कला तथा साहित्य

भुँवरीमा भिखम – युवराज नयाँघरे

By admin

November 08, 2014

– युवराज नयाँघरे

विमानस्थलको भीडमा छ भिखम ! उसले कहिल्यै घर छोडेन । छोड्ने परिस्थिति नि पर्दै – परेन । आज ऊ जाँदैछ बाहिर । बाहिर भनेको मकाउ । उसको सानैदेखिको रहर – आकाशमा उड्ने । आकाशको सम्मोहनले उसलाई तान्छ घरी – घरी । भिखम तराईमा जन्म्यो, हुक्र्याे र बढ्यो । अक्षरसम्म चिन्यो । ‘एइ बौवा, कि छे ?’ भिखमसँग ठट्टा गर्नेहरुले उसलाई जिस्काउँथे र कुस्ती खेल्न आमन्त्रण गर्ने । आमन्त्रण उसका निम्ति जति रुचिकर थियो, प्रिय थियो र हुँकारयुक्त थियो – त्यत्तिकै समयकटनीका निम्ति सजिलो पनि । भिखम गाई चराउँथ्यो । घाँस काटेर आलीमा राख्दै सोच्थ्यो – ‘म पनि गाउँ छोड्छु !’ गाउँबाट विदेश जानेहरुको सख्या केही यता बढेथ्यो ह्वात्तै । दिन दुगुना र रात चौगुना बढेको थियो । रामलखन, चन्दर, लालबाबु, रामखेलावनहरु गइसके । भिखमलाई तिनको ख्याल आउँछ । गर्मी चढेपछि खुब पौडी खेलिन्थ्यो । रातु नदीमा धेरै पटक खेलेर मस्ती लिएको छ उसले । भिखमलाई लालबाबुले सिकाएको हो – पौडी खेल्न । सुरुमा खुट्टा चलाउने, हात फाल्ने र सास चलाउने कुरा बगरमा सिकायो लालबाबुले । पछि किनारमा छप्लाङछुप्लुङ । अनि भुँवरीमा छत्लाङ्ङ ! पछि त निकै गजब हुन थाल्यो । लालबाबुलाई नै हराइदियो भिखमले । एकपटक हैन – निकै–निकै पटक हराइदियो । सोनपुरमा हल्ला हुन्थ्यो – भिखमलाई जे कुरा सिकाऊ – पछि त उसले सबैलाई हराउँछ । सिकाउने गुरु नै हार्छ । भिखमले लालबाबुलाई पौडी सँगै कुस्तीमा पनि हरायो मज्जैले । भिखम विमानस्थलमा छ । केही पछि नै ऊ उड्दै छ आकाशमा । केही समयपछि नै यो धर्ती यतै थन्काएर भिखम बेगिने छ बेतोडले । धर्ती कहिले नछोडेको उसलाई यस कुराले मनभरी निकै खल्बली पारेको छ, छ । एयरपोर्टमा पुलिसका हातमा काला घँगारुका लठ्ठी देखिरहेछ ऊ । भिखमले पुरानो कुरा सम्झियो । यस्तै चार कक्षामा पढ्दाको कुरो मास्टरजी कडा थिए । रुखमुनि पढ्नु पथ्र्याे । एकदिन मास्टरजीको लामो लट्ठी लिएर भिखमले ढुक्कुरका बच्चा झार्यो । हनुमान सिंह, मानक र रामभरोस जस्ता साथीहरु मिलेर ढुक्कुर पोलेर खाए । भोलिपल्ट त्यसको गाइँगुइँ सबैका कानमा पुगिगो । अनि मास्टरजीले भिखमलाई अह्राए – ‘यो लठ्ठी पुरानो भो । अर्काे राम्रो लट्ठी बनाएर ल्याउनु !’ भिखमले कटबाँसको लौरो खुब मज्जाको बनायो । खुर्कीखार्की गरेर, तेल दलेर, आगोमा सेकाएर लट्ठी तयार पा¥यो । अनि आफ्नो पौरख देखाउन स्कुल जान हतारियो । अरु दिन भन्दा चाँडै स्कुल पुग्यो ऊ । मास्टरजीलाई प्रमाण गर्दै लट्ठी अर्पण ग¥यो भिखमले । ‘ठिक छ !’ मास्टरजीले भने । मुसुक्क हाँस्यो भिखम । उसलाई लाग्यो – निकै मिहिनेत गरेको फल पायो उसले । साह्ै मन रमायो उसको । मास्टरजीलाई लट्ठी दिएर उसले आफ्नो पौरख देखाउने मौका पायो मज्जैले । ‘हाफ टाइममा भेट्नु !’ भिखमले जाने बेलामा गुरु वाणी सुन्यो । हल्लाखल्ला बीच कक्षा चलिरह्यो । ऊ दङ्ग थियो । आज मध्यान्हमा केही राम्रै पुरस्कार पाइनेछ । मनमनै रमाइरहेको थियो भिखम । हाफटाइमको घण्टीसँगै ऊ दगु¥यो टहरोतिर । जहाँबाट आइरहेका थिए मास्टरजी । ‘हिजो तैँ होइनस् – मेरो लट्ठीले ढुक्कुरको गँुड झार्ने !’ त्यतिन्जेलमा भिखमले एक स्वाँठ खाइसकेको थियो । लामो लट्ठी भाँच्यो माझैमा । भाँचिएको लट्ठीले फेरि बजाए मास्टरले । फेदपट्टि कालो र ध्वाँसोले टलक्क टल्केथ्यो लौरो । अनि ऊ त्यस मास्टरको सामु कहिल्यै परेन । बिस्तारै ऊ स्कुलको आँखी हुँदै गयो । रुख, भैंसी, खेत, पोखरीमा बिताएर भिखम घर फर्कन थाल्यो । टाढियो ऊ बिद्यालयबाट ! बिमानस्थल वरपर अनौठा – अनौठा कुरा देखिरहेछ ऊ । अगाडी ठूलो टेलिभिजनमा अक्षर कुदिरहेछन् । जहाज आउने र जाने सूची हो त्यो । ‘देख्–देख् !’ नन्दनले अलि – अलि अक्षर फुटाएर भन्यो – ‘टेलिभिजनमा जहाज आउने र जाने कुरा आउँछ, त्यो पढ् !’ भिखमले पढ्ने कोसिस गरिरा’छ । तर असम्भव छ त्यो स्थिति । सी ए टी – क्याट । क्याट माने बिरालो । एम ए एन जी ओ – म्याङगो । म्याङ्गो माने आँप । भिखमले सिकेको अंग्रेजी यै हो । त्यस्तो सजिलो अंग्रजी यहाँ छैन । उसलाई थकथकी लागिरहेको छ । बेलामा पढिएन – बडा नकाम गरिएछ नि ! बिमानस्थलमा खुब भीड छ । त्यो भीड देखेर उसलाई गाउँको हाटको ख्याल आइरहेको छ । ऊ बासँग बजार जान्थ्यो । बा ले बयलगाडा हाँक्थे । त्यो गाडा उनीहरुको थिएन । मुनिम काकाले ‘पहाडिया महाजन’ को राइस मिलमा बालाई काम दिलाइदिएका । बा टायरवाला गाडा चलाउँथे । एक दिनको धानको भुस्सा लोड गर्दै थिए गाडामा । गाडी उत्तानो भएर सबै बोरा बाको टाउकोमा थुप्रियो । अनि बोरै बोराले पुरिएछन् भिखमका बा । बिहान कालो सर्ट लगाएर गएका बा लाई दिउँसो सेतो कपडाले ढाकेर खोलातिर लगेको देख्यो भिखमले । ऊ डराई – डराई हुलमा दगु¥यो । घाटमा पुगेपछि बा लाई आगो लगाउन उसकै हातमा दनदनी बलिरहेको पुल्ठो थमाए मुनिम काकाले । जे – जे भने त्यै – त्यै ग¥यो भिखमले । घर आउँदा आँगनभरि मान्छेको भीड । यो विमानस्थलको भीड देखेर उसले त्यो दिन फेरि सम्झियो । उसलाई अगाडीको बादलु आकाशमा बा ले हेरिरहेका छन् जस्तो पनि लाग्यो । केही समयपछि नै त्यै बादल भरिएको आकाशतिर उड्ने छ भिखम । गाउँमा भीड अरु दुई कारणले हुन्थ्यो – भाषण र भजन । नेताहरुको आगमनसँगै भीड खुब हुने गर्दथ्यो । एक पटक भीड जम्मा गर्दा भिखमले दुई सय रुपिया पाएको थियो । जति धेरै मान्छे बटुल्यो त्यति नोट पाइने । एक हप्ता खटेपछि उसले गब्बर सिंहको पार्टीलाई मान्छे बटुल्न सकेको थियो । तर अर्काे हप्ता माइकालालको पार्टीवालाहरुले भिखमलाई मज्जाले भकुरे र भने – ‘तँ जता पनि लाग्छस् । पैसा खाएर मान्द्धे बटुल्छस् । कि हाम्रो पार्टीमा लाग् कि उता लाग् । पैसा खाएर दलाली काम नगर ।’ त्यै दिनदेखि पानी समात्यो भिखमले र निर्णय ग¥यो – ‘साला पार्टीवालाको काम गर्दै गर्दिन । बरु भुखै मर्छु !’ एयरपोर्टमा आइसक्रिम चुसिरहेकी युवतीको ठूलो पोस्टर उसले देख्यो । भिखमले पोस्तर नजिकै गएर हे¥यो र ओठ चाटयो । ऊ सानैदेखि बरफको सोखिन । बरफ चुस्न पाएको दिन खब फुरुङ्ग पथ्र्याे भिखम । एकदिन बेच्न लगेको एक बाल्टिन दूध उसले दस वटा बरफसँग साटेको थियो । तर दुईवटा चुसिनसक्दै अरु आठवटा पग्लिएर गइसकेका थिए बरफहरु । दूधको हिसाब देखाउन नसक्दा राति राम्रै धुलाइ भएथ्यो भिखमको । एअरपोर्टमा अचम्म लाग्दा अरु कुरा छन् । भिखमलाई ती अनौठा दृश्यहरुले खुब चिमोटीरहेका छन् । आँखै नझिम्क्याई हेरिरहेछ ऊ – अचम्म र छक्क लाग्दा मान्छे र परिवेश । अचम्मका भुमरीमा छ भिखम । प्लास्टिकका खोलमा मकैका प्याकेट सजाइएका देखेपछि भिखमलाई लाग्यो – ‘जहाज चढ्नेहरु नि मकै खाँदा रहेछन् !’ भीडमा छ भीखम ! आँखा च्याती च्याती विमानस्थलको होहल्ला हेर्दैछ ऊ निरन्तर । बाँसघारीमा बास बस्न लागेका सारौं कराएको लाग्दैछ उसलाई । मेनपावरले दिएको पासपोर्ट र टिकट एक पटक फेरि हे¥यो भिखमले ।