कपिलवस्तुमा द्वन्द्वपीडितद्वारा गोप्य रुपमा खामबन्दी उजुरी
news sectionफिचर
– पार्वती पाण्डे
कपिलवस्तु, ८ वैशाख, सशस्त्र द्वन्द्वका बेला मानव अधिकार हनन भएका घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय प्रदान गर्ने र दोषीलाई कारबाहीको सिफारिस गर्न गठित दुई उच्च स्तरीय आयोगले उजुरी संकलन गरेसँगै कपिलवस्तुमा ९ वटा गोप्य रूपमा उजुरी परेका छन् । स्थानीय शान्ति समितिमा सत्य निरूपण आयोगमा ९ वटा खामबन्दी उजुरी परेका छन् भने बेपत्ता छानबिनआयोगमा कुनै उजुरी परेको छैन । स्थानीय शान्ति समितिका कार्यालय सचिव यमुनामरासिनीका अनुसार बुधबारसम्म ९ वटा मात्र गोप्य उजुरी परेका छन् । २ वैशाखबाट बेपत्ता छानबिन
आयोगको र ६ वैशाखदेखि सत्यनिरूपण आयोगको उजुरी संकलन समितिमार्फत भएको हो । समितिले पीडितलाई निःशुल्क फर्म वितरण गरी उनीहरूले दिएको उजुरी लिने गरेको छ । आयोगमा गोप्य रूपमा पनि उजुरी दिन सक्ने प्रावधानअनुसार पीडितले
गोप्य रूपमा दिएका उजुरीहरूको नाम ठेगाना दिन नमिल्ने कार्यालय सचिव मरासिनीले बताइन् ।बेपत्ताको तथ्यांक विभिन्न निकायबीच फरक छ । जिल्ला प्रशासन, आईसीआरसी, इन्सेकका अलगअलग तथ्यांक सार्वजनिक भएका छन्् । जिल्लाबाट १५ देखि २८ जना बेपत्ता भएको आ–आफ्नै विवरण ती निकायसँग रहेको छ ।
५ मंसिर २०६२ मा भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्रमा सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च स्तरीय सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिनका लागि बेपत्ता खोजबिन आयोग गठन गर्ने सहमति भएको थियो । तर, राजनीतिक दलहरूबीच भएको असमझदारीका कारण ८ वर्षपछि २०७१ सालमा गठन भएका दुई आयोगले १५ महिनापछि पीडितबाट उजुरी संकलन गर्ने काम एकै साथ सुरु गरेका हुन् ।