Loading...

गुह्येश्वरी जात्रा

–गोपाल प्रसाद पण्डित

Published Date: November 4, 2017

– गोपाल प्रसाद पण्डित

पशुपतिक्षेत्रमा मनाइने जात्रा पर्वहरुमध्ये वालाचतुर्दशी (सत्विज छर्ने) पर्व भर्खरै सकिएको छ । केहिदिनअघि गणेश जात्रा (चन्द्रविनायक) र गुह्येश्वरी जात्रा सकिएको थियो । गुह्येश्वरी जात्रा मनाइ रहँदा मेरा वचपनका यादगारहरु ताजा भएर आउने गर्दछन् । तलेजु भवानीको आकृति (मूर्ती) लाई वाजागाजाका साथ प्रत्येक वर्ष गुह्येश्वरी मन्दिरमा ल्याउने परम्परा रहिआएको छ । एकरात भवानीको कलशसंगै राखिन्छ र संयुक्त रुपमा पुजा गरिन्छ । विहानको नित्यपूजा सकिएपछि गुठीका गुठियारहरुले तान्त्रिक विधिअनुसार दिनभरलगाएर पुजा गर्दछन् । साँभmपख भावनीलाई श्रृङ्गारपटार गरी रथमा राखिन्छ । सम्पूर्ण विधिविधान सकिएपछि वाजागाजाका साथ केहिक्षण रथलाई नचाएर) विदागर्ने चलन चलि आएको छ । गुजेश्वरी भवानिलाई दिदी र तलेजु भवानीलाई वहिनीको प्रतिमूर्तिमानी दुईवहिनीको भेटगराउने गरिएको जनविश्वास रहेको छ । लामो समयसम्म (एकवर्ष) भेटगर्न नपाएका दुईवहिनी विच रातभर संगैबसेर दुःख सुखका कुराहुनेगर्छ । न्यास्रोपन मेटिनेगरी संगै रहन्छन् र अर्कोसाल भेट्नआउने वाचागर्दै फर्किन्छीन भन्ने धार्मिक र सामाजिक मान्यता रहेको छ । मंसिर महिनामा मनाइने यो जात्रा अघिल्लो दिनको राती ८ बजेतिर ल्याउने गरिन्थ्यो । भोलिपल्ट फर्काउने दिनपनि करिव रातको १० बजेतिरमात्र विदागरेर पठाइने चलनछ । म र म जस्तै साना साना केटाकेहीहरु गाउँका अग्रज दाजृुहरुका पछिलागेर जानेगर्दथ्यौं । तिहारको रमझम सकिने वित्तिकै पात्रोपल्टाएर मंसिर महिनाको तिथिमिति खोज्नेगर्दथ्यौं । महिनौं अघि देखि औंलाभाँच्दै दिनगन्ति सुरु गर्दैगर्दा जात्रा आइपुग्थ्यो । जात्राआएर सकिएको धेरैलाई थाहापत्तै हुँदैनथ्यो । बागमति फाँट, गौरीघाट फाँट, पम्वुफाँट (अरुणिमा स्कूल) भन्दा माथिका डिलहरुमा मात्र गाउँवस्तिहरु थिए । तल्लो समथर फाँटमा धान गँहु, आलु काउली, लसुन प्याज आदि खेतिगरिने भएकाले त्यहाँ गाई साँडेरुङ्ने छाप्रोमात्र हुनेगर्दथ्यो । जाँहा हरियाली त्याँहाजीवन भनेझैँ चारैतिर हरियाली मात्र देखिन्थ्यो । तान्त्रिक विधिबाट भवानीको पुजागर्ने परम्परा अनुसार कर्माचार्य थरीका मानिसहरु मन्दिरका पुजारी थिए । पुजारी परिवारहरु मन्दिरको नजिकै रहेको धर्मशालामा बस्नेगर्दथे केही परिवार वागमति पारिपट्टि रहेको कुमारीगाल गाउँमा घरबनाइ बसेका थिए ।

