Loading...

राष्ट्र र राष्ट्रियताप्रति कर्तव्य विमुख नवन इजरायलवासी नेपाली !

सम्पादकिय

Published Date: May 21, 2015

Sampadkiyeइतिहासकै अत्यन्तै पिडादायी अवस्थाबाट गुज्रिएको छ नेपाल अनि नेपाली जनता । प्राकृतिक विपद भन्ने कुरा सबैलाई आइपर्ने कुरा हो । कुनै न कुनै वेला कतै न कतै यस्ता किमिसका विपदहरु आइनै रहेका हुन्छन् । दुर्भाग्य त्यो विपदको रेखामा यस पटक हाम्रो देश आइपुगेको छ ।

नेपाल अत्यन्तै गरिव मुलुकहरु मध्येको एक हो । नेपालको अस्थिर राजनितिको उपज हाम्रो मुलुक विकाशको दौडमा पछाडि परिरहेको मात्र छैन चरम गरिवीको चपेटामा समेत दर्ज छ । नेपाल यसरी पछाडि पर्नुमा नेपालको राजनितिक अवस्थामात्र दोषी अवश्य होइन्, नेपालको भौगोलिक विकटता अनि नागरिक चेतनामा कमी हुनु पनि यसको प्रमुख कारण हो,  अहिलेको अवस्था त्यसको ज्वलन्त उदाहरण पनि बनेको छ । हुनत प्राकृतिक विपद टारेर टर्दैन जसो तसो झेल्नै पर्छ, विपदवाट उत्पन्न क्षति कम गर्न नागरिक सजगतामा वढावा भने अवश्य दिइनु पर्दछ । यदी यो महाविपद अघि सरकार वा गैरसरकारी निकायहरुबाट गरिएका प्रयासहरुबाट थोरै भएपनि त्यही सजगताकोलागि ध्यान दिन सकेको भए मात्र पनि क्षति कम हुन सक्थ्यो,  दुर्भाग्य गरिएका सम्पूर्ण प्रयासहरु मात्र प्रयासमा सिमित रहे । हुने भइसकेपछि यी कुराहरु गरेर त्यसले वर्तमानमा अर्थ नराख्ला तर आगामी दिनहरुमा थप सजग वन्न अवश्य दिशानिर्देश गर्नेछ । हामीले पाठ सिक्नु पर्ने कुरा भनेको नेपालको विगट भौगोलिक अवस्थाका कारण यो महाविपदको सामना गर्नु परेको भनेर भाग्यलाई दोष दिएर होइन अव आउदा दिनहरुमा विपदबाट जोगिन उपयुक्त  भौगोलिक अवस्थाको चयन गरी त्यहाँको माटोको अवस्था लगायतका प्राविधिक कुराहरुलाई समेत मध्यनजर गर्दै भौतिक निर्माणका विषयमा पनि निश्चित मापदण्ड तय गरी मात्र बस्ती बस्न र वसाल्न सम्वन्धित सबैको  ध्यानाकर्षण गर्नु जरुरी छ, त्यसबाट मात्र सुरक्षित नेपाली समाज निर्माण कार्यले दिर्घकालिन रफ्तार लिन सक्नेछ ।

अहिले भुकम्पवाट तहस नहस भएको नेपाली समाज अनि भुकम्पबाट धनजनको क्षति व्यहोर्न वाध्य भुकम्प पिडित नेपालीहरुको पिडालाई कम गर्न हरेक क्षेत्र सक्रिय भइरहेको अवस्था छ । देश विदेशवाट हरेक नागरिकले आफ्नो दायित्व पुरा गर्न एक पछि अर्को लागि परिरहेका छन् । गैर आवासिय नेपालीहरु पनि आफ्नो मातृभुमीमा परेको शोकमा स्तव्ध हुदै आफ्नो पेट काटेर भएपनि सहयोग गरिरहेका छन् । यसै शिलशिलामा इजरायलमा रहेका नेपालीहरुले पनि भुकम्पबाट पिडित नागिरकहरुको घाउमा मल्लहम लगाउन आफ्नो दायित्व निर्वाह गर्दै केही वढि नै सक्रियता देखाइरहेको अहिलेको अवस्था छ । इजरायलमा भुकम्प पिडितहरुको सहयोगकालागि ‘भुकम्प पिडित सहयोग संकलन अभियान इजरायल’ भनेर वृहत अभियान नै संचालनमा ल्याइएको छ । इजरायलमा रहेका अधिकांश नेपाली संघ संस्थाहरु र सक्रिय समाजसेवी नेपालीहरुको पहलमा संचालन गरिएको उक्त अभियानमा हालसम्म हजारौ नेपालीहरुले आफ्नो स्वेच्छिक सहयोग जम्मा गरी आफ्नो सहभागिता जनाइसकेका छन् भने हालसम्म ७५ लाख भन्दा वढि रकम संकलन भएको सार्वजनिक सहयोग नामावलीले प्रस्ट पार्दछ । यसरी हेर्दा अभियान ठूलो लक्ष्य पछ्याउदै आगाडि वढिरहेको प्रतित गराएको छ ।  इजरायलमा यसरी नागरिक उत्तरदायित्व वहन गर्दै उत्साहजनक सहभागिता जनाउने नेपालीहरुको माहौल जति ठूलो देखिएको छ, जति सहयोग राशी संकलन भएको छ त्यसको सहज व्यवस्थापन गर्नु अहिले अभियान्ताहरुमाझ देखिएको त्यतिकै प्रमुख चुनौतिको विषय बनेको छ ।

