परदेशी चेलीबाट तीजको सुभकामना पत्र आमालाई – सुभद्रा भण्डारी, इजरायल

Published Date: November 8, 2014

पुज्यनिय आमा,

सादर ढोग तथा नमस्कर,

आमा, कठिन समय संगै मुकाबिला गर्दै तपाईंको त्यो न्यानो अँगालोबाट टाढिएको पनि ३ बर्ष बितिसकेछ । निरन्तर चलिरहने त्यहि बलवान समयभित्र लुकामारी खेल्दा खेल्दै जिन्दगीले कोल्टे फेरिसकेछ । यो बिरानो मुलुकमा टहलाउदै मनलाई दह्रो र कसिलोसँग गाठो पार्दै सकिनसकी आफूलाई सम्हालिरहेकी छु । हजुरको न्यानो स्नेही मायामा कल्पिदै आउँनै लागेको तीज पsonर्ब मेरो अनुपश्थितिमा पनि खल्लो नहोस् भनि भगवान सँग प्रथाना गर्दै यो पत्रमार्फत २ शब्द कोर्ने जमर्को गरेकी छु ।

यो अनिश्चित जीवन यात्राको क्रममा कहिले कहाँको यात्रा त कहिले कहाँको कुनै निश्चितता नहुदोरहेछ । जन्मेको देश, हुर्केको समाज अनी आफ्नै परम्परा र सँस्कृतीहरुको रौनकताले बेलाबेलामा मन खल्लो भइरहन्छ । प्यारा साथि सङ्गीहरुको मायामा तड्पिदा तड्पिदा समय कति लामो र कहालिलाग्दो भएर आउछ कहिलेकाहीं त ? फेरि ४ बर्षको दुधे बालक हजुरलाई जिम्मा लगायर मनभरी बेदनाका कोसेलीहरु सङ्गाल्दै त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिएको दिन सम्झिदा अझैपनि मन बेचैन हुन्छ । मनलाई कसिलो साङ्लाले बाँध्दै मुटुको टुक्रा झै लाग्ने कलिलो सन्तान र तपाँइहरुलाई छोडेर यो पर्देशमा खुशीले रमाउन त कदापी सकेरहेकी छैन रमु पनि कसरी मनमष्तिस्कमा तपाइहरुकै माया र सम्झनाले अमिट छाप गडेको छ । बिदेशी भुमिमा पसिना बगाइरहदा त झन देशको हाल बुझ्न मन हतारिदोरहेछ् । समय मिल्यो की बिभिन्न समाचारहरुमा आँखा पुगिहाल्छन् । मनै बिक्षिप्त हुने दुखद समाचारहरुबाट मनले कहिल्यै शान्ति पाउन सकेको छैन ।

आमा, जब म कसैको आमा भए अनि पो थाहा भयो आमाको सन्तानप्रतिको स्नेही ममता, न्यानो अँगालो अनि सुमधुर मायाका सौगातहरु । हजुरले भन्नु हुन्थ्यो आमाको आँखामा आफ्ना सन्तान सधैं कलिला र काचा हुन्छन् भनेर । मेरो सानो पुन्टेले कति सतायो होला हजुरलाई सुरुसुरुमा त ? ४ बर्षे दुधे बालकलाई आमाको यादले कति सतायो होला ? यता उता ममताका आँखाहरु डुलाउदा डुलाउदै निदाउथ्यो होला । ब्याक्त गर्न नसके पनि आत्मामा लाग्दो हो कतै मरिछ कि मेरि आमा ? साँझमा प्राय बालबालिकाहरु आफ्नो आमाको न्यानो स्नेही काखमा लुटुक्क निदाउन चाहन्छ्न । कति मन कोक्याइ कोक्याइ रोयो होला मेरो मुटुको टुक्राले । मलाइ खोज्न लालाहित आँखाहरु अनायाशै थाकेर लोलाए होलान । कल्पनामै सुत्यो होला मेरो पुन्टे । भोलि पल्ट बिहान ओछ्यानबाटै फेरि खोज्न सुरु गर्यो होला आफ्नी आमालाई, तर उसलाई के थाहा उसकी आमा मनभरी बेदनाका कोसेलीहरु सँङगाल्दै मुग्लान छिरिसकेकी छे भन्ने कुरा ? अबोध सानु आखाँमा आफ्नी आमा नपाउदा फेरि रुन सुरु गर्योहोला । कति सतायो होला हजुरलाई , चिच्यायो होला, छट्पटायो होला ? उ टोलाउदो हो कतै मेरी आमा आइहाल्छे की भनेर । आँखाहरु बिछ्याउदो हो सडकतिर कतै मायालु स्वरमा बोलाउछे की भनेर ? तर हजुरले कुनै दिन मलाइ पुन्टेले दु:ख दियो भनेर भन्नु भएन कति महान छाती हुन्छ सन्तानप्रति एउटी आमाको ।

