नयन्द्र चेम्जोङ र “मोड” पुस्तक चर्चा) – दीप्स शाह, इजरायल
– दीप्स शाह, इजरायल
जीवनको एक मोडमा भनु निकै अबेर भेटिएर छिट्टै नै असाध्यै आत्मिय र स्नेही सम्बन्ध गाँसिएको एक सर्जक हुन् नयेन्द्र चेम्जोङ, जोसँग साहित्यिक सम्बन्ध मात्र नभएर एक अभिभावकिय आत्मियता समेतको महसुस गर्छु म । उनै आदरणिय दाजु नयेन्द्र चेम्जोङ हेर्दा ब्यबसायी जस्तो देखिने, धेरथोर सामाजिक काममा संलग्न हुने /भएका र बैदेशिक रोजगारीको क्रममा एन आर एन इजरायलका अध्यक्ष समेत रहिसकेका भन्ने थाहा थियो तर एकदिन जान्न पाएँ दाजु त साहित्यमा समेत पो गहिरो रुची राख्नुहुँदो रहेछ । सिर्जनामा भन्दा पठनमा अभिरुची बेसी राख्ने नयेन्द्र दाजुले हालसम्मका भोगाइलाई समेटेर एउटा संस्मरण संग्रह “मोड” बजारमा ल्याउँदै हुनुहुन्छ भन्ने थाहापाउँदा म हर्ष बिभोर भएको थिएँ । मौनाबुधुक, धनकुटामा जन्मिनु भएका नयन्द्र चेम्जोङ सँगको साहित्यिक सामिप्यताको केही पछि इजरायलको नामी मध्ये गनिने एउटा राष्ट्रिय पार्कमा एकदिन बेस्सरी झरी र बर्षाको दिन रुझ्दै भि
ज्दै साहित्यिक मनहरु माझ बडो हर्षोल्लासका साथ बिमोचन गरिएपछि हात परेको थियो त्यही संस्मरण संग्रह ‘मोड’ एउटा सानो छरितो आकर्षक पुस्तक ।
साहित्यका बिबिध बिधा मध्य मलाई असाध्यै मन पर्ने बिधामध्यको एक ‘संस्मरण’ रहेकोले अभिरुचिका साथ ‘मोड’ को छेउभित्ता छाम्दै म लम्किरहेँ लम्किरहेँ । मेरो समझ अनुसार संस्मरण त्यो लेखाइ हो जहाँ लेखक सबसे इमान्दार भएर प्रस्तुत हुनेगर्छ, हुनुपर्दछ । यसर्थ यही बिधाबाटै सम्बन्धित लेखकलाई साङ्गोपाङ्गो बुझ्न सकिन्छ । श्रीमती शान्ती चेम्जोङ्ग ज्युले प्रकाशकिय सम्हाल्नुभएको ‘मोड’ को आवरण साजसज्जा साहित्यकार कृष्णपक्ष ज्युले गर्नुभएको रहेछ भने बेन्चमार्क एजुकेशन सपोर्ट प्रा लि ले ब्यबस्थापन सम्हालेको रहेछ । बिभिन्न ११ शिर्षकमा समेटिएको संस्मरण ‘मोड’ लेखक नयेन्द्र चेम्जोङ्गको प्रथम कृति पनि हो । दैनिक जीवनको प्रत्यक्ष व्यबहारमा जस्तो खरो र निर्भिक छन नयन्द्र दाई उस्तै सिधा र इमान्दार प्रस्तुती छ ‘मोड’ मा पनि । संस्मरण स्वाभवत: भोगाइका आध्योपान्त खिपाइ नै त हो ‘मोड’ मा पनि त्यही छ । तर अवश्य ब्यक्ती पिच्छेको जिन्दगीका भोगाइ, उतारचढाब र अनुभब अनुभूती फरकफरक हुन्छ नै । एकजनाको यस्तै अलगअलग भोगाइको फेहरिस्त अर्को कुनैको लागि प्रेरणापुञ्ज बन्न सक्छ । सान्त्वनाको बुटी हुन सक्छ र हुनसक्छ मार्गदर्शक उज्यालो पनि । ‘मोड’ भित्रका अनेक घुम्ती हरुमा यस्तै यस्तै जानकारीमुलक घटना परिघटना सँग साक्षात्कार गर्न सकिन्छ । हाम्रो नेपाली जनजीवनको प्रत्यक्षता सँगै सरकारी निकायहरुमा बिगत देखिनै हुनेगरेका असामान्य ब्यबस्थाको वर्णन पनि यसैमा छ भने आम नेपालीको नियती बाध्यता र बैदेशिक यात्रा अनी त्यसबिचमा भोगिने अनेक तिक्त घटनापनि प्रतिनिधि बनेर उभिएको पाईन्छ ।