अहिले अभियानले सार्वजनिक गरे अनुसार पहिलो चरणमा आकस्मिक राहत वितरणको क्रममा अति प्रभावित १४ जिल्लाको चयन गरी राहत वितरण गर्ने कार्यलाई तिब्रता दिएको छ, साथसाथै रकम संकलन कार्यलाई पनि निरन्तरता दिएको छ । आम इजरायलवासी सहयोगी मनहरुको चाहाना यथासिघ्र पिडित समक्ष राहत पुगोस् भन्ने एकातिर छ भने अर्कोतिर प्रायजसो हरेक क्षेत्रहरुमा बर्षौदेखि खुल्ला मनले सहयोग गर्दै आइरहेका इजरायलवासी नेपालीहरु जसले आफूहरुले गरेको सहयोगबाट दिर्घकालिन महत्व राख्ने कुनै ठोस कार्य होस् जसले आफूहरुबाट गरिएको भनेर गर्व गर्ने ऐतिहासिक महत्व प्रदान गरोस् भन्ने मनोकांक्षा बोकेका सहयोगी मनहरु पनि वहुसंख्य नै छन् । राहत वितरणको प्रारम्भिक चरणमै रहदा पनि दिर्घकालिन योजनाका भुकम्प पिडितहरुको पुनर्स्थापनाकोलागि भौतिक निर्माणका विषयमा पनि गम्भिर छलफल हुदै आइरहेका छन् । तर, त्यसकोलागि पूर्ण विश्वासकासाथ सरकारलाई सहयोगराशी हस्तान्तरण गरेर सरकारसँग समन्वय गर्न अभियान हिच्किचाइरहेको अवस्था छ भने सरकारसँग उपयुक्त समन्वय गराउन नेपाली राजदूतावासले दृढता प्रकट गर्दै आइरहेको पनि अवस्था छ ।

अहिले सामाजिक संञ्जाल, अनलाइन मिडियाहरु लगायत छापा माध्ययमहरुमा सरकारलाई पूर्ण रुपमा असक्षमताको ट्याग लगाइरहेको देखिएको छ । सार्वजनिक अनुमानित तथ्यांक अनुसार भुकम्पका कारण झन्डै अढाइ खर्ब बराबर घर–भवनमा क्षति, देशभर चार लाख ७९ हजार तीन सय ५७ घर पूर्ण र दुई लाख ६२ हजार नौ सय ७६ घरमा आंशिक क्षति, शिक्षा, अस्पताल र कृषिमा दुई खर्ब, शिक्षालय र अस्पतालमा मात्रै करिब एक खर्ब बराबरको क्षति पुगेको छ । त्यस्तै, बाली, पशुधन लगायतका कृषि क्षेत्रमा पनि एक खर्ब बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । घरभित्रको सम्पत्तिमा एक खर्ब उद्योगी–व्यवसायी र व्यक्तिगत घरभित्र रहेका सम्पत्तिमा पनि भूकम्पले झन्डै एक खर्बको क्षति पुर्याएको अनुमान छ । मात्र अनुमानित क्षतिको विवरण हेरी सामान्य तरिकाले सोच्दा पिडितहरुलाई चरणवद्द राहत, घरवार विहिनहरुको पुनर्वास र मृतक परिवारलाई क्षतिपूर्ति दिन सक्ने क्षमता सरकारसँग अवश्य छैन् । देशको क्षमताले थेग्न नसक्ने महाविपत् आइपरेको यस अवस्थामा एउटा अविकसित निर्धन देशको सरकारको क्षमताले सामना गर्न नसक्ने महाविपत आइलागेको थाहा हुँदाहुँदै हामीले नागरिक उत्तरदायित्ववाट पन्छेर सरकारलाई अविश्वास गरी आफूले नै पहिलो प्रतिकार्य गर्नुपर्ने रहरको आडमा अन्य सरकारी निकायहरूउपर हावी हुन खोज्नु कदापी उचित नहोला । यस्तो अवस्थामा सरकारसँग समन्वय गरी जाँदा हामीले आम नागरिकले गर्नुपर्ने कर्तव्य पुरा भएको अनुभुति गर्न गराउन  सक्नेछौं । अन्यथा हामी इजरायलवासी नेपालीहरु आफ्नो राष्ट्र र राष्ट्रियताप्रति  कर्तव्य विमुख भएको ठहरिनेछ ।  आखिर सरकारलाई सहयोग गर्नु हामी सबै नेपालीको दायित्व होइन र  ? सरकारलाई हामी नागरिकले सहयोग नगर्नु त्यो झनै गैर जिम्मेवारीपन र गैरनागरिकिय प्रवृति हुने पो हो की एक पटक गम्भिर भएर सोच्ने की ?

