गणेशमान सिहंको आज स्मृति दिवस मनाईंदै, यस्तो छ संघर्षको इतिहास

Published Date: September 18, 2016

वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको आज(आइतबार) स्मृति दिवस मनाईंदैछ । सिंहको स्मृतिमा विभिन्न कार्यक्रम गरिदैछन् ।1474162694ganeshman

१९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो । यसक्रममा काठमाडौको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण गरिँदैछ । लौहपुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए ।

उनले  वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै थिए । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म उनीहरु सँगसँगै रहे । जेल तोडेर भारत प्रवासमा रहँदा होस् वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कदा या २०३७ सालको जनमत संग्रहमा सहभागि हुँदा मुद्दामाथि विमति रहँदा पनि वीपीसँग उनको साथ कहिल्यै टुटेन । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए । ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए । त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो ।

तर सिंहका ती कालजयी विचार र सुझावलाई विपक्षीले त मानेनन् मानेनन् आफ्नै दल नेपाली कांग्रेसले पनि सम्मान गरेन । जसका कारण विरक्तिएर जीवनको उत्तरार्धतिर उनले आफैले स्थापना गरी हुर्काएको पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...