गोर्खाल्यान्ड आन्दोलन : नेपालीभाषीलाई सलाम

आस्था घिमिरे

Published Date: June 23, 2017

भारतको पश्चिमबङ्गाल राज्यस्थित दार्जिलिङका केही भूभागमा फेरि गोर्खाल्यान्ड आन्दोलन चर्किएको छ । दार्जिलिङ, डुबर्सलगायत क्षेत्रमा धेरैजसो नेपालीभाषी बसोबास गर्दै आएका छन् । दार्जिलिङको इतिहास हेर्दा सन् १७०५ सम्म भारतको सिलगढी छोडी यो जिल्ला जलपाईगुढी जिल्लासमेत सिक्किम देशको अंश थियो । हाल सिक्किम र दार्जिलिङलाई भारतले आफ्नो मुलुकमा गाभेको छ । 
सन् १८१६ को सुगौली सन्धिअगाडि दार्जिलिङ नेपालको भूभागअन्तर्गत पथ्र्यो । नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिपछि ब्रिटिस सरकारले दार्जिलिङलाई नेपालबाट छुट्ट्याएर सिक्किममा मिसायो । 
नेपाल राज्य विस्तार अभियानका क्रममा सन् १७८८ मा नेपालको सिक्किमसँग भीषण लडाइँ प¥यो । त्यसबेला पृथ्वीनारायण शाहको नेतृत्वमा चलेको उक्त नेपाल एकीकरण अभियानमा महान् नेपालीहरूले वीरता, शौर्य र साहस प्रस्तुत गर्दै दुस्मनलाई धुलो चटाई सिक्किमको पश्चिममा मेचीदेखि पुर्वामा टिस्टा नदीसम्मको ४,००० वर्गमाइलभन्दा बढी भूभागमा विजय हालिस गरी विशाल नेपालमा गाभ्न सफल भएका थिए । सन् १८१६ को कुख्यातः राष्ट्रघाती सुगौली सन्धिपछि नेपालले विजय हासिल गरेका अधिकांश भूभाग गुमाउनुपरेको थियो ।

आजको गोर्खाल्यान्ड आन्दोलन सुगौली सन्धिको पीडामा नसुकेको आँसुको अभिव्यक्ति हो । सुगौली सन्धिपछि ब्रिटिस सरकारले हाम्रो भूभाग मात्रै खोसेर लगेन । हाम्रा आफन्तहरू पनि सँगै खोसेर लाग्यो । दार्जिलिङ, सिक्किम, कालिङ्पोङ, खर्साङ, सिलगढीलगायत ठाउँका नेपाली रातारात अर्को मुलुकका भए । नेपालबाट त अर्को मुलुकका भए तर उनीहरू भारतीय नागरिक पनि हुन पाएनन् । उनीहरूको मुख्य चाहना नेपाली नागरिक हुनु थियो । नेपाली नागरिक नै हुन नपाए पनि आफ्नो पहिचानसहितको आत्मसम्मानका साथ बाँच्न पाऊँ भन्ने उनीहरूको चाहना थियो । तर भारत सरकारले कहिल्यै उनीहरूलाई आफ्नो नागरिकको व्यवहार गरेन । अझै भारतका भूपू प्रधानमन्त्री स्व. मोरारजी देसाईले सन् १९४९ को दार्जिलिङ भ्रमणको बेला उनीहरूलाई ‘तिमीहरू प्रवासी मात्र हौ र नेपाली भाषा हाम्रो भाषा होइन । यो त विदेशी भाषा हो’ भनेर दिएको अपमानपूर्ण अभिव्यक्तिले उनीहरूको चह¥याइरहेको घाउमा नुनचुक छरेको थियो । पीडा मात्र पीडामा सीमित भएन । बिस्तारै त्यो आक्रोशमा बदलिँदै गयो । यसको परिणाम आजसम्म गोर्खाल्यान्ड भारत सरकारका लागि कहिले आँधीतुफान बनेर आउँछ । कहिले धुवाँ, धुलोसहितको भीषण डढेलो बनेर आउँछ त कहिले सुनामी बनेर आउँछ । भारत सरकारका लागि गोर्खाल्यान्ड आन्दोलन ठूलो चुनौतीका रूपमा देखापरेको छ ।