गुह्येश्वरी जात्रालाई हर्षोल्लास पूर्वक मनाउन लालायित यस क्षेत्रका मानिसहरु सँधैँ वन्चित हुन्थे । रातको समयमा जात्रा हेर्न जान उनिहरुलाई सम्भव थिएन । विशेषगरि वृद्ध वृद्धा महिला र केटाकेटीहरुलाई हात्ति आयो हात्ति आयो फुस्सा भनेझै हुने गर्दथ्यो । कुनै पनि जात्रा धर्म संस्कृति र ऐतिहासिक परम्परा संग अभिन्न रुपमा जोडिएको हुन्छ । यस्ता परम्पराहरुको जगेर्ना गर्दै समयसापेक्ष यसलाई परिमार्जन गर्दै लानसके संस्कृतिकोजग् मजवुत हुँदैजाने गर्दछ । संस्कृतिको निर्माण समाजले गरेको हुन्छ र यसको संरुक्षण र विकाश पनि समाजलेनै गर्ने गर्दछ । सवै जातजाती र उमेर समुहका महिला पुरुष सवैको समिश्रण रहेको गाउँ वा वस्तिका नागरिकहरुलाई नै पूर्ण समाज मानिने गरिन्छ । यिनीहरुको अभिन्न अंगको रुपमा जोडिएको जात्रा पर्व लगायतका चाडवाडहरुले सवैको सक्रिय सहभागिताको माग गरिरहेको हुन्छ । उनिहरु सहभागी हुने परिस्थिति रहेन भने कुनै पनि जात्राको अर्थ रहँदैन । तिनीहरुका लागि आकाशको फल आँखातरी मल भनेझैँ हुनेगर्छ । यसरी हेर्दा यसक्षेत्रका वृद्ध वृद्धा महिला केटाकेटीहरुलई गुह्येश्वरी जात्रा यस्तै हुने गर्दथ्यो । औँला भाँच्दै दिन गन्ति गरेर बस्नेहरु मध्ये हामी केटाकेटी युवा तन्नेरीहरु पनि प्रसस्तै हुनेगर्थे । उनिहरु गुजेश्वरी जात्रालाई अवसरको रुपमा हेरिरहेका हुन्थे । जात्रा पर्वको अलावा सडक नाटकहरु वार्षिक रुपमा टोलटोलमै हुने गर्दथ्यो । नेवारी भाषामा सम्वाद बोलिने ति नाटकहरु हेर्न टाढा टाढा देखिका युवाहरुको उपस्थीति रहन्थ्यो । यसक्षेत्रमा हुने मुख्य जात्राहरुमा बौद्धको रोपाइँ जात्रा र तिमाल जात्रा, देउपाटनमा हुने खड्गजात्रा, रोपाँई जात्रा, त्रिशुलजात्रा, गंगामाई जात्रा, वच्छलेश्वरी जात्रा, चावहिलको गणेँश भैरवको जात्रा, हाँडीगाउँको गहना खोज्ने जात्रा, नक्साल भगवती जात्राहरु यस क्षेत्रका विशेष महत्वराख्ने जात्राहरु हुन् । वर्षै पिच्छे यि जात्रा पर्वहरुमा युवाहरुको उपस्थिति बाक्लै रहनु स्वभाविक हुनेनै भयो । महिला र केटाकेटीको उपस्थिति पातलै रहने यि जात्राहरुमा युवाहरुको भूमिका निर्णायक रहने गर्दछ । रथहरुलाई नचाउने कुदाउने र टाढाको अर्को गन्तव्यसम्म पु¥याउने कार्यमा उनिहरुको भूमिका अनिवार्य रहेको हुन्छ । आवश्यकता र औचित्यताले युवाहरुको माग गर्नेहुनाले स्वभाविक रुपमा उनिहरुको उपस्थिति बाक्लै रहने गर्छ ।

