत, माया तामाङ, अस्मिता गुरुङ्ग, सवना बस्नेत, तारा तथा नाम सम्झन नसकेका बैनीहरुले बारम्वार फोन गरेर मेरो अवस्थाको वारेमा सोधखोज गर्दथे । चिन्ता ब्यक्त गर्दथे म धेरै भावुक बन्दथे । म जेल बस्नाको पीडा मलाइ भन्दा पनि बढी उनीहरुले भोगेको अनुभव गरेको छु । उनीहरु मलाई सहानुभुति र हौसला दिन खोज्थे । म प्रतिको माया र सम्मान अद्भुद थियो । जुन मैले मेरो ह्रदयको तराजुले तौलिएर मनको ढुकुटीका राखेको छु ।

विगतका इजरायलमा नेपाली कामदारहरु आपुर्तीमा रोक लगाउदा परेका सैयौ नेपालीहरु मध्यको पीडित नेपाली मध्य म पनि एक हुँ । म गर्व गर्दै घमण्डकासाथ भन्छु मैले सैयौ नेपालीहरुको भविष्य उज्यालोमात्र बनाएको छैन पैसाले नाता तोड्न खोज्ने धनमुखी आफन्तहरुलाई आफु मरेर उनीहरुलाई बचाएको छु । आफु रोएर अरुलाइ हसाएको पनि छु । इजरायलमा दलाली गरेर कसैको जीन्दगीमाथी खेलबाड नगर्ने खेलाडी म पनि एक हुँ । हजारौ डलर इजरायली एजेन्सीसंग गुमाएको पनि छु । हरेक एजेन्सीसंग पैसा लेनदेनको, कारोबारको रेकर्डहरु थियो मसंग । बार्तालापहरुको मोबाइलमा रेकर्डहरु थियो मसंग । यस अर्थमा मेरो लागि इजरायलको खमुच र पिताको भोजन गर्नकै लागि जेलबाट बाहिर निक्लिन कुनै ठुलो कुरा थिएन । किनभने कानूनको सार थोरै बुझ्न सक्ने मान्छे म पनि हुँ । तर, दश पन्ध्र हजार डलरलाई लिएर अदालत धाउदै तेलअभिवमा लठुवा भएर खानु भन्दा हुर्किएको छोराछोरीहरुको साथ पनि अविभावकले दिनुपर्छ भन्ने कुराको अनुभव पनि ग-यौ । साँच्चै भन्ने हो भने इजरायलमा मेरो गिरफ्तारी आखाँ कानोलाई दिए जस्तै भयो । शान्तीसंगको सरसल्लाहमा नेपाल जाने नै निधो भयो । आफन्तहरुसंग धरौटी राखेर विदावरी भएर जाने सल्लाह पनि हुँदै थियो । मइ महिनाको वाइस तारिख मुद्धाको सुनुवाइ हुँदै थियो ।

एकदिन शान्तीले मलाइ केही खुशी मनले सुनाउदै थिई- तपाइको लागि धरौटी राख्नु पर्ने रकम अनेसासले राखिदिने रे नि त ! कृष्ण भाइले अनिता बहिनी मार्फत खबर पठाएछ । अनेसासको साइबर मिटिङमा कृष्णभाइले प्रस्ताव नै राखेछ । साइबर मिटिङमा उपस्थित मेरा सवै अनन्य मित्रहरुले खुल्ला दिल र चाहनाले म प्रति सहयोग र सद्भाव दर्शाएको प्रत्यक्ष देखेँ । यसमा अनेसास इजरायल, यसका पदाधिकारी तथा सदस्यहरुले मलाइ कहिल्यै विसाउन नसक्ने गुणै गुणको भारी बोकाएर इजरायलबाट विदा गरेको छ । यो गुण मैले आजन्म भुल्नु हुदैन । अनेसास इजरायलको निर्णयलाई मैले ह्रदय देखिनै सलाम त गरें तर मेरो लागि यो स्वीकार्य थिएन । अनेसासका थोरै राम्रा मान्छेहरुले म माथि लगाएको गुनको भार अन्य समुदायमा बाँच्ने मनिसहरुको लागि महँगो मात्र बन्ने थिएन यही सहयोग मेरो लागि लाचार र असहायको कारक पनि बन्न सक्थ्यो । म बडो दुविधामा परें । न अनेसासको सहयोग अस्वीकार गर्न सक्थें न स्वीकार गर्न नै सक्थें । न्यायालयबाट सुनुवाइ हुन अझै सात दिन बाकिँ थियो । यस अवस्थामा जेलबाटै नेपाल जाननै सवै भन्दा सजिलो उपाय सम्झेँ । शान्तीसंग अन्तिम निर्णय भयो । मैले हतार–हतार मेरो वकिलाइ फोन गरेँ र मुद्धा फिर्ता लिइदिनको लागि अनुरोध गरें । जेल प्रशासनलाई पनि जेलबाटै नेपाल जान स्वीकार भएको कुराको जानकारी गराएँ ।

