रोकिएन गुजरातको जातीय हिंसा

थप ६ अन्दोलनकारी मारिए

Published Date: August 28, 2015

Gujratएजेन्सी, गुजरातमा शिक्षा, रोजगारलगायत राज्यको महत्वपूर्ण क्षेत्रमा आरक्षणको माग गर्दै प्रदर्शनमा उत्रिएको पट्टेल समुदायको आन्दोलन थप हिंसात्मक बनेको छ । मंगलबारदेखि सुरु भएको यस हिंसात्मक आन्दोलनमा मर्नेको संख्या नौ पुगेको छ । आन्दोलनको नेतृत्व गरेका २२ वर्षीय हार्दिक पटेललाई पक्राउ गरेपछि आन्दोलनले हिंसात्मक रूप लिएको हो ।

यस समुदायका नागरिकले गएको मंगलबार र बुधबार गुजरात राज्यमा नै बन्दको आयोजना गरेका थिए । सो बन्दका क्रममा कम्तीमा पनि सयओटा बसमा आगजनी गरिएको थियो । बन्दका क्रममा हिंसा गरेको भन्दै हार्दिकसहित अरू पनि कैयौं प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । त्यसपछि सो राज्यमा आन्दोलन भड्किएको बताइएको हो ।

आन्दोलनमा सहभागीमध्ये ६ जना प्रहरी कारबाहीमा मारिएका छन् भने अरू तिनजना दंगाका क्रममा मारिएका प्राप्त समाचारमा जनाइएको छ । तर, आन्दोलनकारीले भने सबैजनाको नै प्रहरीको कारबाहीमा परी ज्यान गएको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले अहमदाबादमा धर्ना दिइरहेका छन् । हजारौं प्रदर्शनकारीले झन्डासहित नाराजुुलुस गरिरहेका छन् । उनीहरूले त्यहाँका कतिपय सरकारी कार्यालयमा पनि आक्रमण गरेका छन् ।

सरकारले बुधबार नै आन्दोलनकारीहरूलाई दबाउन हजारभन्दा बढीको संख्यामा अर्धसैनिक बल त्यसतर्फ पठाएको छ । बिहीबार पनि विगतका दिनहरूका तुलनामा आन्दोलनमा हिंसा मच्चिएको बताइएको छ ।

गुजरात राज्यमा गएको मंगलबारदेखि नै विद्यालय र कलेजहरू बन्द गरिएका छन् भने बुधबारबाट मोबाइल फोनको सेवा पनि बन्द गरिएको छ ।

उनीहरूले पटेल जातिलाई पनि राज्यको सेवा सुविधाका लागि आरक्षणको सूचीमा नराखेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । आन्दोलनका क्रममा करिब डेढ सयजना घाइते भएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...