काठमाडौको शहरी क्षेत्रमा मनाईने जात्राहरुमा प्राय सबैजसो साँझपखमात्र सुरुहुने गर्दछ । बौद्ध र देउपाटनमा हुने रोपाई जात्रा मात्र दिँउसो अपरान्हतिर सुरुभएर साँझपख सकिने गर्दछ । गुजेश्वरीजात्रा हेर्न आउने प्रायजसोले (महिला र केटाकेटी वाहेक) सोमरसको सेवन गरेर आएका हुन्छन् । यि मध्ये झगडालु स्वभाव भएका युवाहरु घरेलु हतियार सहित दलवल बाँधी आएका हुन्छन् । सोम्सरको उर्जाले आवश्यकता भन्दा बढी सक्रिय बनाउने भएकोले साना ठूला झगडाहरु प्राय जसो प्रत्येकवर्ष हुनेगर्छ । टोलटोलका युवाहरुका विचमा हुनेगरेको भेदविभेद वा मूर्ख प्रकृतिका मानिसहरुबाट सिर्जित असहज परिस्थिति र घमण्डले प्रमुख भूमिका खेलिरहेको हुन्छ । गुह्येश्वरी जात्रा मनाउन आउने युवाहरुको जमात पनि ठुलै हुन्थ्यो । बौद्ध–टुसाल तिरबाट आउने युवाहरु परिआए सबैलाई तहलगाई दिने मानसिकता बोकेर आएका हुन्थे । यसै गरि चावहिल देउपाटन, नवालिटोल र अर्को छिमेकी टोल नक्साल लगायतका टोलहरुबाट पनि दलवल साथ आएका हुन्थे ।

जात्राको दिन घाम अस्ताउनु अघिसम्म सुनसान देखिने मन्दिर परिसर साँझपख भएपछि एकाएक जात्राको रौनक सुरुहुन थाल्दछ । विहानैदेखि विभिन्न टोलहरुबाट पुजाथाली लिइ आउने गुठियारहरुले पुजा सकेर भोज खानेतिर तल्लिन हुन्छन् । उनिहरु खेतका फाँटहरु र बागमतिका बगरतिर बसेर भोजखाइरहेका देखिन्छन् । विभिन्न टोलिहरुमध्ये चावहिल बहालक्षेत्र तिरबाट आउनेहरुको सहभागिता बढी देखिने गर्दथ्यो । झमक्क साँझ पर्दासम्म उनिहरु भोजमै रमाईरहेका हुन्थे । भोजबाट तृप्त भएपछि मन्दिर परिसरमा प्रवेशगर्ने क्रम सुरुहुन्छ । यसैगरी सवै तिरबाट जम्माहुने क्रममा मानिसहरुको भिडले एकै छिनमा मन्दिर प्राँगण खचाखच भरिन्छ । गुठियारहरु मन्दिर परिसरमा जम्मा हुने क्रमसँगै विभिन्न थरिका वाजागाजाहरु बज्न थाल्दछन् । विशेष गरी धिमेवाजा, पन्चेबाजा, कुस्लेबाजा र नायवाजा गरी थरिथरिका वाजाहरु घन्कन्छन् । एकैछिनमा मन्दिर परिसर भित्रबाहिर सबैतिर जात्राको रौनक सुरुहुन्छ । धिमेवाजाको तालमा नाचिने ज्यापुनाच नाच्नेहरु अति रौसिएर नाच्ने गर्दछन् । उनिहरु नाच्दै गर्दा आफ्नो शरिरलाई अर्धचन्द्राकार बनाएर फन्का मारिमारि नाच्ने गर्दछन् । चराले पँखेटा फिँजारेर कावाखाएझै गरी दुवैहात फिँजाएर नाच्ने गर्दछन् । यस नाचमा कस्ले बढी राम्रो नाच्न सक्छ भन्ने एकखाले प्रतिष्पर्धा हुनेगर्दथ्यो । समूह समूहमा विभाजित भई नाचिने यो नाचमा धिमेवाजाले नेतृत्व गरिरहेको हुन्छ । नेवारी संस्कृतिको मौलिक परम्परा अनुसार यो नृत्य अतिनै कलात्मक र मनमोहक लाग्ने गर्दछ । यस विचमा मन्दिरका पुजारी आचाजुले भित्र बसेर तान्त्रिक विधि अनुसार मन्त्रहरु पढ्दै पुजा गरिरहेका हुन्छन् ।

