देश भित्र

विवाहको सुइँको पाएपछि प्रहरीमा आइन् सुनिता

By news section

August 28, 2016

रोल्पाकी एक किशोरी आफ्नो मञ्जुरी विना परिवारले विवाह गरिदिन लागेको थाहा पाएपछि प्रहरीमा उजुरी गर्न आएकी छिन् ।

रोल्पाको गैरीगाउँ–८, गाङकी १७ वर्षीया सुनिता परियारको परिवारले आफूलाई थाहा नदिइ विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पामा आएकी हुन् ।

आर्थिक अभावका कारण कक्षा ५ उत्तीर्ण गरेर विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्, “गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका बारेमा कुरा टुङ्गिएको रहेछ । मलाई यस विषयमा केही पनि थाहा थिएन । घरमा बिहेका लागि भैँसी किनेर ल्याइएको छ । रोटी पकाउने काम चलेको छ साथै घर लिपपोत गर्न थालेपछि भाइबहिनीले मेरो विवाहका लागि तयारी हुँदैछ भन्ने जानकारी दिए ।”

“त्यसपछि मैले अहिले म सानै छु, बिहे गर्दिन भनेर धेरै रोएँ, कराएँ तर कसैले मेरो कुरा सुनेनन् । आगामी भदौ १६ गते विवाहको दिन तय भइसकेको छ रोक्न मिल्दैन भन्ने आमाको जवाफ पाएपछि नारायणगढमा भएकी दिदीलाई फोन गरें । दिदीले यतै आइज भनेर बोलाएको हुँदा भागेर दिदीकहाँ जान लागेकी थिएँ । आफन्तले प्रहरीमा पुगे न्याय पाइन्छ भनेर सल्लाह दिएपछि प्रहरीमा आएँ । मलाई पटक्कै ऊसँग बिहे गर्न मन छैन । तपाईंहरुले बुबाआमालाई सम्झाइदिनुस्,” उनले आँसु पुछ्दै भनिन् ।

यसरी न्याय खोज्दै प्रहरी कार्यालय रोल्पामा आएकी परियारलाई शनिबार राति महिला प्रहरीको संरक्षणमा राखियो । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार परियार गाउँबाट भागेर हिँडेपछि गाउँलेले थाहापाई खोजीका लागि प्रहरीमा खबर गरेका थिए । उनले भनिन्, “हामीले यस विषयमा आइतबार अभिभावकलाई जिप्रका, रोल्पामा बोलाएका छौँ ।” उनीहरु आएपछि वास्तविक कुरा बुझेर अगाडि बढ्नेछौँ ।” अहिले परियार प्रहरीकै संरक्षणमा भएको पनि उनले जानकारी दिए ।

जिल्लामा बालविवाह न्यूनीकरणका लागि अभियान थालिएको छ । उनी त प्रतिनिधि पात्र मात्र हुन् यस किसिमका घटना जिल्लामा धेरै हुने गरेका छन् ।  रासस