डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट आधिकारिक उम्मेदवार घोषित

Published Date: July 21, 2016

trump USAएजेन्सी, अमेरिकामा अगामी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प आधिकारिक रूपमा उम्मेदवार घोषित भएका छन् । ओहायो राज्यमा बुधबार भएको पार्टी अधिवेशनले  ट्रम्पलाई औपचारिक रूपमा रिपब्लिकनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको हो । अधिवेशनमा ट्रम्पलाई आधिकारिक उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा मतदान भएको थियो । बहुसंख्यक सदस्यले ट्रम्पलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा मतदान गरेका थिए । ट्रम्पले सो मनोनयन बिहीबार मात्र आधिकारिक रूपमा स्वीकार गर्नेछन् ।

विवादबीच उम्मेदवार पछिल्ला वर्षमा ट्रम्पले अमेरिकाको राजनीतिलाई उथलपुथल पारेका छन् । केही महिनाअगाडिसम्म ट्रम्पको प्रचारलाई विपक्षी पार्टी र रिपब्लिकन पार्टीभित्रै विरोधीले खिल्ली उडाएका थिए । तर, अहिले धेरैलाई आश्चर्यचकित पार्दै ट्रम्प उम्मेदवार बन्न सफल भएका हुन्।  गैरकानुनी रूपमा अमेरिका बस्ने आप्रवासीलाई निकाल्नेदेखि मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनुपर्ने भनाइले धेरै मानिस चिढिएका छन् । यसले प्राइमरी निर्वाचन अभियानमा उनी निकै विवादास्पद बने । अमेरिकामा मुसलमानको प्रवेशलाई प्रतिबन्ध लगाउनुपर्ने उनको विचारले पार्टीभित्रै विरोध बढेको छ । पार्टीको एउटा खेमाले उनलाई उम्मेदवारबाट वञ्चित गर्न हदैसम्म प्रयत्न गरेको थियो । उनको विवादास्पद अभिव्यक्तिका कारण अमेरिकाका चर्चित कम्पनीहरू माइक्रोसफ्ट, एप्पललगायतले ट्रम्पलाई सहयोग नगर्ने जनाएका छन्।

खर्बपति व्यापारीसमेत रहेका ट्रम्पले अब डेमोक्र्याटबाट राष्ट्रपतिको उम्मेदवारकी प्रत्यासी हिलारी क्लिन्टनसँग आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...