घरमा शौचालय नहुने संघसंस्थामा वस्न नपाउने
ए1न्यूज नेपाल देवचन्द्र भट्ट
नुवाकोट, मंसिर ४ गते, घरमा शौचालय नभएको व्यक्ति नुवाकोटका कुनै पनि संघसंस्थामा बस्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले संघ संस्था दर्ताको क्रममा संघसंस्थाको पदाधिकारीहरु सबैको घरमा शौचालय निर्माण भएको स्थानीय निकायको सिफारिस विना दर्ता नगर्ने भएको हो ।
जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा संघ संस्था दर्ता गर्न आउनेले कागपत्रसंगै शौचालय निर्माण भएको भन्ने स्थानीय निकायको सिफारिस समेत ल्याउन अनिवार्य गरेको हो । जिल्ला विकास समिति अन्तर्गत गठन हुने विकास निर्माणको उपभोक्ता समितिका पदाधिकारीले पनि शौचालय बनाएको प्रमाण्ँ पेश नगरेमा निकासा समेत रोकिने भएको छ ।
नुवाकोटको आगामी सन् २०१७ को जुन महिना भित्रमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानलाई तिव्रता दिनका लागी यो निर्णय गरिएको स्थानीय विकास अधिकारी तथा जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार केसीले बताए । तर, सबैले सक्रियता देखाउन सकेमा सन २०१५ भित्रमा नै नुवाकोट जिल्ला खुला दिसामुक्त बनाउन सकिने देखिएकोले अभियानलाई तिव्रता दिइएको समितिले दाबी गरेको छ ।
समितिले चौघडा गाविसको स्थलगत अनुगमन गरि खुला दिसामुक्त गाविस घोषणा गर्ने तयारी गर्ने समेत निर्णय गरेको छ । चौघडा गाविसमा सचिव ऋषिराम केसीका अनुसार १ हजार १ सय ३३ घरधुरी मध्ये १ हजार १ सय २० घरमा शौचालय निर्माण भएको छ । तर, १३ घरका वासिन्दा गाउमा नबसि काठमाडौं बस्ने र घर खाली भएकोले शौचालय निर्माण नभएको सचिव केसीले जानकारी दिए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले शौचालय निर्माण नगर्नेलाई पहिले नै कारवाही गर्ने भन्दा पनि शुरुमा उप्रेरित बनाउनु पर्ने बताए । उनले शौचालय निर्माणमा सचेतना कार्यक्रम सञ्चालन गरिसक्दा पनि नबनाएका स्थानीय निकाय, प्रशासन कार्यालयले कडा रुपमा प्रस्तुत भएर पनि शौचालय निर्माण गर्न लगाउनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी निरौलाले सरकारी कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका पदाधिकारी तथा अन्य संघसंस्थामा जिम्वेवार पदमा बसेकाहरुलाई शौचालय निर्माणको लागि सम्बन्धित आआफ्नो संस्थाहरुले स्थानीय सरसफाई तथा स्वच्छता समन्वय समिति मार्फत समय तोकेर निर्देशन दिनु पर्ने बताउनुभयो ।
