इजरायलमा २५६१औ वुद्द जयन्ती भव्य रुपमा मनाइयो

नेपाली राजदूतावासबासको सहभागिता नहुदा आयोजक रुष्ट

Published Date: May 15, 2017

एन1न्यूज इजरायल

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपालीहरूले शान्तिका अग्रदुत अहिंसाका प्रतिक भगवान् गौतम वुद्दको २५६१  औ वुद्द जयन्ती भव्यरूपमा सम्पन्न  गरेका छन् ।  गत  शनिवार   इजरायलको तेलअभिवको लेवन्सिकी पार्कस्थित फुटवल मैदानमा  नेपाल आदिवासी जनजाती महासँघ इजरायलको प्रमुख आयोजना र इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको सहआयोजनामा वुद्द जयन्ती विशेष कार्यक्रमको आयोजना गरी वुद्द जयन्ती मनाईएको हो ।

नेपाल आदिवासी जनजाती महासँघ इजरायलकी अध्यक्ष निर्मला गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिलाई प्रमुख अथितीको लागि बोलाइएतापनि दूतावासबाट कुनै प्रतिनिधीको उपस्थिती नहुदा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी ) इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । त्यस्तै वुद्द धर्मगुरू थुप्तेन लामा  तामाङको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न जातिय, धार्मिक, सामाजिक तथा राजनितिक संघ संस्थाहरुका प्रतिनिधीहरु, इजरायलको लागि  तथा अनलाईन वेस  मिडियाकर्मिहरूको आतिथ्यता रहेको थियो ।

नेपाली राजदुतावासको अनुपस्थितीको विषयमा आयोजकले  दूतावासका प्रथम सचिव तथा उपनियोग प्रमुख हरिहर कान्त पौडेललाई टेलिफोनमा सम्पर्क गरी कार्यक्रम सुचारुको लागि सम्पूर्ण तयारी भएको र दुतावासको उपस्थितीबारे  वुझ्दा शुक्रबार रात्रीभोज सहित आयोजना गरिएको एक कार्यक्रममा ढिलासम्म बस्नु परेकोले निन्द्रा अपुग भएकोले कार्यक्रममा आफु उपस्थित हुन नसक्ने जवाफ आएको बताएका छन् । यस विषयमा नेपाली राजदूतावासले भने कुनै पनि कार्यक्रममा कुटनितिक कर्मचारीहरु उपस्थित हुदा कार्यक्रम आयोजक प्रतिनिधीहरुको विषयमा दुतावासलाई जानकारी हुनुपर्ने र दूतावासले संस्था सुचिकृत गर्ने क्रममा पटक पटक कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष निर्मला गुरुङको पासपोर्ट र भिसाको कपी नदिएकोले उहाँहरुको पहिचान विना आफूहरुले कुटनितिक कर्मचारीको हैसियतमा कार्यक्रममा उपस्थिती जनाउन नसकेको बताएको छ । प्रथम सचिव तथा उपनियोग प्रमुख पौडेलले नेपाल इजरायल डट नेटसँग कुराकानी गर्दै भन्नुभयो – “नेपाली संघ संस्थाको अन्य पदाधिकारीको होइन अध्यक्षको नेपाली राहदानी र भ्यालिड भिसा कपी अनिवार्य हुन्छ, त्यो पटक पटक माग्दा नवुझाएकाले उहाँको पहिचान र वैद्धता खुल्न नसकेकोले कुटनितिक कर्मचारीको नाताले उहाँहरुले बोलाएको कार्यक्रममा जान सकिएन ।”

यस विषयमा प्रतिक्रिया दिदै महासंघकी अध्यक्ष गुरुङले उहाँहरुले कार्यक्रमको निमन्त्रणा दिनेक्रममै पासपोर्टको कपी र भिसाको कपी नवुझाई उपस्थित हुन नसक्ने बारे अग्रिम जानकारी गराइदिएको भए हामीले त्यसविषयमा सोच्ने मौका पाउने थियौं तर अन्तिम समयमा कार्यक्रममा उपस्थित नजनाइदिदा कार्यक्रम संचालन गर्न ढिलाई हुदा उपस्थित भक्तजनहरुलाई टन्टलापुर घामको मार परेको बताउनुभयो ।

नेपाल आदिवासी जनजाती महासँघ इजरायलकी सदस्य ममता लिम्वुले स्वागत मन्तव्य दिदै उपस्थितहरूलाई सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

