भारतद्वारा पाकिस्तानको सीमाक्षेत्रमा गोलाबारी, दुई सैनिक मारिए, नौजना घाइते

सेना मारेर भारतले भन्यो– ‘आतंकवादीतर्फ ठूलो क्षति’

Published Date: September 29, 2016

एजेन्सी
india-armyनयाँ दिल्ली, १३ असोज – भारतले काश्मीरको नियन्त्रण रेखाबाट पाकिस्तानी क्षेत्रमा गोलाबारी गर्दा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन् । भारतीय सेनाले पनि नियन्त्रण रेखामा आतंकवादीविरुद्ध कारबाही चलाइएको र ठूलो क्षति पुर्याएको दाबी गरेको छ ।

भारतले पाकिस्तानी सीमाक्षेत्रभित्र गरेको हमलाको घोषणा सेना प्रमुख रणवीर सिंहले हतारहतारमा आयोजित पत्रकार सम्मेलनका क्रममा गरेका थिए । पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपसमेत सहभागी थिए ।

भारत प्रशासित काश्मीरको उरीमा लडाकु समूहले गरेको आक्रमणमा १८ जना भारतीय सेनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झनै तिक्ततापूर्ण थियो । सोही घटनालाई लिएर भारतले पाकिस्तानसँगको सीमाक्षेत्र नियन्त्रण रेखाबाट पाकिस्तानमा गोलाबारी गरेको हो । पाकिस्तानले भारतले गरेको गोलाबारीमा दुई सैनिक मारिएको पुष्टि गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आक्रमणको निन्दा गर्दै मृत सैनिक जवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सरिफले भनेका छन्, ‘देशको सुरक्षा र सम्प्रभुतामाथि नोक्सानी पु¥याउने सैतानी मनशायलाई कडा जवाफ दिइनेछ ।’ उनले आफ्नो मौनतालाई कमजोरीका रूपमा नठान्न चेतावनी दिँदै उनले आफ्नो सेना देशको रक्षा गर्न सक्षम रहेको बताउँदै भारतीय सेनाको सामना गर्न आफूहरू तयार रहेको उल्लेख गरेका छन् ।

भारतले काश्मीरबाट पाकिस्तानी क्षेत्रमा गरेको आक्रमणपछि एक उच्चस्तरीय बैठकमा सहभागी भएपछि प्रधानमन्त्री सरिफले यस्तो चेतावनी दिएका हुन् । उनले भारतीय सेनाले काश्मीरमा मानवअधिकारको व्यापक उल्लंघन गरिरहेको र त्यसलाई ढाकछोप गर्न पछिल्लो हत्कण्डा अपनाएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ‘सर्जिकल’ हमलाबारे राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई जानकारी गराए । भारत प्रशासित काश्मीरमा विगत ८३ दिनदेखि जारी आन्दोलनका बीचमा भारतले पाकिस्तानी क्षेत्रमा गोलाबारी गरेको हो ।

काश्मीरमा हिजबुल मुजाहिद्दिनका कमान्डर बुरहान बानीको भारतीय सुरक्षाकर्मीले हत्या गरेपछि काश्मीरमा लगातार आन्दोलन जारी छ । काश्मीरको उरीमा गत आइतबार भएको आक्रमणमा १८ भारतीय सैनिक मारिएका थिए । भारतीय सेना प्रमुख सिंहले पत्रकार सम्मेलन गरेर मध्यरातमा गरेको गोलाबारीबारे जानकारी गराए पनि कुनकुन स्थानमा गोलाबारी गरेको हो भन्नेबारे जानकारी दिएनन् । दुई पाकिस्तानी सेना मारिएको सो गोलाबारीमा आतंकवादीतर्फ ठूलो क्षति भएको उनले बताए ।

पाकिस्तानको इस्लामावादमा आगामी ९ र १० नोभेम्बरमा हुन लागेको सार्क शिखर सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरेको दुई दिनपछि नै भारतले पाकिस्तानी सेनाको हत्या गरेर आतंकवादी मारिएको दाबी गरेको हो । भारतले यसअघिदेखि नै पाकिस्तानमाथि आतंकवादी देशको आरोप लगाउँदै आएको छ । भारतले पाकिस्तानका दुई स्थानमा लामो समयसम्म गोलाबारी गरेको थियो । उसले नियन्त्रण रेखामा आतंकवादी सक्रिय भएको सूचनाका आधारमा आक्रमण गरेको जनाएको छ । भारतीय सेनाप्रमुख सिंहले आतंकवादीविरुद्ध चलाइएको यो अभियान सम्पन्न भएको र अब तत्कालै कुनै कारबाहीको योजना नरहेको पनि उल्लेख गरेका छन् ।

पाकिस्तानी क्षेत्रमा गरेको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष बैठक गरेका छन् । बैठकमा रक्षामन्त्री मनोहर पर्रिकर, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्ली, सेनाप्रमुख दलवीरसिंह सुहागलगायत सहभागी थिए ।

भारतीय सञ्चारमाध्यमले यो घटनालाई लिएर पाकिस्तानमाथि आक्रमणको प्रशंसा गरिरहे पनि आधिकारिक रूपमा भारतीय पक्षले यसबारे धेरै केही बताएको छैन । यसले दुई देशबीच पुनः युद्धको खतरा मडारिएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले कडा जवाफ दिने बताइसकेका छन् । यदि पाकिस्तानले भारतमाथि कुनै कदम चाले युद्धको अवस्था सिर्जना हुने देखिएको छ । दक्षिण एसियाका दुई परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानबीच युद्धको अवस्था आए परमाणु हतियारको समेत प्रयोग हुन सक्ने अवस्था छ ।

यो आक्रमणमा पाकिस्तानी दुई सेना नै मारिएको अवस्थामा अन्तर्राष्ट्रिय दबाब भारतमाथि नआएको अवस्था र पाकिस्तानले पनि कारबाही गरेको खण्डमा दुई देशबीच तेस्रोपटक काश्मीर विषयलाई लिएर युद्धको सम्भावना देखिएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...