अवैध हुन्डीविरुद्ध प्रहरीको अप्रेसन,पौने २ करोड सहित १५ जना पक्राउ

news section

देश भित्र

प्रहरीले राजधानीको न्युरोड क्षेत्रमा सन्चालित हुन्डीको कारोबारमा संलग्न पाँचजना सन्चालकसहित १५ जनालाई अपराध अनुसन्धान महासाखाले बुधबार साँझ पक्राउ गरेको छ । बैंक च्यानलमार्फत मात्र कारोबार गर्नुपर्ने कानूनी प्रावधानलाई तोडेर गैरकानूनी रुपमा व्यक्तिमार्फत कारोबार गरी राजस्व ठगी गर्ने समूहलाई अवैध हुन्डीको कारोबारीविरुद्ध प्रहरीले सुरु गरेको अप्रेसनका क्रममा रंगेहात पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले रु एक करोड ७४ लाख ९९ हजार ६५० र चेकहरू बरामद गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीले न्युरोडमा मोबाइल पसल सन्चालन गर्दै आएका सुरेन्द्रकुमार गोयलबाट रु ५० लाख ६५ हजार नेपाली र एक लाख भारतीय रुपैयाँ, हुन्डीका लागि आएका ग्राहक प्रकाश शर्माबाट रु १५ लाख १३ हजार ५००, अर्का ग्राहक आकाश देवबाट रु १२ लाख ६६ हजार रकम प्राप्त गरेकै अवस्थामा बरामद गरेको छ ।त्यसैगरी, पशुपति प्लाजामा रहेको हंशमनी ट्रान्सफरबाट रु पाँच लाख, प्रभु मनि ट्रान्सफरबाट रु तीन लाख ४२ हजार बरामद गरेको छ ।

त्यस्तै, नयाँ सडक क्षेत्रकै प्याफलमा रहेको शंकर अग्रवालको पसलबाट रु २९ लाख ५० हजार, अर्जुन कँडेलबाट रु ६ लाख ५० हजार, फुर्वा शेर्पाबाट रु १२ लाख प्रहरीले बरामद गरेको छ । महाशाखाको टोलीले पशुपति प्लाजामा रहेको पूर्णलक्ष्मी इन्टरप्राइजेजका सन्चालक सूर्यकुमार शर्माबाट रु २० लाख, न्यु मारुति इन्टरप्राइजेजका सन्चालक सन्दिप अग्रवालबाट रु १३ लाख बरामद गरेको छ ।

मनी एक्सचेन्जको आवरणमा हुन्डी

मनी एक्सचेन्जको कारोबार गर्ने नर्थप्वाइन्ट मनी एक्सचेन्ज प्रालिका सञ्चालक राजाराम पाण्डे लगायत हुन्डीको कारोबारमा संलग्न १० कारोबारीमा परेका थिए । काठमाडौंको ठमेलमा सञ्चालन गरेको नर्थ प्वाइन्ट मनी एक्सचेन्ज प्रालिमा छापा मार्दा मनी चेन्जरको आवरणमा अवैध हुन्डीको कारोबार गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो । त्यसपछि महाशाखाले पाण्डेसहित काठमाडौंको सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा सञ्चालित अन्य सातवटा मनी चेन्जरमा पनि छापा मारेको थियो । प्रहरीले त्यतिबेला सुन्धाराको देउराली मनी एक्सचेन्ज, खिचापोखरी न्युरोडको आरबी कम्प्लेक्समा रहेको निलगिरी मनी एक्सचेन्ज, ठमेलको नर्थप्वाइन्ट मनी एक्सचेन्ज प्रालि र ठमेलकै ओममणि मनी एक्सचेन्ज लगायतमा छापा मारेको थियो ।

टेलिफोन बुथमा हुन्डी

कुलेश्वर, गौशाला, कोटेश्वर लगायतका स्थानहरुमा भारतीय नागरिकले सञ्चालन गरेको टेलिफोन बुथबाट समेत हुन्डीको कारोबार हुने गरेको स्रोतले जनाएको छ । टेलिफोन गर्ने बहनामा आउने भारततर्फ पैसा सोही माध्यमबाट पठाउने गरेका छन् । नेपालमा बसेर विभिन्न पेसामा कार्यरत रहेका भारतीय नागरिकले त्यहाँ रहेका टेलिफोन बुथ सञ्चालक मार्फत पैसा पठाउने गरेको स्रोतको दाबी छ ।

प्रहरीले पक्राउ पर्नेहरुले अवैधरुपमा हुन्डीको कारोबार गरिरहेको र अष्ट्रेलिया, बेलायत, थाइल्यान्ड र युएइमा हुन्डीमार्फत् कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।