वेद र नारीको भुमिका

Published Date: October 8, 2016

bade-and-nareeसंसारमा वेदलाई हेर्न, बुझ्न आआफ्नै दृष्टिकोणहरू विकास गरिएका छन् । समाजशास्त्रीय दृष्टिबाट हेर्दा वेद करिब ३७ सय वर्ष पुरानो सामाजिक संरचनाबाट निर्मित ज्ञानको संग्रह मानिन्छ । तथापि यस तिथिमितिबारे विभिन्न मत रहेका छन् । समाजशास्त्रले हरेक ज्ञानको श्रोत सम्बन्धित सामाजिक संरचनाभित्र कायम हुने सम्बन्ध, घटित घटना, अन्तरक्रिया एवं क्रियाकलापलाई मान्दछ । त्यसरी निर्माण भएका ज्ञानको सूत्रबद्ध स्वरूपबाट शास्त्रको सिर्जना भएको हुन्छ ।
वर्तमानमा त्यो प्राचीन संरचना देख्न, हेर्न सम्भव नहुने भएकाले त्यस बेला सिर्जना भएको शास्त्रले नै त्यो प्राचीन समाजको परावर्तन गराउँछ भन्ने मान्यतामा शास्त्रभित्रका अन्तरवस्तु केलाएर त्यस बेलाको सामाजिक संरचना खोतल्नुपर्ने हुन्छ । वेद पनि त्यही प्राचीन सामाजिक संरचनाले निर्माण गरेको ज्ञानको शास्त्र हो । त्यस बेला लिपिको अभावले गर्दा वेदको निर्माण श्रुतिपरक रूपमा भएकाले वेदलाई संसारकै प्राचीनतम श्रुतिशास्त्रका रूपमा बुझ्ने गरिन्छ । त्यही हुनाले वेद छन्दोबद्ध ऋचाहरूको संग्रहका रूपमा देखिन्छ । वेदले प्रतिनिधित्व गर्ने वेदकालीन समाज पितृ वंश एवं सत्तायुक्त पारिवारिक स्वरूप र पशुपालन तथा प्रारम्भिक कृषिमूलक उत्पादन पद्धतिमा आधारित थियो ।
शास्त्रगत ज्ञान निर्माण गर्ने समाज र शास्त्रभित्रका अन्तरवस्तुलाई ऐतिहसिक दृष्टिले विश्लेषण नै नगरी सतही रूपमा बुद्धिविलास गर्ने वर्तमान परम्पराले शास्त्र, समाज र ऐतिहासिकतालाई आपसमा जोड्न सकेको देखिँदैन । पशुपालन तथा पितृसत्तात्मक सामाजिक संरचनायुक्त वेदकालीन समाजको परावर्तन दिने वेदका ऋचाहरूले नारीहरूको भूमिकालाई कसरी उल्लेख गरेका छन्, यस आलेखभित्र केही दृष्टान्त प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
परिवारभित्र
वेदकालीन समयमा स्त्रीहरू सन्तानवती, कल्याणकारिणी, स्वस्थ, सुन्दर, धन पशुले युक्त, सुशील, सुखदायिनी भइदिए हुन्थ्यो भन्ने मानिँदो रहेछ । वेदकालीन समयमा परिवारभित्र नारीहरू सन्तान उत्पादन, घरपरिवारका सदस्यहरूको सेवा, परिवारको नियम पालनलगायतका भूमिकामा संलग्न हुन्थे । ऋग्वेद र अथर्ववेदका विभिन्न ऋचाहरूले परिवारभित्र महिलाको भूमिका, दायित्व तथा स्थानलाई विभिन्न रूपमा चर्चा गरेको देखिन्छ ।
