कल्पना फाउण्डेसनद्वारा दुई जेहेन्दार विध्यार्थीलाई छात्रवृत्ति प्रदान

कल्पना फाउण्डेसन नेपालले श्री विजय निमाविमा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्याथीहरुलाई यस वर्ष पनि छात्रवृत्ति प्रदान गरेको छ । २०७३ जेष्ठ १ गते विद्यालय परिसरमा एक समारोहको आयोजना गरी फाउण्डेसनले सो छात्रवृत्ति प्रदान गरेको हो ।
विद्यालय निरीक्षक ऋषिराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा फाउण्डेसनका तर्फबाट उपाध्यक्ष शान्ति पौडेल (रश्मी) ले गरिब तथा जेहेन्दार विद्यार्थीहरु कक्षा २ मा अध्ययनरत साजन पौडेल र कक्षा ४ मा अध्ययनरत चिनिमाया खाम्चा मगरलाई छात्रवृत्तिको रकम हस्तान्तरण गर्नु भएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि विद्यालय निरीक्षक ऋषिराम शर्माले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कल्पना फाउण्डेसनलाई जिल्ला शिक्षा कार्यालयका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । उहांले विदेशमा पसिना बगाउन गए पनि आफ्नो देशको समाजमा रहेका गरिब तथा असहाय विद्यार्थीहरुका बारेमा चिन्ता गरेर छात्रवृत्तिको यो सिलसिला सुरु गर्नु भएकी संस्थाकी अध्यक्ष कल्पना पौडेलको यो कार्य प्रशंसनीय र अनुकरणीय रहेको समेत बताउनु भयो । सो समारोहको विशिष्ट अतिथि विद्यालयका श्रोत व्यक्ति रामबाबु ढकाल र गैडाकोट नगरपालिकाका प्रतितिधि महेन्द्र खनाल रहनु भएको थियो । समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथिद्वय ढकाल र खनालले समेत फाउण्डेसनको कल्पना गर्ने कल्पना पौडेल सांच्चै नै धन्यवादको पात्र रहेको बताउनु भएको थियो । 

समारोहमा फाउण्डेसनले प्रदान गर्दै आएको छात्रवृत्तिका बारेमा विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले प्रकाश पार्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालको अध्यक्षता र शिक्षक रोसन मल्लको सञ्चालनमा अघि बढेको सो समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कल्पना फाउण्डेसन नेपालले गैडाकोट–८, विजयनगर, नवलपरासीस्थित श्री विजय निमाविका दुई गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विगत दुई वर्षदेखि छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो ।
यसको अलावा चेपांग संरक्षण केन्द्रका बालबालिका लगायत भूकम्प पिडित र अन्य बिभिन्न गरिब बालबालिकाहरुको पठनपाठनका सामग्री खरिदको लागि र आर्थिक स्थिति कमजोर भएका गरिब बिरामीहरुको उपचारको लागि बिभिन्न प्रकारले सहयोग गर्दै आइरहेकोछ |
कल्पना फाउण्डेसनले सुरु गरेको यो गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको सिलसिला ती छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको विद्यालय स्तरको अध्ययन अवधिभरि जारी रहने जानकारी विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले दिनु भयो । 

प्रधानाध्यापक पराजुलीका अनुसार फाउण्डेसनले प्रदान गरेको छात्रवृत्तिको यो रकम छात्रवृत्ति प्राप्त गर्ने दुई विद्यार्थीका नाममा छुट्टा छुट्टै खाता खोली सहकारी संस्थामा राखिएको छ । विद्यालयका एक शिक्षकको संरक्षकत्वमा किसान बचत तथा ऋण सहकारी संस्थामा दुवै बालकको नाममा खाता खोली सो रकम राखिएको उहांले बताउनु भयो ।
----------










