नयाँ शक्तिबाट पौडेलसहित १५ शीर्षनेता हटाइए

Published Date: August 19, 2017

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा देवेन्द्र पौडेलसहितका १५ शीर्षनेता हटाइएका छन् । यसअघि ‘पार्टी सुदृढीकरण’का लागि भन्दै अभियान चलाएका उनीहरूलाई निष्कासित गरिएको हो ।

संयोजक भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी नीति र विचारविपरीत गतिविधि गरेकाले उनीहरूलाई सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्कासन गरिएको बताएका छन् ।

नेताहरू देवेन्द्र पौडेल, वामदेव क्षत्री, मुक्ति प्रधान, महेन्द्र पासवान, पासाङ शेर्पा, कुमार पौडेल, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, बाहिद्र अन्सारी, हरि चौलागाईं, शर्मिला तामाङ, रत्न राना र रवीन्द्र सुनुवारलगायत १५ जनालाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘१५ जनाले पार्टीको नीति र विचारविपरीत कार्य गर्दै आएकाले पटक–पटक यसो नगर्न सचेत गराए पनि उहाँहरूले पार्टी विरोधी गतिविधि गरिरहेकाले सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्काशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पौडेलसहितका नेताले गत २६ साउनमा पत्रकार सम्मेलन गरेर संयोजक भट्टराईको कार्यशैली र नीतिप्रति असन्तुष्टि जनाउँदै पार्टी सुधारका लागि आग्रह गरेका थिए । लगत्तै भट्टराईले २७ साउनमा पन्ध्रै  नेतालाई स्पष्टीकरण सोधेका थिए ।

पौडेलसहितका नेताले संयुक्त रूपमा स्पष्टीकरण पेस गरे पनि संयोजक भट्टराईले उनीहरूलाई कारबाही गरेका हुन् । स्रोतका अनुसार पौडेलसहितका नेता नेकपा माओवादी केन्द्रमा फर्कने तयारी गरेपछि भट्टराईले कारबाही गरेका हुन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...