नेपालीभाषीहरूले १९०७ देखि नै आन्दोलन गरेर स्वतन्त्र राज्यको माग गर्दै आएका थिए । वर्णित क्षेत्रमा बस्ने नेपालीभाषीहरू आफूलाई गोर्खाको पहिचान दिन चाहन्थे । फलस्वरूप ५ अप्रिल १९८६ मा गोर्खा राष्ट्रिय मुक्तिमोर्चाको निर्माण गरी गोर्खाल्यान्ड आन्दोलनलाई सशक्त बनाउन सुरु गरियो जसमा १२,००० मान्छेहरूले जीवन बलिदान गरेका थिए । दार्जिलिङका नेपालीभाषीहरूमाथि अन्याय र थिचोमिचो भएको प्रतिरोधका लागि गोर्खाल्यान्ड (१९८०), प्रान्तपरिषद् (१९८०), कालिम्पोङ स्वतन्त्र मञ्च (१९८५) नामका तीनवटा राजनीतिक संस्थाहरू स्थापित गरिए । तीनै पार्टीहरूको एउटै ध्येय थियो दार्जिलिङलाई बङ्गालबाट छुट्ट्याएर छुट्टै राज्य बनाउने । आर्थिक, सामाजिक, भाषिक रूपमा शोषण गरेको भन्दै उनीहरूले आन्दोलन चर्काउँदै लगे । आन्दोलनका क्रममा यहाँका हजारौँ घरहरू जले । हजारौँहजार मान्छेहरूले बलिदान गरे । ४० दिनसम्म दार्जिलिङ बन्द भयो । यसलाई भारत सरकारले राष्ट्रविरोधी अराजकताको उपमा दियो । आन्दोलनकारीलाई यसले झनै ऊर्जा थप्यो ।

यसै क्रममा सन् १९८८ अगस्ट २२ मा गोर्खा मुक्तिमोर्चाले भारत केन्द्र सरकार र पश्चिमबङ्गाल सरकारसँग सम्झौता ग¥यो । जुन कारणले गर्दा गोर्खाल्यान्ड राज्यको मागको आन्दोलन केही शिथिल र विचलित भयो । केन्द्र सरकारले गोर्खाल्यान्डको मागलाई बेवास्ता गर्दै बरु उत्तराखण्ड, छत्तीसगढ र झारखण्डको निर्माण गरिदिए । दार्जिलिङका नेपालीहरूले यसलाई गोर्खा मुक्तिमोर्चाले केन्द्र सरकार र पश्चिमबङ्गाल सरकारसँग गरेको धोकापूर्ण सम्झौताको उपज मान्दै हृदयमा ठूलो चोट पुगेको अभिव्यक्ति दिने गरेका छन् । 
नेपालीहरू यतिमै चुप लागेनन् बरु आवाज बुलन्द गर्न छोडेनन् । नयाँ आन्दोलनको नेतृत्व गोर्खा जनमुक्ति मोर्चा पार्टीले ग¥यो । सन् २००७ नोभेम्बर ३ देखि विमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाले गरेको आन्दोलन पनि ४२ दिनसम्म चलेर थामियो । १८ जुलाई २०११ मा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन नामको एकाइ बनाउने सम्झौतामा गोर्खाल्यान्ड राज्यको माग थाती राखियो । 
गोर्खा जनमुक्ति मोर्चाले पनि नेपाली धोका दिएको निष्कर्ष निकाल्दै अर्को आन्दोलनको सूत्रपात भयो जुन निरन्तर जारी छ । पटकपटक धोकाको सिकार हुँदै आएका नेपालीभाषी हाम्रा गुमेका आफन्तहरूको यसपटकको आन्दोलन भने सफल होस् । दार्जिलिङबासी नेपालीभाषीहरूलाई सलाम !



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...