के मैले कविता लेखे ?

निर्मला खड्का, इजरायल

Published Date: December 19, 2014

 

निर्मला खड्का, इजरायल
निर्मला खड्का, इजरायल

एका बिहानै
एउटा पंक्षी मेरो झ्यालबाट फुर्रर्र उडेको छ
आँखामा कविताको उन्माद बोकेर
पन्जाहरुको अनुपस्थितीमा
जाहेरी कविता कहाँ कहाँ लेखिन्छ खै ?
हो कवितामा गर्व हुन्छ
कवितामा नारा हुन्छन मुक्ती र न्यायका
भिड हुन्छ अनि सन्नाटा हुन्छ
फूल हुन्छन, काँडा हुन्छन अनि
भाव, भावहिन, भावहिनता हुन्छन
यसैमा थप
आह्वानमा आन्दोलन हुन्छन ।
उडान थाक्छ
कयौ मुहारहरु बद्लिन्छन पलमै
म अनि पक्षी ,एकै धरातलमा उभिन्छौ
मेरो बिरोध गर्नेहरु
पक्षीको समर्थनमा कविता लेख्छन
प्रतिरोधको कविता लेख्ने सुन्दर शब्दहरु
प्रेमका निवेदन लेख्ने कलमहरु
हर पंक्तीमा जिन्दगी थपी दिन्छन र
मृत्युमा समबेदना ।
एक प्रयास
हाम्रो साथमा
कविताको मुहार पहेलिन हुन्न
उसको नजर काम्न पनि हुँदैन
भूमिगत पनि हुनु हुँदैन कविता
हो हुनु पर्छ स्वीकारोक्ती
जिन्दाबादको मात्र नारा कलमले लेख्ने हैन
नजरमा राँको हुनु पर्छ ।
तसर्थ
निवेदनमा
ए कलम, मालिकको नियत पर्दाफास गरि दिनु है
भनि दिनु
मन कहाँ हुन्छ ?
आँखा कहाँ हुन्छ र नियत कहाँ हुन्छ
अन्तत पक्षीको मुक्तीमा
के मैले कविता लेखे ?



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...