त्यस्तै अर्को विषय हाल इजरायलमा करिव ४ हजार नेपालीहरु कार्यरत रहेको अनुमान गरिन्छ । ४ हजार नेपालीहरुविचमा देशमा परेको महाविपतिमा सहयोगकालागि हातेमालो गर्न वृहत अभियान संचालन गरियो । कतिपय संघसंस्थाहरु यस्तो महाविपतिमा पनि तेरो र मेरोमा लागेको अनुभुति गरायो । इजरायलमा रहेका सिमित संघ संस्थाहरु विचमा पनि जिम्मेवार नागरिकको दायित्वलाई विर्सेर आपसी प्रतिस्पर्धा, आग्रह, पूर्वाग्रह तथा द्वेशपूर्ण तरिकाले प्रस्तुत हुने यो अवस्था किमार्थ थिएन । यस्तो अवस्थामा आआफ्नो ठाउँबाट सबैले सक्दो सहयोगमा जुट्नु पर्नेमा यसरी थालनी गरिएको अभियान र त्यसले गरेको आग्रहलाई लत्याउदै  यस महाविपतको घडीमा पनि एक्लौटी ढंगले अगाडि वढ्न खोज्नु सामाजिक रुपमा एक्लिने वाहेक अरु के नै हुन सक्छ होला र ?  खैर जेसुकै किन नहोस् अहिलेको यो महाप्रलयको अनुभवलाई ध्यानमा राखी इजरायलवासी नेपालीहरुको सहयोगलाई प्रत्यक्ष रुपमा पिडितहरुलाई राहत राहत महसुस हुने गरी एकमुस्ट रुपमा नेपाल सरकारसँगको समन्वयमा अगाडि वढ्नु अहिलेको आवश्यकता हो । अहिलेको यस प्रकारको गम्भीर स्तरको असामान्य अवस्था आइपरेको अवस्थामा सम्पूर्ण नागरिक,  राजनीतिक दलहरू, गैरसरकारी संघसंस्था र समाजसेवीहरु सबैले पवित्र मनले सघाउ पुर्याउनु जरुरी छ । सरकारले पनि यसरी आफ्नो पेट काटेर देश विदेशबाट उपलव्ध गराउने सहयोगलाई तदनुरूप पुनःस्थापना र पुनर्निर्माणको नीति, योजना र कार्यक्रम तर्जुमा गरी दाताहरुमा पूर्ण विश्वासको वातावरण सृजना गर्दै हरक्षेत्रको सहयोग संयोजन गरी दृढतापूर्वक कार्यान्वयनमा लैजानुपर्दछ ।

हाम्रो सामु अहिले मात्र नेपाल छ । नेपालको अहिलेको दर्दनाक अवस्था हाम्रो सामु छ । एक समृद्ध नेपालको परिकल्पना गरेर त्यसलाई मूर्तरुप दिनु छ । अहिलेको विकासको लक्ष्य भनेको नेपाल सम्पूर्ण हो र सबै नेपालीको साझा थलो नेपाल मात्र हो । नेपाल रहेमात्र हामी नेपाली होइन्छ । यस शोकको अवस्थालाई शक्तिमा बदल्नु जरुरी छ र नेपालीले आफ्नो देश आफै बनाउन सक्छन् भन्ने सन्देश विश्वलाई दिनु जरुरी छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...