मनास्लु ट्रेकिङमा गएकालाई पहिरोले पु-यो, चारजनाको मृत्यु, ६ जना घाइते
गोरखाको मनास्लु ट्रेकिङमा गएका पर्यटकको टोली पहिरोमा परेको छ । पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बताइएको छ । घाइते सबैलाई फिस्टेल एअरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।
उइया र केरउँजा गाविसको बीचमा गएको उक्त पहिरोमा परी मृत्युहुनेहरुमा तीनजना नेपाली र एक विदेशी पर्यटक रहेका छन् । मृत्यु हुनेमा क्यान नेपाल नामक गैरसरकारी संस्थाकी कर्मचारी ओखलढुंगाकी रञ्जना बस्नेत, काठमाडौं–गोकर्णका गाइड दोर्जे लामा र सोही ठाउँका गाइड छिरी शेर्पा रहेका छन् भने विदेशी पर्यटक नाम नखुलेका स्पेनिस पर्य़टक रहेको थाहा हुन आएको छ ।
सो टोली खोर्लाबेसीमा बास बसेर त्यसतर्फ जाँदै गरेको बताइएको छ । नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष टीका गुरुङले पर्यटक टोली पहिरोमा परेको पुष्टि गर्दै घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताए । पहिरोमा पुरिने टोलीमा २५ जनाको समूह रहेको थियो जसमा १५ जना विदेशी नागरिकहरु रहेको बताइएको छ ।
गोरखाका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले पहिरो गएको खबर आएपछि प्रहरीको टोली घटनास्थलमा जान लागेको बताए ।
