नयाँबर्ष तिमी आउ !! – संगिता घिमिरे, इजरायल
adminकला तथा साहित्य
नयाँ बर्ष तिमी उज्यालो बनेर आउ
अन्धकारमा तड्पिएर बसेकाहरुको लागि !
नयाँ बर्ष तिमी पानी बनेर आउ
मरुभुमिमा छट्पटाएर बाँचिरहेकाहरुको लागि !!
नयाँ बर्ष तिमी गौतम बुद्ध भनेर आउ
देशमा भएको अशान्ति मेटाउनको लागि !
हजारौं निर्दोष पशु पंक्षिको निहत्या बली रोक्नको लागि
अनि मानब मन भित्र भातृत्व स्नेह जगाउनको लागि !!
नयाँ बर्ष तिमी मेरो देशमा बिकासको नयाँ किरण बनेर आउ
हजारौं यूवा शक्ति बिदेशीको नोकर हुनबाट रोक्नको लागि !
बिदेशीएकी आमाले आफ्नो बालबच्चाको साथ पाउनको लागि
तन मन र आत्माबाट आफ्नो सन्तानको खुशी हेर्नको लागि !!
नयाँ बर्ष तिमी बास्तवमा नयाँ नै भएर आउ
हिमाल पहाड र तराई नेपालको शान भनेर देखाउनको लागि !
चार जात छत्तिस वर्णको फुलबारी हामी नेपाली भन्नको लागि
चन्द्र सुर्य अंकित हाम्रो झन्डाको अस्तित्व जोगाउनको लागि !!
नयाँ बर्ष तिमी सिम्रिक बनेर आउ
बिधुवाको उजाडिएको सिउँदोमा सिन्दुर भर्नको लागि
मेरो झन्डाको रङ कहिले नमेटिनको लागि
मेरो हरियो बनलाई सिम्रिकले सिंगार्ने लाली गुराँसको लागि !!
नयाँ बर्ष तिमी आउ
नयाँ जोस जाँगरसंगै
सुख शान्ति र संवृद्धिको लागि
सबै गुमाएर पनि केही पाउने आशामा
जीवन बिताइरहेकाहरुको लागि !!