किन भए भारतीय र चिनियाँ सेना आमने–सामने ?

Published Date: July 6, 2017

चार सातादेखि भारत र चीनबीच सीमा विवाद बढिरहेको छ । हिमाली क्षेत्रको ३५ सय किलोमिटर क्षेत्रमा दुई देशबीच विवाद बढेको हो । सीमा विवाद चर्केपछि सन् १९६२ मा भारत र चीनबीच युद्ध नै भएको थियो । सीमा विवाद दीर्धकालीन रूपमा समाधान नहुँदा दुई देशबीच बारम्बार तनाव बढ्ने गरेको छ । विवाद चुलिएपछि दुवै पक्षले सीमामा आ–आफ्ना सेनाको उपस्थिति बाक्लो बनाउँदै एकले अर्को पक्षलाई पछाडि हट्न आह्वान गरेका छन् ।

कसरी बल्झियो विवाद ?
चीनले भारतलाई छुने डोकलामदेखि चीनको डोङलाङसम्मको सीमा क्षेत्रमा सडक निर्माण गरेसँगै सीमा विवाद बल्झिएको हो । चीन, भारतको सिक्किम र भुटानबीच ‘जक्सन’ मानिने सो क्षेत्रमा भुटानको दाबीलाई भारतले समर्थन गरेको छ । सो सडक निर्माण पूरा भएमा भारतको रणनीतिक जोखिमको २० किलोमिटर क्षेत्र ‘चिकेन नेक’ मा चीनको पहुँच बढ्ने भारतको चिन्ता छ । चीनको सडक निर्माण समूहलाई भारतीय सेनाले रोकेको क्षेत्रीय विश्लेषक सुबिर बाहुमिकले बताए ।

‘हामीले गोली प्रहार गरेका छैनौँ । हाम्रा सिपाहीले केवल पर्खाल निर्माण गरी चिनियाँ अतिक्रमण रोक्ने प्रयास गरेका हुन्,’ भारतीय एक ब्रिगेडिएरको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ । भारतीय सीमा सुरक्षा गार्डले चिनियाँ पक्षको ‘सामान्य गतिविधि’ अवरोध गरेको चीनले गुनासो गरेको छ ।

भारतीय सीमा सुरक्षा गार्डले चिनियाँ पक्षको सामान्य गतिविधि अवरोध गरेको चीनको आरोप

अहिलेको अवस्था कस्तो छ ?
चीन र भारत दुवैले सीमा क्षेत्रमा सेना तैनाथ गरेका छन् । दुवै देशका सेना अहिले आमने–सामने र आँखा जुधाइको अवस्थामा छन् । सीमा क्षेत्रमा शान्ति कायम राख्न भारतीय सेना विनासर्त पछाडि हट्नुपर्ने भारतका लागि चीनका राजदूत लुओ झाओहुई बताउँछन् । चीनले सिक्किम हुँदै मानसरोवरका लागि हिँडेका ५७ भारतीय तीर्थयात्रीलाई फर्काइदिएको छ । यसअघि पवित्रस्थलमा विनारोकावट धर्मालम्बीलाई आवतजावत गर्न जान अनुमति दिने सहमति भएको थियो । यसैबीच, भुटानले पनि तत्काल सडक निर्माण कार्य रोक्न चीनसँग आग्रह गरेको छ । सडक निर्माणले दुई देशबीच विगतमा भएका सम्झौता उल्लंघन गरेको थिम्पुले जनाएको छ ।

के भन्छ भारत ?
सिक्किम रणनीतिक महत्वको क्षेत्र भएकाले त्यहाँबाट चिनियाँ अतिक्रमणविरुद्ध कारबाही चलाउन सकिने भारतीय सेनाको ठम्याइ छ । ‘भारतीय रणनीतिक महत्वको क्षेत्रलाई चीनले राम्रोसँग चिनेको छ । तसर्थ, उनीहरूले हाम्रो फाइदा लुट्न चाहन्छन्,’ भारतीय सीमा क्ष्ोत्रका भूतपूर्व कमान्डर जनरल गगनजित सिंह भन्छन् । सडक निर्माणले भारतलाई गम्भीर सुरक्षा खतरा निम्त्याउने भारतीय विदेशमन्त्रालयले जनाएको छ । त्यस्तै, रक्षामन्त्री अरुण जेइटले अहिलेको भारत र सन् १९६२ को भारतबीच आकाश जमिनको अन्तर भएको बताउँदै आफ्नो सीमा सुरक्षा गर्न भारत सक्षम रहेको बताएका छन् ।

के भन्छ चीन ?
सो क्षेत्रमाथि आफ्नो अधिकार भएको बताउँदै चीनले भारतले अतिक्रमण गरेको आरोप लगाएको छ । सन् १९६२ को युद्ध स्मरण गर्न दिल्लीलाई चुनौती दिँदै अहिलेको चीन त्यतिवेलाको भन्दा कैयाैँ  गुणा शक्तिशाली भएको बेइजिङले जनाएको छ । सिक्किमको सीमा सन् १८९० मा ब्रिटिस सरकारसँगको सम्झौतामा टुंग्याइएको र भारतीय पक्षबाट भएको उल्लंघन ‘गम्भीर’ भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । सडक परियोजनामा हस्तक्षेप गरेर भारतले भुटानको सार्वभौमसत्तालाई नजरअन्दाज गरेको आरोप चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

भुटानको भूमिका के ?
चीनको सडक निर्माण कार्य दुई देशबीचको सम्झौताविपरीत भएको दिल्लीका लागि भुटानका राजदूत भेटसोप नामग्यालले बताएका छन् । भुटान र चीनको औपचारिक दूतावास छैन तर दिल्लीमा रहेको मिसनमार्फत दुई देशबीच सम्पर्क हुन्छ । पछिल्लो समयमा बेइजिङले सीमा विवादका विषयमा दक्षिण दिल्लीको सबैभन्दा निकट मित्र थिम्पुसँग प्रत्यक्ष रूपमा ‘डिल’ गर्न प्रयासरत छ । ‘भुटानको सार्वभौमसत्ताको विषय उठाएर उनीहरूले थिम्पुलाई बेइजिङतर्फ फर्किन दबाब दिएका छन्,’ नाग्याल भने । नयाँ पत्रिका दैनिकमा प्रकाशित



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...