भानु जयन्तीको अवसरमा आयोजित विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट ५ कवि पुरस्कृत

Published Date: July 14, 2016

Bhनेपाली साहित्यको विकास र बिस्तारमा सहयात्री बन्दै कविता विधामा कलम चलाउनुहुने कविहरूको हौसला र उर्जा प्रदान गर्ने उद्देश्यका साथ नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०३ औ जन्म जयन्तीको अवसर पारी अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “अनलाइन कविता प्रतियोगिता २०७३”मा उत्कृष्ट ५ कवीहरु पुरस्कृत भएका छन् ।

१३ जुलाई वुधवार आयोजित उक्त विश्वव्यापी अनलाईन खुल्ला कविता प्रतियोगितामा सम्मिलित सय बढि कविताहरुबाट चयन गरिएका उत्कृष्ट ५ कवितालाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा कवी विकाश अधिकारी ” शैलपुत्र” को रचनामा रहेको ‘सपनाहरुको अवतरण’ शिर्षकको कविता, कवी जीवन खत्रीद्वारा रचित “बालुवाको मरुभूमिबाट” शिर्षकको कविता, इन्नोसेन्ट राजनको कविता “जुनेली र देश”, सुबेन बम्जनको “देश बाँच्न चाहन्छ” शिर्षकको कविता र निलम निश्चल याक्थुङवाको “परदेशको पीडा” शिर्षकको कविता उत्कृष्ट ५ घोषणा भएका थिए । उत्कृष्ट ५ लाई नगद जनही ५ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

अनेशास इजरायल च्याप्टर अध्यक्ष भगवती बस्नेतको सभापतित्व, एनआरएनए संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समिति सह संयोजक गोविन्द प्रसाद गौतमको आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्नुहुदै सभापती भगवती वस्नेतले कविता विधाको विकास र विस्तार गर्दै यस बिधामा कलम चलाउनु हुने कवि मनहरुलाई हौसलाको उर्जा प्रदान गर्दै कविहरुको कवित्व अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा सहभागी सम्पूर्ण कवीहरुप्रति आभार प्रकट गर्नुभएको थियो । उहाँले प्रतियोगितामा आफूहरुले सोचे भन्दा धेरै श्रष्टाहरुको सहभागिता रहेकोमा खुशी प्रकट गर्नुभएको थियो । त्यस्तै उहाँले प्रतियोगिताको नतिजा घोषणा गर्नुहुदै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो नगरी उत्कृष्ट पाँच कवितालाई प्रथम श्रेणीको उपाधि प्रदान गर्न उपयुक्त देखिएकाले निर्णायक मण्डलको सल्लाह, आयोजिक टिमविच छलफल गरी उत्कृष्ट ५ स्रष्टालाई प्रथम श्रेणीको उपहारद्वारा पुरस्कृत गरिएको बताउनुभयो ।

सभापति बस्नेतले सम्पूर्ण कविता पढेर उत्कृष्ट पाँच कविता चयन गर्न लागिपर्नुहुने निर्णायकद्वय वरिष्ठ साहित्यकार इन्दिरा प्रसाई तथा काव्य विशेषज्ञ डा. शैलेन्दुप्रकाश नेपालप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो । ।

प्रतियोगितामा सहभागी अधिकांश प्रतियोगीहरुले आफ्नो कविता आफ्नै स्वरमा वाचन गरेर कार्यक्रममा सुनाएका थिए भने रेडियो हिमालयले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...