Loading...

डा. केसीको मागप्रति प्रवासी नेपाली नागरिक समाज इजरायलको ऐक्यवद्दता (विज्ञप्ति सहित)

Published Date: August 11, 2017

ए1न्यूज इजरायल

नेपाली चिकित्सा क्षेत्रको सुधारको माग राखी एघारौं पटक आमरण अनसनमा बस्नुभएका  डा. गोविन्द केसीको आन्दोलनमा इजरायलमा रहेका  नेपाली समुदायले ऐक्यवद्दता जनाएका छन् ।

चिकित्सा शिक्षा सम्बन्धी नीति र त्यस सम्बन्धीका सम्पूर्ण कार्यलाई ऐन बनाएर व्यवस्थित गर्नुपर्ने माग राख्दै अनशन बस्नुभएका डा. केसीको अभियानमा इजरायलमा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै स्थापित प्रवासी नेपाली नागरिक समाज इजरायलले  प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यवद्दता जनाएको बताएको छ ।

डा. गोविन्द केसीले राख्नुभएका मागहरु उहाँको व्यक्तिगत स्वार्थको निम्ती राखिएका नभएको र ती मागहरु पुरा भए जनताका मागहरु पुरा हुने बताउनुहुदै समाजले  उहाँको स्वास्थ्य दिन प्रतिदिन चिन्ताजनक अवस्थामा पुगिसकेको र  उहाँले सार्नुभएका मागका सम्वन्धमा राज्यपक्षबाट हालसम्म कुनै पहलकदमी नदेखिनु खेदजनक छ भन्दै चरण चरणको आमरण अनसनका दौरान डा. केसी र राज्य पक्षविच पटक पटक सम्झौता गरी राज्यले स्विकारेका विषयहरुमा समेत एक वृद्द चिकित्सकले पटक पटक आमरण अनसन बस्नुपर्ने अवस्था सृजना हुनु आफैमा दुखद र दुर्भाग्यपूर्ण परिस्थिती भएको बताएको छ ।

विज्ञप्तिको पूर्ण अंश :

प्रेस विज्ञप्ति

देशको समुन्नत विकास, प्रशासनिक प्रणालीको सुधार तथा जनताको सेवा सुविधा वृद्दि गर्ने राज्यका आधारभूत मान्यताहरू अहिले विलिन हुँदै गएका छन् । दलीय एवं निजी स्वार्थलाई भागबन्डाकै शैलीमा स्थापित गराउदै व्यक्तिगत फाइदा लिनकै निम्ति दलहरू सत्तासीन हुने प्रतिस्पर्धात्मक प्रवृत्तिले राष्ट्रिय ढुकुटीको दुरूपयोग भइरहेको एकातिर छ भने स्वास्थ्य सुविधामाथि निजी नाफाखोरलाई खेल्न दिने मति भएकाहरूको सिकार भएर स्वास्थ्य सेवाको क्षेत्र लथालिंग हुन पुगेको छ । यस्तो परिस्थितीमा मलुकको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा व्याप्त वेथिती र भ्रस्टाचार, नेपालको वर्तमान स्वास्थ्य शिक्षा र स्वास्थ्योपचारको पद्धतिगत ढाँचामा सुधार, समस्त नागरितलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता लगायतका वहु आयामिक मागहरु राखी पटक पटक आमरण अनसनमा वस्नुभएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक श्रदेय डा. गोविन्द केसी पुन: ११औ आमरण अनसनमा हुनुहुन्छ ।

