उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले मासुजन्य जनावरबाट निस्कने फोहर आयात गरिने जिल्लामा नै व्यवस्थापन गरी खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ ।
महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकामा ल्याइने अधिकांश मासु बाहिरी जिल्लाबाट आयात गरिने हँदा जुन जिल्लाबाट मासु आयात गरिन्छ । सोही जिल्लामानै फोहर व्यवस्थापन गरी सफा खानयोग्य मासु मात्र ल्याउन लागिएको हो ।
“अब केही समयमानै विभिन्न जिल्लाबाट मासु प्याकिङ गरी खानयोग्य मात्र ल्याइने छ ।” प्रमुख श्रेष्ठले भन्नुभयो । त्यसको लागि नेपाल सरकार, महानगरपालिका, मासु व्यवसायीको सहयोग आवश्यक पर्छ । यसले गर्दा उपत्यकावासीले सफा मासु खान पाउने महानगरपालिकाले विश्वास लिएको छ । मासु उत्पादन हुने गरेका जिल्लाको केही स्थानमा कोल्ड स्टोरको व्यवस्था गरी मासुको प्याकिङ गरी उपत्यकामा ल्याइनेछ ।
मासु आयात गर्ने मुख्य जिल्लामा मकवारपुर, पर्सा, बारा, चितवन रहेका भएपनि पछिल्लो समय धादिङ, नुवाकोटबाट पनि मासुजन्य जनावर आयात हुने गरेको छ । साना ठूला सबै खालका जनावरको आयात गरिने मासुका लागि यो व्यवस्था लागू हुनेछ । काठमाडौँ उपत्यकामा भन्दा अन्य जिल्लामा फोहर व्यवस्थापनका लागि स्थान हुने भएको हुँदा यस किसिमको व्यवस्थापनको प्रक्रिया अघि बढाउन लागिएको हो ।
पछिल्लो समय कुखुराको मासुमा आत्मनिर्भर भएपनि खसी–बोकामा ७० प्रतिशत तथा राँगामा ६० प्रतिशत मासु भारतबाट आयात हुने गरेको छ । राँगाभैँसी ५०० वटा, खसी १ हजार ५००, ७ हजार कुखुरा, सुँगुर १५० र माछा ७ हजार किलो मासु दैनिक काठमाडौँ महानगरपालिकामा प्रयोगका लागि बाहिरी जिल्लाबाट ल्याइने गरेको छ ।
यसैबीच, महानगरपालिकाले काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका बधशालाको अनुगमन गर्ने भएको छ । अनुगमनको क्रममा अव्यवस्थित रहेका बधशालालाई व्यवस्थापन गर्न लगाइने पनि महानगरले जनाएको छ ।