कविता तथा मुक्तकहरु

अनलाईन मुक्तक प्रतियोगिहरुलाई काठमाण्डौमा पुरस्कार वितरण

By news section

January 30, 2016

जनवरी ३० इजरायल, नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको आयोजनामा अनलाईन मुक्तक प्रतियोगितामा विजयी मुक्तककारहरूलाई पुरस्कार वितरण गरिएको छ  ।

विभिन्न देशबाट  प्रतियोगितामा सहभागि भई पुरस्कृत उत्कृट १० औं स्थानसम्मका मुक्तककारहरुको मुक्तक  उहाँहरुकै आवाजमा सुनाउने अभिप्रायले प्रतिष्ठानको केन्द्रले गत माघ १५ गते शुक्रबार राजधानीमा अवस्थित सर्वनाम थिएटरमा मुक्तक मेला श्रृंखला – ९  को आयोजना गर्यो ।

मुक्तक मेला र पुरस्कार वितरणको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रतिष्ठानकी सल्लाहकार बरिष्ठ मुक्तककार उषा शेरचन । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा भएको मेलामा विशेष अतिथि हुनुहुन्थ्यो प्रतिष्ठानका सल्लाहकार बरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेल ।

कार्यक्रममा प्रतियोगिता आयोजक शाखाकी अध्यक्ष सुचित्रा खनियाले अनलाईनबाटै सम्वोधन सम्वोधन गर्दै नेपाली मुक्तकको विकास र विस्तारमा इजरायल शाखाले सहयोगी भूमिका खेलेको उल्लेख गर्दै प्रतियोगी र विजयी सबै मुक्तककाहरुलाई बधाई र शुभ कामना दिनु भयो ।

त्यस्तै कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार बरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेलले अफ्ना चोटिला मुक्तक सुनाएर मुक्तक मेला श्रृंखला – ९ को शुभारम्भ गर्नु भयो । प्रतियोगी मुक्तककारहरुकै मुक्तक सुनाउनेहरुमा क्रमशः प्रथमदेखि उत्कृष्ट १० जना मुक्तककारहरुले प्रतियोगितामा सामेल आफ्ना ५५ वटा मुक्तक सुनाउनु भएको थियो । सर्वनाम थिएटरको प्रोजेक्टरमा पुरस्कृत मुक्तककारहरुले मुक्तक सुनाई रहँदा पुरस्कार पदक ग्रहण गर्न पुग्नु भएका आफ्ना आफन्त  खुशीले ताली पिटिरहनु भएको थियो ।

प्रतियोगितामा जर्मनीका कपिल अर्याल  प्रथम, काठमाडौंका सुनिल अधिकारी द्वितीय र पोर्चुगलकी सावी श्रेष्ठ तृतीय हुनु भएको थियो । प्रथम, द्वितीय र तृतीयले जनही १५ हजार, १० हजार र ५ हजार सहित प्रतिष्ठानको प्रतिक चिन्ह अंकित मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ भने मुक्तक प्रतियोगितामा उत्कृष्ठ १० स्थानसम्म प्राप्त प्रतियोगीहरु विवेक दुलाल क्षेत्री-यू.र्एर्.इ, सागर भण्डारी ‘विभोर’ – साउदी अरव, खगेन्द्र पारजुली – दक्षिण कोरिया, विमल गिरी – बेल्जियम,रविन्द्र दिखुक्पा – जापान, प्रिन्स याक्खा- अफगानिस्तान र लेख कार्की ‘अन्योल’ – कतारलाई पनि प्रमाण पत्र प्रदान गरियो । प्रतियोगितामा नेपाल लगायत विभिन्न देशबाट २०३ जना मुक्तककाहरु सहभागिता जनाएका थिए ।  मुक्तक मेलामा अतिथि मुक्तककारका रुपमा मनोज न्यौपाने, पारु स्मृति र  विष्णा बिरही पनि मुक्तक सुनाउनु भयो । मुक्तक मेलामा प्रमुख अतिथि मुक्तककार उषा शेरचनले प्रतिष्ठानको इजरायल शाखाले नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्न महत्वपूण भूमिका निर्वाह गरेको बताउँदै सबैलाई बधाई र शुभ कामना दिनु भयो । सोही अबसरमा समारोहकी प्रमुख अतिथि शेरचनलाई प्रतियोगिता आयोजक शाखाको तर्फबाट पर्ठाईएको मायाको चिनो प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रदान गर्नु भयो । सूत्रधारको रुपमा समेत उभिनु भएका प्रतिष्ठानका महासचिव रमेश पौडेलले प्रतियोगिता आयोजक र पुरस्कृत सबैलाई बधाई दिँदै आजकै दिन दक्षिण कोरियामा पनि प्रतिष्ठानको शाखा स्थापना भएको दिनु भयो । समारोहका सभापति एवं प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले इजरायल शाखाले आफ्नो स्थापनादेखि नै निकै रचनात्मक र सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भन्ने सन्देश दिँदै आएको बताउनु भयो । प्रतियोगिताको आयोजक शाखाका सबै पदाधिकारीहरुलाई धन्यवाद दिँदै पुरस्कृत मुक्तककारहरुलाई शुभ कामना दिनु भयो ।