बेलुकी कृष्ण भाइसंग फोनमा घण्टौ लामो बार्तालाप भयो । कृष्ण भाइ सोध्दै हुनुहुन्थ्यो, दाजु ! बाहिर निक्लदा धरौटी कती राख्नु पर्ने रहेछ ?  मैले भनेँ– दश हजार देखि पन्ध्र हजार लाग्छ भाई । भाइ फेरी भन्दै हुनुहुन्थ्यो– दाजु ! लाग्ने धरौटी रकम चाहिँ हामी अनेसासबाट राख्ने सल्लाह भएको छ है । म भन्दै थिएँ– भाइ ! यो धरौटी रकमको लागि संस्थाबाट निर्णय नगराउनु । यो कुराले भोलि मेरो हैसियत र सम्मानमा मानिसहरुले प्रश्न गर्न सक्छ । अनेसासले धरौटी राखिदिएर नयन्द्र चेम्जोङ जेलबाट निक्लियो भन्ने बाटो किन बनाउनु र ? मलाइ पैसा त चाहिन्छ नै बरु ब्यक्तिगत रुपमै केही साथीहरुलाई सहयोगको लागि कुरा गर्नु न । कुमार, सुमन र हरिहरुलाई एक पल्ट भाइले नै कुरा गर्नुन है ! मैले नाम तोकेरै भने । कृष्णभाइ राजि हुनुभयो । भाइसंग अनेसासका बारेमा पनि केही महत्तपूर्ण कुराहरु भए । तर, मैले कृष्णभाइलाइ म जेलबाटै जान्छु भनेर भाइको मन दुखाउन चाहिन ।

बेलुकी कृष्ण भाइसंग लामो गनथन र यताउता गर्दागर्दै सुत्नलाइ दुइबजिसकेको थियो । विहान सात बजे म निन्दैमा थिएँ । जेल प्रशासन आएर एक्कासी सामान ठिक गर आज बेलुकीको टिकट छ पो भन्छ । म त तीन छक्क परे । हिजैको कुरा कसरी आजै टिकट मिलेछ ? हर्षले गद्गद पनि भएँ । समय थोरै थियो । हतार हतार शान्तीलाइ फोन गरें । शान्ती ! मेरो आज बेलुकिको टिकट भयो म अहिले जेलबाट बाहिर निक्लदै छु है ! शान्ती पनि छक्क परिन् । हैन, हिजोको आजै कति चाँडो टिकट मिलेछ त ? तर, उनी पनि खुशी भइन् । हामी बाहिर निक्लियौं । प्रशासनले राखेका मेरो ल्यापटप र सामानहरु जिम्मा लिएँ । मलाइ फेरी एउटा कुराको डर थियो, अध्यागमन प्रहरीहरुले फेरी हत्कडी सहित बेनगुरियन एयरपोर्ट घुमाएर जात्रा गर्ने होकी ! तर, राम्ले कारागारबाट एयरपोर्ट लादाँ हतकडी लगाइएन । एयरपोर्ट गयौँ । सामान जाँचको लागि अध्यागमन डेस्क नै बेग्लै रहेछ । सामान जाँच गरिसकेपछि हामीलाइ फेरी विमानस्थल क्षेत्रकै एउटा जेलमा ल्याएर राखे । त्यो जेलचाहीँ साच्चीकैको जेल भएको अनुभव गरेको छु मैले । हुनत हामी त्यो ठाउँमा पाँच घण्टामात्रै बसेको हो । तर, महिनौ बसेको भान भएको थियो । भारतीय दुइजना, थाइ एकजना र म समेत गरेर चारजना थियौँ । सुरुमा खाना नदिएको कुरामा भारतीयहरु उफ्रदै थिए । खाना ल्याएर दिएपछि अघाएछ क्यारे भारतीयहरु उग्राउदै घुर्न थाले । कोठामा चर्पि थिएन । चर्पी नभएको मानसिकताबाट मलाइ पिसाबले झन असहय नै बनाइरहेको थियो । ढोका बन्द छ । मान्छे आउदैन । ढोका खोल्दैन । सहि नसक्नु भयो । कोठामै हात मुख धुने बेसन रहेछ । कतै क्यामरा राखेको छ कि भनेर नियाले । बेसनकै छेउमा सिरानी लगाएर थाइल्याण्डी ढल्की रहेको थियो । थाइल्याण्डीलाइ पुलुक्क हेरे । त्यही बेसनमा पिसा फेर्न थाले । थाइल्याण्डी जुरुक्क उठेर मलाइ कुममा धापमार्दै भन्यो “केन, जे योतेर तोभ” (हो, यो धेरै राम्रो) । साथमा फोन थिएन । फोन साथमा नभएकोमा धेरै पीडा भयो हामीलाई । इजरायल बसाइको अन्तिम घडीमा आएर धेरैसँग विदावारी गर्नैपर्ने थियो । तर, समय र परिस्थिति त्यस्तै पर्यो । मैले यो अवस्थामा सुशीलालाई धेरै–धेरै सम्झिएँ । इजरायलमा मैले धेरै आफन्त बनाएँ । धेरै पराइ बनाएँ । साइनोसंग स्वार्थ साट्ने चेलीहरुको हुल पनि भेटेँ । तर, थोरै समयमै अत्यन्तै आदर र प्रगाढ मायाको साइनो बस्यो हामी बिच । मैले मेरै बहिनीसंगको बिछोडको अनुभूति गरेँ । पक्राउ परेकै अघिल्लो दिन मात्रै सुशिलालाई बचन दिएको थिएँ– सुशीला !  म खसीको भित्रास ल्याउछु दाजु बैनी खानु पर्छ है ल !

