Loading...

कलाकारकाे रिल र रियल जिन्दगी : कसलाई को फिट ?

Published Date: October 30, 2017

‘रिल’मा दर्शकको नजरमा जमेको हिरो–हिरोइनको जोडी थुप्रै छन् । ५० को मध्यदशकयताको कुरा गर्दा दर्शकले राजेश हमाल र करिश्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ–निरुता सिंह र झरना थापा, निखिल उप्रेती र सञ्चिता लुइँटेल अनि आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई खुबै मन पराए ।

आर्यन सिग्देल र रेखा थापाको जोडीले पनि ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चो¥यो मन’बाट दर्शकको मन जितेको थियो । अहिले उनीहरूको ‘रुद्रप्रिया’ हलहरूमा चलिरहेको छ । आर्यन र रेखाको झन्डै ८ वर्षको अन्तरपछि यही फिल्मबाट पर्दामा पुनर्मिलन भएको थियो । तर, यो फिल्मबाट दर्शकले उनीहरूलाई पहिलाजस्तो ‘नोटिस’ गरेनन् ।

एकताका भुवन केसी र तृप्ति नाडकरको जोडी निकै जमेको थियो । ‘कुसुमे रुमाल’, ‘सम्झना’ र ‘साइनो’ फिल्मले उनीहरूलाई निकै चर्चित बनाएका थिए । तृप्तिपछि भुवनलाई करिश्मा मानन्धरसँग पनि निकै मन पराइयो । भुवन र करिश्माले ‘मायालु’, ‘महादेवी’, ‘सपना’लगायतका फिल्ममा सँगै काम गरे । ‘करोडपति’ फिल्ममार्फत आफूलाई निर्माणमा समेत होमेका भुवनले त्यसपछि फिल्म अभिनय कम गर्दै लगे ।

करोडपति हिट भएपछि उनी तत्कालीन कान्छी पत्नी सुस्मितासँगै ‘नेपाली बाबु’, ‘सुपरस्टार’, ‘तँ त साह्रै बिग्रिस् नि बद्री’, ‘बाबुसाहेब’ र ‘म तिमीविना मरिहाल्छु’मा देखिए । उनीहरूको जोडी न ‘रिल’ न त ‘रियल’मा नै जम्यो । अन्ततः भुवन र सुस्मिता छुट्टिए ।

भुवनले फिल्म अभिनय कम गरेपछि करिश्माको ‘केमेस्ट्री’ राजेश हमालसँग मिल्यो । त्यतिवेलाका अधिकांश फिल्ममा राजेश र करिश्मा हुन्थे । दर्शकले यो ‘रिल’ जोडीलाई निकै मनपराएको थियो । उनीहरूले ‘प्रतीक्षा’, ‘कान्छा’, ‘अल्लारे’, ‘मिस्टर रामकृष्णे’, ‘ताल’, ‘साथी’, ‘ढुकढुकी’, ‘वसन्ती’, ‘वरदान’लगायतका फिल्ममा सँगै अभिनय गरेका छन् ।

करिश्माअघि हमालको कृष्टि मैनालीसँगको जोडी पनि दर्शकले मनपराएका थिए । हमाल र मैनालीले ‘युगदेखि युगसम्म’, ‘कसम’, ‘अधिकार’, ‘गोपीकृष्ण’लगायतका फिल्ममा सँगै अभिनय गरेका थिए ।

निर्देशक शिव रेग्मीका अधिकांश फिल्ममा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह सँगै देखिए । ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘कहाँ भेटिएला’ मात्र होइन, नारायण पुरीको ‘आफ्नो घर आफ्नो मान्छे’, दीपक श्रेष्ठको ‘दुःख’, प्रदीप श्रेष्ठको ‘अजम्बरी नाता’ फिल्ममा पनि श्रीकृष्ण र निरुताको जोडी निकै मन पराइयो । श्रीकृष्णसँगै ‘ए मेरो हजुर’, ‘पाहुना’, ‘सुख–दुःख’, ‘हामी तीन भाइ’लगायतका फिल्ममा झरना थापासँगको जोडी पनि निकै चलेको थियो ।

एक्सन हिरो निखिल उप्रेतीले थुप्रै हिरोइनसँग अभिनय गरे पनि सञ्चिता लुइँटेलसँगको ‘रिल’ जोडी दर्शकले मनपराएका थिए । निखिल र सञ्चिताले ‘चोर–सिपाही’, ‘दाग– नमेटिएको घाउ’, ‘माया त माया हो’, ‘विजयपथ’लगायतका फिल्ममा सँगै अभिनय गरे ।

