पूर्वराजपरिवारको दरबार रत्न मन्दिर अब सर्वसाधारणका लागि खुला

Published Date: June 14, 2016

फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको दरबार रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटकका लागि खुला गरिने भएको छ ।1465897431ratna-mandir-final

नेपाल ट्रष्टको कार्यालयले गत वैशाख ८ गते रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेसँगै त्यहाँ पर्यटकलाई प्रवेश गराउन अत्यावश्यकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको थियो ।नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायकाअनुसार पर्यटकका लागि शौचालय, सिसि क्यामेरा जडान, टिकट घरजस्ता पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको छ ।

‘आगामी असारको दोस्रो सातादेखि रत्न मन्दिर सर्वसाधारणले अवलोकन गर्न पाउने गरी व्यस्थापनको तयारी गरेका छौं’–उनले भने–‘पूर्वाधार निर्माणका साथै प्रवेश टिकट छपाउने काम भइरहेको छ ।’ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि रु एक हजार, नेपाली नगरिकका लागि रु एक सय र ज्येष्ठ नागरिक एवं विद्यार्थीका लागि रु ५० टिकट दर कायम गरेको छ ।

फेवातालको किनारमा प्यागोडा शैलीमा बनाइएको उक्त दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सजाइएको छ । फेवातालसहित रानीवनको संरक्षण समेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयबासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए । विगतमा पूर्वराजाहरुको पोखरा भ्रमणकाक्रममा बस्ने गरिएको सो दरबार नेपाली कलाकृति झल्काउने संरचनाले युक्त रहेका कारण प्राचीन कलाकृतिको अवलोकनका लागिसमेत बहुउपयोगी हुने विश्वास गरिएको छ ।

ऐतिहासिक सम्पदाकारुपमा रहेको सो दरबार पर्यटकका लागि खुला गरिनु महत्वपूर्ण कुरा भएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई बताउँछन् । पर्यावरणीय संरक्षणका साथै फेवातालको जलाधार क्षेत्र संरक्षण गर्नु अपरिहार्य भएको र रत्न मन्दिर नजिकैको हिमागृहलाई विदेशी राष्ट्र प्रमुखहरूको नेपाल भ्रमणको समयका लागि आवासगृहका साथै राष्ट्रको उच्चस्तरीय बैठक कक्षकारुपमा विकास गर्न उपयुक्त हुने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पर्यटकको बसाइँ लम्ब्याउन मन्दिर खुला गरिनु जरुरी भएको बताउँछन् ।सरकारले गणतन्त्र स्थापनालगत्तै पूर्वराजा र राजपरिवारको नाममा रहेका चलअचल सम्पत्तिलाई आफ्नो मातहतमा ल्याउनेक्रममा रत्न मन्दिरलाई पनि नेपाल ट्रष्टअन्तर्गत् समेटेको थियो । रासस



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...