हामीले फेरी झोलाहरु बोक्यौं । शंका लाग्यो यो पल्ट चाहिँ पक्कै हतकडी लगाउछ होला । तर, फेरी लगाएन । फेरी सम्झियौ, अव एयरपोर्ट भित्र चाहीँ लगाउछ होला । तर, यो पल्ट चाहिँ अध्यागमनको गाडि सेतो भ्यान थिएन । त्यस्तो गाडिको वर्णन म कसरी गरुँ ? मैले हिन्दी फिल्ममा देखेको छु । फलामे बार भएको गाडि । बाहिरबाट ताल्चा मारिएको थियो । थाइल्याण्डी र म भित्र थियौँ । अगाडिको डब्बामा एक नेपाली सहित केही केटीमान्छेहरु पनि थिए । हामी दुलोबाट बाहिर चिहाउदै थियौ । मैले थाइल्याण्डीलाई ठट्टैठट्टामा सोधे तिमी फ्लीम हेर्छौ ? जवाफ दियो– हेर्छु । तिमी र म हिरो अव फ्लीममा जस्तै हामी यो ताला भत्काएर भाग्नु पर्छ है ? थाइल्याण्डी दिल खोलेर हासेँ । कुरा गर्दागर्दै गाडि त प्लेनको ढोका सम्मै पुग्ने रहेछ । फेरी हतकडी लगाउनु नपरेकोमा साँच्चै खुशी थियौ हामी ।

प्लेनमा बस्नासाथ सबै साथीहरुलाई एकपल्ट मैले फेरी झलझली संझिएँ । हिजो इजरायल टेकेको प्रथम दिन पनि सझिएँ । जुन उदेश्य र भावना बोकेर म इजरायल आएको थिएँ धेरै सम्झिएँ । जीन्दगीमा विदेशी माटोमा अन्तिम पाइला पनि सम्झिएँ । प्लेन उड्न सुरु भै सकेको रहेछ । हतार हतार फोन झिकेर शान्तीलाइ फोन गरे– ल ! अब प्लेन उड्न लाग्यो बाइ बाइ है ल !  मैले कसैलाइ फोन गर्न पाइन सवैलाइ गए भनी दिनु है । शान्ती भन्दै थिइ– थोरै कुरा गर्न मिल्दैन र ? भनेँ– मिल्छ, म संग जिरो कार्ड पनि वीस मिनेट जति बाँकी छ । अनि विगटक पनि पाँच मिनेट जति बाकीँ होला यो सकिन्जेल कुरा गरुँला नि है ! शान्ती बडो भाव विह्ल स्वरमा केही मनका कुराहरु सुनाउन खोज्दै थिए । शान्तीको बोली एक्कासी बन्द भयो । मोबाइल नियालेर हेरें । मोबाइलको स्क्रीनमा लेखिएको देखे “नेटवर्क अनएभलेवल ।” प्लेनले जमिन छाडिसकेको रहेछ । झ्यालबाट बाहिर नियालेर हेरेँ तेलअभिवका गगनचुम्वी महलहरु लामबद्ध दौडिरहेका देखिन्थे । हतार–हतार झ्याल बन्द गरेँ । एउटा बेग्लै अनुभूति हुदै थियो– लामो जीवन यात्राको रफ्तारमा दौडिरहेको यो मोटर गाडिले फेरी एउटा मोडसम्मको यात्रा त पुरा गरेको छ । फेरी अर्कै नयाँ मोड यात्राको लागि इन्जिन स्टार्ट भइसकेको छ । बायाँ हात गियर खेलाउनमा ब्यस्त थिए । दायाँ खुट्टाले एक्सिलेटलर दवाउन थाले । हातहरु स्टेयरिङमा सलबलाउन थाले । गाडि क्रमसः अगाडि बढ्न थाल्यो प्वा…..प्वा…..।