“ यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू”

News Team

कविता तथा मुक्तकहरु

शुभद्रा भण्डारी , हाल इजरायल

रोग भोक र शोकमा  वचाउ-वचाउ भनी कराउदै,

पुरिएकाहरू ५  दिनसम्म पनि भित्रैवाट चिच्याउदै,

मरेका त मरिसके वाचेकाहरूलाई वचाउ भन्दै,

आफ्नै सरकारसंग भिख माग्दैछन् नेपाली जनताहरू ।

देश ढलेको एक सातासम्म पनि कुनै तथ्याङ्क नहुदा,

विदेशीहरूले दिएको राहत समेत पिडितको हातमा नपुग्दा,

कुहिएको लाशहरूसंगै गाँउवस्तिहरूमा सन्नाटा छाउदा,

हाम्रो लागि यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू ।

 

ऐया-ऐया भनी उद्दारटोलीको पर्खाईमा प्राण गुमाउदै,

वाल-वृद्दा, सुत्केरी र  गर्भवती उपचारविना छट्पटाउदै,

मिनेटमै स्वाहा भएको कहालिलाग्दो भयानक  दृश्यसंगै,

कोलाहल र चिच्याहटमा  छट्पटाउदैछन्  नेपाली जनताहरू ।

 

काल वनेको प्राकृतिक विपत भनी मन वुझाउनेहरू पनि ।

सर्वस्व गुमाउदै  राहतको पर्खाईमा व्याग्र प्रतिक्षा गर्नेहरूपनि,

एक सातासम्म  सरकारको लाचारपन देखेर,
हाम्रो लागि यो सरकार मरिसक्यो भन्दैछन् जनताहरू ।

सुत्केरीहरूले खान नपाएर भोकभोकै मर्न लाग्दा,

वच्चाहरूले कारूणिक श्वरमा  भोक लाग्यो भनेर छट्पटाउदा,

वुढावुढीहरूले आकाशतिर  फर्किदै सरकारको वाटो चिहाउदा,

राहत  वितरणमा असफल यो सरकार,

विवाद र भागवन्डामै मस्त छ, भन्दैछन् जनताहरू ।

 

विष्वको ध्यान नेपाल माथी खनिदै  सहयोगको थुप्रो लाग्दा

गाँस वास र कपासविना खुल्ला आकाशमा तड्पिईरहदा,

राहत वितरणमा दलिय स्वार्थको गन्ध आउदा,

आफ्नै देशको सरकारले मार्ने भो,  भन्दैछन् जनताहरू ।

 

क्षणभरमै टुटेको सपनासंगै  आफ्नै देशमा शरणार्थी हुनुपर्दा

मरेकाहरूको लाशको अन्तेष्टी सम्म हुन नसक्दा,

माहामारीको संकेतमा गाँउवस्ती  वुङवुङ गनाईसक्दा,

ए सरकार,

के मा व्यस्त छौ भनी प्रश्न गर्दैछन् नेपाली  जनताहरू ।

 

के  गर्थ्योहोला नेपाल सरकार विदेशीले साथ नदिने हो भने ?

के काम र आपतकालिन राहत  सातासम्म नपाउने हो भने ?

पिडितहरूले  रोग भोक र शोकमा  डुव्दै जिउदै मर्नुपर्ने हो भने,

हाम्रो लागि यो सरकार  मरिसक्यो भन्दैछन् जनताहरू ।

हाम्रो लागि यो सरकार   मरिसक्यो भन्दैछन् जनताहरू ।