विवाह मण्डपबाट अन्माएर घर पठाउन लागेकि दुलहीलाई झैँ तलेजु भवानीलाई अन्माउने तरर्खर हुन्छ । खट्लाई श्रृङ्गारगरी धजापताकाहरुले सुसज्जित पारिन्छ । भवानीको रथ लिई आउने गुठियारहरु सके सम्म छिट्टै अन्माएर लानपाए हुन्थ्यो भनेर हतारमा देखिन्छन् । दुई बहिनीलाई संगै राखेर विदाई पुजा गरिरहेका आचाजुले पुजा सकिएको जानकारी दिएपछि खट् उठाउने तरखर सुरु हुन्छ । भवानीको प्रतिमूर्ती (कलसलाई) सिंगारेर राखेको खट्भित्र ल्याएर राखिन्छ । खट् उठाउनु पूर्व शार्दुलजँग गणँका (गुरुज्यूका) पल्टनले तोप पड्काएर सलामी अर्पण गर्छन् र खट्लाई उठाएर परिक्रमा गराउने क्रम सुरु हुन्छ ।

तलेजु भवानिको खट्लाई तिन पटकसम्म मन्दिरको परिक्रमा गराईसकेपछि सहरिया गुठीयारहरु खट्लाई लिईहिँड्ने हतारो गरिरहेका हुन्छन् । यता स्थानीय युवाहरु सकेसम्म धेरै समय सम्म रथलाई नचाइराख्ने प्रयास गरिरहेका देखिन्छन् । एककिसिमको द्वन्दको वातावरण भएता पनि दर्शकहरु चाँही रमाईलो मानि जात्रा हेरिरहेका हुन्छन् । यतिबेला जात्राको भव्यताले उत्कर्षको सिमालाई छिचोलीरहेकोहुन्छ । विभिन्न टोलहरुबाट जात्रा हेर्न जम्मा भएका युवाहरुको विचमा एक प्रकारको अन्तरद्वन्द्व चलिरहेको हुन्छ । एक अर्का पक्षसंगको पुरानो रिसको बदला लिने दाउ हेरेर बसिरहेकाहरुका विच हानाहान पिटापिट गर्न थाल्छन् । केहि क्षणको भिडन्त पछि एउटा पक्ष हावि हुन्छ र उसले दुईचार लात पाँचसात मुक्का वर्षाउछ । कुटाइखाने पक्षले पराजयलाई स्विकार्दै मैदानबाट एकाएक गायब भैदिन्छ । मौका ढुकेर बसिरहेका गुठियारहरुले यति बेलै खटलाई आफ्नो कब्जामा लिइ सुँइकुच्चा भगाएर बाँगमति कटाउँछन् । अनि गुजेश्वरी जात्रा समाप्त हुन्छ ।

पुरानै रीतिरिवाज र परम्परागत शैलिबाट चल्ते चल्ते हुँदै आएको यस जात्राको प्रहशनमा २०७१ साल यता आएर जात्राको परम्परागत शैलीलाई परिस्कृत गरिएको छ । गुजेश्वरी जात्राको संस्कृति र समाजिक महत्वलाई अझै उजिल्याउने कामको थालनि भएको देखिन्छ । गुह्येश्वरी प्राँगणबाट रथलाई तल ओराले पछि सरासर देवपत्तन पु¥याएरमात्र विसाउने गरिन्थ्यो । हिजो आज पुरानो परम्परागत शैलीलाई क्रमभंग गर्दै गौरीघाट चोकमा ल्याएर विसाउने प्रथाको शुभारम्भ भएको छ । यस प्रकारको परिवर्तन आफैँ भएको छैन, गौरीनगर क्षेत्रमा बसोवास गरि बस्ने आम जनताको चाहना र हस्तक्षेपले गर्दा सम्भव भएको हो । उनिहरुको भनाई थियो, आफ्नो ढोकै अगाडीबाट लगिने गरेको भवानीको रथ यात्रालाई हामी सबैले पुजा आजा गर्न किन नपाउने ? सबैले यो अवसर पाउनु पर्छ । आफ्नो धर्म र संस्कृति प्रतिको अगाध श्रद्धा र विश्वास अनि प्रयासबाट गौरीनगर वासीले यो अवसर प्राप्त गरेका छन् । विगत तीन वर्ष देखि भवानीको रथलाई गौरीघाट चोकमा ल्याई नगरवासी सबैले पूजा प्रार्थना गर्छन् ।

