Loading...

सिटौलाविरुद्ध लिङ्देनलाई वाम गठबन्धनको साथ

Published Date: November 1, 2017

झापा क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई वाम गठबन्धनले सघाउने र अन्य क्षेत्रमा राप्रपाले गठबन्धनलाई सघाउने सहमति –

कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले क्षेत्र नम्बर ३ राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई छाड्न नमानेपछि झापामा नयाँ गठबन्धन बनेको छ । अब लिङ्देनलाई वाम गठबन्धनले सघाउने भएको छ भने अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सघाउनेछ ।

कांग्रेसका उम्मेदवार हराउन वाम गठबन्धनलाई सहयोग गर्ने आन्तरिक सहमति भइसकेको राप्रपाका एक नेताले बताए । वाम गठबन्धनले राप्रपा महामन्त्री लिङ्देनलाई नै सघाउने निर्णय गरिसकेको एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले पनि पुष्टि गरे ।

एमाले नेता देवेन्द्र दाहालका अनुसार झापा–३ मा गठबन्धनले राप्रपा उम्मेदवारलाई सघाउने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सघाउने सहमति भएको छ । ‘लिङ्देनलाई सघाउने कुरा साँचो हो,’ एमाले प्रदेश नम्बर १ कमिटी सदस्यसमेत रहेका दाहालले भने, ‘यसमा कुनै द्विविधा छैन, लिङ्देनलाई एमालेले सघाउँछ, जो चुनावी गठबन्धन हो ।’

उता लिङ्देनले भने एमालेले औपचारिक निर्णय सार्वजनिक गरेपछि मात्रै आफूले यस विषयमा आधिकारिक धारणा राख्ने बताए । तर, झापामा कांग्रेससँगको गठबन्धन भने तोडिएको उनले दोहोर्‍याए ।

यसअघि कांग्रेसले झापा–३ मा लिङ्देनलाई समर्थन गर्ने सहमति गरेको थियो । सिटौलालाई समानुपातिक सूचीमा राखेको थियो । तर, सिटौलाले तीव्र असन्तुष्टि जनाएपछि कांग्रेसले त्यहाँ उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गत स्थानीय निर्वाचनमा झापा–३ मा पर्ने तहका वडाध्यक्षको मत जोड्दा एमाले सबैभन्दा अगाडि छ । यस क्षेत्रमा केचनाकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिकासँगै भद्रपुरको वडा नम्बर १ देखि ८ सम्म र बिर्तामोड नगरपालिका वडा नम्बर १० पर्छ । यहाँ एमालेले २० हजार दुई सय ९६, कांग्रेसले १८ हजार दुई सय ६०, माओवादीले १० हजार चार सय ४४ र रप्रपाले १२ हजार आठ सय ८१ मत पाएका थिए । – नयाँ पत्रिका दैनिकबाट



Recent Post
Recommendation
आजको भिडियो
Loading...