बुबासँग रकम धुत्न अपहरणको नाटक
news sectionदेश भित्र
एमके माझी / राजविराज
यहाँका एक भारतीय नागरिकले व्यापार घाटा पूर्ति गर्न आफैं अपहरित भएको नाटक गरेका छन् । भारतको सुपौल जिल्ला डगमारा ग्राम पञ्चायत–८ थाना कुनैली बस्ने २० वर्षीय देवचन्द्रकुमार मण्डलले आफैं अपहरणमा परेको नाटक गरेका हुन् । मोटर ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मण्डललाई कारोबारमा घाटा भएपछि त्यसको पूर्ति गर्न उनले नेपालमा रहेका आफ्ना मित्र नागेन्द्र र रविनको सहयोग लिई आफ्नै अपहरणको नाटक रचेका थिए ।
प्रहरीले मण्डल र उनका सहयोगी सप्तरी सुरुंगा नगरपालिका–५ का नागेन्द्र चौधरी र सिरहा धनगढी नगरपालिका–४ का रविन चौधरीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । नागेन्द्र र रविनले नेपाली मोबाइल नम्वर ९८११७४३४९२ बाट भारतमा रहेका देवचन्द्रका पिता गोसाई मण्डलको भारतीय मोबाइल नं. ९५०१६२०८५५ मा फोन सम्पर्क गरी तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ, ज्यूँदो चाहिए १ लाख भारतीय रुपैयाँ लिएर आउनु भन्दै धम्क्याउने गरेका थिए । छोरो अपहरणमा परेको खबरले पिता गोसाई मण्डल अत्तालिए । उनी छोराको रिहाइका लागि भारतीय प्रहरीसँगै नेपाल प्रहरीको पनि शरणमा पुगे ।
प्रहरीले पनि त्यसलाई गम्भीरतापूर्वक लिँदै अपहरणमुक्त र अपहरणकारी पक्राउ गर्न गोप्य योजना बनायो । योजनाअनुसार नै प्रहरीले सिकाएबमोजिम गोसाई मण्डल १ लाख ६० हजार रुपैयाँ लिएर अपहरणकारीले बोलाएको स्थान शम्भुनाथ बजार पुगेका थिए । फिरौती रकम बुझ्नै लाग्दा सादा पोसाकमा रहेका प्रहरीले चौधरीद्वयलाई पक्राउ गरेका थिए । पक्राउ परेका चौधरीकै बयानका आधारमा कडरवोनामा लुकेर बसेका देवचरणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
देवचन्द्रका अनुसार भारतमा रहेको मोटर ग्यारेजमा व्यापार गर्ने सिलसिलामा घाटा लागेको र टाट पल्टिने अवस्था आएकाले बुबा गोसाईसँग १ लाख रुपैयाँ सहयोग माग्दा नदिएकाले रकम थुत्न अपहरणको नाटक रचेको बताएका छन् । यस कामका लागि उनले नेपालमा रहेका आफ्ना मित्र नागेन्द्र र रविनलाई काम भएपछि ५÷५ हजारका दरले दिने आश्वासनसमेत दिएका थिए । अभिभावक र प्रहरीलाई समेत अनावश्यक दुःख दिने उनीहरूमाथि सार्वजनिक अपराध मुद्दाअन्तर्गत कारबाही चलाइने पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।