अनलाईन मुक्तक प्रतियोगिहरुलाई काठमाण्डौमा पुरस्कार वितरण
news sectionकविता तथा मुक्तकहरु
जनवरी ३० इजरायल, नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको आयोजनामा अनलाईन मुक्तक प्रतियोगितामा विजयी मुक्तककारहरूलाई पुरस्कार वितरण गरिएको छ ।
विभिन्न देशबाट प्रतियोगितामा सहभागि भई पुरस्कृत उत्कृट १० औं स्थानसम्मका मुक्तककारहरुको मुक्तक उहाँहरुकै आवाजमा सुनाउने अभिप्रायले प्रतिष्ठानको केन्द्रले गत माघ १५ गते शुक्रबार राजधानीमा अवस्थित सर्वनाम थिएटरमा मुक्तक मेला श्रृंखला – ९ को आयोजना गर्यो ।
मुक्तक मेला र पुरस्कार वितरणको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रतिष्ठानकी सल्लाहकार बरिष्ठ मुक्तककार उषा शेरचन । प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा भएको मेलामा विशेष अतिथि हुनुहुन्थ्यो प्रतिष्ठानका सल्लाहकार बरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेल ।
कार्यक्रममा प्रतियोगिता आयोजक शाखाकी अध्यक्ष सुचित्रा खनियाले अनलाईनबाटै सम्वोधन सम्वोधन गर्दै नेपाली मुक्तकको विकास र विस्तारमा इजरायल शाखाले सहयोगी भूमिका खेलेको उल्लेख गर्दै प्रतियोगी र विजयी सबै मुक्तककाहरुलाई बधाई र शुभ कामना दिनु भयो ।
त्यस्तै कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार बरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेलले अफ्ना चोटिला मुक्तक सुनाएर मुक्तक मेला श्रृंखला – ९ को शुभारम्भ गर्नु भयो । प्रतियोगी मुक्तककारहरुकै मुक्तक सुनाउनेहरुमा क्रमशः प्रथमदेखि उत्कृष्ट १० जना मुक्तककारहरुले प्रतियोगितामा सामेल आफ्ना ५५ वटा मुक्तक सुनाउनु भएको थियो । सर्वनाम थिएटरको प्रोजेक्टरमा पुरस्कृत मुक्तककारहरुले मुक्तक सुनाई रहँदा पुरस्कार पदक ग्रहण गर्न पुग्नु भएका आफ्ना आफन्त खुशीले ताली पिटिरहनु भएको थियो ।
प्रतियोगितामा जर्मनीका कपिल अर्याल प्रथम, काठमाडौंका सुनिल अधिकारी द्वितीय र पोर्चुगलकी सावी श्रेष्ठ तृतीय हुनु भएको थियो । प्रथम, द्वितीय र तृतीयले जनही १५ हजार, १० हजार र ५ हजार सहित प्रतिष्ठानको प्रतिक चिन्ह अंकित मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ भने मुक्तक प्रतियोगितामा उत्कृष्ठ १० स्थानसम्म प्राप्त प्रतियोगीहरु विवेक दुलाल क्षेत्री-यू.र्एर्.इ, सागर भण्डारी ‘विभोर’ – साउदी अरव, खगेन्द्र पारजुली – दक्षिण कोरिया, विमल गिरी – बेल्जियम,रविन्द्र दिखुक्पा – जापान, प्रिन्स याक्खा- अफगानिस्तान र लेख कार्की ‘अन्योल’ – कतारलाई पनि प्रमाण पत्र प्रदान गरियो । प्रतियोगितामा नेपाल लगायत विभिन्न देशबाट २०३ जना मुक्तककाहरु सहभागिता जनाएका थिए । मुक्तक मेलामा अतिथि मुक्तककारका रुपमा मनोज न्यौपाने, पारु स्मृति र विष्णा बिरही पनि मुक्तक सुनाउनु भयो ।
मुक्तक मेलामा प्रमुख अतिथि मुक्तककार उषा शेरचनले प्रतिष्ठानको इजरायल शाखाले नेपाली मुक्तकलाई विश्वव्यापीकरण गर्न महत्वपूण भूमिका निर्वाह गरेको बताउँदै सबैलाई बधाई र शुभ कामना दिनु भयो । सोही अबसरमा समारोहकी प्रमुख अतिथि शेरचनलाई प्रतियोगिता आयोजक शाखाको तर्फबाट पर्ठाईएको मायाको चिनो प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रदान गर्नु भयो ।
सूत्रधारको रुपमा समेत उभिनु भएका प्रतिष्ठानका महासचिव रमेश पौडेलले प्रतियोगिता आयोजक र पुरस्कृत सबैलाई बधाई दिँदै आजकै दिन दक्षिण कोरियामा पनि प्रतिष्ठानको शाखा स्थापना भएको दिनु भयो । समारोहका सभापति एवं प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले इजरायल शाखाले आफ्नो स्थापनादेखि नै निकै रचनात्मक र सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भन्ने सन्देश दिँदै आएको बताउनु भयो । प्रतियोगिताको आयोजक शाखाका सबै पदाधिकारीहरुलाई धन्यवाद दिँदै पुरस्कृत मुक्तककारहरुलाई शुभ कामना दिनु भयो ।