Loading...

एन आर एन इजरायलको लज्जास्पद भाँडभैलो

~ दिपिका भुसाल 

Published Date: September 16, 2017

~ दिपिका भुसाल

गैह्र आवासिय नेपाली संघ इजरायलको पदस्थापना तथा बिदाई कार्यक्रममा खिचिएका भिडियोहरु सामाजिक संजालमा यत्र तत्र सर्वत्र: भएछन । यस्तो साह्रै लज्जास्पद अवस्थाको सृजना कसरी हुन्छ ?
समाज बदल्ने र देश बनाउने एन आर एनको अभियानमा सक्रियता पूर्वक लागि पर्ने भनेर ठुला ठुला कुरा गर्ने इजरायलमा रहेका सामाजिक अभियन्ताहरुले आफ्नो हैसियत यसरी लिलाम नगरेको भए हुने थियो ।
आपसी मनमुटावलाई समेत हामी संस्था भित्र लिएर जान्छौं । एन आर एनमा मात्र होइन इजरायलमा रहेका अन्य सामाजिक संस्थाहरु भित्र पनि यस किसिमका झगडाहरु पटक पटक देख्न पाईन्छ । आखिर हामी नेपालीहरु नै एक आपसमा किन मिलेर रहन सक्दैनौ ? कुन त्यस्तो तत्व छ हामी भित्र जसले खाली लड्न, विवाद गर्न र अनुशासन बिर्सेर एक आपसमा आरोप प्रत्यारोप र हात हालाहालको अवस्थामा पुर्याउछ हामीहरुलाई ? मनन गर्ने बेला भएन र  ?
हामी धाकका कुरा गर्छौं । हामी जुनसुकै काम गरेपनि अथवा जुनसुकै पेसामा आवद्द रहेको भएपनि संसारका कुनै एन आर एन भन्दा कम छैनौं भनेर सगर्व घोषणा गर्दछौं तर अनावश्यक ठाउँमा हामी भित्र नरहेको विद्दतालाई बल पूर्वक अरुमा लाद्न खोज्छौं । त्यसरी लादिएको विद्वताले पारेको प्रभाव प्रत्युत्पादक हुन्छ भनेर अगुवाहरुले कहिले मनन गर्नुहुन्छ ? त्यो दिन चाडै आओस भन्ने कामना बाहेक केहि गर्न सकिएन ।
देशका नेताले केही गरेनन,  पद र कुर्चीको लागि मात्र लुछाचुडी गर्छन भनेर आफ्नो देशका नेताहरुको आलोचना गरेर नथाक्ने हामीलाई फेरी पदको लागि यसरी बुर्कुशी मार्न कुन नैतिकताले दियो ? आजको प्रश्न यहि हो ।
हुँदै नभएका र गर्दै नगरिएका कामहरु लाइ समेत यसो गरियो उसो गरियो भनेर सामाजिक संजालमा मिठास पुर्ण कुराहरु पोष्ट गर्दैमा सामाजिक अभियन्ता भईने भए हरेक मान्छे अगुवा हुन्थे होला ।
समाजले अगुवा मानिसकेका र अगुवाको रुपमा इजरायलमा रहेका धेरै जनताले स्विकारिसकेका ब्यक्ती हरुले पदकों लागि गरेको लुछालुछ र प्रदर्शन गर्नुभएको बाँदरे प्रवृत्तीले सम्पूर्ण इजरायलवासी नेपालीहरुलाई लज्जित बनाएको छ । आम मान्छेको नजरमा संस्थाप्रतिको गरिमालाई बचाउदै र बढाउदै लैजानको लागि अगुवाहरु अनुशासित र संयमित हुनै पर्दछ ।
आफ्नो निहित स्वार्थको लागि स्कुले केटाकेटी जस्तो आपसमा भिडेर र अभद्र ब्यबाहार प्रदर्शन गर्दै एन आर एन इजरायल जस्तो पबित्र संस्थालाई समेत दुषित बनाउने जुन कार्य भयो त्यो अत्यन्तै निन्दनीय छ । लज्जास्पद अभिव्यक्ति दिएर अथवा अभद्र ब्यवहार प्रदर्शन गरेर आम इजरायलबासी नेपालीहरुले समेत लज्जाबोध गर्नुपर्ने अवस्थाको सिर्जना फेरी नहोस् भन्दै पदस्थापना हुनुभएका नयाँ कार्यसमितिका मित्रहरुलाई सफल कार्यकालको शुभकामना दिन चाहान्छु ।
साथै बिबिध कारणवस संस्थामा नअट्नु भएका मित्र  पराजित त्यो भन्दा अघिल्लो समयमा पराजित या अहिले पराजित जो सुकै होउन संस्थालाई समाबेसी बनाउने धुनमा पराजितहरु जति सबैलाई समेट्न कुनै कार्यसमितिले पनि सक्दैन र त्यसो गर्नुपनि हुदैन । हार्नेहरुले पनि संस्थामा आफु रहेमात्र संस्था रहने किसिमको सोच लाइ त्याग्नु जरुरी देखिन्छ । संस्थामा रहेर समाजसेवामा सक्रिय हुने रहर हो भने संस्था बाहिरै रहेर पनि सेवामुलक काम गरेका ज्वलन्त उदहारण हरु हाम्रा सामु छन् । पद मात्र ओगट्न संस्था भित्र स्थान खोजिएको हो भने त्यसलाई पदको सम्मान कुनै हालतमा मान्न सकिन्न । अन्त्यमा एन आर एन संस्था इजरायलमा रहेका सम्पूर्ण नेपालि दाजुभाई तथा दिदीबहिनी हरुको आस्थाको केन्द्र बन्न सकोस भन्ने कामना गर्दछु ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...