सुन तस्करी गिरोहका ९ जना पक्राउ, ७ केजीभन्दा बढी सुन र ३० लाख रुपैयाँ बरामद
नेपाल प्रहरीले संगठित रुपमा सुन तस्करीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले वहुमुल्य सुन भन्सार छलेर चीनको तिब्बतबाट नेपाल भित्र्याइ भारत पुर्याउने संगठित गिरोहका ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये दुई जना सुन व्यवसायी हुन् । प्रहरीले काठमाडौंको न्युरोडमा द युनाइटेड गोल्ड मार्ट सञ्चालन गर्ने ४८ वर्षिय आकाशकुमार बज्राचार्य र ४२ वर्षिय बालकृष्ण अग्रवाललाई पक्राउ गरेको छ ।
तस्करीमा संलग्न संगठित गिरोहका अर्का लगानीकर्ता झापाका सावरमल जोधानी भने फरार छन् । बज्राचार्य पोखरा उपमहानगरपालिकाका हुन् भने अग्रवाल इलाम नगरपालिकाका हुन् । प्रहरीले संगठित रुपमा सुन तस्करीमा संलग्न व्यवसायीलाई नै पक्राउ गरेको यो पहिलो पटक हो । यसअघि खास तस्करहरु उम्किँदै आएका थिए भने भरियाहरु मात्र प्रहरीको फन्दामा पर्ने गरेका थिए । तीन जना व्यवसायीलाई तस्करीमा सहयोग गर्ने सिन्धुपाल्चोकका प्रविण तिमल्सिना र देउता तिमल्सिना, रौतहटका मोहन चौधरी, चितवनका रामराज चौधरी, विशाल चौधरी र सत्यनारायण चौधरी, सुनसरीका विशाल चौधरी तथा बाराका नन्दकिशोर चौधरीलाई गिरफ्तार गरेको छ । सिन्धुपाल्चोकका ध्रुव तिमल्सिना, काभ्रेका मिलन तामाङ, चितवनका श्रीराम चौधरी र कैलालीका जयराम भट्ट भने फरार रहेको प्रहरीले जनाएको छ । गिरफ्तार सबैलाई संगठित अपराध निवारण ऐन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले बताउनुभयो ।
महानगरीय अपराध महाशाखाले संगठित गिरोहको साथबाट ३ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको ७ केजी ५९ ग्राम सुन तथा ३० लाख रुपैयाँ नगद समेत बरामद गरेको छ । चालु आर्थिक वर्ष मात्र प्रहरीले तस्करीको ७१ केजी सुन बरामद गरेको छ ।
