श्रीमतीलाई बियोगात्मक पत्र लेखेर बेपत्ता भएका युवा पक्राउ

Published Date: November 13, 2016

चितवन, २८ कात्तिक । नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आज साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको थापाले बताउनुभयो ।

लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गए राति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए । प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो । आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उहाँको खोजी गरेको थियो । रासस



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...