प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीका सुझाव : लिपुलेक र कालापानीको विषय उठाउनोस्

Published Date: September 14, 2016

prachandaपूर्वप्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा अतिक्रमित लिपुलेक र सुस्ता कालापानीको विषयलाई कडाइका साथ उठाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री दाहालले आसन्न भारत भ्रमणका एजेन्डाबारे पूर्वप्रधानमन्त्री तथा व्यवस्थापिका–संसद्मा सहभागी विभिन्न २३ दलसँग गरेको छलफलमा सो सुझाव दिइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरूले सुस्ता, कालापानी तथा नेपाली भूमि लिपुलेकका विषयमा भारतसँग गम्भीरताका साथ कुरा उठाउन सुझाव दिए । छलफलमा संविधान जारी हुनुपूर्व प्रधानमन्त्री दाहालकै पार्टी एमाओवादीकै दोस्रो वरीयताका नेता बाबुराम भट्टराईले सीमा अतिक्रमणका साथै सुस्ता कालापानी तथा लिपुलेकको विषयलाई भ्रमणका क्रममा विशेष जोड दिएर उठाउन सुझाव दिएका छन् । ‘नेपाल–भारत सिमाना स्ट्रिप नक्सा ९८ प्रतिशत तयार भई भारतले सुस्ता र कालापानी थाती राखी हस्ताक्षर गर्न प्रस्ताव गर्दै आएकोमा सिमानाका धेरै ठाउँमा दुवै पक्षले दसगजा मिची बसेको वा नदीले सीमाधार परिवर्तन गरेका कारण हजारौं हेक्टर जमिन र बस्ती यताउता भई विवाद हुने हुँदा छिटो पूरै नक्सा सकेर सम्झौता गर्नु उपयुक्त हुन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री दाहाललाई लिखित सुझाव दिँदै भनेका छन् ।

‘त्यसरी नै नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना रहेको लिपुलेकमा हालै भारत र चीनले मात्र आवागमन खुला गर्न गरेको सहमतिमा नेपालको पनि दाबी जाहेर गर्नुपर्दछ ।’ भट्टराईले भारतले नेपालसँगको सीमा क्षेत्रमा अग्ला सडक र तटबन्ध निर्माण गर्ने गरेकाले बर्सेनि वर्षायाममा सीमाक्षेत्रका जिल्लाहरू डुबान परेको भन्दै भारतसँग उच्च तहमा गम्भीर संवाद गरेर स्थायी समाधान खोज्न पनि सुझाव दिएका छन् ।

उनले भारतसँग तत्काल थप परियोजनाका निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन आयोजनाहरू निर्दिष्ट समयमा पूरा गर्न जोड दिनुपर्ने सुझावसमेत दिएका छन् । ‘विशेषतः वर्षौंदेखि तराई–मधेसको लाइफलाइन रहेको हुलाकी सडक भारतीय सहयोगमा वा ऋण लिएर नेपाल आफैंले छिटो सम्पन्न गर्नुपर्दछ,’ भट्टराईले भने,

‘त्यस्तै, पञ्चेश्वरलगायतका ठूला पूर्वाधार आयोजना छिटो सम्पन्न गर्न जोड गर्नुपर्दछ ।’भट्टराईले भारतसँग बर्सेनि बढ्दै गएको व्यापार घाटा घटाउनुपर्ने, आफू प्रधानमन्त्री छँदा गरेको ‘बिप्पा’ सम्झौता छिटो कार्यान्वयन गर्नुपर्ने, ठूला भौतिक पूर्वाधार योजना अनुदान सहयोगमा नभई नरम ऋण लिएर आफैं निर्माण गर्नुपर्ने, काठमाडौं–निजगढ ‘फास्ट ट्र्याक’ भारतीय वा अन्यत्रबाट नरम ऋण लिएर नेपाल आफैंले निर्माण गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

छलफलमा सहभागी अन्य पूर्वप्रधानमन्त्रीहरूले आसन्न भारत भ्रमणका क्रममा विवादास्पद किसिमका कुनै पनि सन्धिसम्झौता नगर्न सुझाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पूर्वप्रधानमन्त्रीहरूले दुई देशबीचको सम्बन्धलाई सकारात्मक ढंगले अगाडि बढाउँदा राम्रो हुने सुझाव दिएको बताए । जवाफमा प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा कुनै विवादास्पद किसिमको कुरा एजेन्डामा नरहेको भन्दै शंका नगर्न आग्रह गरेका थिए । दाहालले यसअघि सहमति भएर कार्यान्वयनमा सुस्त भएका तथा कार्यान्वयनको पक्ष पाइपलाइनमा रहेका सम्झौता तथा परियोजनाहरूलाई तुरुन्तै कार्यान्वयन गर्ने गरी आफूले कुरा उठाउने बताएका थिए । बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईका साथै शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द सहभागी थिए ।

प्रधानमन्त्री दाहालले मंगलबार नै व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न २३ दलसँग छलफल तथा परामर्श गरेका छन् । छलफलमा सहभागी नेताहरूले भारतसँग यसअघि नै भएका सम्झौताको कार्यान्वयन नभएको भन्दै कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् । छलफलमा सहभागी नेताहरूले तराईमा डुबानको समस्या, हुलाकी राजमार्ग निर्माण, पञ्चेश्वरलगायतको काम अगाडि बढाउन पहल गर्न सुझाव दिएका छन् । कतिपय नेताहरूले दुई देशबीचको सम्बन्ध नयाँ ढंगले सुधार गर्न पनि सुझाएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई देशबीचको सम्बन्ध थप सुधार गर्न सुझाव दिएको बताए । ‘हाम्रो संविधान हामीले बनाएकै कारण दुई देशबीच सम्बन्ध चिसिएको हो, तपाईं गएर सम्बन्ध तताएर आउनुस् भनेर सुझाव दिएको छु,’ केसीले राजधानीसँग भने । उनले भ्रमणका क्रममा नयाँ सम्झौता गर्नुभन्दा पनि सम्झौता भएर होल्ड अवस्थामा रहेका सन्धिसम्झौता तथा योजनाहरूलाई कार्यान्वयनमा जोड दिन विशेष पहल गर्न सुझाव दिएको बताए ।

संघीय समाजवादी फोरमका नेता अशोक राईले पनि दुई देशबीचको सम्बन्ध सुधार्न गर्न तथा राम्रा र सकारात्मक काम गरेर आउन सुझाव दिएको बताए । ‘दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ पारेर आउनुस् भनेर सुझाव दिएको छु,’ राईले राजधानीसँग भने । छलफलमा प्रधानमन्त्री दाहालले अहिलेको भारत भ्रमण सद्भाव भ्रमण भएको भन्दै हाललाई सहमतिको चाङ थुपार्नभन्दा पुरानै सहमतिलाई कार्यान्वयनमा आफूले जोड दिने प्रतिबद्धता जनाएका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...