त्यस दिन गौरीनगर चोकका घर पसलहरुमा दिपावली गरिन्छ । चोकको मध्यभागमा सप्तरङ्गी रंगहरुबाट तयार पारिएको कलात्मक आसनी माथी रथलाई विराजमान गराइन्छ । घण्टौ देखि भवानीको प्रतिक्षा गरीरहेका गौरीनगर वासिले श्रद्धा भक्तीका साथ पुजा गर्न सुरु गर्छन् । पुजा सकिए पछि जयभवानीको नारा लगाउँदै रथलाई उठाएर नचाईने गरिन्छ । यस विचमा धिमेवाजा लगायत वाजाहरुको गुन्जनले गौरीघाट चोक वरिपरिको वातावरण हर्षोल्लासमय बनेको हुन्छ । स्थानीय युवाहरुको जोस जाँगर र उत्साहले जात्राको दृष्य आफैँमा अति रमाईलो लाग्छ । गुजेश्वरी बाट सुँइकुच्चा ठोकाएर एकै पटक देउपाटन पु¥याएर मात्र विसाउने गरिएको भवानिको खटले आज चौतारीमा विश्रामस्थल पाएको छ । गौरी नगर भित्र वसोवास गर्ने नागरिक समाजले आफ्नो धर्म संस्कृति अनुसार श्रद्धा पूर्वक पुजा गर्ने अवसर प्राप्त गरेका छन् । यस अघिसम्म गौरीनगरका जनतालई गुजेश्वरी जात्राको वारेमा चर्चा गर्नु पर्दा एका देसको कथा सुनेझैँ लाग्ने गरेको थियो ।

काठमाण्डौ डिल्ली बजार बस्ने हर्कजंग थापाले वि.सं. १९६६ साल ताका नीजिगुठीको स्थापना गरेर दुई वटा शिवालय र एउटा धर्मशाला निर्माण गराईदिएका रहेछन् । त्यसै दिन देखि यो शिवालयको नाम हर्षप्रकाशेश्वर र धर्मशालाले हर्कजंग थापाको नामले पहिचान पाएको रहेछ । त्यसै समय देखि सर्व साधारणहरुले यसको संरक्षण र उपभोग गर्दै आएका छन् । धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु गर्नु पर्दा यस सत्तलले सर्वसाधारणको सेवा गर्दै आएको छ । यसको वारेमा मैले जान्नु अघिको अवस्था कस्तो थियो, त्यो पाटो अलग रह्यो । पछिका दिनहरुमा यस क्षेत्रको समाजले यसको प्रयोग गर्नमा कुनै कञ्जुस्याँई गरेको छैन । सर्व प्रथम २०२२ साल देखि संस्थागत रुपमा सामाजिकि करण हुन सुरु गरेको थियो । यस अघि घरवार विहिन आश्रित परिवारहरुले आश्रय लिइरहेका थिए । सर्व प्रथम श्रमविर प्राथमिक पाठशालाले संस्थागत रुपमा यसको उपयोग गर्ने सुरु गरेको हो । त्यस पछि भगवान स्थान गाउँपञ्चायतको कार्यालयले आफ्नो आश्रयस्थल बनायो । समयक्रममा जग्गा नापी कार्यालय बस्यो । त्यस पछि आयूर्वेदिक अस्पताल सञ्चालन गर्न सुरु भयो । गोरखनाथमा रहेको औषधी कारखानाबाट औषधी ल्याई विरामीको जाँच गर्ने र औषधी वितरण गर्ने कार्य सुरु गरिएको थियो । यस पश्चात् कुमारीगाल युवामण्डलले (क्लव) निक्कै वर्ष सम्म यसको उपभोग ग¥यो । यसले प्रयोग गरिहँदा यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान गरेको थियो । उसैको पहलमा गुह्येश्वरी पुस्तकालयलाई पुरानो ठाउँबाट स्थानन्तरण गरी यहीबाट सञ्चालन गरिएको थियो । त्यस पश्चात् २०४७ साल देखि गौरीनगर सुधार समितिको कार्यालय र २०५८ साल देखि नवजागरुक युवा क्लबले पनि यही हर्कजंगको सत्तलमा आफ्नो कार्यालय चलाई विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