पानसमा दिप प्रज्वलन  गरी  शुरूवात गरिएको उक्त कार्यक्रममा वुद्द  धर्म गुरू थुप्तेन लामाद्वारा  वुद्द धर्म अनुसार पुजापाठ गरी कार्यक्रमलाई अगाडि वढाउनुभएको थियो । नेपाली राष्ट्रिय गानको सुमधुर धुनपश्चात उपस्थितहरूले  भगवान् वुद्दको पुाआजा गरी वुद्दको प्रतिमामा ढोग दर्शन गरेका थिए ।
वुद्द जयन्ती विशेष उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि दिपक प्रसाद ओलीले उपस्थित सम्पूर्णलाई उठेर ३ पटक सम्म लई BUDDHA WAS BORN IN NEPAL भन्न लगाउनुभएको थियो । उहाँले वुद्दले विश्वभरनै शान्तिको सन्देश प्रवाह गर्नुभएको बारे चर्चा गर्दै वुद्दका ज्ञान र दया गरी दुई वटा नेत्र भएको बताउनु भएको थियो । उहाँले मानव कल्याणको निम्ती दया र भक्ती भन्ने  भगवान वुद्दको सन्देशमाथि जोड दिदै इतिहासको अन्य कालखण्डहरुमा भन्दा विश्वको समसामयिक परिप्रेक्ष्यमा वुद्दका सन्देशहरु अझ प्रसंगिक हुँदै गइरहेको बताउनुभयो । ओलीले भगवान गौतमवुद्द नेपालमा जन्मेका हुन भन्ने यस विषयमा सम्पूर्ण नेपालीहरुले आत्मगौरबको अनुभुति गर्दै यसलाई विशेष राष्ट्रिय पर्वको रुपमा लिई प्रवासमा भए पनि समयानुकुल आयोजना गरिएको कार्यक्रममा इजरायलमा रहेका नेपालीहरुको अभिभावकको रुपमा रहेको नेपाली राजदूतावासबाट कुनै पनि उपस्थिती नहुनु अत्यन्तै दुखदायी कुरा भएको बताउनुभएको थियो ।

कार्यक्रमको समापन गर्नुहुँदै कार्यक्रमका सभापति निर्मला गुरुङले इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुलाई समेटेर एकतावद्द रुपमा वुद्द जयन्ती मनाउन पाउदा ज्यादै खुशी भएको बताउदै आफ्नो व्यस्त कामको वावजुध पनि समय निकाली कार्यक्रममा उपस्थीत सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुभएको थियो । नेपाली राजदूतावासको अनुपस्थितीप्रति रोस प्रकट गर्दै गुरुङले कार्यक्रममा नेपाली राजदुतावास इजरायलको उपस्थित नहुनु अत्यन्तै गैरजिम्मेवारीपन भएको बताउनुभयो । इजरायलमा आयोजना गरिने विभिन्न रात्रीभोज, मनोरञ्जनात्मक कार्यक्रममा समेत पुग्ने नेपाली राजदूतावास नेपाल राष्ट्रकै गौरब गर्नुपर्ने भगवान वुद्दको जन्मजयन्ती मनाउनकोलागि आयोजना गरिएको कार्यकममा उपस्थिती नजनाउनुले दूतावासका कर्मचारीलाई कस्तो कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ भन्ने हेक्का समेत नभएको आरोप लगाइन ।

सभापति गुरुङले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु-याउनुहुने सम्पूर्ण सहआयोजक संघ संस्थाहरु, मिडियाकर्मीहरु लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आउदा दिनहरुमा पनि यसै गरी साथ सहयोग पाउने आशा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघिय समाज इजरायलका अध्यक्ष सुन्दर लामा तामाङ,  लुम्विनी कपिलवस्तु दिवस अभियानकी अध्यक्ष मिना वान्तवा राई, नेपाल पर्वत सेवा समाजकी अध्यक्ष पर्वतमाला केसी लगायतका सह आयोजक संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य दिएका थिए ।  वक्ताहरुले नेपाली राजदूतावासको अनुपस्थितीप्रति असन्तुष्टी व्यक्त गरेका थिए ।

कार्यक्रममा ह्योल्मो समाज इजरायलकी अध्यक्ष प्मेवा डोल्मा ह्योल्मोले “जहाँ छन् वुद्दका आँखा” बोलको राष्ट्रिय गीत गाएर सम्पूर्ण उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन ।

कार्यक्रमबाट संकलित सहयोग रकम महाविर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिने आयोजकले जानकारी दिएका छन् ।
उपस्थितहरूलाई फलफुल तथा  प्रसादको व्यावस्था गरिएको थियो ।  वुद्दको महिमालाई विश्वले नै मान्दै आएको कुरालाई मध्यनजर गर्दै  नेपाल र नेपालीहरूको शान भगवान वुद्दले दिएको  उपदेश सर्वत्र सर्वमान्य रहेको स्मरण गर्दै शान्ती र्याली निकालिएको थियो । र्याली पश्चात्   उल्लेख्य नेपालीहरूको उपस्थिती रहेको सो कार्यक्रम  विहान १० वजेदेखी 2 वजेसम्म चलेको थियो । कार्यक्रम संचालन नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका महासचिव नयन इम्सोङ लिम्वु  र नेपाल तामाङ घेदुङकी वरिष्ठ उपाध्यक्ष नानीमाया योञ्जन तामाङले संयुक्त रूपमा गरेका थिए ।
स्मरण रहोस्  भगवान गौतम वुद्द राष्ट्रकै गौरव  भएकाले सम्पुर्ण नेपालीहरूकै एक विशेष पर्वको रूपमा मानिने वुद्द जयन्ती इजरायलमा  विगत २०१० देखि हरेक वर्ष यस्तै गरी भव्य रूपमा मनाइउदै आइरहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...