देशमा रोजगारी नपाउनु, महङीले चुली छुनु अनि दैनिकी गुजार्न पनी धौ धौ पर्नुको पिंडालाई यो पर्देशको कमाईले केही हद सम्म त खुकुलो भएको छ तर सानेको आत्माले दिएको स्रापले मन शान्ति हुन सकेको छैन् । मेरो अनुपस्थितिमा चुहिएको उसको आशुको मोल म कदापी चुकाउन सक्दिन । कहिले त लाग्छ कस्ती पापिनी आमा हुँ ? मनमा बेचैनको खेती मौलाईरहेको छ नजिकिदै गरेको चाडपर्बले झन आज भोलि । कहिले त लाग्छ आजै टिकेट बूक गरिहालु झै, फेरि बिग्रदो देशको हालत अनि मनमा सजिएका भबिश्यका कल्पनाहरु गर्दै आफूलाई सम्हाल्छु । भनिन्छ मौकामा हिरा फोर्नुस, बेमौकामा कौडी नछोड्नु भनेर । समय सधैं आफ्नो पक्षमा नहुन सक्छ यस्तै अनेकन बहानमामा आफूलाई भुलाउछु । तुरुन्तै फोन संपर्क गर्न मन लाग्छ र एक पटक सानेसँग माफि माग्दै रोउ की झै लाग्छ कुरा गर्न खोज्छु वाक्य अड्किदै ओठहरु थर्थर काप्छ्न । सानेको आवाज सुन्न आतुर हुन्छु म, जब मनै कुडिने तोते बोली सुन्छु आँखाहरु रसाउछ्न बलिन्द्र आँशुले केही देख्दिन । मन भकानिएर आउछ धत् म जस्ती पापिनी आमालाई किन ममु आइ लभ यु भन्दै छ मेरो प्राण । उसलाई त्यही सिकाएका छ्न अरुले त्यही भन्छ तर मलाइ माया गर्छ या गर्दैन कसलाई के थाहा ? अलि अली पैसा साथमा भएपनि मनले कति पनि शान्ति पाउन सकेको छैन । पल पल स्वार्थी, पापिनी जस्ता अनेकन प्रश्नहरुले आफैसँग अनुत्तरित जबाफ मागिरहन्छ्न । धेरै रातहरु अनिदै छलङ् बितेका छन् कहिलेकाहीं कहालिलाग्दा सपनाहरुले झन मनमा ढ्याङग्रो बज्छ । हिजो मात्र मध्य रातमा मनमा छाएको सन्त्रासले अझै सताइरहेको छ । झल्यास ब्यूझिंदा ओछ्यान पसिनाले छर्लप्प भिजेको थियो । बाहिर टह टह जुन चम्किरहेको थियो । किराहरु अली अली सुस्ताइरहेका थिए । मन डराइ डराइ १ पटक घडी तिर चिहाउदा त मात्र रातको १ बजेर २५ मिनेट गएको रहेछ । मनलाई शान्त पार्नै सकिन कल गर्ने कोसिस गरें, फोनको रिङ्ग बजेको बज्यै भयो कुनै प्रतिउत्तर आएन । म अनायासै निस्सासिन थालें । मन धमिलो भयो । १ पटक भगवानसँग अन्जानमा कुनै गल्ति भएको भए क्षमा याचना माग्दै शुभ खबरको कामना गरें । पुन निदाउने प्रयास गरे अहँ सकेनन् आँखाहरु लोलाउन । समय आफ्नै गतिमा दौडिरह्यो । म भने नेपालको समय हेर्दै मनमनै शुभ पलको दीप जगाउन थालें । पुन कल गर्ने प्रयास गरें जब फोन रिसिभ भयो अनी मात्र मनले अलिक शान्ति पायो तर पनि कता कता मन डराइनै रहयो ।

