ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
रत्ननगर (चितवन), २१ असोज
पूर्वी चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीचोकमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बिहीबार साँझ पूर्वी चितवन भण्डारातर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६७४० नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक चितवन राप्ती नगरपालिका–९ वीरेन्द्रनगरका १९ वर्षीय सुनिल गुरुङ र मोटरसाइकल पछाडि बस्ने सोही ठाउँका १७ वर्षीय सुजित गुरुङ रहेको प्रहरीले जनाएको छ । चालक सुनिलको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो भने पछाडि बस्ने सुजितको भने उपचारका क्रममा बिहीबार राति ज्यान गएको जनाइएको छ ।
दुवैजनाको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्रक चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस










