[सोच] जनता हैन, नागरिक चाहियो

- कर्ण शाक्य

Published Date: November 28, 2016

 

karna2म अर्काको आँखाबाट हेर्न चाहन्छु । अर्काको कानबाट सुन्न चाहन्छु । र, अर्काको मनबाट मनन गर्न चाहन्छु । त्यो, किन भने यसो गर्दा धेरै कुरा बुझ्न सकिँदो रहेछ । थुप्रै विवादित प्रसंग थाहा हुँदो रहेछ र सम्झौताको नयाँ बाटो पनि खुल्दो रहेछ । हाम्रो राजनीतिक र समसामयिक सन्दर्भमा पनि लागू हुन्छ यो । असल नागरिकका हकमा पनि यही नै हो । तर हामी नागरिक भइसकेका छैनौँ, जनता नै छौँ अझै ।
नागरिक बन्न नसकेर होला, हामीकहाँ राजनीतिक नेता र बुद्धिजीवीहरूलाई गाली गर्ने प्रवृत्ति छ । तर गाली मात्र गरेर केही फाइदा छैन, न त केही हुनेवाला नै छ । त्यसैले देश कसरी बनाउने, समृद्धि कसरी ल्याउने भन्ने चिन्तन चाहिएको छ ।

दुवै छिमेकीसँग तुलना गर्दा हामी गफ गरेजस्तो कमजोरै अवस्थामा पनि छैनौंँ । एउटा नेपाली अस्ट्रेलिया गएर त्यहाँका धनाढ्यहरूको सूचीमा परेका छन् । नेपालमै बसेका पनि संसारका धनीहरूमा सूचीकृत छन् । देशभित्रै व्यक्तिहरूको उल्लेख्य प्रगति भएको छ । डिपार्टमेन्ट स्टोर र रेस्टुराँहरूको व्यापार बढेको बढ्यै छ । मान्छे धनी भइरहेका छन् । देशकै पनि समष्टिगत मूल्यांकन गर्ने हो भने हिजोभन्दा आजको नेपाल राम्रो छ । शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा प्रगति भएको छ ।

karna1 सार के हो भने, व्यक्तिगत रूपबाट सबैले राम्रो गरेका छन् । तर राज्यले चाहिँ गर्न सकेको छैन । देश किन असफल भइरहेको छ ? यो प्रश्नको एउटै जवाफ हो– नेपालीहरू जनता मात्रै भए, नागरिक हुन सकेनन् । परिबन्द र परिवेशले राजतन्त्रकालमा नेपालीहरू प्रजा थिए । ०४६ मा प्रजातन्त्र पुन:बहालीपछि प्रजा जनता भए । त्यो भन्दा माथि उक्लिन वा नागरिक बन्न सकेनन् । ०६२/०६३ को परिवर्तन र गणतन्त्रपछि पनि जनता नागरिक बन्न बाँकी नै भयो ।

जनतालाई नागरिक बनाउने नै हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो । जनताले अधिकार माग्छ, यो चाहियो र त्यो चाहियो भनेर । तर आफूले राज्यका लागि के गर्ने र के दिने सोच्दैन । जनताको आँखाबाट नेपालीले सबै कुरा देखे तर अर्काको आँखाबाट देख्न सकेनन् । र, अर्काको आँखाबाट हेर्न केवल नागरिकले मात्र सक्छ, जनताले सक्दैन ।

विगत सात वर्षदेखि जनतालाई नागरिक बनाउन मैले कर्तव्यबोध अभियान चलाएको छु । यो सिलसिलामा म जिल्ला– जिल्ला, गाउँ–गाउँ, घर–घर पुगेको छु । त्यसक्रममा एउटा विडम्बना के देखेको छु भने जहाँ पनि बालबालिकाहरू किताबकापीको भारी बोकर स्कुल जान्छन् । स्कुलबाट फर्किन पाएको छैन, बाबुआमा गृहकार्य गर्न भन्छन्, जहिल्यै पढ्नमै मात्र जोड दिन्छन् । सहरबजारको अवस्था पनि यही हो । पढेपछि डाक्टर, इन्जिनियर बन्न पाइन्छ, नपढे खेत जोत्ने, डकर्मी बन्ने, भरिया बन्ने, सिकर्मी हुने हो भनेर बालबालिकाको ‘ब्रेन वास’ गरिरहेका छौँ ।

बालक जब लक्का जवान हुन्छ, स्वार्थको पिण्ड मात्र हुन्छ । जहाँ छोयो त्यहाँ स्वार्थ मात्र हुन्छ उसमा । उसमा नेपालीपना त हुन्छ तर वातावरण, संस्कार, परिवार र आमाबाबुले उसलाई स्वार्थको पिण्ड बनाइदिएको हुन्छ । त्यसैले उसले आफ्नो क्षमताभन्दा पनि स्वार्थ कता पूरा हुन्छ, त्यही पेसा–नोकरी रोज्छ ।

अहिलेको प्रमुख समस्या भनेको नै भ्रष्ट कर्मचारीतन्त्र हो । यसको सुधारका लागि, यसले कुशलतापूर्वक ‘डेलिभरी’ गर्नका लागि नागरिक चाहिएको छ, सही नागरिक सही ठाउँमा । नागरिक त्यो हो, जो के गर्नुहुन्छ, के गर्नुहुँदैन भनेर जान्दछ । देशलाई सिस्टममा चलाउन आफू सिस्टममा चल्नुपर्छ भनेर बुझेको हुन्छ । यतिको नागरिक तयार गर्न सकिने हो भने धेरै समस्याको समाधान हुन्छ ।

जनतालाई नागरिक बनाउन के गर्ने त ? यसको एउटै र महत्त्वपूर्ण उपाय हो, प्लस टुको पाठ्यक्रममा नागरिक शिक्षा राखिदिने । १० कक्षादेखि १२ कक्षासम्म भनेको १६ देखि १८ वर्ष उमेर समूहका युवाहरूको हो, जो भोलिको होइन कि आजैको कर्णधार हो । केही वर्षभित्रै कुनै न कुनै क्षेत्रमा नायक बन्न सक्ने क्षमता बोकेको नागरिक हो त्यो ।

कुनै पनि काम गर्न धनको मात्र आवश्यकता पर्दैन । धनले मात्र काम हुने होइन, ‘आइडिया’ले काम गर्ने हो । सामान्य काम गर्‍यो भने पनि दिनको मामूली एक हजार रुपियाँ कमाउन सकिन्छ यहाँ । कुनै पनि काम सानोतिनो हुँदैन । आवश्यकता छ, कामलाई सम्मान गर्ने खाले शिक्षाको, नागरिक शिक्षाको ।

नागरिक शिक्षा भनेको खोक्रो आदर्श होइन । यो त्यो शिक्षा हो, जसले आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि अर्काको स्वार्थलाई नकुल्च वा कुल्चनु पर्दैन भनेर सिकाउँछ । आडम्बरी बन्ने होइन भनेर पढाउँछ । यो आफ्नो अधिकार पनि खोज्ने र कर्तव्य पनि पालना गर्न सिकाउने शिक्षा हो । यसले आत्मनिर्भर हुन पनि सिकाउँछ । प्लस टुमा नागरिक शिक्षा राख्ने हो भने आगामी १० वर्षमै नागरिकको ठूलो जमात तयार गर्न सकिन्छ, यो सम्भव छ ।

नेपाल मासिकमा प्रकाशित


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...