डा. गोविन्द केसीले राख्नुभएका मागहरु उहाँको व्यक्तिगत स्वार्थको निम्ती राखिएका मागहरु छैनन् । सर्वसाधारणले बुझ्ने भाषामा भन्नु पर्दा श्रदेय डा. केसीका मागहरु पुरा भएको खण्डमा  नेपालको वर्तमान स्वास्थ्य शिक्षा र स्वास्थ्योपचारको पद्धतिगत ढाँचमा निकै सुधार आउनेछ । साधारण जनताका छोराछोरीले सहजै रुपमा डक्टरी पढ्न पाउनेछन् भने पैसाको अभावमा चिकित्सक बन्न नपाइने अहिलेको अवस्थाको अन्त्य हुनेछ । राजधानी केन्द्रित मेडिकल कलेज देशका अरू भागमा फैलनेछन् अर्थात् मेडिकल शिक्षा र उपचार सुविधाको विकेन्द्रिकरण हुनेछ । सुदूर इलाकाका मानिसलाई ठूलो खर्च व्यहोरेर काठमाडौं आई उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । नेपालको स्वास्थ्य क्षेत्रमा जरो गाडेर बसेका स्वास्थ्य माफियाहरुको जालो तोडिने छ । मेडिकल शिक्षाको गुणस्तरमा सुधार आउनेछ । राजनीतिक दल या मेडिकल काउन्सिलका मान्छेलाई प्रभावित गरेर मेडिकल कलेज खोल्ने र पैसा कमाउँदै कमसल डाक्टर उत्पादन गरी जनताको स्वास्थ्यमा खेलबाड गर्नेहरूलाई निरुत्साहित गराउने लगायतका अन्य थुप्रै महत्वपूर्ण जनपक्षिय मागहरु डा. केसीले सरकारसँग राख्नुभएको छ । जनताको हितमा भनेर जनताको नामको माला जप्दै पटक पटक सत्ताको स्वाद चाख्न पल्किएका सत्तासिनहरु स्वविवेकले यस किसिमका जनपक्षिय काम गरी जनताको मन जित्नुको सट्टा  स्वास्थ्य शिक्षा र उपचारलाई सर्वसाधारण जनताको पहुँचमा होइन, सीमित माफियाको हातमै केन्द्रित गर्न मरिहत्ते गर्नुको पछाडि गम्भिर जालझेल देखिन्छ, यो विडम्बनातर्फ सत्तासिनहरु गइदिए डा. केसीको अनशन तोडिने र जनताका माग पनि पूरा हुने थिए ।

आज उहाँ अनसनमा बसेको पनि १९ दिन पुगिसकेको छ । डा.केसीको स्वास्थ्य दिन प्रतिदिन चिन्ताजनक अवस्थामा पुगिसकेको छ । उहाँले सार्नुभएका मागका सम्वन्धमा राज्यपक्षबाट हालसम्म कुनै पहलकदमी नदेखिनु खेदजनक छ । चरण चरणको आमरण अनसनका दौरान डा. केसी र राज्य पक्षविच पटक पटक सम्झौता गरी राज्यले स्विकारेका विषयहरुमा समेत एक वृद्द चिकित्सकले पटक पटक आमरण अनसन बस्नुपर्ने अवस्था सृजना हुनु आफैमा दुखद र दुर्भाग्यपूर्ण परिस्थिती हो भन्ने प्रवासी नेपाली नागरिक समाज इजरायलको वुझाई छ ।  प्रवासी नेपाली नागरिक समाज इजरायल डा. केसीका मागहरुप्रति पूर्ण ऐक्यवद्दता जनाउदै जनताका मागहरु पुरा गर्न कत्तिपनि ढिलाई नगर्न सरकारसँग जोडदार माग गर्दछ । साथै डा. केसी जस्तो एक निष्ठावान नागरिकको मुलुकलाई युगौं युग खाँचो परिरहने प्रति सरकारको ध्यानाकर्षण गराउन चाहान्छौ । उहाँका मागहरु राज्यपक्षबाट सम्वोधन हुन जति ढिलो गरियो, त्यतिनै उहाँको स्वास्थ्यस्थिती जटिल वन्न जाने हुदा नेपालमा व्यप्त चरम निराशाका विच बलिरहेको एउटा आशाको दियोलाई निभ्न नदिने जिम्मेवारी सरकारको रहेकोतर्फ पनि ध्यानाकर्षण गराउदै डा. केसीको आमरण अनसन साढे ३ करोड नेपालीका पक्षमा उपलव्धिमुलक तुल्याउदै उहाँको जीवन रक्षा गर्नकालागि यथाशक्य सिघ्र पहलकदमी लिन सरकारसँग जोडदार माग गर्दछौं ।

     .  .  .  .  .  .  .  .  .  .  .  .  .  .                                                                             .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .  .

      सुदिरवावु भट्ट                                                        श्री कृष्ण भण्डारी

        महासचिव                                                              अध्यक्ष



Recent Post
Recommendation
आजको भिडियो
Loading...