ऋग्वेदको दसौं मण्डलको पचासीऔँ सूक्तअन्तर्गतको छब्बीसौं ऋचामा तिमी आफ्ना पतिका घर प्रस्थान गर । त्यहाँ तिमी गृहस्वामिनी र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने वन विवेकपूर्ण वाणीको प्रयोग गर भन्ने भाव रहेको देखिन्छ ।
पूषा त्वेतो नयतु हस्तगुह्याश्विना त्वा प्र वहतां रथेन ।
गृहान्गच्छ गृहपत्नी यथासो वशिनी त्वं विदथमा वदासि ।।
पूषादेवले तिमीलाई यहाँबाट हात समातेर लैजाउन अगाडि अश्विनीकुमारले रथमा बसाएर लैजाऊन् । तिमी आफ्ना पतिका घरमा प्रस्थान गर । त्यहाँ तिमी गृहस्वामिनी र सबैलाई आफ्नो निन्त्रणमा राख्ने वन, विवेकपूर्ण वाणीको प्रयोग गर । (ऋ—१०—८५—२६)
ऋग्वेदको दसौं मण्डलको पचासीऔं सूक्तअन्तर्गतको सत्ताइसौं ऋचामा पतिका घरमा सुसन्तानले युक्त भएर तिम्रा स्नेहको वृद्धि होस् र त्यस घरमा तिमी गृहस्थ धर्मको कर्तव्य निर्वाह गर्नका लागि सधैँ जागरुक होऊ भन्ने भाव व्यक्त भएको छ ।
इह प्रियं प्रजया ते समृध्यतामस्मिन् गृहे गार्हपत्याय जागृहि ।
एना पत्या तन्वं१सं सृजस्वाधा जिव्री विदथमा वदाथः ।।
पतिका घरमा सुसन्तालने युक्त भएर तिम्रा स्नेहको वृद्धि होस् र त्यस घरमा निमी गृहस्थ धर्मको कतव्र्य निर्वाह गर्नको लागि सधैँ जागरुक होऊ । स्वामीसँग मिलेर बस । वृद्धाअवस्थामा तिमीहरू दुवै राम्रो उपदेश दिन सक्ने होओ । (ऋ—१०—८५—२७)
अथर्ववेदको चौधौँ काण्डको पहिलोे सूक्तको त्रिचालीसौं ऋचामा पतिका घरमा पुगेपछि यी वधू स्वयम् त्यहाँकी साम्राज्ञी भएर गृहस्थरूपी साम्र्राज्यलाई उचित किसिमले सञ्चालन गरून् भन्ने भाव देखिन्छ ।
यथा सिन्धुर्नदीनां साम्राज्यं सुषुवे वृषा । एवा त्वं सम्राज्ञ्येधि पत्युरस्तं परेत्य ।।
रत्नको वर्ष गराउने महासागरले नदीहरूमा आफ्नो साम्राज्यको उपभोग गरेझैँ पतिका घरमा पुगेपछि यी वधू स्वयं त्यहाँकी साम्राज्ञी भएर गृहस्थरुपी साम्रज्यलाई उचित किसिमले सञ्चालन गरुन् । (अ—१४—१—४३)
अथर्ववेदको चौधौँ काण्डको पहिलो सूक्तको चवालीसौं ऋचामा वधूलाई सम्बोधन गर्दै, तिमी आफ्ना सासू, ससुरा, नन्द र देवरहरूका लागि साम्राज्ञीजस्तै होऊ । तिमी यी सबैका लागि स्वामिनीजस्तै हौ भन्ने भाव व्यक्त भएको छ ।
सम्राज्ञयेधि श्वशुरेषु सम्राइयुत देवृषु ।
ननान्दुः सम्राज्ञ्येधि सम्राइयुत श्व श्रेवाः ।।
हे वधू ! तिमी आफ्ना सासू, ससुरा नन्द र देवरहरूका लागि साम्राज्ञी जस्तै होऊ । तिमी यी सबैका लागि स्वामिनी जस्तै हौ । (अ—१४—१—४४)