आमा, कहिले त लाग्छ आफ्नै डाँडा पखेरी खनेर साग सिस्नु खाँदै आफ्नैसँग रमाउ जस्तो, तर पनि नआउनु बिदेश आइहाले दु:ख सुख गरेर अलिक दिन काटौ । हामि नेपालीको कर्म पनि कस्तो बिरानो, मुलुकमा आफ्नालाई मनभरी सजाउदै परायालाई रिझाउनु यहाँ नब दुलहीलाई घर खान गाह्रो भएको भन्दा कुनै कम हुदैन । कामको बारेमा बयान गरेर हजुरको मन दुखाउन चाहन्न । भगवानले हामि सबैको रक्षा गरुन् बश यहि कामना यो परदेशिएकी सानीबाट । नजिकिदै गरेको तीज पर्बले बिदेशमा पनि ठुलै चहलपहल छाएको छ । फुर्सद हुनेहरु राता पहेला रंगबिरङ्का पहिरनमा सजिदै आफ्नो परम्परालाई निरन्तरता दिदै छ्न् । जति रमाउने कोसिस गरे पनि आफ्नै गाउँ, परिवार, साथिसंगीको सम्झनाले भतभती मन पोलेको छ जलेको दिप खरानी भए झै । अब त हजुरको बुढेशकाल पनि लागिसक्यो, हजुरले त हाम्रो लागि ठुलो त्याग गरिसक्नु भएको छ य़ अब ती लर्बराएका हातहरूबाट भन्दा पनि हजुरलाई मिठो चटक्क बनाएर खुवाउने रहरमा म कल्पिन थालेकी छु । यो परदेशको बसाइ अब बिस्तारै छोट्याउने हो की भन्ने सोंचहरुले सताउन थालेको छ आजभोलि । यो पर्बमा बच्पनदेखि कहिल्यै अलग नभएको हाम्रो सानो परिवारसँग अलग्गिएर एक्लै तीजको दर पकाउनु पर्दा मनभरी नानाथरी तीजका गीतहरु सल्बलाउछ्न । हिन्दू नारीहरुको सुहाग बोकेको हरितालिकाको दिन आफ्नै ठाउँमा नाचेको, गाएको अनी मनोरन्जनात्मक बिबिध साँस्कृतिक कार्यक्रमहरुको झझल्कोले मन उकुसमुकुस भएको छ । सम्भव भए कुनै पार्क वा चौरमै भएपनि साथिसङ्गी जमेर रमाइलो गरिन्छ नत्र सम्झनामै चित्त बुझाउनु पर्छ । हाम्रो देशको सौभाग्य भनौ वा हाम्रो सुन्दर हराभराले सजिएकी सुस्त सुस्त सुस्ताइरहेका खोला, नहरहरुमा गएर पञ्चमी नुहाउदै पवित्रताको महसुश गरिन्छ अनी पन्चमी पुजा लगाउदै आफुले मागेको शुभ फल प्राप्त हुने आशामा ब्रतको समाप्ती गरिन्छ । भरपुर मनोरन्जन लगायत धार्मिक दृष्टिाकोणबाट पनि फाईदा मिल्ने यो तीज पर्ब यो बिरानो पराया मुलुकमा सम्भव नहुँदोरहेछ । लेख्दै जाँदा पत्र लामो भैसक्यो । मनमा उथलपुथल बेदनाहरु अझै पोख्ने चाहना हुँदाहुँदै पनि म पत्रको बिट मार्दै छु । हजुर लगायत सम्पुर्ण परिवार अनि मलाइ चिन्ने सबैमा यो खुसियाली पर्ब तीजको हार्दिक सुभकामना अनी मेरो सानेलाई मुटुभरीको माया ।

उही तपाँइकी छोरी

सानी



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...