Loading...

अकुत आर्जनमा तानिए शर्मा , बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

Published Date: November 9, 2017

टपेन्द्र कार्की  / राजधानी दैनिक

कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो । अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ ।

अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका–३ रुद्रश्वेर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो ।

म्याद टाँसका कारण निलम्बित सहसचिव शर्माले सात दिनभित्र अख्तियारमा उपस्थित भइसक्नु पर्छ । उपस्थित नभए अख्तियारले उनलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउने जनाएको छ ।

‘हामीले बयानका लागि शर्मालाई आयोगमा पटकपटक बोलायौं, तर आउनुको साटो उनले आलटाल गर्न खोजे, घरभित्रै बसेर कोही नभएको जवाफ दिन थाले, त्यसैले बाध्य भएर ७ दिने सूचना टाँस्नुपरेको हो,’ अख्तियार स्रोतले भन्यो, ‘अब पनि नआए पक्राउ गरेर ल्याइन्छ ।’

शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झन्डै १० अर्ब रुपैयाँको बिगो र जरिवाना माग दाबीसहित दायर मुद्दा अझै विशेष अदालतमा विचाराधीन छ । उनी सर्वोच्च अदालतको आदेशबाट न्यायिक हिरासतबाट भने मुक्त भइसकेका छन् ।अख्तियारका अनुसार आयोगमा शर्माले भरेको १३ पाने सम्पत्ति विवरण र अख्तियारको अनुसन्धानमा २० करोड रूपैयाँ सम्पत्तिको स्रोत खुल्न नसकेको देखिएपछि बयानका लागि ताकेता पनि गरेको थियो । आयोगले चार महिनाअघिबाट अकुत सम्पत्ति आर्जन गरेको विषयमा उनीमाथि अनुसन्धान थालेको थियो ।
लोकसेवा आयोगको तयारी कक्षाको पारिश्रमिक र पुस्तक बिक्रीलाई आफ्नो आर्जन भएको भन्ने उनको दाबीलाई आयोगले मानेको छैन ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...