फिल्म अभिनयकै क्रममा निखिल र सञ्चिता प्रेममा परे । सात वर्षअघि उनीहरूले आफूहरूको प्रेमलाई बिहेमा परिणत गरे । निखिलले सञ्चितालाई कान्छी पत्नीका रूपमा भित्र्याए । उनीहरूका एक छोरा र एक छोरी छन् । तर, पछिल्लो समय उनीहरू सँगै फिल्ममा भने देखिएका छैनन् ।

आर्यन सिग्देल आफू र नम्रता श्रेष्ठको जोडी ‘फिट’ हुने ठान्छन् । सुदर्शन थापाको ‘मेरो एउटा साथी छ’मा पहिलोपटक सँगै अभिनय गरेका आर्यन र नम्रताले त्यसपछि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा सँगै अभिनय गरे । चर्चा भए पनि आर्यनले निर्माण गरेका दुवै फिल्मले आर्थिक मुनाफा भने दिलाएनन् । त्यसकारण आर्यन अब निर्माण गर्ने फिल्ममा नयाँ हिरोइन राख्ने सोचमा छन् ।

वास्तविक दम्पती निर्देशक तुलसी घिमिरे र भारती घिमिरे, निर्देशक शम्भु प्रधान र नूतन प्रधान, विनोद मानन्धर र करिश्मा मानन्धर, कृष्ण मल्ल र शर्मिला मल्ल, झरना थापा र सुनील थापा, निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछानेलाई दर्शकले हत्तपत्त भुल्न सक्दैनन् ।

निर्देशक तुलसी घिमिरेको ‘कोसेली’ फिल्ममा उनकी पत्नी भारती हिरोइन थिइन् । त्यसपछिका उनका फिल्ममा पनि भारतीले महत्वपूर्ण भूमिकामा अभिनय गरिन् । ‘दक्षिणा’मा त तुलसी र भारती पति–पत्नी भएरै अभिनय गरेका थिए ।

निर्देशक शम्भु प्रधानका लगभग सबै फिल्मको स्क्रिप्ट राइटरमा पत्नी नूतनको नाम हुने गरेको छ । त्यति मात्रै होइन, पति शम्भुले ‘सक्कली–नक्कली’ फिल्ममा त पत्नी नूतनलाई नै हिरोइन बनाए । ‘स्वर्ग’ फिल्ममा नूतनलाई महालक्ष्मीको भूमिकामा उतारे । ‘सरस्वती’ फिल्ममा पनि नूतन प्रमुख भूमिकामै थिइन् । पछिल्लो फिल्म ‘रंग बैजनी’ असफल भएपछि भने प्रधानले फिल्म निर्माण गरेका छैनन् ।

अभिनेत्री करिश्माका पति विनोद मानन्धरले ‘महादेवी’, ‘सारंगी’लगायतका केही फिल्ममा चरित्र भूमिका निर्वाह गरेका छन् । तर, पछिल्लो समयमा उनी अभिनयमा सक्रिय छैनन् । करिश्मा र विनोदले ‘ढुकढुकी’, ‘बाबुसाहेब’ र ‘फागु’ फिल्म निर्माण गरेका थिए । ‘रिल’ मा त होइन, ‘रियल’मा भने करिश्मा र विनोदको जोडीको चर्चा यद्यपि हुने गर्दछ ।

अभिनेत्री झरना थापा र सुनीलकुमार थापालाई पनि आदर्श जोडी मान्ने गरिएको छ । सुनीलकुमार फिल्म निर्माणमा मात्र संलग्न छन् । उनलाई अभिनयमा रुचि छैन । आफ्नो करिअर उचाइमा पु¥याउन पति सुनीलकुमारको महत्वपूर्ण रहेको झरना बताउने गर्दछिन् । झरना र सुनीलले ‘धर्मसंकट’, ‘गोर्खाली’, ‘ए मेरो हजुर’, ‘तक्दिर’, ‘फेसबुक’ र ‘ए मेरो हजुर–२’ फिल्म निर्माण गरिसकेका छन् । एक–अर्कामा माया र विश्वासका कारण फिल्मकारितामा सफल भएको उनीहरू बताउने गर्दछन् ।

निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछानेको दाम्पत्य जीवन पनि सुमधुर चलिरहेको छ । फिल्म तथा सिरियल निर्देशनमा सक्रिय ऋषि एक समयका अभिनेता हुन् । उनी ४० को दशकको अन्त्यतिर केही भिडियो फिल्ममा हिरो बनेका थिए । तर, उनले अभिनय चटक्कै छाडेर निर्देशन यात्रा तय गरे । ‘मुक्ति’ सिरियलको सफलतापछि सरिताले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘फिंगर प्रिन्ट’लगायतका फिल्ममा अभिनय गरिन् ।

