Loading...

श्रीमान् विदेश छन्, गर्भपतनको औषधि किन्न श्रीमति मेडिकल धाउँछन् !

Published Date: September 1, 2017

सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको भएपनि आफ्नो ज्यान जोखिममा पार्दै असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ ।
सुरक्षित गर्भपतनका बारेमा जानकारीको अभाव तथा सामाजिक असहजताका कारण लुकिछिपी असुरक्षित गर्भपतन गराउनेकाे संख्या ठूलाे भएको स्वास्थ्यकर्मीहरु बताउँछन ।

विवाहितभन्दा अविवाहित युवतीले लुकिछिपी औषधी पसलहरुबाट गर्भपतनको औषधी किनेर असुरक्षित गर्भपतन गर्ने गरेको औषधी पसल संचालक बताउँछन् । पछिल्ला वर्षहरुमा गर्भपतन गराउने विवाहित जस्तै अविवाहित पनि आउने गरेको जानकारी नाम नखोल्ने सर्तमा एक औषधी पसल सञ्चालकले बताए ।

‘सुरक्षित गर्भपतन गर्न कानुनले छुट दिएको छ, औषधी सस्तो पनि पर्छ । जिल्ला अस्पताल जान भन्छौँ, तर युवतीहरुले लाजले हामीबाट औषधी लिएर गर्भपतन गर्ने गरेका छन् ।’ एक औषधी पसल सञ्चालकले भने ।

अहिले आएर श्रीमान् विदेश गएकाहरुका श्रीमती पनि औषधी लिएर गर्भपतन गर्ने गरेको अर्का एक औषधी पसलका सञ्चालकले बताए ।

जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट यौन शिक्षाका लागि वर्षेनी करोडौँ रुपैयाँ खर्चिएपनि यौन शिक्षा भने अझैसम्म युवायुवतीसम्म पुग्न सकेको छैन् ।

विशेष गरि २० वर्ष मुनिका स्कूल तथा क्याम्पस पढ्ने अविवाहितहरुले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्यकर्मीहरुको दावी छ ।

असुरक्षित गर्भपतन गर्दा अविवाहित युवतीहरुमा बाँझोपन आउन सक्ने, साल पाठेघरमा अड्कीने साथै रगत बढी बगेर मृत्यु हुने अवस्था आउने जिल्ला अस्पताल तेह्रथुमका डाक्टर मुक्तिनारायण शाहले बताए ।

विवाहितहरु जिल्ला अस्पतलमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट गर्भपतन गराउँछन भने अविवाहितहरु लाजले गर्दा अस्पताल नआउने गरेको जिल्ला अस्पतालकी अनमी शोभा लिम्वुले बताइन् ।

हामी पनि विवाहित, अविवाहित वा कसैको पनि गर्भपतन गराउँदा नाम गोप्य राख्छौँ, तर सरकारी अस्पतलमा बढी कर्मचारी हुने भएकाले सार्वजनिक हुन्छ भन्ने डरले युवतीहरु अस्पताल भन्दा निजी औषधी पसलमा जाने गरेको उनले बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गर्भपतन गराउनेको संख्या पछिल्लो वर्षमा वढ्दै गएको छ । जस मध्ये महिनामा १० देखि १५ जना सम्म आउने गरेको अस्पतालका सिनियर अहेव गणेश बुढाथोकीले बताए । आज भोलि केही अविवाहित युवतीहरुले डिपो लगाउने गरेको पनि स्वास्थ्यकर्मीहरु बताउँछन । उनिहरुले ढाँटेर विहे गरेको छ भन्दै लगाईदिन आग्रह गर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

आधुनिक सञ्चारमाध्यमको विकास सँगै युवायुवतीहरुको हातमा मोबाईल र ईन्टरनेटको सुविधा भएको हुँदा मोबाईलमा अस्लिन फिल्म हेर्ने गर्नाले पनि कलिलो उमेरमा युवायुवतीहरु आफ्नो केटा वा केटी साथी बनाएर यौन कृयाकलाप बढाउदै गएका छन । जसले गर्दा यहाँका युवतीहरु लुकिछिपी असुरक्षित गर्भपतन गराउन दिन प्रतिदिन बाध्य भएकोे सरोकारवालाहरुले बताएका छन् ।

प्रकाश धौलाकोटी, नयाँ पत्रिका दैनिकमा प्रकाशित



Recent Post
Recommendation
आजको भिडियो
Loading...