अथर्ववेदको चौधौँ काण्डको पहिलो सूक्तको बाउन्नौं ऋचामा यी स्त्री मलाई पोषण गर्ने होऊन् । हे सन्तानले युक्त स्त्री म पतिसित तिमी सय वर्षसम्म जीवित होऊ भन्ने भाव व्यक्त भएको छ ।
ममेयमस्तु पोष्या मह्यं त्वादाद् वृहस्पतिः ।
मया पत्या प्रजावति सं जीव शरदः शतम् ।।
यी स्त्री मलाई पोषण गर्ने होऊन्, वृहस्पति देवताले तिमीलाई मेरा निमित्त समर्पित गरेका छन् । हे सन्तानले युक्त स्त्री ! म पतिसित तिमी सय वर्षसम्म जीवित होऊ । (अ–१४–१–५२)
उल्लिखित भावले वेदकालीन परिवारमा वधू तथा पत्नीको स्थान घर परिवारमा मालिक्नीका रूपमा हुन्थ्यो । उनैले परिवारका सदस्यलाई नियन्त्रण गर्ने गर्दथिन्, उनले नै विवेकका साथ कसलाई के काम गराउने वा कस्तो वाक्यद्वारा नियन्त्रण गर्ने भन्ने निक्र्योल गर्दथिन् भन्ने देखिन्छ । वेदकालीन परिवारमा सन्तान जन्माउने वधूको स्थान उच्च थियो र उनलाई स्नेहपूर्ण व्यवहार गरिन्थ्यो स्त्रीले गृहस्थ धर्म निर्वाह गर्न, सन्तानवती हुनैपर्ने, घरको आर्थिक उत्पादनमा पनि संलग्न हुनुपर्ने घरपरिवारका सदस्यहरूको सेवामा जुट्नुपर्ने हुन्थ्यो । परिवारमा पत्नी तथा वधूको स्थान साम्राज्ञीका रूपमा प्रतिष्ठित थियो । उनले नै घरका सम्पूर्ण जिम्मेवारी वहन गर्नु पथ्र्यो । परिवारमा वधू सासू, ससुरा, नन्द, देवरलगायतका सदस्यभन्दा प्रतिष्ठित रूपमा रहन्थिन् । उनले नै परिवार सञ्चालनको जिम्मेवारी वहन गर्दथिन् । पत्नीको जिम्मेवारी पतिको पालन पोषण गर्ने हुन्थ्यो, सन्तान प्रदान गर्ने हुन्थ्यो । सय वर्षको आयुसम्म बाँच्ने अपेक्षासहित पत्नी पनि पतिको सहकार्यमा संलग्न हुन्थिन् भन्ने तथ्य प्राप्त हुन्छ ।
उत्पादन तथा श्रममूलक कार्यमा
वेदकालीन परिवारमा स्त्रीहरू घरको साम्राज्ञी बन्दथे, गृहस्थ धर्म पालन गर्दथे, पति तथा सन्तानको पालन पोषण गर्दथे भन्ने तथ्य प्राप्त भएबाट नै त्यस समयमा स्त्रीहरू घरपरिवार सञ्चालन गर्न विभिन्न उत्पादन तथा श्रममूलक कार्यमा संलग्न हुन्थे भन्ने सूचना प्राप्त भई नै सकेको छ । जसका बारेमा माथि चर्चा गरिसकिएको छ । त्यसका अतिरिक्त ऋग्वेद तथा अथर्ववेदका निम्न ऋचाहरूले स्त्रीहरूको श्रम संलग्नतालाई अझ बढी प्रस्ट्याएको देखिन्छ ।
ऋग्वेदको नवौं मण्डलको एक सय बाह्रौं सूक्तको तेस्रो ऋचामा अंगीरस ऋषिले माता र कन्याहरू पिस्ने काम गर्दछन् । हामी सबै भिन्–भिन्न कार्य गर्दछौं भन्ने भाव व्यक्त गरेको देखिन्छ ।
कारुरहं ततो भिषगुपलप्रक्षिणी नना ।
