क्यालिफोर्नियाको सान डियागोमा झडप, ट्रम्पको र्‍याली झन् हिंसात्मक बन्दै

Published Date: May 29, 2016

trumpsक्यालिफोर्निया, १६ जेठ अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकनतर्फका प्रत्यासी डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरू क्यालिफोर्नियाको सान डियागोमा झडपमा उत्रिएका छन् । झडपमा संलग्न ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रम्पका समर्थक र विपक्षीले एक अर्कामाथि ढुंगा र पानीका बोतल फालेका थिए । प्रहरीले सो भेलालाई गैरकानुनी बताएको छ । ७ जुनमा क्यालिफोर्नियामा हुने प्राइमेरीको प्रचारका क्रममा ट्रम्प सो सहर पुगेका थिए । सो सहर मेक्सिकोको सीमामा पर्छ । गैरकानुनी आप्रवासीको ओहोर–दोहोर रोक्न ट्रम्पले मेक्सिको र अमेरिकाको सीमामा पर्खाल लगाउनुपर्ने धारणा राख्दै आएका छन् ।

ट्रम्पको समर्थन र विरोध गरेका र्‍याली सम्मेलन केन्द्रनजिकै आमने–सामने हँुदा तनाव बढेको थियो । दुई पक्षबीच घम्साघम्सी बढेपछि उनीहरूलाई छुटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही प्रदर्शनकारीले सम्मेलन केन्द्रको पर्खालमा चढेर प्रहरीलाई पानीका बोतल फालेका थिए । प्रहरीले भीडलाई तितरबितर गरेर ग्यासल्याम्प क्वार्टरसम्म खेदेको थियो । सान डियागोमा एक तिहाइ जनसंख्या ल्याटिन मूलका रहेका छन् । यहाँबाट दैनिक हजाराँै मानिस गैरकानुनी रूपमा मेक्सिको पुग्ने गर्छन् ।

पक्ष–विपक्षको आ–आफ्नै तर्क

‘ट्रम्पको घृणास्पद, पूर्वाग्रही र जातीय तनाब निम्त्याउने भाषणको विरोध गर्छु । उनले अन्य समुदायप्रति असहिष्णुता देखाएका छन्,’ एक प्रदर्शनकारीले भने, ‘म सबै जातजाति, धर्मावलम्बी, लिंगको सम्मान गर्छु । तर, ट्रम्प विभाजनकारी हुन् ।’ उता, ट्रम्पका समर्थकहरूले भने उनको बचाउ गरेका छन् । ट्रम्पका समर्थक रिलेइ हानसेन भन्छन्, ‘मलाई ट्रम्पको नीति निकै मन परेको छ । वास्तवमा अमेरिकालाई ट्रम्पजस्ता साहसी मानिस चाहिएको हो ।’ र्‍याली हिंसात्मक बने पनि झडपका क्रममा सार्वजनिक सम्पत्तिको हिनामिना नभएको प्रहरीले बताएको छ ।

यसैविच आफ्नो विजय सुनिश्चित देखिेपछि पार्टीभित्रकै केही भिजिलान्तेले भेला र र्‍यालीलाई बिथोलेको ट्रम्पले आरोप लगाएका छन् । उनको उत्तेजक र विवादास्पद अभिव्यक्तिका कारण यसअघि पनि ट्रम्पका र्‍याली हिंसात्मक हुने गर्थे । आफ्नो र्‍याली र भेलामा अस्थिर तत्त्वले अशान्ति फैलाएको ट्रम्पले बताएका छन् । आफू रिपब्लिकन पार्टीबाट निर्विकल्प उम्मेदवार बनेपछि विरोधीहरू अत्तालिएको उनले दाबी गरे । भीडलाई नियन्त्रण गरेकोमा ट्रम्पले प्रहरीलाई धन्यबाद दिएका छन् । ‘शान्तिपूर्ण र्‍यालीमाथि हस्तक्षेप गर्नेलाई प्रहरीले नियन्त्रण गरेर निकै राम्रो काम गरेको छ,’ उनले भने ।

कहाँ छ खडेरी ?

केही समयअघि क्यालिफोर्नियावासीले चरम खडेरीको सामना गरेका थिए । तर, फ्रेस्नोमा आयोजित एक कार्यक्रममा ट्रम्पले क्यालिफोर्नियामा खडेरी नभएको जिकिर गरे । क्यालिफोर्नियामा चार वर्षयताकै सबैभन्दा ठूलो खडेरी त्यहाँको मौसम विज्ञान विभागले जनाएको थियो । खाद्यान्न उत्पादन गर्न पानी अभाव भएको गुनासो गर्ने एक किसानलाई उनले भने, ‘किसानहरूले कहिल्यै पनि बुझ्दैनन् । अरू कसैले पनि बुझ्दैन । कहीँ पनि खडेरी परेको छैन । उनीहरूले समुद्रमा पानी फालेका हुन्, त्यही भएर खेती उत्पादन नभएको हो ।’ आफू शक्तिमा पुगेमा समुद्रबाट पानीको निकास खोल्नेसमेत उनले दाबी गरे । उनको भनाइपछि सामाजिक सञ्जालमा ट्रम्पको तीव्र आलोचना भएको छ ।

निर्विकल्प उम्मेदवार

क्यालिफोर्नियामा उनी रिपब्लिकनका एक्ला उम्मेदवार हुन् । उनका दुई प्रतिद्वन्द्वीले तीन साताअगाडि नै प्रारम्भिक निर्वाचनको प्रतिस्प्रर्धाबाट हात झिकिसकेका छन् । राष्ट्रपतिको उम्मेदवार बन्न ट्रम्पले आवश्यक डेलिगेट्स जुटाइसकेका छन् । यद्यपि, यसलाई औपचारिकता दिन भने बाँकी नै छ । उनी निर्विकल्प उम्मेदवारी हुने भए पनि विवादास्पद अभिव्यक्तिका कारण पार्टीभित्र चरम असन्तुष्टि बढेको छ । राष्ट्रपतिको निर्वाचनमा उनी उम्मेदवार भएमा रिपब्लिनक पार्टी स्पष्ट दुई धारमा देखिने केही विश्लेषकले टिप्पणी गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...