भन्न त भनिन्छ मान्छे जती इमान्दार हुन्छ त्यती नै उसको जीवन सुगम हुन्छ । सत्यको संधै जीत हुन्छ र हो पनि । तर यथार्थ यो पनि हो कि इमान्दार मान्छेले नै अनेक अप्ठ्याराहरुको सामना गर्नुपर्छ र सत्यले धेरै उतारचढाब पछी मात्रै विजय हासिल गर्छ । जबकी फट्ट्याइ गर्नेले छलछामकै भरमा क्षणिक सही तर सुखानुभूती र सफलता पनि छिट्टै प्राप्त गर्ने गर्छ ।”मोड” ले नयन्द्र चेम्जोङ्गको स्पष्ट वक्ता, निर्भिक र खरो अनी इमान्दार ब्यक्तित्व प्रष्ट्याउनुको साथै उनले भोगेका अनेक बिपत्ती र जुध्नुपरेको समस्याका पहाडको सग्लो फेहरिस्त पनि छर्लङ्ग्याएको छ ।
अपरिपक्व उमेरमै सुरु गरेको सरकारी नोकरीको समयावधीमा समेत नयेन्द्र चेम्जोङ्गको स्वाभिमानको उच्च र स्पष्ट अनुहार शिर्ष संमरण ‘मोड’ को यी हरफबाट छर्लङ्ग हुन्छ,
“………. दिनको सुरुवात बिहान पाँचै बजे उठेर सिडिओकोमा चाकरी बजाउनुपर्ने । राती सुत्नु अघि पनि सलाम मारेर बिदा हुनुपर्ने । नमस्कार गर्दा पनि निहुरिएर धनुष्टंकार शैलिमा गर्नुपर्ने । जती धेरै निहुरिएर नमस्कार गर्न सक्यो उतिनै इमान्दार, योग्य कर्मचारीमा दरिने प्रथा ।…….. क्वाटरमा बस्ने सबैले स्वस्तिकोलागि लाम लग्नुपर्ने । त्यो चाकडी प्रथादेखि केहीदिनमै आजित भएर म पचास रुपैयाँको भाडाको कोठामा बस्न थालेँ । ” (शिर्षक ‘मोड’ पेज नम्बर १०-११)
यस्तै यस्तै जि हजुरी गर्न नसकेर नजानेर हुंदो खाँदोको सरकारी जागिरलाई लात मारेर हिंड्ने चेम्जोङ्गको जिन्दगीमा त्यसपछि आएका अनेक उतारचढाब, जिविकाकै लागि वाध्य भएर भनुँ देशभक्तिको भावना मनको कुनामा थुनेर बैदेशिक रोजगारीकोलागि चालिएका पाइला र तिनका दौरानमा मुठभेड भएका अनेक मनछुने बृतान्त संग्रहित छन् ‘मोड’ मा । पढ्दै जँदा कतै खित्का छोडेर हँसाउँछ ‘मोड’ ले त कतै भाबुक बनाइ आँखा रसाइदिन्छ । रोजगारिको क्रममा पनि सामाजिक काममा हात हालिरहने स्वाभिमानी नयेन्द्र दाई ले समाजसेवी भाबनाबाटै प्रेरित भएर एन आर एन इजरायलको अध्यक्षता सम्हालेका दिनहरु र त्यसबेलाको अनुभब, चुनौती र परीिणाम सँगै अन्तमा इजरायलमा रहँदा अन्तरास्ट्रिय साहित्यिक समाज इजरायल च्याप्टर सँगको प्रत्यक्षता र संलग्नता अनी त्यसबाट आफुले पाएको सन्तुष्टी र साहित्यिक उपलब्धीको इतिबृतान्तसँगै ‘मोड’ को बिट मारेका छन् ।
समग्रमा ‘मोड ‘साँच्चै नै हरेकको जीवनमा पार गर्नुपर्ने मोडहरुको प्रतिनिधि प्रस्तुती बनेकोमा कुनै सन्देह छैन । सम्झनाका गुच्छाहरु खिप्ने क्रममा मोडको प्रस्तुती, सुललितता र मिठास अनी ज्ञानमुलक र मनोरञ्जनपूर्ण त छँदैछ प्रेरणादायी पनि छ । औसत भन्दा सानो र खिरिलो आकारको “मोड” मा भाषिक अशुद्दी भने निकै रहेका छन् । पुस्तकिय रुपमा हेर्दा केही यस्ता प्राबिधिक त्रुटीले भने स्थान जमाएको भेट्न सकिन्छ अवश्य । तर वास्तबमै पाठकले “मोड” भित्र आँफैलाई उभिएको पाउँछ र केलाउन सक्छ । यसर्थमा पनि यो पठनिय पुस्तक एक्पटक सबै पाठकले पढ्नैपर्ने मेरो जिकिर छ । अबको साहित्यिक यात्रामा यस्ता अनगिन्ती “मोड” हरु अझै सशक्त ढंगले जन्मियोस् दाजु नयेन्द्र चेम्जोङ्गको कलमबाट । एक पाठकको तर्फबाट यही शुभकामना अर्पण गरेँ नयन्द्र दाई !!”मोड” को उच्च सफलताको लाख कामना !!!