अभिनेता कृष्ण मल्ल र अभिनेत्री शर्मिला मल्लको जोडी पर्दामा झैँ वास्वतिक जीवनमा पनि जमेकै छ । ‘वासुदेव’ फिल्ममा सँगै अभिनय गरेका उनीहरू एकाएक प्रेममा परे । र, वैवाहिक जीवन सुरु गरे । बिहेपछि उनीहरू थुप्रै टेलिशृंखला, ‘गोठालो’, ‘बादल’ र ‘लगनगाँठो’ फिल्ममा सँगै देखिए । आफूहरूले निर्माण गरेको लगनगाँठो असफल भएपछि यो जोडीले फेरि फिल्म बनाएको छैन ।
निर्देशक रमेश बुढाथोकी र अभिनेत्री विना बुढाथोकी पनि पति–पत्नी हुन् । उनीहरूले ‘मोहन’, ‘छोरो’लगायतका फिल्मका साथै केही टेलिसिरियलमा सँगै काम गरेका छन् ।

पछिल्लो समय फिल्ममा जमेको ‘रियल’ जोडी हो–निश्चल बस्नेत र स्वस्तिमा खड्काको । ‘लुट’बाट उदाएका निर्देशक निश्चल र ‘होस्टेल रिटन्र्स’बाट अभिनय यात्रा सुरु गरेकी स्वस्तिमालाई ‘दुई रुपैयाँ’ फिल्मको ‘कुटुमा कुटु सुपारी दाना’ गीतबाट दर्शकले निकै मन पराए । पछिल्लो समय निश्चल फिल्म निर्देशनका साथै अभिनयमा समेत स्थापित हुन लागिपरेका छन् ।

त्यसैगरी, निश्चलपत्नी स्वस्तिमाले पनि आफूलाई हिरोइनका रूपमा चलायमान बनाउँदै लगेकी छिन् । उनले होस्टेल रिर्टन्सपछि ‘लभलभलभ’ र ‘छक्का पन्जा–२’मा अभिनय गरिन् । दुई रुपैयाँको एउटा गीतको नृत्यमा मात्र निश्चल र स्वस्तिमालाई हेर्न पाएका दर्शकहरूले यो जोडीले सँगै फिल्ममा अभिनय गरेको हेर्न चाहेका छन् ।

सँगै काम गरिरहेका दम्पतीको कुरा गर्दा निर्देशक वसन्त निरौला र अभिनेत्री तथा कोरियोग्राफर पवित्रा आचार्यको पनि नाम आउँछ । आफूले निर्देशन गर्ने फिल्ममा सकभर पत्नी पवित्रालाई हिरोइन बनाउने जोडमा हुन्छन्, वसन्त ।

हिरोइनको भूमिका नभएमा कोरियोग्राफी भए पनि गराउने गरेका छन् । यसको पछिल्लो उदाहरण ‘मेला’ फिल्म हो । वसन्त निर्देशित मेलामा अशिष्मा नकर्मी हिरोइन छिन् । पवित्राले भने कोरियोग्राफी गर्नुका साथै ‘परिचय पाउन हो नानीको’ बोलको एउटा गीतमा गजित विष्टसँग नृत्य गरेकी छिन् । वसन्तले निर्देशन गरेको ‘विजयपथ’, ‘राजनीति’, ‘आवेग’ र ‘होली डे’, चारवटा फिल्ममा पत्नी पवित्रा नै हिरोइन छिन् । पत्नी पवित्रालाई हिरोइन लिने वसन्तको प्रयास ‘मेला’ र ‘समर्पण’मा भने सफल हुन सकेन ।

सँगै फिल्ममा काम गरिरहेको जोडीको कुरा गर्नुपर्दा मुख्य रूपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दीपकराज गिरी र दीपाश्री निरौला अनि छविराज ओझा र शिल्पा पोखरेल अग्रपंक्तिमा आउँछन् ।  खुल्लम खुल्ला प्रेममा रहेका केही जोडीको कुरा गर्नुपर्दा निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ, अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी, अभिनेत्री वर्षा राउत र अभिनेता–निर्माता संजोग कोइरालाको नाम छुटाउनका कहाँ मिल्यो र ?

नयाँ पत्रिका दैनिकमा प्रकाशित 



Recent Post
Recommendation
आजको भिडियो
Loading...