आन्दोलनमा उक्साहट थपिन सक्ने भन्दै चलचित्र भैरवलाई तराई प्रदर्शनमा रोक

Published Date: August 27, 2015

bhairavलामो दौडधुपपछि निखिल उप्रेतीको चलचित्र ‘भैरव’ शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । यो चलचित्र हाल मधेस आन्दोलन चलिरहेको ठाउँमा प्रदर्शन नगरिने भएको छ । चलचित्रका कारण आन्दोलनमा उक्साहत पुग्न सक्ने सम्भावित अवस्थालाई मध्यनजर राख्दै सीमा क्षेत्र तथा मधेसी आन्दोलन जारी रहेका स्थानमा सो चलचित्र प्रदर्शन नगरिने भएको छ ।

सुरुमा यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले सुरक्षाको कारण देखाउँदै प्रदर्शनको अनुमति दिएको थिएन । सो चलचित्रलाई गृह मन्त्रालयले हेरेर सो मन्त्रालयको रायपछि मात्र प्रदर्शनको अनुमति दिने कि नदिने भन्ने निर्णय गरिने जवाफ आइतबार सेन्सर बोर्डको तर्फबाट अभिनेता निखिललाई दिइएको थियो ।

सोही सुझावअनुसार यो फिल्मलाई अन्ततः गृह मन्त्रालयको मातहतमा सेन्सर गरिएको छ । यसरी गृह मन्त्रालयको मातहतमा चलचित्र सेन्सर गरिएको पनि यो पहिलो पटक हो । सञ्चार मन्त्रलयले गनुपर्ने सेन्सर र दिनुपर्ने प्रदर्शन अनुमति गृह मन्त्रालयको मातहतमा पुग्नलाई यतिबेला विभिन्न चलचित्रकर्मीले आश्चार्य मानेका छन् ।

यो चलचित्रलाई मंगलबार बेलुका गृह मन्त्रालयका विभिन्न पदाधिकारी र नेपाल प्रहरीका उच्च अधिकारीले हेरे । सो फिल्म हेरेपछि गृह मन्त्रालयले चलचित्र भैरवको प्रर्दशन केही समय सार्नसमेत अनुरोध गरे । अहिलेको राजनीतिक समस्यालाई चलचित्रमा समेटिएका कारण यसलाई रिलिज गर्दा केही राजनीतिक शक्तिहरूलाई आन्दोलनका लागि प्रोत्साहन मिल्ने भनाइ प्रहरीका उच्च अधिकारीको थियो ।

लाखौं रकम खर्चेर आफूले ११ भदौमा रिलिज गर्न प्रचार गरिसकेकाले निखिलले प्रदर्शनी समय सार्न नसकिने आफ्नो समस्या देखाए । उनले आफ्नो समस्या प्रस्ट पारेपछि अन्ततः भैरवलाई मधेसी आन्दोलन चलेको क्षेत्र र सीमा क्षेत्र बाहेकका स्थानमा प्रदर्शन गर्ने अनुमति गृह मन्त्रालयले दिएको छ ।

चलचित्रलाई मधेसी आन्दोलन चलेको ठाउँमा र नेपाल भारतको सीमा क्षेत्रमा प्रदर्शन गर्न रोक लगाउनुको कारणबारे अभिनेता निखिलले भने, ‘नेपाल भारतको खुला सीमाका कारण सिमापारिबाट अवैध हातहतियार ल्याएर तराईका विभिन्न समूहले राजनीतिको आडमा गरेको अवैध कामको मैले भण्डाफोर गरेको छु । यो यथार्थ घटनालाई गृह मन्त्रालय र प्रहरी प्रशासनले प्रशंसा गरे पनि हाललाई तराईका विभिन्न ठाउँमा चलचित्र नलाउन अनुरोध गरेका छन् ।’ सोही कारणले आफू तराईको हाल आन्दोलनरत क्षेत्रमा चलचित्र भैरव प्रदर्शन गर्न नसक्ने अभिनेता निखिलले बताए ।

मुलुकका ७० भन्दा बढी स्थानबाट भैरव प्रदर्शन गर्ने तयारी हुँदै थियो । तर, यो चलचित्रलाई मधेसी आन्दोलन जारी रहेको तराईका विभिन्न स्थानमा प्रदर्शनमा रोक लगाएका कारण अब करिब ४० ओटा फिल्म हलमा यो सिनेमा आउने भएको छ । आफ्नो फिल्म धनगढी, नेपालगन्ज, बुटबाल, बिर्तामोड, दमक, विराटनगर, जनकपुर, वीरगन्ज, लहानसहित विभिन्न तराई जिल्लामा राम्रो चल्ने विश्वास निखिललाई थियो । तर, यी स्थानमा चलचित्र भैरवलाई सुरक्षा निकायले नचलाउन सुझाव दिएको छ ।

त्यसैले, यो चलचित्र काठमाडौं उपत्यकासहित पोखरा, नारायणघाट, हेटौंडा, धरानलगायतका भित्री मधेस तथा पहाडी जिल्लामा मात्र प्रदर्शन हुनेछ । तराईको शान्ति व्यवस्थामा सुधार आएपछि आफूले ती क्षेत्रमा पनि चलाउने निखिलले बताए ।

विगत पाँच वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा नरहेका निखिल भैरवबाट निर्माता, निर्देशक, लेखक र अभिनेताका रूपमा पुनः आउँदै छन् । ‘आधा दशक नेपाली सिनेमाबाट टाढा रहेकाले राम्रो सिनेमा सहित फर्कनुपर्छ भनेर भैरवको निर्माण, निर्देशन र लेखन पनि म आफैंले गरेको छु,’ उनले भने । एक्सन प्रधान यो चलचित्रमा नेपालीसहित तराईमा बोलिने मैथिली, भोजपुरीलगायत विभिन्न भाषा प्रयोग गरिएको छ । भैरवका निर्देशकसमेत रहेको निखिलले भने, ‘निकै समस्या र तनाव झेलेर यो फिल्मलाई दर्शकमाझ ल्याउँदै छु । मुलुकका विभिन्न ठाउँमा बन्द रहेको अवस्थामा पनि पूर्वनिर्धारित समयमै फिल्म आउनुपर्छ भनेर ११ भदौबाट भैरवलाई रिलिज गर्न लागेको हुँ ।’

यो चलचित्रमा उनी प्रहरी निरीक्षक भैरव खरेलको भूमिकामा छन् । नेपाल प्रहरीका विगतदेखि हालसम्मका खरेल पदाधिकारीको प्रशंसनीय कार्यशैलीलाई ग्रहण गरेर आफू भैरव खरेलका रूपमा यो चलचित्रमा उत्रिएको पनि उनले बताए ।

जसमा निखिलसँगै अनु शाह, मुरलीधर, नागेन्द्र रिजाल, केशव राई, रविन सेन लगायतको मुख्य भूमिका रहेको छ । चलचित्र एउटा गीतमा मेनुका प्रधानले आइटम डान्स गरेकी छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...