नानाधियो वसुयवोऽनु गा इव तस्थिमेन्द्रायेन्दो परि स्रव ।।
हामी हाम्रो सीप तयार गर्दछौं । हाम्रा प्रिय पुत्रको चिकित्सक हुन् । माता र कन्याहरू पिस्ने काम गर्छन् । हामी सबै भिन्न कार्य गर्दछौं, तापनि गोठालाले गाईको सेवा गरेजस्तै हामी सबैले तिम्रै सेवा गर्दछौं । हे सोमदेव ! इन्द्रदेवका लागि प्रवाहित होऊ । (ऋ—९—११२—३)
अथर्ववेदको चौधौँ काण्डको पहिलो सूक्तको पैतालीसौँ ऋचामा जुन स्त्रीले धागो कातेझैँ गरी यो वस्त्ररूपी व्यवहारलाई विस्तृृत गराएका छन् र जसले चारैतिरबाट अन्तिम भागलाई उचित किसिमले बनाँउदछन्, तिनीहरू नै वृद्ध अवस्थासम्म तिम्रा हाम्रा लगि उचित वस्त्रको व्यवस्था गर्न सफल होऊन् । हे देवीहरू ! तिमीहरू पनि दीर्घायु भएर यो वस्त्र धारण गर भन्ने भाव व्यक्त भएको छ ।
या अकृन्तन्नवयन् याश्च तत्निरे या देवीरन्ताँ अभितोऽददन्त ।
तास्त्वा जरसे सं व्ययन्त्वायुषमतीदं परि धस्त्व वासः ।।
देवीका रूपमा रहेको जुन स्त्रीहरूले धागो कातेझैँ गरी यो वस्त्ररूपी व्यवहारलाई विस्तृत गराएका छन् र जसले चारैतिरबाट अन्तिम भागलाई उचित किसिमले बनाउँदछन् । तिनीहरू नै वृद्ध अवस्थासम्म तिम्रा हाम्रा लागि उचित वस्त्रको व्यवस्था गर्न सफल होऊन् हे देवीहरू हो ! तिमीहरू पनि दीर्घायु भएर यो वस्त्र धारण गर । (अ—१४—१—४५)
ऋग्वेदको दोस्रो मण्डलको तेस्रो सूक्तको छैटौं ऋचामा गृत्समद भार्गव शौनक ऋषिले देवीहरू लुगा बनेको जस्तो शब्द गर्दछन् र हाम्रा उत्तम कर्ममा प्रेरणा जगाउँदै पूजित हुन्छन् । यी देवीहरू तानिएको धागाको तान बुन्दै उत्तम गतिमा लाग्न हामीलाई योग्य बनाउन र सबै किसिमका कामना पूरा गराउँदै अन्न र दूध आदिले परिपूर्ण गराउँछन् भन्ने भाव व्यक्त गरेका छन् ।
साध्वपांसि सनता न उक्षिते उषासानक्ता वटयव रण्विते ।
तन्तुं ततं संवयन्ती समीची यज्ञस्य पेशः सुदुघे पयस्वती ।।
यज्ञका स्वरूरुपहरूलाई सुन्दरता प्रदान गर्ने यी उषा र नक्ता देवीहरू लुगा बुनेको जस्तो शब्द गर्छन् र हाम्रा उत्तम कर्ममा प्रेरणा जगाउँदै पूजित हुन्छन् । यी देवीहरू तानिएको धागाको तान बुन्दै उत्तम गतिमा लाग्न हामीलाई योग्य बनाउँछन् र सबै किसिमका कामना पूरा गराउँदै अन्न र दूध आदिले परिपूर्ण गराउँछन् । (ऋ—२—३—६)