यसै सत्तलबाट सेवा लिने अनगिन्ती नागरिकहरु मध्ये म गोपाल प्रसाद पण्डित पनि एकजना ऋणि रहेको छु । यसै सत्तलको प्राँगणमा रहेको तुलसीको मण्डप अगाडी २०१८ सालमा मेरी हजुर आमा ललितादेवी पण्डितको मृत्यु भएको थियो । उहाँ ८५ वर्षको हुनुहुन्थ्यो । यसै गरि २०२८ साल असार महिनामा भएको मेरो विवाह कार्यक्रम यहीँ बाट सम्पन्न गरेको थिएँ । २०४४ सालमा पिताजी मनोहर पण्डितको मृत्यु भएको बखत उहाँको क्रियाक्रमको कार्यक्रम यही बाट सम्पन्न गरेको थिएँ । सम्झेर ल्याउँदा यो सत्तलले मलाई धेरै गुण लगाएको छ । एक जना व्यक्तिले गरेको सामाजिक सेवाको कार्य र समर्पणको इतिहासले कालान्तर सम्म समाजको सेवा गरिरहेको हुँदो रहेछ । गौरीघाट चोकमा रहेको यो हर्कजंग सत्तल परिसरलाई उनका सन्तति लगायत सवै सवैले यसको संरक्षण सम्वर्धन गर्नु कर्तव्य हुन आउँछ ।

स्व. हर्कजंग थापाका खनाती श्री अमृतजंग थापाले २०५८ साल देखि नवजागरुक युवा क्लवको स्थापना गरी यो संस्थाको नेतृत्व गर्दै आएका छन् । उनि संस्थापक अध्यक्ष रहेको यस संस्थाले विभिन्न सामाजिक गतिविधिहरु पनि गर्दै अएको छ । वार्षिक कार्यक्रमहरुमा हनुमान पुजा, महाशिवारत्री सिविर सञ्चालन, वालाचतुर्दशी सिविर सञ्चालन, नवरात्री मेला मण्डप, निर्माण र पुजा आराधनाको व्यवस्थाहरु मनन् योग्य रहेकाछन् । यसको अलावा रक्तदान कार्यक्रम र जनचेतना मुलक ¥यालीहरु पनि सञ्चालन गर्दै आएको देखिन्छ । मलाई आशा छ हर्कजंग थापाको संस्कारगत सामाजिक परम्परालाई निरन्तरता दिदै यो संस्था अगाडी बढ्ने छ । मेरो व्यक्तिगत नजरमा उनि धन्यवादका पात्र छन् । सामाजिक भावनाको विकास गर्दै अगाडी बढ्ने प्रेरणा मिलोस् ।

कुनै पनि सामाजिक संस्थाको स्थायित्व र प्रगति हुनमा आर्थिक पारदर्शिताको शर्त अनिवार्य रहेको हुन्छ । विधानले निर्देशित गरेको नीति नियमहरुलाई अनुसरण गर्दै संस्थाहरु क्रियाशिल हुने गर्दछन् । नवजागरुक युवा क्लव पनि यस कुरामा सँधै सतर्क रहि रचनात्मक कृयाकलाप गर्दै अघिबढ्न सफल हुनेछ । वर्तमान कार्य समितिलाई सुभकामना छ । युवा क्लवको नेतृत्वमा हुने गरेको सवै कार्यक्रममा गौरीनगर सुधार समितिले सक्रिय सहयोग पु¥याएको छ । यस अर्थमा दुवै संस्थालाई धन्यवाद छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...