इजरायलमा पनि धार्मिक संस्थामा फाटो, ओम जन जागरण अभियान इजरायल गठन

Published Date: April 19, 2017

मुलुकमा वहुसंख्यक नेपालीहरुको आस्था रहेको हिदुत्व कमजोर  वन्दै गइरहेका बेला हिन्दुत्व जागरण, संरक्षण र मौलिक धर्म तथा संस्कृतिहरुको रक्षाका खातिर भन्दै स्थापना भएका संस्थाहरुबिच फाटो शुरु भएको छ ।

यसै क्रममा विगत ४ बर्षदेखि ‘धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको हिन्दु जागरण नेपाल अभियानमा केही महीना अघि आएको फुटको असर इजरायलसम्म पनि देखा परेको छ । सन् २०१३ मा स्थापना भएको हिन्दु जागरण नेपाल अभियान इजरायल टुक्रिएर श्रीमती नितु कार्कीको अध्यक्षतामा ओम जन जागरण अभियान शाखा इजरायल गठन गरेका छन् । गत १४ अप्रिल शुक्रवार इजरायलको तेलअभिवस्थित लेवन्स्की पार्कमा बसेको केही नेपालीहरुको एउटा समुहले कार्कीको  नेतृत्वमा पदाधिकारीहरु चयन गरी ओम जनजागरण अभियान साखा इजरायल गठन गरिएको बताएको छ । शाखा इजरायलको उपाध्यक्षमा भक्ति सापकोटा,  सहउपाध्क्षमा देवी खरेल, महासचिवमा गौरिमाया सुवेदी, सचिवमा मिलन पोखरेल, कोषाध्यक्षमा मिना विडारी, सह कोषाध्यक्षमा खिला कुवर चयन भएको बताइएको छ ।

नबगठित संस्थाकी अध्यक्ष कार्की हिन्दु जागरण नेपाल अभियान इजरायलकी संगठन संरक्षक हुन भने उपाध्यक्ष भक्ति सापकोटा बरिष्ठ सल्लाहकार हुन् । त्यस्तै मिना विडारी अभियानकी सल्लाहकार रहेकी छिन् ।

त्यस्तै नव गठित संस्थाको सांस्कृतिक व्यवस्थापन प्रमुखमा उर्मिला श्रेष्ठ, सांस्कृतिक व्यवस्थापन उपप्रमुखमा मनु सापकोटा, संगठन संरक्षण प्रमुखमा अनीरुद्र सुवेदी र संगठन सह प्रमुखमा रेशम क्षेत्री चयन भएका छन् ।

त्यसैगरि बरिष्ठ सल्लाहकारहरुमा दिपेन्द्र थापा, बिना पोख्रेल, जानुका खडका, नितु खतिवडा, काजल घिमिरे, कृष्ण रायमाझी, गणेश गरी र डम्मर गुरुङ रहेका छन् भने सल्लाहकारहरुमा
सिन्धु पौडेल , इन्दिरा सुबेदी , तुलसा पोख्रेल , छिरिङ डोल्मा रुम्बा , सुसेला बस्नेत , सगुन अधिकारी रहेका छन् ।

नव गठित संस्थाका उपाध्यक्ष भक्ति सापकोटाले हिन्दु जागरण नेपाल अभियान इजरायल गठनसँगै आफू सल्लाहकारको भुमिकामा रहेको बताउदै संस्थामा आफ्नो कुनै मुल्याङ्कन नभएको र अभियानले गर्ने क्रियाक्लापहरुमा आफूहरुले हरसम्भव आफ्नो भुमिका निर्वाह गर्दा समेत नेतृत्वपंतिले त्यसबाट आफूहरुलाई अपजस मात्र लगाउने गरेको आरोप लगाउदै अर्को संस्था गठन गर्नुपरेको बताएका छन् । उनले नेपाल इजरायल डट नेटसँग कुरा गर्दै अभियानको केन्द्रमा समेत आर्थिक हिनामिना भएको आरोप लगाए ।

हिन्दु जागरण अभियान इजरायलले भने पदिय लोभलालच तथा व्यक्तिगत स्वार्थपूर्तिका खातिर संस्थामा विभाजन  ल्याएको प्रतिक्रिया दिएको छ । अभियानले संस्थाको आर्थिक पक्ष अत्यन्तै पारदर्शी रहेको र आफूहरुले त्रैमासिक आय व्ययको विवरण समेत आफ्ना सदस्यहरु समक्ष प्रस्तूत गर्दै आइरहेको बताउदै यदि  जो कसैले हिन्दु जागरण अभियानको आर्थिक आय व्ययको विवरण हेर्न चाहेको खण्डमा अभियानमा सम्पर्क गरी आर्थिक आय व्ययको विस्तृत जानकारी लिन सकिने बताएको छ । त्यस्तै अभियानले  केन्द्रमा पनि कुनै आर्थिक हिनामिना नभएको जनाउदै संस्था भाड्नेहरुले आम जनसमुदायको आक्रोसबाट बच्नकोलागि संस्थामाथि कपोकल्पित आरोप लगाइएको बताउदै आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।

के हो ओम जन जागरण अभियान ?

जातिय समानता सहितको सामाजिक एकता, ओमकार एकतामा धार्मिक शक्ति केन्द्र स्थापना लगायतका उद्देश्यहरु सहित स्थापना गरिएको ओम जन जागरण अभियान नेपाल केही महिना अघि हिन्दु जागरण युवा संघ तदर्थ समिति संयोजक रहेका पदम कुवंरको अध्यक्षतामा गठिन नवगठित संस्था हो । संस्थामा गुटवन्दी, आर्थिक हिनामिना लगायतका अनियमितता गरेको आरोपमा हिन्दु जागरण अभियान नेपालको अनुशासन समितिले माग गरेको स्पष्टिकरणको जवाफको साटो प्रतिप्रश्न पेश गरेको र संस्थाको निति उद्देश्य विपरित गतिविधी संचालन गरेको भन्दै हिन्दु जागरण अभियान नेपालले संस्थाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि  कुवंरले केही महिना अघि ओम जनजागरण अभियान नामक धार्मिक संस्था गठन गरेका हुन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...