माथि उल्लेख भएको भावबाट वेदकालीन परिवारमा महिला र पुरुषका भिन्न–भिन्न काम हुने गरेको, श्रम विभाजन व्यवस्थित भएको, त्यसमध्येमा माता तथा कन्यारूपी महिलाहरू अन्न पिसेर खाद्य पदार्थ तयार गर्ने कार्यमा संलग्न हुने गरेको देखिन्छ । वेदकालीन परिवारमा स्त्रीहरू धागो कात्ने काममा संलग्न हुन्थे । वस्त्र उद्योग चलाउने काममा महिलाको जिम्मेवारी हुन्थ्यो परिवारका सदस्यहरूका लागि वस्त्र व्यवस्था गर्ने काम पनि महिलाको हुन्थ्यो । पुरुषहरूलाई उत्पे्ररित भई कार्य गराउन योग्य बनाउँदै अन्न उत्पादन, दूध उत्पादन कार्यमा पनि महिलाहरू संलग्न हुन्थे भन्ने तथ्य प्राप्त हुन्छ।
युद्ध तथा सैन्य कार्यमा
वेदकालीन समय युद्ध तथा द्वन्द्वग्रस्त समयका रूपमा रहेको देखिन्छ । साधन स्रोतको स्वामित्व विस्तारदेखि लिएर सीमा विस्तार, वंश विस्तार, वाणिज्य व्यापारलगायतका विभिन्न क्षेत्रमा द्वन्द्वैद्वन्द्व र युद्धैयुद्ध भएगरेका थुप्रै दृष्टान्त वेदका ऋचाहरूले प्रस्तुत गरेको देखिन्छ । त्यसैले पुरुषहरूको जिम्मेवारी त युद्धको प्रमुखको रूपमा संलग्न हुने नै देखिन्छ । पुरुषका अतिरिक्त महिलाहरू पनि युद्ध तथा द्वन्द्व कार्यमा पुरुषका सहयोगी बनेर संलग्न हुने गरेका तथ्यहरू पनि भेटिन्छन् ।
ऋग्वदेको दसौं मण्डलको छयासीऔं सूक्तअन्तर्गतको पाचौं ऋचामा ऋषिका इन्द्राणीले आफूलाई मन पर्ने पदार्थ दूषित गराइदिएको रिसमा वृषकापीको टाउको छिनाइदिऊँजस्तो लागेको छ भन्ने भाव व्यक्त गरेको देखिन्छ ।
अभि यज्ञं गृणीहि नो ग्नावो नेष्टः पिब ऋतुना ।
त्वं हि रत्नधा असि ।।
हे प्वष्टादेव ! पत्नीका साथ रहेर यस यज्ञको प्रसंशा गर । यज्ञमा बसेर ऋतु सुहाउदो सोमरस पान गर । तिमी निश्चय नै रत्नहरू प्रदान गर्दछौं । (ऋ—१—१५—३)
ऋग्वेदको दसौं मण्डलको एक सय दुई सूक्तको दोस्रो ऋचामा मुदगल ऋषिले संग्राम क्षेत्रमा रथमा चढेर मुदगल ऋषिकी पत्नी इन्द्रसेनाले हजारौं गाईमाथि विजय प्राप्त गर्दा उनको वस्त्र वायुले मास्तिर उडायो । गाईमाथि विजय प्राप्त गर्ने बेलामा उनी सारथि भइन् तिनैले संग्राममा शत्रुको अधिकार क्षेत्रबाट गाई छुटाएर ल्याएकी हुन् भन्ने भाव व्यक्त गरेका छन् ।
तान् यजत्राँ ऋतावृधोऽग्ने पत्नीवतस्कृधि ।
मध्वः सुजिन्ह पायय ।।
हे अग्निदेव ! यज्ञको समृद्धि र शोभा बढाउने पूजनीय इन्द्र देवलाई पत्नीसहित यस यज्ञमा बोलाऊ र उनीहरूलाई मधुर सोमरस पान गराऊ । (ऋ—१—१४—७)
यस भावमा मुदृगल ऋषि पत्नी पशुपालन तथा जीविकाको प्रमुख साधन गाई कब्जा गर्न युद्धमा सहभागी भएको युद्धमा रहँदा वस्त्र उठेको, गाईमाथि विजय प्राप्त गर्ने बेला उनी सारथि बनेको, शत्रुको पहुँचबाट गाई छुटाएर ल्याएका तथ्यहरू प्राप्त हुन्छन् । ऋग्वेदको दसौं मण्डलको एक सय दुई सूक्तको छैटौं ऋचामा मुदगल ऋषिले मुदगल ऋषिकी पत्नी युद्ध क्षेत्रमा रहेर गोरुगाढालाई प्रोत्साहित गरेको, सुसज्जित सेना मुद्गल्नीको पछि कुदेको भाव व्यक्त गरेका छन् ।
शुचिर्देवेष्वर्पिता होत्रा मरुत्सु भारती ।
इडा सरस्वती मही बर्हिः सीदन्तु यज्ञियाः ।।
देवता र मरुतगणमा पूजनीय, पवित्र निर्वाहक होतारूपी सरस्वती, भारती र इडा यस यज्ञमा उपस्थित होऊन् । (ऋ—१—१४२—९)
ऋग्वेदको दसौं मण्डलको एक सय दुई सूक्तको एघारौं ऋचामा मुद्गल ऋषिले त्यागिएकी स्त्रीजस्ती मुद्गल्नीले मेघझैँ वाणकोे वर्षा गर्दै शक्ति प्रदर्शन गरेर आफ्ना पतिको धन ग्रहण गरिन् यस्तै सारथिले हामी विजय भई प्रचुर अन्न र धन पाऔँ भन्ने भाव व्यक्त गरेका छन् ।
प्रति प्राशव्याँ इतः सम्यञ्चा बर्हिराशाते । न ता वाजेषु वायतः ।।
विचार मिल्ने दम्पतीले यत्र गरेर सधैं पोषक आहार पाउँछन् । उनीहरूलाई कहिल्यै पनि अन्नबाट विमुख हुनु पर्दैन । (ऋ—८—३१—६)
यी भावहरूमा महिला पात्र ऋषिका इन्द्राणीले टाउको छिनाउने कुरा गरेको देखिएबाट वेदकालीन समयमा नारीहरू युद्ध तथा द्वन्द्वमा पनि संलग्न हुन्थे साथै साधनस्रोतमाथि अधिकार स्थापित गर्न युद्ध तथा द्वन्द्वमा समेत सेनानीको रूपमा संलग्न भएर भूमिका निर्वाह गर्थे भन्ने देखिन्छ । त्यस समयमा स्त्रीहरू शक्ति प्रदर्शन कार्यमा पनि संलग्न हुने गरेको तथ्य प्रस्तुत तथ्यबाट प्राप्त हुन्छ ।
राजनीतिक कार्यमा नारीको संलग्नता
वेदकालीन समयमा महिलाहरूले घर परिवारको नेतृत्वको गर्ने, परिवारका सदस्यहरूकोे नियन्त्रण गर्ने, राजनीतिक एकाइमा रहेर कार्य गर्ने, सभाको सदस्य बन्ने गरेका सन्दर्भहरूले त्यस सममया महिलाहरू राजनीतिक नेतृत्वमा पनि संलग्न हुने गरेको तथ्य जाहेर हुन्छ ।
ऋग्वदेको पहिलो मण्डलको एक सय सतसठ्ठीऔं सूक्तको तेस्रो ऋचामा अगस्त्य मैत्रावरुणि नामका ऋषिले जब मानिसकी स्त्रीजस्तै गोप्य स्थानमा हिँड्ने वाणी सभामा रहेकी विदूषीझैँ ती मरुतहरूमा मिल्छ । त्यस बेला राम्रोसँग राखिएको जल बर्साउने सुनौलो वर्णको हतियार मेघ समूहझैँ ती मरुतहरूमा राम्ररी मिल्छ भन्ने भाव व्यक्त गरेका छन् ।
समिद्धो अग्निर्दिवि शोचिर श्रेत्वप्रत्यङ्ङुषसमुर्विया वि भाति ।
एति प्राची विश्ववारा नमोभिर्देवाँ ईडाना हविषा घृताची ।।
प्रदीप्त अग्निदेव दीतिमान् अन्तरिक्षमा आफ्ना तेजले प्रकाशित भएर उषाका सम्मुख विस्तीर्ण रूपमा विशेष प्रभायुक्त हुन्छन् । इन्द्र आदि देवताहरूको स्तवन गर्दै पुरोडश र घिउ आदिले युक्त सुरो लिएर विश्ववाश पूर्वतिर चियाउँदै अग्नितिर जान्छिन् । (ऋ—५—२८—१)
यस भावमा वाणी सभामा रहेकी विदूषीझैँ भन्ने वाक्यांश रहेको देखिन्छ । वेदकालीन समयमा सभाले गाउँ परिषद्को कार्य गथ्र्यो । गाउँ परिषद्को कार्य गर्ने सभा नामको राजनीतिक एकाइमा रहेकी विदूषी भन्ने माथिको भावले त्यस समयमा नारीहरू राजनीतिक संगठन, एकाइ एवं नेतृत्वमा संलग्न हुन्थे भन्ने तथ्य प्राप्त हुन्छ ।
ऋग्वेदको दसौं मण्डलको पचासीऔं सूक्तको छब्बीसौं ऋचामा ऋषिका सूर्याले तिमी आफ्ना पतिका घर प्रस्थान गर । त्यहाँ तिमी गृहस्वामिनी र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने बन, विवेकपूर्ण वाणीको प्रयोग गर भन्ने भाव व्यक्त गरेका छन् ।
येनेन्द्रो हविषा कृत्व्यभवद् द्युम्न्युत्तमः ।
इदं तदक्रि देवा असपत्ना किलाभुवम् ।।
यज्ञले मेरा स्वामी इन्द्रदेव समर्थ र जगत्विख्यात भएका छन् । देवताका निमित्त यज्ञ अनुष्ठान मैले नै सम्पन्न गरेँ । अब मेरा सबै शत्रुरूपी सौता मारिए । (ऋ—१०—१५९—४)
यस भावमा तिमी गृहस्वामिनी र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने बन, विवेकपूर्ण वाणीको प्रयोग गर भनिएको छ । यसले वेदकालीन समयमा महिलाले घरपरिवारको नेतृत्व गर्दथे । घरपरिवार सञ्चालन गर्न आवश्यक पर्ने नीतिनियमको निर्माण र लागू गर्दथे भन्ने तथ्य प्राप्त हुन्छ ।
वेदकालीन समयमा विदथ, सभा, समितिलगायतका विभिन्न राजनीतिक एकाइहरू रहेका र विदथ जसलाई गाउँ परिषद्को रूपमा बुझिन्थ्यो र त्यस विदाथ नामको राजनीतिक एकाइमा पुरुषसरह महिलाले सहभागिता जनाउने, आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार थियो । ऋग्वेदमा आठ पटकसम्म सभा, नौ पटकसम्म समिति र एक सय बाइस पटकसम्म विदाथ भन्ने शब्द प्रयोग भएको, त्यसैगरी अथर्ववेदमा सत्रौं पटकसम्म सभा, तेह्रौँपटकसम्म समिति र बाइसौंपटकसम्म विदाथ भन्ने शब्द प्रयोग भएको सन्दर्भ पाइन्छ ।
यसरी वेदकालीन समाज पितृसत्तात्मक सामाजिक संरचनायुक्त हुँदाहुँदै पनि वेदका ऋचाहरूले पारिवारिक, सैन्य एवं राजनीतिक कार्यमा नारीहरूको भूमिका सहभागितामूलक तथा सम्मानजनक रहेको देखाएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...